विकासन्युज

सिंहदरबारमा ३ घण्टादेखि विद्युत अवरुद्द, काम ठप्प

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा ३ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । अर्थ मन्त्रालयका एक अधिकारीकाले सिंहदरबारभित्र ३ घण्टादेखि बत्ती नभएको जानकारी दिए । ‘अफिस आएदेखि बत्ती छैन, मुख्य कामहरु जनेरेटरबाट भइरहेको छ, बाँकी काम ठप्प छ,’ उनले भने । नेपाल विद्युत प्राधिकरणले सिंहरदरबारमा बत्ति जानुको यकिन कारण पत्ता नलागेको बताएको छ । प्राधिकरणले यसको लागि प्राविधिक गएर काम गरिरहेको पनि बताएको छ ।

म्याग्दीमा चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन अझै बनेन

म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका–६ दुखुका ओमकार रोकाले बताए । पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए । ‘सबस्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ, छ सयमध्ये तीन ठाउँमा करिब ८० खम्बा गाड्न र तार तान्न बाँकी छ’, उनले भने, ‘बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन् ।’ खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले  आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सबस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सबस्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । बर्खामा केही ठाउँमा गाडेका खम्बा बगाएको छ । म्याग्दी प्रदेशसभा ९२०बाट निर्वाचित रेशमबहादुर जुग्जालीले निर्माण व्यवसायी र आयोजनाका अधिकारीलाई सम्पर्क गरी सवस्टेशन निर्माणलाई पूर्णता दिन पहल थालिएको बताए । आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदूर गत जेठदेखि आयोजनास्थलमा छैनन् । हालसम्म खमबा गाड्ने, दुई भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । खम्बा गाडिएको ठाउँमा तारसमेत तानिएको छ । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा नै छन् । सबस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । ‘हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।’ रासस

आठ कम्पनीको करोडौं रकमको बीमा पोलिसी सरेन्डर, एक महिनामै बाहिरिए पौने ७ हजार बीमित

काठमाडौं । एक महिनामै साढे ७ हजार बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कार्त्तिकमा मात्रै ६ हजार ७ सय ४६ जना बीमितले कूल एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका हुन् । जुन अघिल्लो महिनाको तुलनामा ३४ करोड ६५ लाख रुपैयाँले बढी हो । अघिल्लो महिना अर्थात असोजमा विभिन्न कम्पनीका कूल ६ हजार ६३ बीमितहरुले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमापोलिसी बीचमै रोकेका हुन् । रकमको आधारमा सबैभन्दा बढी रकमको पोलिसी सरेन्डर हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको भने संख्याका आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनका ९८७ जना बीमितले कूल ३९ करोड ९ लाख रुपैयाँ बराबरको पोलिसी समय नपुग्दै रोकेका हुन् । यता नेपाल लाइफका २ हजार १३९ बीमितले एक महिनामै कूल २८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । त्यस्तै, एशियन लाइफका एक हजार ५३७८ जना बीमितले ११ करोड ६५ लाख रुपैयाँ र सूर्या लाइफका १४५ जना बीमितले १२ करोड २५ लाख बीमितले कम्पनीको बीमा पोलिसी सरेन्डर गरेका छन् । करोड बढीको बीमा पोलिसी सरेन्डर गर्नेमा अन्य चार कम्पनी पनि रहेका छन् । जसमा नेशनल लाइफ इन्स्योरेन्सका ६६२ बीमितले ७ करोड २५ लाख, राष्ट्रिय बीमा संस्थानका ३०६ जना बीमितले ३ करोड ९२ लाख, मेट लाइफका ३१३ जना बीमितले २ करोड ८४ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सका १९५ जना बीमितले १ करोड ९० लाख रुपैयाँ बढीको बीमालेख सरेन्डर गरेका छन् । यता ११ कम्पनीको लाखौं रकम बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । प्रभु लाइफको ५६ लाख, ज्योतिको ५३ लाख, सिटिजनको ४७ लाख, युनियनको ४६ लाख, आईएमई लाइफको ४२ लाख, रिलायन्सको ४० लाख, रिलायबल नेपाल लाइफको ३९ लाख, सानिमा लाइफको २८ लाख, सन नेपालको २५ लाख, महालक्ष्मीको २२ लाख, प्राइमको १४ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै त्याग भएको छ । जसमध्ये प्राइमको सबैभन्दा कम रकमको पोलिसी सरेन्डर भएको छ । यीमध्ये बीमा पोलिसी समर्पण गर्ने संख्याको आधारमा युनियन लाइफको सबैभन्दा कम छ । कार्त्तिकमा मात्रै कम्पनीका १७ जना बीमितले पोलिसी त्यागेका छन् ।

३१ वर्षदेखि हस्तकलामा जीवन लेख्दै बाग्लुङका मछिन्द्र शाक्य

बागलुङ । भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन् । सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ । सहरदेखि गाउँसम्मै प्रविधिको भरपुर प्रयोग भएको छ । प्रविधिको प्रयोगले जीवन र दैनिकीलाई सहज र सरल त बनाएको छ नै, त्यससँगै यसले हाम्रा कैयन मौलिकता र पृथक विशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरुलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ । अहिले हरेक व्यक्तिले आधुनिक प्रविधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने गरेका छन् । तर, बागलुङ बजारमै एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि आफ्नै मौलिक कलासहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन् । ती पात्र हुन् मछिन्द्र प्रसाद शाक्य । लेखन कलाकारितामा उनको पृथक रुपमा स्थापित परिचय चाहीँ ‘रन्तल आर्ट’ । शाक्यले बागलुङ बजारमा ३१ वर्षदेखि चित्र कोर्ने ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहेका छन् । सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्ने कार्यमा रुचि राख्ने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रुपमा अघि बढाए । बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिकेबम शाक्यले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरहरु कोरिसके, त्यसको कुनै लेखाजोखा छैन । शाक्यले २०४५ सालमा शिक्षण पेसा पनि अँगाले । शिक्षण पेसाले पनि उनलाई सन्तुष्टि मिलेन । बागलुङको मालिका माविमा दुई वर्ष शिक्षण पेसा गरेपछि उनी काठमाडौं छिरे । विसं २०४६ मा बिए पास गरेपछि माथिल्लो तहको पढाइका लागि २०४७ साल तिर राजधानी गएका शाक्यले त्यहाँ विभिन्न आरोह अवरोह र चुनौतीको सामना गर्नुप¥यो । राजधानीमा पढ्दै बाँच्ने क्रममा आर्थिक अभावका कारण शाक्य एक निर्यात कम्पनीमा काम सुरु गरे । त्यस समयमा पनि आफूले निकै समस्या भोग्नु परेको अनुभव शाक्यले सुनाउँछन् । त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उनको भनाइ छ । त्यसको केही वर्षपछि बागलुङ फर्किएरै लेखन कला व्यवसाय आरम्भ गरेको शाक्यले बताए । ‘पढ्नका लागि ४७ साल तिर म काठमाडौं गए, काठमाडौँ धेरै आरोहअवरोहहरु खेप्नु पार गरेँ, ठेलागाडामा सामान समेत ओसारेँ, शाक्यले भने, ‘त्यसपछि म बागलुङ फर्किएर लेखनसम्बन्धी काम गर्न थालेँ ।’ विसं २०४९ देखि व्यावसायिक रुपमा चित्र कोर्न थालेका शाक्यले सुरुमा तत्कालीन राजा स्वर्गीय महेन्द्र शाहको तस्बिर कोरेका थिए । त्यससँगै उाले विभिन्न देवीदेवता र प्रकृतिको तस्बिर कोरे । शाक्य अहिले उमेरले ५६ वर्ष भए तर उनको लेखन र चित्रकला प्रतिको भोक, प्यासन, लगाव, समर्पण निकै उत्साहप्रद छ । चित्र कोर्ने, ब्यानर, साइनबोर्ड लेख्नेलगायतका कलाबाटै सिङ्गो परिवारको जीविका समेत चलाउदै आएका छन् । सुरुमा टिनको पातामा चित्र गर्ने गरेका शाक्यले पछिपछि कपडा लगायत विभिन्न वस्तुहरुमा पेन्टिङ गर्न थाले । ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिकेका शाक्यले चित्रहरु भने आफैँ कोर्न सिके । अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिकजसो गर्दै आएका छन् । विसं २०४६ मा स्नातक पास गरेका शाक्यले अरु जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो । तर, जीवनमा कलाप्रतिको आशक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा शाक्यका लागि गौण बन्यो । काठमाडौंबाट गाउँ फर्किएपछि शाक्यले २०४९ सालमा बागलुङमा ‘रन्तल आर्ट’ खोले । त्यसबेलादेखि सुरु भएको शाक्यको व्यावसायिक कला व्यवसाय अहिले पनि उत्तिकै उर्जा र उत्साहका साथ निरन्तर सञ्चालनमा छ । नौ सय रुपैयाँबाट व्यवसाय सुरु गरेका शाक्य लेखन कला व्यवसायबाटै सुविधा सम्पन्न घरसहितको सम्पत्ति जोड्न सफल छन् । आफ्नै कलामा रमाउने शाक्यलाई घर्किदो उमेरले केही फरक नै पारेको छैन । ‘सुरुमा बुबाले नौ सयको बेञ्च र टेबल ल्याई दिनुभयो, त्यही बेञ्च र टेवलबाट सुरु गरेको व्यवसाय अहिलेसम्म चलिरहेकै छ,’ शाक्यले भने ‘जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ, त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरु जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाब सहनु परेन, आनन्दै छ ।’ शाक्यले आफ्नो यही पेसाबाटै दुई छोराको उच्च शिक्षा पढाइ सकेका छन् । जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन् । परिवारको जीविकोपार्जनसँगै शाक्यको बागलुङ बजारको सिर्जना टोलमा पक्की घर खडा छ । दुई छोरा र श्रीमतिसहित चार जनाको परिवार खुसी साथ जीवन निर्वाह भईरहेको शाक्य बताउँछन् । ‘मलाई यही पेसामा आनन्द छ, दुःख भए पनि झण्झट भए पनि काम गर्न मज्जा आउँछ, अरु पेसामा चासो पनि दिइएन, अहिले ३१ वर्ष भयो मैले यो पेसा सुरु गरेको, अहिलेसम्म परिवार खुसी नै छ, सबै जना सन्तुष्टि नै छन्, जीविकापार्जन पनि राम्रै भएको छ,’ शाक्यले भने, ‘परिवारलाई खुसी राख्नु नै मेरो दायित्व हो, अहिलेसम्म राम्रै चलिरहेको छ ।’ बढ्दो प्रविधिका कारण मौलिक कला सङ्कटमा पर्दै गएको शाक्य बताए । उनी पहिले अत्यधिक रुपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरु अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउँछन् । ‘पहिल–पहिले भित्ते लेखन, व्यावसायिक साइन बोर्डहरु लेख्नका लागि निकै आउने गर्थे तर अहिले ह्वात्तै घटेको छ, व्यवसायीहरुले पनि फ्लेक्स प्रिन्ट गर्नतर्फ लागे, त्यसले गर्दा यो काम निकै कम आउने गरेको छ,’ शाक्यले भने, ‘केही वर्ष अगाडिसम्म त भ्याइनभ्याइ हुन्थ्यो, हातले लेख्न कामहरु अहिले बिस्तारै घटिरहेको छ ।’ उनले आधुनिकताले कला क्षेत्रलाई प्रभाव पारे पनि आफूले यही रुपमै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताए । शाक्यले पेन्टिङले नै आफूलाई चिनाएको भन्दै आफू फ्लेक्स तिर नलागेको बताए । ‘म यो कामलाई सक्दासम्म निरन्तर गरिरहन्छु, मलाई यही कलाले चिनाएको हो, यतिका वर्ष भयो मैले यसैलाई नै निरन्तरता दिएको छु, यो मेरो कला हो, कला बेच्छु,’ उनले भने, ‘डिजिटल त जसले पनि बनाउन सक्छ, यस्तो कला सबैमा हुँदैन ।’ शाक्यले आफूलाई भगवानले नै गरी खान भनि यस्तो कला दिएकोमा विश्वास छ । आफूले बायाँ हातले नै सबै चित्रहरु कोर्ने र लेख्ने गरेको भन्दै कलाको संरक्षण सबैले गर्नु पर्ने शाक्यको भनाई छ । नौ सय रुपैयाँबाट कला व्यवसाय सुरु गरेका शाक्यले अहिले वार्षिक १५ लाख बढी आम्दानी गर्दै आएको बताउँछन् । शाक्यको पसलमा अहिले पनि सयौँ नागरिकहरु चित्र कोर्न र कलासम्बन्धी कामहरु लिएर आउने गर्छन् । ‘पहिलेको तुलनामा डिजिटल प्रविधिको आगमनले केही प्रभाव त पारेकै छ, तर अझै पनि धेरै नागरिकहरु विभिन्न काम लिएर आउने गर्नुहुन्छ, कहिलेकाहीँ भित्ते लेखनको काम पनि हुन्छ, गाउँ गाउँ पुग्छु, यो व्यवसाय अझै पनि राम्रो छ,’ शाक्यले भने, ‘कहिले दिनमै २० हजार पनि हुन्छ, कहिले आम्दानी निकै कम हुन्छ तर कमाई भएन भने र निराश हुनु पर्ने अवस्था भने छैन, पहिलेको तुलनामा केही कम भएकै छ, त्यस्तो ठप्पै चाहीँ भएको छैन ।’ रन्तल आर्ट पुग्यो भने त्यहाँ दर्जनौं प्रकारका चित्र/स्केचहरु देख्न सकिन्छ । उतले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरु पनि आफैले कोरेका आकर्षक चित्रहरु राखेका छन् । जसले उनको घरमा प्रवेश गर्दा मात्रै पनि कुनै आकर्षक ‘कला घर’ मा प्रवेश गरेको अनुभूति हुन्छ । डिजिटल बजारको माग र प्रभाव बढ्दै गए पनि आफूलाई मौलिकता र आफ्नो कलामा विश्वास भएकाले आम्दानी र भविष्यमा निराश हुनुपर्ने अवस्था नभएको शाक्य बताउँछन् । ‘मलाई आफ्नो कला पौरखमा विश्वास र भरोसा थियो, छ, यो काम गर्न मलाई निकै उत्साह जागेर आउँछ,’ उनले भने, ‘आफूले तयार गरेका कलाहरुको पनि असिम माया लागेर आउँछ, अरुले बनाएको कलाप्रति पनि उत्तिकै सम्मान गर्न मन लाग्छ ।’ अब आफ्नो घरलाई नै आकर्षक ‘आर्ट ग्यालरी’ को रुपमा सजाउने सपना रहेको उनले बताए । अहिले घरका भित्ता, झ्याललगायतका ठाउँमा चित्रहरु राखेको उनको भनाई छ । पछिल्लो पुस्ताले यसतर्फ ध्यान नदिँदा यो क्षेत्रनै सङ्कटमा पर्ने डर उनमा छ । ‘अहिलेका युवा पुस्तामा चित्र कोर्ने, ब्यानर लेख्ने चासो देखिंदैन, उनीहरुलाई केही चाहिँदा बित्तिकै डिजिटल बोर्ड छाप्न गई हाल्छन् । उनलाई भोलि यो क्षेत्र पनि कतै लोप होला कि भन्ने चिन्ताले सताएको छ । रासस

सर्लाहीमा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य, खेत बारीमा रासायनिक मल

सर्लाही । यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षौँदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भए पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिक अझै पनि गुइँठाबाट खाना पकाउन बाध्य छन् । गाउँ नजिकै कुनै पनि वन नरहेको, वनबाट दाउरा ल्याउनका लागि टाढा जानुपर्ने बाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफूहरु गुइँठाकै प्रयोग गर्न बाध्य रहेको ब्रम्हपुरी गाउँपालिका–४ की रामकली देवीले गुनासो गरिन् । गाईभैँसीको गोबरमा गहुँको भुसा, मकै, गहुँ वा तोरीको डाँठ र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानीय भाषामा गोरहा भन्ने गरिन्छ । तराई–मधेसमा घरका महिला सदस्यको प्रमुख काममध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने रहेको छ । गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नका लागि तयार हुने र यसैलाई अहिलेसम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको मलङ्गवा–७ मुसौलीकी रमिलादेवीले बताइन् । जिल्लाको दक्षिणी भेगमा रहेका गाउँका घर तथा सडकमा सुकाएर राखिएको गुइँठाका दृश्य सामान्य नै लाग्छन् । सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने, नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ । ब्रम्हपुरी–३ का रामविनय रायले गुइँठाबाट खाना पकाउँदा अत्यधिक धुँवा आउने, त्यसमा रहेका कीरा खानामा पर्ने, राम्रोसँग नबल्ने, स्वास्थ्यमा समस्या आउने भए पनि आफुहरुसँग अन्य विकल्प नरहेकाले बाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको बताए । गाईबस्तुको गोबरबाट गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ । त्यसले गर्दा किसानले खेतीबारीमा बाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए । खेतबारीमा जैविक मल प्रयोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनको उर्वरा शक्ति क्षणहुँदै जाने र अन्ततः जमिन मरुभूमिमा परिणत हुनसक्ने कुशवाहको भनाइ छ । गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिपराज काफ्लेले बताए । उनका अनुसार लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वाशप्रस्वाशसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ । रासस

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१ दशमलव ३१ प्रतिशत मतदान भएकोमा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको छ । प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले जनाएको छ । आयोगले समानुपातिकतर्फको विजयीहरुको अन्तिम घोषणा मङ्गलबार गर्ने जनाएको छ । रासस

विराटनगरमा किसान समूहलाई मकैको बीउ वितरण

विराटनगर । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ । महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो। बीउ र जिङ्क वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरे । उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गरे । महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिङ्क उपलब्ध गराएको थियो । रासस

हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ १० कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको हो । महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष प्रचण्ड शाक्यले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनुहुने कलाकारहरुमा माटोजन्य कला विधातर्फ तहाननी भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौं बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौंका ७४ वर्षीय प्रा। स्वस्तिरत्न शाक्य छन् । यस्तै, पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौंका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित भएका छन् । कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाइएको थियो । उनीहरुलाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतिव्यक्ति औषधिउपचार खर्चपवापत चार हजार रुपैयाँसमेत प्रदान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा शुक्रबारबाट सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ । मेलाबाट अन्तरराष्ट्रिय बजारमा सिधा पहुँँच पुर्याउन नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर पनि प्राप्त गरेका छन् । प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने गरेका छन् भने हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान भइरहेको छ । विदेशमा चलिरहेको रङ सम्योजन, डिजाइन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरुले मेलामार्फत जानकारी प्राप्त गरेका छन् ।