चितवन प्रहरी शिक्षालयमा एकदिने योग विज्ञान शिविर
भरतपुर । चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए । योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो । योग शिविर तीन घण्टासम्म चलेको थियो । पतञ्जलीका संरक्षक पूर्व नायब प्रहरी महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले बर्सेनि देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिइएको बताए । कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टङ्कनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस
टीकापुरमा पानी वितरणमा समस्या
टीकापुर । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ । पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्यांकीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् । यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्यांकीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् । ‘खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ’, स्थानीय माहन्त साउँदले भने, ‘पाइप काटिँदा अनियमित र फोहर पानी आउने गरेको छ ।’ उनले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारेमा संस्था जिम्मेवार हुनुपर्ने बताए । पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । ‘दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ’, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, ‘पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।’ पाइप नकाटियोस् भन्नेबारेमा आफूहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए । कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । ‘पाइप काटिएको रकमबापत १४ लाख रुपैयाँ क्षतिपूर्ति असुल्न बाँकी रहेको छ’, सोडारीले भने, ‘९० सेन्टिमिटर गाड्नुपर्ने पाइप ४८ मिटर त कही त्योभन्दा कम गाडिएको पाइयो ।’ संस्थालाई कसरी दिगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताए। ‘संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ’, सोडारीले भने, ‘खानेपानीको महसुलमा अनावश्यक टीकाटिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन ।’ नब्बे सेन्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांश ठाउँमा मापदण्डअनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो । ‘निर्माण कम्पनीले पाइप गाड्दा मापदण्डअनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो’, खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भने, ‘खाल्डो खन्ने रकम निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ । अर्कोतर्फ पाइप जथाभावी गाडेको रहेछ ।’ निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्नमै हामी लागेका छौं उनले भने । अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ । आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ । संस्थाले वार्षिक रु एक करोड २१ लाख सावाँ ब्याज गरेर ऋण तिर्दै आएको छ । पुस र असार मसान्त गरी वर्षको दुई पटक किस्ता बुझाउनुपर्छ । संस्थाले १४ करोड २६ लाख रुपैयाँ ऋण भुक्तानी गर्न बाँकी छ । अहिलेको आम्दानीले सञ्चालन खर्च पुगेको भए पनि भविष्यमा आइपर्ने समस्या थेग्न सक्ने अवस्था नभएको संस्थाका अध्यक्ष नरेशकुमार खत्रीले बताए । ‘पम्प, क्यानल, भल्ब र मेसिन पुराना हुँदै जाने त्यसका लागि मर्मत खर्च आवश्यक पर्छ भने कतिपय सामान अर्को बदल्नुपर्छ त्यसका लागि पनि थप रकम आवश्यक पर्छ’, अध्यक्ष खत्रीले भने, ‘शुल्कका बारेमा अनर्गल प्रचार हुन्छ, खर्च धान्ने भनेकै शुल्कबाट हो, अरु आयस्रोत केही हुँदैन ।’ उनले संस्थाको दिगोपनका बारेमा उपभोक्ता पनि सचेत हुनुपर्छ भने। खत्रीले निर्माणका क्रममा पाइप धेरै टुटफुट भइरहेका छन् जुन चिन्ताको विषय हो भने । खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ । उपकरण खरिदका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ । टीकापुरका चारवटै ट्यांकीमा फिल्टर जडान गरिएको छ । फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्ने गरेका छन् त्यसको कारण एउटै पाइप काटिनु हो । यसरी पाइप काटिनबाट जोगाउनलाई खानेपानी संस्थाले प्रत्येक ब्लकमै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ । ५३ करोड लागतमा निर्माण भएको खानेपानी योजनालाई स्तरोन्नतिका लागि भनेर थप तीन करोड बजेट उपलब्ध गराइएको थियो । रासस
सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने
काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
बारामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरियो
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजन लगायत स्थानीय सर्वसाधारणकोे लागि यही मंसीर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । सो स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे । कार्यक्रमा प्रदेश स्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलाद्मी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
बारामा ५० करोड लगानीमा टायल उत्पादन सुरु
चितवन । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुवात गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो । यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ । सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताए । उनले भने, ‘एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।’ भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताए । भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो आठ रुपैयाँ पर्छ भने नेपाली माटो तीन रुपैयाँमा उद्योग आइपुग्ने उनको भनाइ छ । उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताए । अहिले उद्योगले मासिक २० करोड रुपैयाँ हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पुर्याउन सहज भएको हो । पहिलो चरणमा भुईँमा बिछ्याउने फरक–फरक साइजका टायल उत्पादन भएका छन् । उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्राण्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ । छिट्टै भित्तोलगायतका ठाउँमा लगाउने फरकफरक खालका टायलसमेत उत्पादन गर्ने योजना रहेको झाले बताए । पाँच बिघा १२ कट्ठा जमिनमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेर उद्योग सुरु गरिएको हो । उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुमा भारतबाट एक सय ५० जना प्राविधिक कामदार ल्याइएकोमा अहिले घटाएर एक सयमा झारिएको छ । यो सङ्ख्या क्रमशः घटाउँदै लैजाने उनले बताए । अध्यक्ष झाले भने, ‘हामीले उद्योग सुरु गरेसँगै अन्य व्यवसायीले पनि उद्योग सञ्चालनको तयारी गरेका छन् । यही ढङ्गले अघि बढेमा पाँच÷सात वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ ।’ सम्पूर्ण उपकरण इटलीमा बनेको भन्दै उनले भारतीय उत्पादनभन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताए । उनका अनुसार उपकरणका लागि मात्रै ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उनी बताउँछन्। सुरुवाती समय सम्झँदै उनले भने, ‘साथीभाइ र परिवारका मानिसले पनि यिनीहरुले सही काम गरेनन् भन्थे, अहिले सबै दङ्ग छन् ।’ आफूहरुले निकै चुनौती मोलेर काम गरेको जनाउँदै उनले कच्चा पदार्थ र बजारीकरणमा आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।
ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम अलपत्र
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिनुभयो तर उहाँले अहिलेसम्म आधा काम पनि पूरा गर्न सकेका छैनन् । सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताए । उनले सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताए । धुलोका कारण स्थानीयको उठीबास लागेको उनको भनाइ छ । उनी भन्छन्, ‘बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलेका फल सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि बिक्री हुँदैनन्, यहाँका किसान धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशु चौपायले पनि खाँदैनन्, यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन् ।’ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागे पछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन सकेको छैन । उहाँले ठेकेरादलाई राज्यले कारबाही नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताए । कँडेल अटेरी गर्ने ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता गरी काम गरेको भए दुई वर्ष अगाडिनै कालोपत्रे भइसक्ने बताउँछन् । सरोकारवाला निकाय यसतर्फ गम्भीर भएर नलागेसम्म यस सडकको अवस्था यस्तै रही रहने र स्थानीय वर्षौं हिलो धुलोमै बस्नुपर्ने बताए । काठेखोला गाउँपालिका–५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको जानकारी दिए । उनले आफूहरुले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको बताए। स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उनको भनाइ छ । ‘हामीहरुले सडक कालोपत्रेका लागि पटक–पटक प्रशासन र लोकमार्ग कार्यालय र ठेकेदारलाई आग्रह ग-यौँ, सडकको कारण सिङ्गो समुदायनै विस्थापित हुने अवस्था आयो, तर कतैबाट पनि यसको सुनुवाइ हुन सकेन’, सथानीय कँडेलले भने ‘ठेकेदार बेलाबेलामा आएर स्थानीयको आँखामा छारो हाल्ने काम गर्छ, अहिले १५/२० दिन भयो सम्पर्कविहीन बनेको छ, यसको अवस्था यस्तो विजोग छ ।’ काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौंदेखि स्थानीयको समस्या बनिरहेको बताए । उनी आफूहरु जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरिरहेको बताए । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबब दिइराखेको बताउँछन् । अध्यक्ष थापा भन्छन्, ‘यो सडकको जिम्मा लिएको रामकाजी श्रेष्ठ रहेछन्, मैले उनलाई र लोकमार्ग कार्यालयका प्रमुख नारायण भण्डारीलाई पटक–पटक कालोपत्रेका लागि भेटेरै कुरा गरेको छु, उनीहरुले गर्छौं भनेर आश्वासन दिनुहुन्छ तर काम गर्दैनन्, तल्लो खण्ड त यो वर्ष सकिन्छजस्तो देखिन्छ तर माथिल्लो खण्ड गाह्रो देखिन्छ, अहिले ठेकेदारनै भागेको भन्ने हल्ला आएको छ ।’ मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गर्छन । उनले अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताउँछन् । प्रमुख भण्डारीले ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरी दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको बताए । ‘अब बागलुङ लोकमार्ग कालोपत्र हुन करिब करिब अन्तिम चरणमा छ, असार मसान्तसम्म सबै खण्ड कालोपत्रे हुन्छन्, अहिले बिहुँखण्डमा काम भएको छैन, त्यसलाई पनि दबाब दिने काम भएको छ, यतिका वर्षसम्म काम पूरा नगर्दा कारबाही गर्ने भनेका थियो, सरकारले म्याद थप गरेको हुँदा गर्न सकिएन’, उनले भने, ‘जहाँसम्म हामीलाई लाग्छ, असार मसान्तसम्म काम सक्दा यदि सकेन भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’ लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । रासस
टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु
तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । ‘हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौं ‘, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ ।’ शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । ‘यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौँबाटै ल्याउनुपर्ने हुन्थ्यो’, उनले भने, ‘अब भने त्यो समस्या हट्नेछ ।’ इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ। टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । ‘हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ’, उनले भने, ‘कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।’ विगत छ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ । एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । दाङ-काठमाडौँ हवाई भाडा न्यूनतम भाडा ८८१० छन्, भने अधिकतम १२ हजार ६६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा दुईसय बढी लाग्ने गर्न । रासस
सनराइज बैंकले ऋणीको घरजग्गा र एस्काभेटर बेचेर रकम असुल्दै
काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो । रकम भुक्तानी गर्ने अवधि समाप्त भई कर्जा चुक्ता गर्न पटक-पटक लिखित, मौखिक ताकेता गर्दा समेत वेवास्ता गरेको हुँदा धितो सम्पति बिक्री गर्ने भएको हो । बैंकले चल अचल सम्पतिहरु जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा लिलाम बिक्री गरिने जनाएको छ । उक्त सम्पत्ति मध्ये कुन सम्पत्ति के कति मूल्यमा खरिद गरी लिने हो सो खुलाई पुस ३ दिन गतेभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । प्राप्त बोलपत्र पुस ५ गतेका दिन खोलिने भएकाले सम्बन्धित ऋणी, ऋणी फर्मका प्रोप्राइटर, जमानतकर्ता, सुरक्षण धनी, इच्छुक बोलपत्रदातालाई उक्त दिन उपस्थित हुन आग्रह गरेको छ । कुनै कारणवश लिलाम विक्री नभएमा सो सम्पत्ति बैंकले प्रचलित कानून बमोजिम सकार गरी लिन सक्ने बैंकले जनाएको छ । बैंकको धरान सुनसरी शाखाबाट मनक साइकल स्टोर्सका प्रोप्राइटर लाल चौधरी थारुले धितोमा राखेको मालपोत कार्यालय मोरङ्गमा दर्ता रहेको अमरदह ६ स्थित कित्ता नम्बर १६७ को ०-५-०-० क्षेत्रफल (बिघा) भएको जग्गा र जग्गामा रहेका सम्पत्ति बिक्री गर्नेछ । यस्तै, वीरगञ्ज पर्सा शाखाबाट नेशनल ट्रेडर्सको नामबाट सञ्चालक राजेन्द्र उपाध्यायले धितोमा राखेको बारा जिल्लामा रहेको जग्गा र बैंकको नाममा हाइपोथिकेशल अन्तर्गत धितो सुरक्षण गरिएका ऋणी फर्मको स्टकमा रहेका मालसामानहरु बिक्री गर्नेछ । यस्तै, काठमाडौंको न्यूरोड शाखाबाट गजानन ट्रेडिङका सञ्चालक आकाश आचार्य र हिरादेवी बजगाईले राखेको धितो बिक्री गर्नेछ । जसमा जमानकर्ता प्रकाश कुमार आचार्यको नाममा रहेको इनरुवा सुनसरी ३ मा रहेको कित्ता नम्बर ७४२ को क्षेत्रफल ०-१-५ भएको जग्गा, हिरादेवी बजगाईको नाममा रहेको चन्द्रागिरी नगरपालिका २ मा रहेका कित्ता नम्बर १६५, १२२ र १६२ को क्षेत्रफल क्रमशः ०-९-१-०, ०-१-२-० र ०-२-०-३ (रोपनी) भएको जग्गा र सनराइज बैंक धनी भई कम्पनीको नाममा लिएको सवारी साधन बिक्री गर्नेछ । यस्तै, गोगंबु काठमाडौं शाखा कार्यालयमा ऋणी युवराज तामाङले राखेको गोगंबु स्थित रहेको कित्ता नम्बर २१० को क्षेत्रफल ३४६.८० वर्गमिटर भएको जग्गा र सोही शाखाबाट युवराज कन्स्ट्रक्सनले प्रालिले लिएको कर्जाको धितो बिक्री गर्नेछ । जसमा युवराज तामाङको नाममा रहेको जग्गा र सनराइज बैंक धनी भई कम्पनीलाई दिइएको बा २ क ९४८४ नम्बरको कोबेको एस्काभेटर बिक्रीमा राखेको हो ।