काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नु पर्ने बताएका छन । सोमबार सामाजिक संजालमार्फत स्ट्याटस लेख्दै थापाले अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको बताउँदै अध्यादेश तत्काल फिर्ता गर्नु पर्ने बताएका हुन् ।
उनले सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको बताएका छन् । ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो, किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ,’ उनले भने ।
थापाले सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताउँदै अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत लेखेका छन् ।
उनले पार्टीको विगतमा र अहिलेको अडान त्यही नै रहेको बताए ।