विकासन्युज

एनआईबिएल एस क्यापिटलले माग्यो कर्मचारी

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगरेको आन्दोलन गर्ने चेतावनी दिइएको छ । बुधबार संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्च र बहुजन शक्ति पार्टीले सो चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नेपर्ने धारणा राखे । पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे । पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने चेतावनी समेत दिए । उनले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरुले सहयोग गरेको समेत दाबी गरे । त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजुले जेलसजाय भोगिरहेकाहरुलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थमा रहेको समेत बताए । सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे । अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए । उनले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए । कार्यक्रममा बक्ताहरुले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरुलाई मुलधारमा ल्याउनु पर्ने आजको आवश्यकता भएको बताउँदै अध्यादेश अविलम्व जारी गरिनुपर्ने बताएका थिए ।

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना ७६।०४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ एक हजार नौ सय ६१ जना तथा प्रदेशसभातर्फ दुई हजार तीन सय २४ जना गरी चार हजार दुई सय ८५ उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० दल र प्रदेशसभातर्फ प्रदेश नं १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ । केन्द्रमा सात दलले पाए राष्ट्रिय दलको मान्यता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थाबमोजिम यस निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेश नं १ मा छ, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा छ राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । आयोगले प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार पाँच सय ७९, पुरुष ९१ लाख ४० हजार आठ सय छ र अन्य एक सय ८५ गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए । देशभरिका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार आठ सय ९२ मतदान स्थलका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप एक सय ४१ अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

सोनाम विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट

काठमाडौं । सोनाम गियरले आफ्नो उत्पादनमा वार्षिक विन्टर छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म लागु हुनेगरी उक्त छुट अफर सार्वजनिक गरेको हो । कम्पनीले अफर अन्तर्गत छानिएका निश्चित वस्तुहरुमा ७० प्रतिशत सम्म छुट पाइने जनाएको छ । साथै नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा र बुटवलमा पनि सोनमका सोरुम रहेका छन् ।

गण्डकीमा हृदयरोग उपचार केन्द्र

गण्डकी । गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष सिसियु मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए । दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे । स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताए । कलेजका प्राचार्य प्रा।डा।रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पु¥याइएको जानकारी दिए । उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरङ्गबाट सेवा लिइरहेको र अन्तरङ्ग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ । रासस

लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी

बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबर्द्धन विषयक अन्तक्र्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर संञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले, ‘लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्बाउन पर्यटन क्षेत्रका सम्बद्र्ध सबै पक्ष र स्थानीयवासीले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए । कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्ग बाट नेपाल आउने भारत तथा तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । ‘लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज सबै भारतीय पर्यटन व्यवसायीले बनाउँछन् अनि उनीहरुले दिनभर घुमाएर साँझ उतै भारत तर्फ फर्काउने प्याकेज बनाउँछन्,’ उनले भने, ‘लुम्बिनीको बसाइँ लम्ब्याउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तर्राष्ट्रिय बजारमा लैजानु जरुरी छ ।’ होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाइँ लम्ब्याउन सरकारी नीति नै सच्चाउनु पर्ने भन्दै सुशासनसहित सबैले काम गरेमा पर्यटक खुसी हुने, उनीहरु खुसी भए खर्च धेरै गर्ने र बसाइँ पनि लम्ब्याउन सकिने बताए । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको लागि सबैको सहकार्य र एकता जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटन प्रबर्द्धनको लागि सरकारले पूर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्नुपर्ने बताए । पर्यटनविद डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाइँ लम्बाउन नसक्दासम्म लाखौँ पर्यटक आए, लाखौँ पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने बताए । ‘लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक १७/१८ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । त्यहाँ पर्यटकको सङ्ख्या कम भएता पनि गुणस्तरीय पर्यटक पुगेका छन्,‘ उनले भने, ‘हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रबद्र्धनमा उल्लेख्य सहयोग गर्दैन ।’ अन्तक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तर्राष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताए । उनले सबै एअरलायन्सले उडान भर्ने वातवरण सिर्जना गर्न सबैको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहुँने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । रासस

कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

काठमाडौं। कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए । अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा कूल लक्षित जनसङ्ख्यामध्ये ९९दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९दशमलव पाँच प्रतिशतले पहिलो मात्रा र ७६दशमलव पाँच प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस

हिमालयन बैंकद्वारा मादी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मिति २०७९ साल मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २४ गते शनिबार सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रमको आयोजना बैंकको विराटनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको जनाइएको छ । बैंकको सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान जानकारी दिएको बैंकले जनाएको छ । बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका प्रमुख जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसै गरी कार्यक्रममा बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।