सिद्धार्थ बैंकले पायो ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड
काठमाडौं । सिद्धार्थ बैंक ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डले सम्मान गरिएको हो । कम्पनीले प्रदान गरेको उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए । ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई उक्त अवार्डले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न प्रेरित गरेको बस्यालले बताए । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर सहित, २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ्ग सेवा र १ हजार ८ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै आएको छ । सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्ड लगायतका सुविधाहरु सरल प्रदान रुपमा गरिरहेको छ ।
हालसम्मकै ठूलो एनआईबिएल ग्रोथ फण्ड पुस ७ देखि बिक्री गर्दै
काठमाडौं । एनआईबिएल एस क्यापिटलले पुस ७ गतेदेखि हालसम्म कै ठूलो म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गर्नेछ । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल ग्रोथ फण्डमा लगानीकर्ताहरुले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । क्यापिटलले योजना अवधिभर इकाईधनीहरुलाई २०.२५ प्रतिशत प्रतिफल वितरण गर्न सक्ने अपेक्षा गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुन कर्जा कति महँगो ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा भने बैंकले संस्थागत तर्फ १०.१३३ प्रतिशत र व्यक्तिगततर्फ १३.१३३ प्रतिशत ब्उाजदर प्रदान गर्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत ब्याजदर ताकेको छ । बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार बैंकको आधार दर ८.३३ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.१६ प्रतिशत रहेको छ । बैंकले संथागत आवधिक कर्जाको लागि १३.५ प्रतिशतदेखि १५.५० प्रतिशतसम्म स्थिर ब्याजदर तोकिएको छ । बैंकले विभिन्न कर्जाहरुमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । सबैभन्दा धेरै प्रिमियिम सेयर धितोमा जाने कर्जामा रहेको छ । जसमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने भएको हा ।
पुसमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नघट्ने, मंसिर कै लागू हुने
काठमाडौं । पुसमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर नबढाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार स्थिर राखेका हुन् । मंसिरको अन्तिम दिन आज बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर स्थिर राखेर सूचना प्रकाशन गरेका हुन् । यसअघि मंसिरमा वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गरेका थिए भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका थिए । तर, पुसमा भने बैंक तथा वित्तीय संस्थाहरुले मंसिरको ब्याजदरलाई यथावत राखेका हुन् । नेपाल बैंकर्स संघले तीन महिनामा ब्याजदर पुनरावलोकन गर्ने गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तीन महिनामा बेस रेट परिवर्तन गर्नुपर्ने भएकाले सोही अनुसार नै छलफल गरेर ब्याजदरबारे निर्णय गर्ने गरेको बताए । विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १२.८५ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा १०.८५ प्रतिशतसम्म ब्याजदरलाई तोकेका छन् । यस्तै साधारण बचत खातामा भने ९.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सोही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए । फाइनान्स कम्पनीहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३.३५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । साधारण बचत खातामा भने फाइनान्सको ब्याजदर १० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । साही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि फाइनान्स कम्पनीहरुले ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०।३३३ प्रतिशत ब्याज निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेको ब्याजदर पुस १ देखि लागू हुनेछ ।
सेजमा बढेन लगानीकर्ताको आकर्षण
काठमाडौं । आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज) मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवर्द्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन् । तयार भएका दुईओटा भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्रस्ताव मागेको ९ महीना हुँदासम्म जम्मा आधा दर्जन उद्योगले मात्रै त्यहाँ जान सम्झौता गरेका छन् । दोस्रो सिमरा सेजमा जान कुनै पनि लगानीकर्ताले प्रस्ताव नहालेपछि प्राधिकरणले पुनस् सूचना निकालेर प्रस्ताव मागेको हो । प्राधिकरणले २०७८ फागुन १५ गते दुवै सेजमा उद्योग स्थापना गर्न प्रस्ताव माग गरी सूचना जारी गरेको थियो । त्यसयता प्राधिकरणले पुनस् दुईपटक प्रस्ताव मागेको छ । सेजमा अनुमति लिनेको संख्या बढी देखिए पनि सम्झौता गर्नेको संख्या न्यून रहेको प्राधिकरणका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले बताए । सम्झौता गरेर उद्योग स्थापना गर्न जाने उद्योगीको संख्या कम भएको भन्दै उनले थपे, ‘केही प्रावधानले अझै समस्या पारेको छ, लगानीकर्तालाई सहजीकरण गर्ने गरी नै अब एकद्वार एकाइ बनाउँदै छौं ।’ रूपन्देहीस्थित भैरहवा सेजका ४५ ओटा प्लट र सिमरा सेजका ६८ ओटा प्लट उद्योग स्थापना तथा सञ्चालनका लागि तयार भएको भन्दै प्राधिकरणले फागुनमा सूचना जारी गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक/अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ । अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। ‘गठबन्धन छाड्न गाह्रो देखिएको छ । गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो । त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने । माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ । एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो । ‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन् । उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून् । सबै विकल्पमा खुला छलफल हुन्छ,’ एमालेका ती पदाधिकारीले भने । यो समाचार नागरिक दैनिकमा छ ।
७ प्रतिशत ब्याजदरमा निफ्रा बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले आज (मंसिर २९ गते, बिहीबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको रकम ब्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यस्तै, ४० प्रतिशत अर्थात् २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । जसमा ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रलाई इक्राएनपी आईआर आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
विश्वको सबैभन्दा धनी बने बर्नार्ड अर्नाल्ट, एलन मस्क दोस्रो नम्बरमा
एजेन्सी । एलोन मस्क अब विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहेनन् । फ्रान्सेली अर्बपति लुइस भिटन मोएट हेनेसीका सीईओ बर्नार्ड अर्नाल्टले उनलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका छन्। मस्कको नेटवर्थमा आएको गिरावटका कारण टेस्लाको शेयर मूल्य तल झर्नु र एलभिएमएचको शेयर मूल्यले उचाई लिँदा सो अवस्थाको सिर्जना भएको हो । ब्लुमबर्ग बिलियनियर्स इन्डेक्स र फोर्ब्स दुबैमा मस्क दोस्रो नम्बरमा झरेका छन् । ब्लूमबर्गका अनुसार अर्नाल्टको कुल सम्पत्ति अहिले १७१ बिलियन डलर रहेको छ । जबकि एलन मस्कको कुल सम्पत्ति १६४ बिलियन डलर रहेको छ । त्यस्तै, भारतीय अर्बपति गौतम अडानी १२५ अर्ब डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा रहेका छन्। विश्वका अर्का धनी अमेजनका संस्थापक जेफ बेजोस र बिल गेट्स रहेका छन्। दुवैको कुल सम्पत्ति ११६ अर्ब डलर रहेको छ। फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति १७६.८ बिलियन डलर रहेको छ। सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आउनुअघि उनको कुल सम्पत्ति लगभग १८५ बिलियन डलर थियो। अब अर्नाल्टको कुल सम्पत्ति १८८.६ बिलियन डलर पुगेको छ। तर, मस्क अझै गौतम अडानीभन्दा धेरै अगाडि छन् । अडानीको कुल सम्पत्ति १३४.२ बिलियन डलर छ। भारतीय अर्का पुँजीपती मुकेश अम्बानी ९२.५ बिलियन डलर सहित विश्वका आठौं धनी व्यक्तिको सूचीमा रहेका छन् । को हुन् बर्नार्ड अर्नाल्ट ? बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादरको रुपमा मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसीको संस्थापक अध्यक्ष र सबैभन्दा ठूला सेयरहोल्डर हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो रहेको छ ।