विकासन्युज

चार करोड पाँच लाख लागतमा चितवनको ढुङ्ग्रे्रे खोलामा तटबन्ध निर्माण थालियो

चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए । उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे । नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा चार करोड पाँच लाख ९८ हजार रुपैयाँँको लागतमा तटबन्ध निर्माण सुरु भएको हो । वैशाखमा सुरु हुनुपर्ने सो काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो । कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ । रासस

शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशत अर्थात् ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

धान बिक्री गर्न कैलालीका किसान रातभर खुला आकाशमुनि

भजनी । कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन् । धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ बसे । लाइनमा बसेका गर्भुको बुधबार पनि पालो आएन । ‘दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।’ उनले भने, ‘असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।’ जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताए । बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गरेका उनले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन् । घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उनले बताए । ‘बजारमा प्रती क्विन्टल दुई हजार चार सयका दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो । बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु’, चौधरीले भने, ‘घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु । खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको छ ।’ टीकापुर नगरपालिका–१ का रामचरण चौधरी बुधबार मात्रै ट्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुगेका थिए । उनको पालो एक सय ७९औँ स्थानमा छ । उनलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता छ । ‘धान बिक्री गर्न पालो कुर्नुपर्ने अवस्था छ । चिसो मौसममा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ ।’ उनले भने, ‘ठाँउठाउँमा काँटा लगाएर धान खरिद गर्ने व्यवस्था गरेको भए यस्तो समस्या पर्ने थिएन ।’ भजनी नगरपालिका–८ का सुरेन्द्र चौधरी पनि टीकापुर नगरपालिका–७ स्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गरे । कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ । ‘दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो । अहिले पनि धान बिक्री गर्न सकस छ’, चौधरीले भने । दुईचार रुपैयाँ बढी पाइने आशाले बसेका किसानको धान बिक्री गर्नका लागि अहिले तछाडमछाड भएको छ । भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएनन् । बर्सातको समयमा आएको बाढीले क्षति पुर्याएको र धान सफा नभएको भन्दै उनको धान खरिद गर्न खाद्यले मानेन । ‘राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन । फिर्ता लिएर जाँदैछु’, उनले भने, ‘आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसे, अब बजारमा लिएर बिक्री गरेर घर जान्छु ।’ धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन् । खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ । पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ । कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ । टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको छ । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।

भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपालमा

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका  छन् । उनी परिवारसहित घुम्न आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसकेका छन्’, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

अन्तरपालिका भलिबलको उपाधि मैलौलीले एक लाख २५ हजार र ट्रफी प्राप्त गरे

बैतडी । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले एक लाख २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता दशरथचन्दले ७५ हजार रुपैयाँ र ट्रफी पायोे । तेस्रो भएको पाटन नगरपालिकाले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मङ्सिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । रासस

समानुपातिकतर्फ प्रदेशसभामा २८ जना मात्र दलित सांसद

काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमालेबाट कमला दर्नाल तेह्रथुम, नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ सुनसरी, नेकपा माओवादी केन्द्रबाट सपना दर्जी सुनसरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा झापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी सर्लाही र निलमकुमारी रजक सप्तरी, एमालेबाट पलटीदेवी महरा धनुषा, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग सप्तरी, जनता समाजवादी पार्टी नेपालबाट ललिता दास सिरहा, माओवादी केन्द्रबाट शारदा दास पहाडी धनुषा र नेकपा एकीकृत समाजवादीबाट किशोरी देवी रौतहट गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा काठमाडौँ र कांग्रेसबाट सुना परियार काठमाडौँ तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली बागलुङ र नन्दकला दमै नेपाली कास्की, कांग्रेसबाट दिलमायाँ पौवी बाग्लुङ र टीकाकुमारी बस्याल लमजुङ तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल बर्दघाट सुस्ता पूर्व गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज पाल्पा र रेखाकुमारी शर्मा दाङ, कांग्रेसबाट लोकीकुमारी विक दाङ तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की गुल्मी प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् । कर्णाली प्रदेशमा एमालेबाट गमता विक दैलेख, कांग्रेसबाट लक्ष्मी सुनार सल्यान र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा रोल्पा गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की कञ्चनपुर, कांग्रेसबाट ललिता सुनार कैलाली र माओवादी केन्द्रबाट लक्ष्मी विक दार्चुला गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ । त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन् ।

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल खेल आइतबार हुनेछ ।

प्रभु बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा भने बैंकले संस्थागत तर्फ १०.१३३ प्रतिशत र व्यक्तिगततर्फ १२.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा १२.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १५.१३३ प्रतिशत ब्याजदर ताकेको छ । बैंकले ५ वर्षभन्दा बढी अवधिको कर्जाको लागि १२.९९ प्रतिशतदेखि १४.५० प्रतिशतसम्म स्थिर ब्याजदर तोकिएको छ । बैंकले विभिन्न कर्जाहरुमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । सबैभन्दा धेरै प्रिमियिम सेयर धितोमा जाने कर्जामा रहेको छ । जसमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने भएको हा ।