
काठमाडौं । आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज) मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवर्द्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन् ।
तयार भएका दुईओटा भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्रस्ताव मागेको ९ महीना हुँदासम्म जम्मा आधा दर्जन उद्योगले मात्रै त्यहाँ जान सम्झौता गरेका छन् । दोस्रो सिमरा सेजमा जान कुनै पनि लगानीकर्ताले प्रस्ताव नहालेपछि प्राधिकरणले पुनस् सूचना निकालेर प्रस्ताव मागेको हो । प्राधिकरणले २०७८ फागुन १५ गते दुवै सेजमा उद्योग स्थापना गर्न प्रस्ताव माग गरी सूचना जारी गरेको थियो । त्यसयता प्राधिकरणले पुनस् दुईपटक प्रस्ताव मागेको छ ।
सेजमा अनुमति लिनेको संख्या बढी देखिए पनि सम्झौता गर्नेको संख्या न्यून रहेको प्राधिकरणका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले बताए । सम्झौता गरेर उद्योग स्थापना गर्न जाने उद्योगीको संख्या कम भएको भन्दै उनले थपे, ‘केही प्रावधानले अझै समस्या पारेको छ, लगानीकर्तालाई सहजीकरण गर्ने गरी नै अब एकद्वार एकाइ बनाउँदै छौं ।’
रूपन्देहीस्थित भैरहवा सेजका ४५ ओटा प्लट र सिमरा सेजका ६८ ओटा प्लट उद्योग स्थापना तथा सञ्चालनका लागि तयार भएको भन्दै प्राधिकरणले फागुनमा सूचना जारी गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।