विकासन्युज

सेनाको स्वास्थ्य शिविरमा ७०९ सर्वसाधारणको स्वास्थ्य जाँच

रामकोट। काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गणले जनाएको छ । गम्भीर प्रकृतिका रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि विभिन्न अस्पताल ‘रिफर’ गरिएको छ । सेनाका चिकित्सकसहित स्वास्थ्यकर्मीे सेवामा खटिएका थिए । आकस्मिक सेवाका लागि सेनाले एम्बुलेन्स सेवासमेत उपलब्ध गराएको थियो । शिविरमा गाउँपालिका र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले पनि सहयोग गरेको थियो । महोत्सवमा ‘हेलि प्याड’ निर्माण, सरसफाइलगायत अन्य व्यवस्थापकीय काममा पनि सेनाले सहयोग गरेको महोत्सवका संयोजक देवीलाल सुवेदीले बताए । बुधबार सकिएको महोत्सवबाट दुई करोड २५ लाख सङ्कलन भएको आयोजकले जनाएको छ । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई रामकोटधाममै पुनःस्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सव सकिए पनि आर्थिक सङ्कलन अभियान जारी रहने छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहल र सङ्कल्पमा महोत्सव आयोजना गरिएको हो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको गुरुकुल पाठशाला २०५६ सालमा तनहुँको देवघाट सरेको थियो । उक्त गुरुकुललाई पुनः रामकोटधाममै फर्काउने उद्देश्यले महोत्सव आयोजना गरिएको परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनु पर्नेमा उनको जोड छ । रासस

जुम्ली स्याउलाई बजारीकरणको अभाव

जुम्ला । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् । सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन् । उनले भने, ‘वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।’ बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ । जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन् । उनले भनिन्, ‘स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।’ स्याउ उत्पादन बढ्यो जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यसअघि व्यवसायीले प्रतिकिलो ५० देखि ५५ रुपैयाँमा स्याउ खरिद गरी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए । जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ । ‘मैले प्रतिकिलो ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित ६० रुपैयाँमा नेपालगञ्ज पुर्याए । तर प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ ।’ कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ ।

प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला एक लाख ३ सय रुपैयाँ र चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

धनकुटामा तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

धनकुटा । धनकुटाको जोरपाटीमा तीन करोड रुपैयाँको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेका हुन् । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए । सेन्चुरी बैंकको दुई करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४५ लाख रुपैयाँ र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताए । ‘यहाँ तराईबाट तिनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गासबास उपलब्ध गराइनेछ’, उनले भने । तीन सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइनेछ । वार्षिक ५० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो । समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा रहेको यस स्थानबाट यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङ्खला अवलोकनको आनन्द लिन सक्नेछन् ।

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

रामपुर । विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो । रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माणको काम सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो । पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने चार सय ५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण कार्य हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णुभट्टराई बताउँँछन् । स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उनले बताए । रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन । सो सडकखण्डमा कालीगण्डकी करिडोर सडक योजनाको डिपिआरअनुसार नै निर्माण हुने उनले बताए । वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराई बताउँछन् । ‘पानी परेपछि बाटो हिलाम्य भएर सडक वारपार गर्र्नै नसक्ने अवस्था थियो, मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्, विवादले रोकिएको सडक अहिले निर्माणको कामले स्थानीय उत्साहित भएका छन्’, उनले भने । सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन । रिट दायर पक्ष र रामपुर नगरपालिकाबीच छलफल हुँदा एक/दुई मिटर तलमाथि मिलाएर काम गर्ने सहमती भएपछि रिट दायर पक्षले निवेदन निकालेर काम गर्न खोज्दा सार्वजनिक जग्गा संरक्षणको पक्षमा रहेका स्थानीयले चउर मिच्न नपाइने भन्दै काम रोकिन पुगेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताइन् । ‘सहमतिपश्चात् सडकको उत्तरतर्फको भागमा बस्ती बसोबास जोडिएको नाली खन्ने काम गरियो, दक्षिणतर्फको भागमा सार्वजनिक चउर खन्ने क्रममा स्थानीयबाट चउर मिचिने भयो भन्दै अवरोध भएपछि काम बन्द गर्नुपर्यो, पहिलाको सहमतिअनुसार काम नभएपछि मापदण्डअनुसार गत मङ्सिर २६ गतेदेखि सडक निर्माणको काम सुरु गरिएको छ’, वडाध्यक्ष पोखरेलले भने । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापा बताउँँछन् । ‘स्थानीयको विवादले लामो समयसम्म काम हुन सकेन, यात्रुले सास्ती खेप्नु परेको छ’, उनले भने, ‘नगरभित्रका सञ्चालित राष्ट्रिय गौरवका आयोजना, नगर गौरव र वडा गौरवका योजनामा परेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर काम गरिनेछ ।’ योजना सञ्चालनमा बाधा पुर्याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचनासमेत हटाउने नगर प्रमुख थापाले बताए । विवादले रोकिएको सडकमा यसभन्दा अघि पटकपटक स्थानीय तथा यात्रुले काम सुचारु गर्न स्थानीय सरकार, कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गर्दै आएका थिए । केही व्यक्तिको अवरोधले गर्दा रामपुर क्षेत्रमा अधिकांश स्थानमा कालीगण्डकी करिडोरका काम सम्पन्न भइसक्दा मटेरी ठूलोटार र भलायटार क्षेत्रमा अलपत्र रहँदा सडक नै कुरुप बनेको छ । कालीगण्डकी करिडोर सडक निर्माणको योजनाले रामपुर क्षेत्रमा विकासको गति अगाडि बढाएको छ । रासस

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउन लागेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोहीबमोजिम आज मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

चार करोड पाँच लाख लागतमा चितवनको ढुङ्ग्रे्रे खोलामा तटबन्ध निर्माण थालियो

चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए । उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे । नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा चार करोड पाँच लाख ९८ हजार रुपैयाँँको लागतमा तटबन्ध निर्माण सुरु भएको हो । वैशाखमा सुरु हुनुपर्ने सो काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो । कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठका अनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ । रासस

शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशत अर्थात् ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।