बागलुङको आदर्श सञ्चार सहकारीले ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण

<p>बागलुङ । बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको दुई हजार चार सय रुपैयाँका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी [&hellip;]</p>

बागलुङ । बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ ।

संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको दुई हजार चार सय रुपैयाँका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् । सहकारीले सञ्चारमाध्यम सञ्चालनलाई मुख्य उद्देश्य मान्दै आएको छ ।

“सहकारीका सात सिद्धान्तअनुरुप सहकारी चल्नुपर्दछ, हामीले सहकारीमा शेयर सदस्य भई ७० वर्ष नाघिसकेका सदस्यले मासिक दुई सय रुपैयाँका दरले वर्षको दुई हजार चार सय रुपैयाँँ र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता दिँदै आएका छौँ”, अध्यक्ष जिसीले भनिन्, “सामाजिक उत्तरदायित्व निभाउँदै सहकारीले पेन्सन, अपाङ्गता भत्ता, स्वास्थ्य सेवा र अक्षय कोषसँगै विभिन्न विपद्मा परेकालाई सहयोग प्रदान गर्दै आएको छ ।”

पाँच वर्षअघिदेखि सुरु गरिएको ज्येष्ठ नागरिक पेन्सनबाट चालू आर्थिक वर्षमा २६ जना लाभान्वित भएका छन् भने तथा अपाङ्गता भत्ताबाट २० जना अपाङ्गता भएका शेयर सदस्य लाभान्वित भएका हुन् ।

सहकारीले बागलुङबाट रोजगारीका लागि कोरिया पुगेका नेपालीले बागलुङ सम्पर्क समाज दक्षिण कोरियामार्फत स्थापना गरेको स्वास्थ्य सेवा अक्षय कोषबाटसमेत ४० जनालाई पाँच हजार रुपैयाँँका दरले स्वास्थ्योपचारका लागि रकम प्रदान गरिसकेको सहकारीका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए ।

आदर्श सञ्चार सहकारीमा विगत १० वर्षदेखि सदस्य भई ७० वर्ष नाघेका शेयर सदस्यले मासिक  दुई सय रुपैयाँका दरले पेन्सन पाउने व्यवस्था गरिएको सापकोटाको भनाइ छ । पेन्सन वितरणका लागि सहकारीले पेन्सन कोषको व्यवस्था गरेको छ । कोषमा नयाँ बन्ने शेयर सदस्यले एकपटक एक सय  रुपैयाँँ र अन्य सबै सदस्यले एकपटक रु तीन हजार कोषमा योगदान गर्नुपर्ने हुन्छ ।

संस्थाले सूचना र सञ्चारका क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरि जागरण दैनिक, नौ वर्षदेखि अग्रसर साप्ताहिक र चार वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन र १० वर्षदेखि धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल तीन हजार तीन सय जना शेयर सदस्य रहेका र  पाँच करोड ५५ लाख रुपैयाँ शेयर रकम,  ३० करोड बचत,  ३८ करोड कर्जा लगानीसहित  ४५ करोड कूल सम्पत्ति रहेको प्रबन्धक सापकोटाले जानकारी दिए ।

आगामी असार मसान्तसम्म पाँच हजार जनाभन्दा बढी शेयर सदस्य, आठ करोड शेयर पुँजी,   ४६ करोड बचत, ५१ करोड कर्जा लगानीसहित कूल सम्पत्ति  ५६ करोड पुर्याउने लक्ष्य रहेको छ ।

संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यसनविरुद्ध आमा अभियान, महिलाले महिनावारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला सशक्तीकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

Share News