सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ – चिरिबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन् । शनिवार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन् । उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताए । उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । उनले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए । उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका यसमा हुनुपर्ने बताए । उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भुमिका खेल्नुपर्ने बताए । उनले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्नसक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त ? सस्तो पनि त हुनुपर्छ । अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन ।’ मेट्रो रेलको अनिवार्य आवश्यकता भएको भन्दै मेयर महर्जनले मेट्रो रेल सञ्चालनको विषयमा उपत्यकाभित्रका १८ वटै पालिकाले भूमिका खेल्नुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्व नगरी यो काम अघि बढाऔँ । यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका खेल्नुपर्छ । त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो । यमसा अघि बढौँ’, उनले भने । मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी गरेका छन् ।
‘महापुरुष’ एक्काउनौँ दिनमा
काठमाडौं । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ । कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ : द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् । ‘दर्शकको साथले थप ऊर्जा मिलेको छ’, उनले भने। नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गर्नुभएको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो । ‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । ‘उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ’, उनले भने । अमेरिका भ्रमण सकेर नेपाल फर्किनुभएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ’, अभिनेता आचार्यले भने । चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन्। चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् ।
स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ – प्रधानमन्त्री देउवा
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टयाएका हुन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे । । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए । उनले भने, ‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी नागरिक जवाफदेही हुनु पर्दछ ।’ कार्यक्रममा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।
‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान
ललितुर । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । सो स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई जनही एक लाख नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई प्रदान गरेका थिए ।
घट्यो मध्यमर्स्याङ्दीमा विद्युत उत्पादन, आपुर्तिमा समस्या थपिदै
लमजुङ । लमजुङ जिल्लामा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताए । उनले भने, ‘एक महिनाअघि सम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।’ अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ । यहाँ आयोजना ३५/३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने उक्त आयोजनाले जनाएको छ । विगतको वर्षहरुमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो । यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरुमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ । मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ । त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४।४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।
व्यवसायीका बैंकिङ र वित्तीय समस्या पहिलो प्राथमिकतामा : अध्यक्ष पराजुली
विराटनगर । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन् । विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए । उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।
तातोपानीमा खुल्यो ३५ करोडको लागतमा सुविधासम्पन्न होटल
म्याग्दी । कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याएका हुन्। हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आएका थिए । यो होटल सञ्चालनमा आएपछि मुस्ताङ, घोरेपानी, पुनहिललगायतका पर्यटकीय स्थलको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताए । होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको ५७ वटा कोठा छन् । होटल सञ्चालनमा आएसँगै पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्न थालेका छन् । करिब आठ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापनसहित तीन वर्षको अवधिमा होटललाई आवश्यक पर्ने छ तलाको भवन निर्माण गरेको उनले बताए । । होटलमा एक दिनमा करिब दुई सय जनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताए। लगानीअनुसारकै स्तरीय सेवासुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताए । पार्किङसहित दृश्यावलोकनका लागि कृत्रिम झरनालगायतका आकर्षक भौतिक संरचना निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट सञ्चालन गरिएको छ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसमेत गर्न सकिने सुविधा रहेको छ । लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरि क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए। ठूलो होटल खुलेपछि तातोपानीका पर्यटन व्यवसायी उत्साहित बनेको उनले बताए । ‘म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ । बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकलाई आरामदायी सुविधासहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन्’, शेरचनले भने। होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरूको चाप बढ्ने र पर्यटकहरूको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताए । म्याग्दीको पर्यटन विकासमा टेवा पु(याउने उद्देश्यले करोडौँ लगानी गरेर आफूले होटल सञ्चालन गरेको सञ्चालक हमालले बताए। होटलमा ६० जनालाई रोजगारीसमेत दिएको उनले बताए । आजको गोरखापत्रमा ठाकुरप्रसाद आचार्यले लेखेका छन् ।
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने ६० जनाको लाइसेन्स खारेज हुने
काठमाडौं । ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच ९५० पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन् । पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ ।