पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाई’ भनेपछि भारतमा विरोध पदर्शन
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरुविरुद्ध नाराबाजीसमेत गरेका थिए । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेभने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए । बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ । भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अतिअपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ । भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ । किन आयो पाकिस्तानी विदेशमन्त्रीको तीखो टिप्पणी ? गत बुधबार सुरक्षा परिषद्मा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले परिषद्मा कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए । भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार पाकिस्तानी विदेशमन्त्रीले प्रधानमन्त्री मोदीलाई ‘कसाई’ भनेर सम्बोधन गरे । भारतका विदेशमन्त्रीले सन् २००१को नोभेम्बर ११ मा अमेरिकामा भएको आतङ्वादी हमलाका मुख्य योजनाकार ओसामा बिन लादेनलाई शरण दिएको, छिमेकी देशको संसद्मा पाकिस्तानले हमला गरेको पाकिस्तानलाई राष्ट्रसङ्घको शक्तिशाली अङ्ग सुरक्षा परिषद्मा उपदेश दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका थिए । ‘म भारतलाई भन्न चाहन्छु कि ओसामा बिन लादेन जीवित छैनन्, तर गुजरातको कसाई जीवित छ र उनी भारतको प्रधानमन्त्री हुन्’, भुट्टोले भने । उनले ‘उहाँ (पीएम मोदी) प्रधानमन्त्री नहुँदासम्म उहाँलाई यो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । यी हुन् आरएसएसका प्रधानमन्त्री र आरएसएसका विदेशमन्त्री । आरएसएस भनेको के हो ? आरएसएसले हिटलरको ‘एसएस’बाट प्रेरणा लिएको छ’, पाकिस्तानी विदेशमन्त्रीले भनेका छन् । अहिंसाका अभियन्ता महात्मा गान्धीका हत्यारालाई भारतले नायक बनाएको पनि उनले बताए । पाकिस्तानका विदेशमन्त्रीले आफू स्वयम् आतङ्वादको शिकार बनेको, आफ्नो देश पनि त्यसबाट प्रताडित रहेको बताउँदै पाकिस्तानले कहिल्यै पनि आतङ्वादलाई प्रश्रय नदिएको दाबी गरेका थिए ।
एक खर्ब ६० अर्ब लाग्ने ‘सुनकोसी–तेस्रो’को इआइए स्वीकृत
काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ । मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । उनका अनुसार आयोजनाको विसं २०७४ देखि अध्ययन सुरु गरिएको थियो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठवटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ । इन्जिनियर थपलियाका अनुसार सुनकोसी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमानसहित इआइए तथा जैविक, आर्थिक सामाजिक, अध्ययन गरी मस्यौदा प्रतिवेदन निर्माण गरिएको थियो । साथै, आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनियरिङ डिजाइनको कामसमेत सकिएको जनाइएको छ । यस्तै भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिइसकेर इआइए तयार गरिएको छ । विभागका अनुसार गत वर्ष माघमा वन मन्त्रालयमा पठाइएको इआइए प्रतिवेदन गत कात्तिक अन्तिम साता वनमन्त्री समेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा समेतको निर्णयबाट स्वीकृति भएको हो । नेपाल र बङ्गलादेशबीच सो आयोजना निर्माण गर्न गत भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा जलविद्युत् आयोजना प्रवद्र्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमतिसमेत भएको छ । त्यतिबेला बङ्गलादेश पक्ष दुई महिनाभित्र आयोजनाको सम्भाव्यतासम्बन्धी अध्ययन तथा वातावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका चार महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्न तयार भएको थियो । गत भदौमै बङ्गलादेशको टोलीले आयोजनाको स्थलगत भ्रमणसमेत गरेको थियो । वन मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने जनाइएको छ । इन्जिनियर थपलियाका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग समेत आयोजनाबारे सुझाव÷परामर्श लिइएको थियो । आयोजनाको अध्ययनसँगै प्रभावित क्षेत्रसँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय, सुझाव लिइसकिएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ । ‘योजनाको लागत अनुमान अध्ययनका क्रममा उक्त परिमाणको देखिएको हो’, थपलियाले भने । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेको तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावसमेत सङ्कलन गरिसकेको छ । विभागलाई आयोजनाप्रति रामेछापको खाँडादेवी र सुनापती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाले समेत राय–सुझाव दिइसकेका छन् । परियोजनाको मापदण्ड तथा कार्य विवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययन बाहेकमा थप बजेट विनियोजन गरेको छैन् । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका छन् । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र लाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्ति लगायतको विषय पनि उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, स्थानीय तहको वडास्तरमा विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्नेबारे सरोकारवालासँग तत्काल छलफल हुनुपर्ने बताए। ‘सरकारले आयोजनाको निर्माण कार्य कहिले सुरु गर्ने हो, सरकारले यसप्रति विशेष ध्यान दिई परिवार विस्थापनबारे सरोकारवालासँग छलफलमा गर्न ढिला गर्नुहुन्न, यो महात्वकाङ्क्षी योजना भएकाले जसरी पनि सफल बनाइनेछ’, उनले भने। आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको विभागले जनाएको छ । उक्त आयोजनाका लागि नेपाल सरकारले विसं २०७८ भदौ अन्तिम साता बङ्गलादेशलाई निर्माणको प्रस्ताव गरेपछि जेएससीको बैठकमा अनुमोदन भएको थियो । बङ्गलादेश र नेपालबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो । परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि ३३ करोड बजेट विनियोजन गरेको थियो । हालसम्मको विविध अध्ययनबाट सुनकोसी दोस्रोभन्दा तेस्रोको सम्भावना देखिएको जनाइएको छ । आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब चार सय ८४ मिटर लामो र एक सय ६६ मिटर उचाइको बाँध निर्माण गरी पाँच सय ७० घनमिटर प्रतिसेकेन्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग पाँच सय ३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ । सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी–तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित छ । आयोजना निर्माणछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ । २०७५ साल चैतमा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन ।रासस ।
विषाक्त मदिराले भारतको बिहार राज्यमा ३७ जनाको मृत्यु
एजेन्सी । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको बताएका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् । त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्। गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । अहिलेसम्म ३७ जनाको ज्यान गएको छ। उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन् । प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ । स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।
सातवटै प्रदेशप्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेशप्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ । आयोगले गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष समग्र निर्वाचनको प्रतिवेदन पेस गरेको थियो ।
मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । धार्मीक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रमकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे । एनएमबी बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो । डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्वार समिति, मनकामना मन्दिरका मुल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था सानाकिसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।
नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने
नेपालगञ्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन्। उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए । पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आएका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौँ ।’ नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थमसनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ भने । अमेरिकाले अब निजी क्षेत्रको सहकार्यमा लगानी गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाललाई विकसित मुलुकको सूचीमा पार्नका लागि यहाँ विकासका पूर्वाधार तयार गर्न बाँकी छन्, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ ।
नेवा सभ्यताको विश्वविद्यालय स्थापना गर्न मेयर बालेन्द्र शाहको प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गर्नु भएको हो । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर शाहले नेवाः सभ्यता सम्बन्धी विश्वविद्यालय र बागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे । मेयर शाहले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा समेत राखे । मेयर शाहले भने, ‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यता सम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु । त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्न सक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ । ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौं ।’ उनले काठमाडौंका कलाकौशलहरु अन्तर्राष्ट्रियकरण गर्न सकिने भन्दै बाजागाजाहरुमा नै डिग्री गर्न सकिने बताए । ‘हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्न सक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्न सक्छौं । नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन । हाम्रा पुस्तान्तरण गर्न पाउ । अव आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्नु पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ’, मेयर शाहले भने । मेयर शाहले दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाई भएको बताउँदै त्यसको लागि दुबै महानगरले सहकार्य गर्नुपर्छ । ‘हामी दुईटा महानगरपालिका, बागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर बागमतीको स्थायी सफाई अभियान । बागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ । यी दुई वटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढन सक्यौं भने निकै राम्रो सन्देश जान्छ । काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ । र, हाम्रो जुन मित्रवत भावना छ । त्यसलाई अझै मधुरता दिन सकिन्छ’, मेयर शाहले भने । मेयर शाहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए । उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए ।
नेपाल आँखा अस्पताललले वार्षिक १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो । अस्पतालको १७औँ साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए । उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम प्रविधिको प्रयोगद्वारा उपचार सेवा पुर्याएकाले पछिल्लो समय बिरामीको रोजाईमा नेपाल आँखा अस्पताल पर्दैआएको बताए। अस्पतालमा हाल १४ जना नेत्र विशेषज्ञसहित ११८ जना जनशक्ति कार्यरत रहेको र दैनिक सरदर सात सय बिरामीलाई सेवा पुर्याउँदै आएको छ । काठमाडौँ उपत्यकाभित्र अस्पतालले टोखा, खोकना, मूलपानी र थानकोट तथा उपत्यका बाहिर बाराको सिमरा र गोर्खाको भच्चेकमा आँखा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय अस्पतालले स्थान अभावकाकारण बिरामीको चाप धान्न र शुद्ध–सफा पानीको आपूर्तिमा देखिएको समस्या सम्वोधन गर्न विभिन्न विकल्पको खोजि गरिरहेको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरेको आठ सर्जिकल शिविरमा चार हजार ८६१ को आँखा परीक्षण गरेकोमा त्यसमध्ये सात सय ७९ को शल्यक्रिया गरिएको जानकारी दिएको छ । त्यस्तै मुलुकका विभिन्न स्थानमा सञ्चालन गरिएका १७ वटा ‘स्क्रिनिङ’ शिविरमा पाँच हजार नै सय ६० को आँखा परीक्षण गरिनुका साथै ४४ जनाको शल्यक्रिया भएको थियो । बालाजु स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यमा अस्पतालले नेत्र सहायक कोष सञ्चालन गरी वार्षिकरुपमा ७४ जना जनशक्ति उत्पादन गर्दैआएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठिान वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमबाट एमडी हालसम्म ५७ पुरा गरेका छन् भने बी अप्टोमेट्री कोर्षमा २३ अध्ययनरत रहेको सचिव मेघराज गजुरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अस्पतालले उक्त आर्थिक वर्षमा विभिन्न सेवा प्रदान गरेवापत १७ करोड २७ लाख ७७ हजार २३२ आम्दानी तथा सेवा प्रदान गर्ने सिलसिलामा १४ करोड ८९ लाख ४३ हजार खर्च गरेको थियो । उक्त आर्थिक वर्षमा अस्पतालले दुई करोड ३८ लाख ३४ हजार बचत गर्न सफल भएको कोषाध्यक्ष सविता भण्डारीको प्रतिवेदनमा उल्लेख छ । सो अस्पताल आगामी चैत ३० गते स्थापनाको ५० वर्षमा प्रवेश गर्दैछ । साधारणसभामा अस्पतालका संस्थापक प्राडा रामप्रसाद पोखरेलले देशमा आँखासम्वन्धी उपचार सेवा गुणस्तरीय र प्रभावकारी रहेकै कारण छिमेकी मुलुकका नागरिकसमेत ठूलो संख्यामा लाभान्वीत भएको बताए । उपाध्यक्ष दमन घलेले अस्पतालले अविछिन्न गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी संस्थाको गरिमा कायम गर्न सफल भएको प्रतिक्रिया दिए। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कमलबहादुर खड्काले अस्पतालले प्रदान गरिँदैआएका आँखा उपचारसम्वन्धी विभिन्न गुणस्तरीय सेवाबारे जानकारी गराए। अस्पतालका संस्थापक सदस्य विश्वकान्त मैनाली, आजीवन सदस्य कृष्णप्रसाद भण्डारी, तेजूलाल चौधरीलगायतले अस्पतालको श्रीबृद्धिमार्फत आमजनताको सेवाका लागि सबैबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए।