विकासन्युज

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार, संसदीय दलको नेतामा देउवा भारी मतले विजयी हुने

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गरे । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरुको भेलामा सहभागी भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेको भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए । उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे । ‘नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो, गठबन्धनमा पनि ठूलो दलको हैसियत छ, नेपाली काँग्रेसको प्रधानमन्त्री हुने कुरालाई देश, जनता र सबैले स्वभाविक रुपमा लिन्छन, केही दिनमै संसदीय दलको दलको निर्वाचन हुन्छ, हाम्रो दलको एकल बहुमत पनि छैन, अरु दलको सहयोग लिएर हामीले सरकार बनाउने हो, त्यो अवस्थामा नेपाली काँग्रेस एक ढिक्का छ, सर्वसम्मतबाट नेतृत्व चयन भए अझ बलियो सन्देश जान्छ,’ प्रवक्ता महतले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गरेका छन्, हामीले भन्न नमिल्ने भन्ने कुरा छैन, प्रधानमन्त्री भईसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ, नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ, त्यसलाई हामी सम्माननै गर्छौं तर अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व चाँही स्वभाविक ठहर्छ ।’ प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए । सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने बताए ।

फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउँदै वीरगञ्ज महानगर, ५ हजार जरिवाना

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कामलाई तिब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए । ‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा वेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा पनि असहज भएको थियो,’ उनले भने, ‘महानगरले सुरु गरेको अभियान अन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’ अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखी नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए । तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउठाउँमा बोर्ड राखिएको भन्दै उनले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उनले बताए । महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ सार्वजनिक, शिनको योगदान अविस्मरणीय

काठमाडौं । तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित उक्त पुस्तक शनिबार एक कार्यक्रमबीच सार्वजनिक भएको हो । सो पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको भूमिका उर्जागार गरेको छ । पुस्तकमा तत्कालिन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन् । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन् । जे. के. शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशव्यापी रुपमा विस्तार तथा नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तत्कालिन समयको स्मृतिमा लग्दछ । चिफ ग्रान्ड मास्टर जे. के. शिनका शिष्यहरु क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले कार्यक्रमको सुरुवात गरेकी थिइन् । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जे. के. शिनले गरेका योगदान अविस्मरणीय रहने बताए । ‘ओलम्पिकमा हाम्रो नेपालपछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ, तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरुको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने । विशेष अतिथि पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापनाकालका रोचक प्रसँग बताउँदै उनले भने, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो । तर पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले आम जनतालाई खेलाउन लागिएको हो ।’ उनले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । त्यस्तै, नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे । ‘बिमोचित पुस्तकमा रहेका ऐतिहासिक तस्वीरहरुले जे के शिन फादर अफ तेकवान्दो रहेको तथ्यलाई सबैको सामु उर्जागर गरेको छ । नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिनले नै तेक्वान्दो खेलको सुरुवात मात्र नभइ, उक्त खेल विधामा छोटो समयमानै नेपाललाई अन्तर्राष्ट्रियस्तरका पदक दिलाउन सफल भएको दावी गरे । यस्तै, कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्रसले जीवनलाई सँधै ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालिन समयमा जुनस्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो त्यसमा आएको ह्रासप्रति चिन्ता गरे । र, आफु जहिले पनि नेपालमा तेक्वान्दो खेलको विकासको लागि योगदान गर्न तत्पर रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट चन्द्र गुरुङले कार्यक्रमको सम्पूर्ण संयोजनका लागि डा. रबि मल्ललाई बिशेष दिए ।

रुपनी–राजविराज चार लेनको सडक निर्माण सुरु

राजविराज । लामो समयको प्रतिक्षापछि रुपनी–राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ । त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए। रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाईको सडक फराकिलो बनाउने काम सुरु भएको उनले बताए । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो । सडक डिभिजन कार्यालय लहानका इञ्जिनियर रमेश गोइतले तीन अर्बको अनुमानित लागतमा रुपनी–राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिए । हाल ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उनको भनाइ छ । विसं २०७८ चैत ९ मारुपनी–राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए।

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडौं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कूल चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो । लगानी स्वीकृत भएकामध्ये सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन् । गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा एक हजार आठ सय ६७ र पर्यटन क्षेत्रमा एक हजार आठ सय ५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले जनाएको छ । त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग एक हजार दुई सय ६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२, पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन् । हालसम्म वैदेशिक लगानी स्वीकृत भइसकेका उद्योगमध्ये ठूला उद्योग तीन सय २३, मझौता उद्योग छ सय २२ र साना उद्योग चार हजार छ सय ८३ छन् । त्यस्तै, हालसम्म वैदेशिक लगानी भित्रिएका साढे पाँच हजारभन्दा बढी कम्पनीबाट दुई लाख ९७ हजार नौ सय ३५ जनाले रोजगारी पाएको पनि विभागको विवरणमा उल्लेख छ । विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपछि लगानीका आधारमा उद्योग विभागले व्यावसायिक राहदानी उपलब्ध गराउँँदै आएको छ । विभागले गत कात्तिकमा मात्र चार सय ५९ विदेशीलाई राहदानीका लागि सिफारिस गरेको देखिन्छ । नेपालमा वैदेशिक लगानी गरेका लगानीकर्ता तीन सय ३७, वैदेशिक लगानीकर्ताका प्रतिनिधि तीन र आश्रित भिसा ८९ जनालाई उपलब्ध गराइएको विभागले जनाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार ६ अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुन्छ । त्योभन्दा माथिको लगानी भने लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने प्रावधान रहेको छ । रासस ।

कर्जा लिइसकेपछि तिर्नुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिइसकेपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । आर्थिक पत्रकारहरुका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयको अभिमुखिकरण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ऋणीले कर्जा लिइसकेपछि तिर्दैन भन्न नमिल्ने बताएका हुन् । ‘लघुवित्तबाट कर्जा लिएका ऋणीहरुले कर्जा तिर्दैनन्, यस्तो पनि हुन्छ, पैसा लैजाने तिर्दैन भन्न पाइन्छ ?, आन्दोलन गरेपनि कर्जा तिरेको भोलिपल्टबाट गरे भैगो नी ! लघुवित्त वा बैंकबाट कर्जा लिएपनि त्यो सर्वसाधारणको पैसा हो, यो भन्दा अराजकता केही हुन्छ सिस्टममा ?, कर्जा रकम मिनाह गरिदिनु पर्याे भन्छन्,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले निक्षेपलाई सहि परिचालन गर्नुपर्ने उनको भनाइ छ । यदि बैंक तथा वित्तीय संस्थाले सहि तरिकाले चलाउन सकेन भने कारबाहीको भागी हुनुपर्ने बताए । साथै उनले बैंकिङ प्रणाली सुधार गर्नको लागि नेपाल राष्ट्र बैंकले काम गरिरहेको बताए । वर्तमान अवस्थामा बैंकिङ क्षेत्रमा देखिएको अप्ठ्यारोलाई सुधार गर्न सबै पक्षले मिलेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाई’ भनेपछि भारतमा विरोध पदर्शन

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरुविरुद्ध नाराबाजीसमेत गरेका थिए । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेभने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए । बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ । भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अतिअपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ । भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ । किन आयो पाकिस्तानी विदेशमन्त्रीको तीखो टिप्पणी ? गत बुधबार सुरक्षा परिषद्मा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले परिषद्मा कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए । भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार पाकिस्तानी विदेशमन्त्रीले प्रधानमन्त्री मोदीलाई ‘कसाई’ भनेर सम्बोधन गरे । भारतका विदेशमन्त्रीले सन् २००१को नोभेम्बर ११ मा अमेरिकामा भएको आतङ्वादी हमलाका मुख्य योजनाकार ओसामा बिन लादेनलाई शरण दिएको, छिमेकी देशको संसद्मा पाकिस्तानले हमला गरेको पाकिस्तानलाई राष्ट्रसङ्घको शक्तिशाली अङ्ग सुरक्षा परिषद्मा उपदेश दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका थिए । ‘म भारतलाई भन्न चाहन्छु कि ओसामा बिन लादेन जीवित छैनन्, तर गुजरातको कसाई जीवित छ र उनी भारतको प्रधानमन्त्री हुन्’, भुट्टोले भने । उनले ‘उहाँ (पीएम मोदी) प्रधानमन्त्री नहुँदासम्म उहाँलाई यो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । यी हुन् आरएसएसका प्रधानमन्त्री र आरएसएसका विदेशमन्त्री । आरएसएस भनेको के हो ? आरएसएसले हिटलरको ‘एसएस’बाट प्रेरणा लिएको छ’, पाकिस्तानी विदेशमन्त्रीले भनेका छन् । अहिंसाका अभियन्ता महात्मा गान्धीका हत्यारालाई भारतले नायक बनाएको पनि उनले बताए । पाकिस्तानका विदेशमन्त्रीले आफू स्वयम् आतङ्वादको शिकार बनेको, आफ्नो देश पनि त्यसबाट प्रताडित रहेको बताउँदै पाकिस्तानले कहिल्यै पनि आतङ्वादलाई प्रश्रय नदिएको दाबी गरेका थिए ।

एक खर्ब ६० अर्ब लाग्ने ‘सुनकोसी–तेस्रो’को इआइए स्वीकृत

काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ । मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । उनका अनुसार आयोजनाको विसं २०७४ देखि अध्ययन सुरु गरिएको थियो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठवटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ । इन्जिनियर थपलियाका अनुसार सुनकोसी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमानसहित इआइए तथा जैविक, आर्थिक सामाजिक, अध्ययन गरी मस्यौदा प्रतिवेदन निर्माण गरिएको थियो । साथै, आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनियरिङ डिजाइनको कामसमेत सकिएको जनाइएको छ । यस्तै भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिइसकेर इआइए तयार गरिएको छ । विभागका अनुसार गत वर्ष माघमा वन मन्त्रालयमा पठाइएको इआइए प्रतिवेदन गत कात्तिक अन्तिम साता वनमन्त्री समेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा समेतको निर्णयबाट स्वीकृति भएको हो । नेपाल र बङ्गलादेशबीच सो आयोजना निर्माण गर्न गत भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा जलविद्युत् आयोजना प्रवद्र्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमतिसमेत भएको छ । त्यतिबेला बङ्गलादेश पक्ष दुई महिनाभित्र आयोजनाको सम्भाव्यतासम्बन्धी अध्ययन तथा वातावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका चार महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्न तयार भएको थियो । गत भदौमै बङ्गलादेशको टोलीले आयोजनाको स्थलगत भ्रमणसमेत गरेको थियो । वन मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने जनाइएको छ । इन्जिनियर थपलियाका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग समेत आयोजनाबारे सुझाव÷परामर्श लिइएको थियो । आयोजनाको अध्ययनसँगै प्रभावित क्षेत्रसँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय, सुझाव लिइसकिएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ । ‘योजनाको लागत अनुमान अध्ययनका क्रममा उक्त परिमाणको देखिएको हो’, थपलियाले भने । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेको तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावसमेत सङ्कलन गरिसकेको छ । विभागलाई आयोजनाप्रति रामेछापको खाँडादेवी र सुनापती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाले समेत राय–सुझाव दिइसकेका छन् । परियोजनाको मापदण्ड तथा कार्य विवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययन बाहेकमा थप बजेट विनियोजन गरेको छैन् । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका छन् । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र लाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्ति लगायतको विषय पनि उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, स्थानीय तहको वडास्तरमा विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्नेबारे सरोकारवालासँग तत्काल छलफल हुनुपर्ने बताए। ‘सरकारले आयोजनाको निर्माण कार्य कहिले सुरु गर्ने हो, सरकारले यसप्रति विशेष ध्यान दिई परिवार विस्थापनबारे सरोकारवालासँग छलफलमा गर्न ढिला गर्नुहुन्न, यो महात्वकाङ्क्षी योजना भएकाले जसरी पनि सफल बनाइनेछ’, उनले भने। आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको विभागले जनाएको छ । उक्त आयोजनाका लागि नेपाल सरकारले विसं २०७८ भदौ अन्तिम साता बङ्गलादेशलाई निर्माणको प्रस्ताव गरेपछि जेएससीको बैठकमा अनुमोदन भएको थियो । बङ्गलादेश र नेपालबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो । परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि ३३ करोड बजेट विनियोजन गरेको थियो । हालसम्मको विविध अध्ययनबाट सुनकोसी दोस्रोभन्दा तेस्रोको सम्भावना देखिएको जनाइएको छ । आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब चार सय ८४ मिटर लामो र एक सय ६६ मिटर उचाइको बाँध निर्माण गरी पाँच सय ७० घनमिटर प्रतिसेकेन्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग पाँच सय ३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ । सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी–तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित छ । आयोजना निर्माणछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ । २०७५ साल चैतमा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन ।रासस ।