काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको कारण धेरै नेपालीको पैसा बचेको धारणा राखेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकको नीतिकै कारण धेरै नेपालीले बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी नगरेर धेरैको पैसा बचेको धारणा राखेका हुन् ।
‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे, नेपालमा पनि कानुन मान्यता दिनु पर्छ भनेर आवाज उठाए तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर पटक-पटक सर्वसाधारणलाई सजग गरायौं, अहिले बिट्क्वाइनको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो,’ उनले कार्यक्रममा भने ।
कार्यक्रममा उनले नेपाल राष्ट्र बैंक आफ्नै डिजिटल करेन्सी बनाउने तर्फ तयारी गरिरहेको बताए । उनले छिमेकी देशले आफ्नै डिजिटल करेन्सी अगाडि सारेको र भारतको अभ्यास हेरेर राष्ट्र बैंकले पनि डिजिटल करेन्सीको विषयमा सोचिरहेको जानकारी गराए ।
‘अब डिजिटल करेन्सीको विकल्प छैन, हामी सकारात्मक छौं,भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ, अब हामीले पनि यस विषयमा सोच्नु पर्छ,’ उनले भने ।