विकासन्युज

शुक्लाफाँटा नगरपालिकामा मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ। मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने भएको छ। मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७६ का शर्त पालना गर्न व्यवसायीले मञ्जुर गरेको व्यहोरा सम्बन्धित वडा कार्यालयबाट तयार पारिने स्थलगत मुचुल्कासँगै सिफारिसपत्रमा स्पष्टरूपमा उल्लेख भएको हुनुपर्ने व्यवसाय दर्ता शाखाका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए। व्यवसाय दर्ताका लागि निवेदन, मुचुल्का र सिफारिस साथ आएका व्यवस्थायीको स्थानको निरीक्षण गरेरमात्रै अनुमति दिइने उनले बताए। ‘नगरपालिकासँग कानुनी प्रावधान नहुँदा विगतमा  विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरजस्ता धार्मिक महत्वका स्थान नजिकै मदिराजन्य र सुर्तिजन्य कारोबार गर्ने पसल राखिए थिए’, उनले भने, ‘त्यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ।’ मदिराको सेवनले गर्दा सार्वजनिकस्थलमा हुने अवाञ्छित क्रियाकलाप, हो–हल्ला, झै–झगडालगायतका कार्य नियन्त्रण गरी कानुनी कारबाही गर्नका लागि कार्यविधिले मार्गप्रशस्त गरेको उनको भनाइ छ। प्रचलित कानुन र कार्यविधिबमोजिम व्यवसाय दर्ता नगरी मदिरा, सुर्तिजन्य र अन्य कारोबार गरेको पाइएमा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्न सकिने कार्यविधिमा कानुनी प्रावधान राखिएको छ। ‘नेपाल सरकारको सहयोग लिई सरकारी निकाय तथा अन्य सार्वजनिक  संस्थानबाट प्रवाह हुने सेवा सुविधा रोक्का गर्न सकिने प्रावधान कार्यविधिमा राखेका छौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘तीन महिनाभित्र व्यवसाय दर्ता, नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसाय बन्द गरी लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित कानुनबमोजिम असुलउपर गर्ने नियम बनाइएको छ।’ कार्यालयले ऐन तथा कार्यविधिबमोजिम तिर्नुपर्ने, बुझाउनुपर्ने कर रकम दाखिला नगर्ने व्यक्ति वा संस्थाको नाम कार्यपालिकाबाट निर्णय गरी सार्वजनिक गर्ने उनको भनाइ छ। कार्यविधिबमोजिम एकपटक नगरपालिका कार्यालयमा एक प्रकारको व्यवसाय दर्ता भइसकेपछि त्यसमा तोकिएको दस्तुर लिई एकै प्रकृतिको व्यवसायबाहेक अन्य प्रकृतिको व्यवसाय थप गर्न नपाइने भएको छ। नगरपालिकामा रहेका व्यवसायीले प्रचलित श्रम ऐन तथा श्रम सङ्गठनसँग सम्बन्धित कानुनको पूर्णरूपमा पालना गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ। व्यवसाय सञ्चालनका क्रममा उत्पादन हुने औद्योगिक, स्वास्थ्य, संस्थाजन्य र हानिकारक फोहरमैलाबाहेक साधारण फोहरमैला नगरपालिकाले तोकेको सेवाशुल्क लिई व्यवस्थापन गर्ने कुरा जारी गरिएको कार्यविधिमा उल्लेख गरिएको छ। कार्यविधि जारी भएपछि व्यवसाय दर्ता, नवीकरणका लागि सहजीकरण हुने छ। अभिलेख व्यवस्थापन गर्न सहज हुने छ। नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका विभिन्न प्रकारका व्यापार व्यवसाय गर्ने फार्म, उद्योगको सङ्ख्या एक हजार ४६ रहेको छ। यसमा कृषिजन्य तीन सय १९ र पशुजन्य ८१ रहेका छन्। रासस

पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अवैध संरचना हटाउँदै चन्द्रकोट गाउँपालिका

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । ‘कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो’, उनले भने, ‘चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ ।’ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफैँ हटाउने बताए । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ । रासस

उदयपुरको कृषि प्राविधिकका विद्यार्थीले च्याउखेतीबाट मनग्य आम्दानी लिँदै

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । ‘किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौं’, छात्र विवश लामिछाने भन्छन्, ‘भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि ।’ २२ विद्यार्थीले ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमै ४० हजार आम्दानी लिइसकेका छन् । दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ । पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउखेती गर्दै आएका विद्यार्थी बताउँछन् । ‘यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौं’, छात्र सन्देश भण्डारीले भने, ‘पढाइसँगै सीप पनि सिक्छौँ र पढ्न खर्च पनि बनाउँछौँ ।’ भविष्यमा च्याउखेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए । कटारीमा च्याउको मागअनुसार उत्पादन नभएको पाइएपछि च्याउखेती गरिएको विद्यार्थीको भनाइ छ । विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन् । विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताएँछन् । ‘पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन् ।’ दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन् । उनीहरूले उत्पादन गरेको च्याउ विद्यालयमै बिक्री हुने गरेको छ । च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन् । जाडो मौसममा राम्रो उत्पादन हुने कन्या च्याउ लगाइएको जनाउँदै विद्यार्थीले सामूहिकरूपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताउँछन् । यस विद्यालयका विद्यार्थीले यसअघि गएको तिहारमा सयपत्री फूलखेती गरेर पनि राम्रो आम्दानी गरेका थिए ।

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । ‘न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो’, उनले भने, ‘गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पुर्याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।’ न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ । ‘त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।’ अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।

प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको जग्गा अधिग्रहण, प्रतिकठ्ठा १८ लाख

काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट वरिपरि रहेको पुरातात्विक महत्वको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । साथै, अधिग्रहण हुने जग्गाको मुआब्जा समेत निर्धारण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोटको किल्ला पर्खाल भन्दा बाहिर रहेको महत्वपूर्ण पूरातात्विक संरचनाहरु संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको हो । पुरातात्विक वस्तु भेटिएका ठाउँहरुको जग्गा स्थायी रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गरिने भएको हो । जग्गाहरुको मुआब्जा (मूल्य) निर्धारण गर्न पुस ४ गते मुआब्जा निर्धारण समितिको बैठक बसी विभिन्न ठाउँको मुआब्जा निर्धारण गरिएको र सोही अनुसार मुआब्जा वितरण गर्ने निर्णय गरेको छ । सम्बन्धित जग्गाधनीहरुले मुआब्जा रकम दावी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायतका जग्गाको हकभोग सम्बन्धी सबुत निस्सा र आफूसँग भएको अन्य प्रमाण ३५ दिनभित्र पेश गर्नुपर्नेछ । साथै जग्गाको मुआब्जा लिन १० रुपैयाँको टिकट टाँसी रितपूर्वकको निवेदन सहित कपिलवस्तु संग्रहालय, कपिलवस्तुमा सम्पर्क राख्नुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानून बमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अधिग्रहण गरिने जग्गाहरुमध्ये मुआब्जा वितरणका लागि सहायक पीच सडकमा जोडिएको जग्गाको प्रतिकठ्ठा १८ लाख १६ हजार ५ सय रुपैयाँ र कृषि योग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ मूल्य तोकिएको छ । साथै, सहायक पिच बाटोमा पर्ने गोबरी ८ क कित्ता नम्बर १२४ को जग्गा अधिग्रहण गरिने भएको छ । यस्तै, कृषि योग्ग जग्गामा पर्ने गोबरी ८ क.का कित्ता नम्बर ५, ६, ७, ९, १०, ११, १३, १४, १७, १८, २५, २६, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ४०, ४१, ४२, ४४, ४५, ४६, ४७, ४८, ६४३, १०१३, १२५८, १२५९, १२६३, १३६६, १३६७, १३६८ र गोबरी ८ ख.का कित्ता नम्बर १०४, २०६, ३५८, ३५९, ३६०, ३६१, ३६३, ३६४, ३६५, ३६६ मा रहेको जग्गा अधिग्रहण गरिने कपिलवस्तु प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

काँक्रो खेतीबाट वार्षिक छ लाख आम्दानी गर्दै नवलपरासीका किसान

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरिरहेकी छन् । १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर ६७ हजार आम्दानी गरेको बताइन्। ‘एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छौँ’, किसान रानाले भनिन् । सात हजारको लगानीमा अहिले उत्पादन सुरु भएको काँक्रोबाट ३३ हजार आम्दानी आइसकेको भन्दै उनले भनिन्, ‘आफैँले मेहेनत गरेर कमाउने भएपछि निकै खुसी मिल्ने रैछ, ऋण खोज्न परेको छैन, अहिले परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ ।’ कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदै आएका छन् । वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन् । धान बालीमात्रै लगाउँदै आएकी दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आएकी छन् । ‘दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा करिब दुई लाख आम्दानी हुने गरेको छ’, उनले भनिन्, ‘यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ ।’ यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा छ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडौँ पठाउने गर्दछन् । किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् । हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ । यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् । समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। गाउँपालिका क्षेत्रबाट उत्पादन हुने तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।