कालीकोटको सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधिमार्फत सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी भएअनुसार तत्काल गाउँपालिकाका २१ वटा आधारभूत विद्यालयमा इन्टरनेट सेवा सुरुआत हुने गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए । ‘स्थानीय तहले तत्काल प्रधानाध्यापकलगायत सरोकारवालाको भेलामा माइक्रो, फोरजी र फाइबरमध्ये कुन सेवा उपयुक्त हुन्छ सोही सेवाको इन्टरनेट सेवा विस्तार गर्ने भएको छ’, उनले भने, ‘सुरुमा सामुदायिक विद्यालय त्यसपछि सबै विद्यालयमा उक्त सेवा उपलब्ध गराइनेछ ।’ विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । उनले भने, ‘यसका लागि प्राधिकरणले पहिलो चरणमा अध्यायन गर्ने भएको छ ।’ सूचना प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजनाअनुसार नै गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न थालिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश बरालले जानकारी दिए । उनले भने, ‘परम्परागत शिक्षण विधिभन्दा सूचना प्रविधि विधिबाट शिक्षण गराउनु अहिलेको आवश्यकता हो ।’
नेकपा एसको संसदीय दलको नेतामा अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रश्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको बताए । ‘पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको छ, गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरेपनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल भएको छैन,’ उनले भने । महासचिव भुसालले आईतबार पार्टीको सचिवालय बैठकले गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गरेर सरकारमा जाने निर्णय गरेको बताए ।
५० करोडको निर्यात गरेर पनि अनुदान नपाइने भएपछि उद्योगी असन्तुष्ट, एक वर्ष कुर्नु पर्ने
काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्दै निर्यातमा दिन लागेको ८ प्रतिशत अनुदानमा तोकिएको समय सीमामा उद्योगीले असन्तुष्टी जनाएका छन् । सरकारले निर्यात अनुदान सम्बन्धी जारी गरेको कार्यविधिमा निर्यातमा अनुदानका लागि आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र दाबी गर्न सकिने उल्लेख गरेसँगै उद्योगी व्यवसायीहरु असन्तुष्ट भएका हुन् । ५० करोड रुपैयाँमाथि निर्यात गर्ने उद्योगले ८ प्रतिशत अनुदान पाउने कार्यविधिमा उल्लेख छ । वार्षिक रुपमा ५० करोड रुपैयाँ माथिको निर्यात गर्ने उद्योगलाई तोकिएको समयसीमा उद्योगीमैत्री नभएको उद्योगीले बताएका छन् । श्रीस्टील तथा अघाँखाची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल अनुदानका लागि समयावधि तोकिने नीति गलत भएको बताउँछन् । ‘हाम्रो पुँजी फस्छ, निर्यातको रकम लिन नै एक वर्ष पर्खनु पर्दा बजारमा पुँजी चलायमान हुँदैन,’ उनले भने, ‘तोकिएको ५० करोड रुपैयाँ बढीको निर्यात गरिसकेपछि अनुदान दिनुपर्छ, हामीमध्ये कोहीले १ महिनामा कोहीले ३ महिनाभित्र ५० करोड बढीको निर्यात गरिसक्यौँ भने अनुदान दिनुपर्छ ।’ उनले अर्घखाँची सिमेन्ट र श्री स्टीलले नियमित रुपमा भारतका बजारमा नेपाली उत्पादन निर्यात गरिरहेको भन्दै अपेक्षा गरेअनुसारको निर्यात हुन नसकेको बताए ।‘नयाँ ब्राण्ड र नयाँ बजारका कारण अहिले निर्यात सुस्त भएको छ, समय लाग्छ, हामीले सुस्त रुपमा भएपनि निर्यात जारी राखेका छौँ’, उनले भने । उद्योग विभागका सूचना अधिकारी रमिला भण्डारी आगामी आर्थिक वर्षका लागि मात्रै अनुदान कार्याविधि कार्यान्वयनमा आउने बताउँछिन् । ‘निर्यातमा अनुदान कार्यान्वयन हुने भनेको नै आगामी आर्थिक वर्षमा हो, आगामी वर्षका लागि भएर अहिलेसम्म मागदाबी आएको छैन’, उनले भनिन । ५० करोडभन्दा कम निर्यात गर्नेलाई पनि नगद अनुदानको व्यवस्था गरेको छ । सरकारले निर्यात गर्ने वस्तुलाई वर्गीकरण गरी अनुदान दिने भएको हो । हस्तकला, काष्ठकला, जडीबुटी, तरकारी तथा फलफूलमा ५ प्रतिशतसम्म अनुदान र सिमेन्ट, छडमा ४ प्रतिशत दिने व्यवस्था छ । हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित तथा अर्धप्रशोधित जडीबुटी, बेसार, ताजा तरकारी, फूल, अलैँची, अदुवा, दुग्धजन्य पदार्थ, फलफूल, अम्रिसोलगायतका ५० प्रतिशत भ्यालुएड भएका वस्तुले नगद अनुदान पाउनेछन् । कुल निर्यात मूल्यको पाँच प्रतिशतले हुन आउने रकम अनुदान पाउनेछन् । यसमा ८० प्रतिशत भ्यालुएड गर्नेले मूल्यको १ प्रतिशत थप नगद अनुदान पाउने छन् । यी वस्तुको भ्यालुएड ३० प्रतिशत कम भए ४ प्रतिशत नगद अनुदान पाउनेछन् । त्यसैगरी, क्लिंकर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन, प्याईउडले वस्तुको उत्पादनमा कम्तीमा ३० प्रतिशत भ्यालुएड भएका वस्तुले नगद अनुदान पाउनेछन् । पश्मिना, क्यासमेयर लगायतका वस्तुले ४ प्रतिशत अनुदान पाउने छन् । त्यस्तै राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमार्फत् वस्तुको निर्यात गरेमा कुल निर्यातको एक प्रतिशतले हुन आउने थप रकम अनुदान दिइने छ । कार्यविधिअनुसार अघिल्लो आर्थिक वर्ष निर्यात गरेको परिमाणभन्दा २० प्रतिशतले बढी निर्यात गरेमा १ प्रतिशत रकम थप अनुदान दिने व्यवस्था गरेको छ । निर्यातकर्ताले पाउने अनुदानलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रविधि तथा क्षमता विकास र विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नुपर्ने शर्त राखेको छ । आवेदन दिएको २२ दिनमा पैसा पाइने उद्योगी व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र नगद अनुदान लिन उद्योग विभागमा अनलाईन माध्यम वा भौतिक उपस्थितिमा निवेदन दिन सक्नेछन् । विभागले उद्योगको उत्पादनको मूल्यवृद्धि एकिन गरी १५ दिन भित्र नगद अनुदान उपलब्ध गराउन उद्योगी र व्यवसायीले छनोट गरेको बैंकलाई सिफारिस गर्नु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट रकम शोधभर्ना लिने गरी उद्योग विभागबाट पत्र पाएको ७ दिन भित्र नगद अनुदान खातामा जम्मा गर्नु पर्नेछ । अर्थ मन्त्रालयले नगद अनुदान दिने प्रयोजनका लागि राष्ट्र बैंकमा छुट्टै खाता खालेर रकम राख्नु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
सेयर लगानीकर्ताकाे लागि स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा
काठमाडौं । सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो । एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरु छन् । यो एपले सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए । यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए । यसैगरी प्याकेजमा उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने छन् । एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निशुल्क प्रयोग गर्न पाउने छन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन् । यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । यी प्याकेजको रकम भुक्तानी इसेवाबाट गर्न सकिनेछ । यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निशुल्क प्रयोग गर्न सकिन्छ । नेपाली सेयरबजारमा नवलगानीकर्ताहरु प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि सेयरबजार सम्बन्धी ज्ञान नहुँदा धेरै मानिसहरु नोक्सान व्यहोर्न बाध्य छन् । त्यस्ता लगानीकर्ताहरुले यो एपबाट धेरै जानकारी तथा सूचनाहरु, तुलनात्मक अध्ययन लगायतको सदुपयोग गर्न सक्छन् । यस आधारमा लगानीकर्ताहरुलाई सेयर सम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने श्रेष्ठको दाबी छ । लञ्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरुको सङ्ख्या ४ हजार भन्दा धेरै पुगेको छ । एप तथा एप भित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहु बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए । यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुम मार्फत एपभित्रका सम्पूृर्ण फिचरको बारेमा जानकारीमुलक छलफल गर्नुका साथै निशुल्क प्राविधिक विश्लेषण समेत गराउँदै आएको छ ।
पूर्वी भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत सम्भावना रहेको जानकारी दिए । उनले भने, ‘विहारमा न्यूनचापीय प्रणालीको सानो प्रणाली देखापरेकाले देशका पूर्वी भेगमा बादल बढ्ने र हिमपात हुने सम्भावना छ, केही क्षेत्रमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।’ विशेषगरी प्रदेश १ र बागमती प्रदेशमा बढी बद्ली रहने मौसमविद् अधिकारीले उल्लेख गरे । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहनुका साथै बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिका समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । राजधानी काठमाडाैं उपत्यकाको आकाश बिहान सामान्य बद्ली रहे पनि मध्याह्नदेखि पारिलो घाम लागेको छ । रासस
५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर लाग्ने छैन । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान छ । ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिनसमेत पाइनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात चार अर्ब २५ करोड र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् रु ७५ करोड बराबरको रकम छुट्याइएको छ । ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ पचास हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने प्रबन्ध गरिएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।
‘वान एक्स बेट’ मार्फत सट्टाबाजीमा एउटै नेपालीले गरे ८ करोडको कारोबार, के हुन्छ कारवाही ?
काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ । सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३१ वर्षका सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ का २५ वर्षीय अजय भेल पक्राउ परेपछि तथ्य खुलेको हो । उनीहरुलाई मुलुकी अपराधसंहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ । उनीहरुलाई वान एक्स बेटले खेलाडीमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाएर एजेन्ट बनाएको पाइएको छ । पक्राउ परेका व्यक्तिले सट्टाबाजी गराउन विगत एक वर्षदेखि एजेन्टको रुपमा काम गर्दै आएको खुलेको छ । सट्टेबाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका चौगुठीको २३ वटा बैंकको २५ वटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म सात बैंकमार्फत उनले एक वर्षको अवधिमा दुई करोड, ४५ लाख ७१ हजार आठ सय ९९ कारोबार गरेको खुल्न आएको र अन्य बैंकको विवरण प्राप्त हुने क्रममा रहेको कोइरालाले बताए । भेलको विभिन्न १९ बैंक खाताको कारोबार माग गरिएकोमा हालसम्म प्राप्त सात बैंकको खाताको विवरणमा करिब ६ महिनाको अवधिमा ६० लाख ३० हजार कारोबार भएको खुलेको छ । अनुसन्धानमा वान एक्स बेटमार्फत हुने कारोबार क्रिप्टोकरेन्सीको कारोबारसँग अन्तरसम्बन्धित रहेको पाइएको छ । सट्टाबाजी गर्ने समूह बढ्दो रहेको बताइएको छ । यसअघि मङ्सिर २८ मा पक्राउ परेका लमजुङका सुजन गौलीले उक्त सट्टेबाजीमा इसेवा, आइएमइ, खल्ती सेवाबाट मात्रै दुई करोड ३६ लाख कारोबार गरेको पाइएको छ । अनुसन्धानका क्रममा अन्य विभिन्न २६ डिजिटल वालेटमार्फत उनले झण्डै आठ करोड बराबरको कारोबार गरेको खुल्न आएकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मङ्सिर २६ पक्राउ परेका ललितपुरका आदर्श ठाकुरले पनि यस्तै एपमार्फत दुई करोड बढीको कारोबार गरेको फेला परेको थियो । उनी पनि प्रहरीको अनुसन्धानमै छन् । मङ्सिर २५ गते पाल्पाका रुद्रप्रसाद पोखरेल र भारतका पवनकुमार शर्मा काठमाडौँको नरदेवीबाट सट्टेबाजीकै कसूरमा पक्राउ परेका थिए । पछिल्ला घटनाक्रमले प्रविधिको दुरुपयोग तीव्र रुपमा बढिरहेको देखिएको र त्यहीमार्फत प्रलोभनमा परेर मानिस ठूलो रकम ठगीमा पर्ने गरेकाले त्यसबाट सतर्क रहनुपर्ने केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् । रासस
जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन
काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।