काठमाडौं । २०७८ को बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा पुनःनिर्माणले गति लिन सकेको छैन् । उद्घाटन भएको डेढ वर्ष बितिसक्दा समेत धरहरा पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको हो ।
धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका हुन ।
कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताए ।
मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनको भनाई छ । उनले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको समेत बताए ।
सुन्धारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो ।
२०७५ पौष १२ गते प्रधानमन्त्री ओलीले निर्माणको औपचारिक उद्घाटन गर्दै निर्माणको शुभारम्भ गरेको २२ तले धरहरा टावरको निर्माण सम्पन्न भएको भन्दै उद्घाटन गरेका थिए ।
२२ तलाको टावरको निर्माण अन्तिम चरणमा पुगेपनि अन्य काम आधाभन्दा बढी बाँकी रहदा उनले उद्घाटन गरेका थिए । ४२ रोपनी क्षेत्रफलमा तीन अर्व ८० करोडको लागतमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । ११ तले धरहरा १९९० सालको भूकम्पले पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले ११ तले धरहरालाई नौ तलामा कायम गरी पुनर्निर्माण गरेका थिए ।