जनताको अपेक्षानुसारको भुमिका निर्वाह गर्छु : सभामुख जबरा
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए । उनले जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि जोड दिए । ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भुमिका निर्वाह गर्नेकुरामा अडिग रहेको स्पष्ट पारे । उनले भने, ‘यो पटक सदनको साथ सदस्य भएर यो सदनलाई थर्काउँछु । असल र इमान्दारीसाथ सभामुखको भुमिका निर्वाह गर्नेछु ।’ ज्येष्ठ सदस्य सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरुलाई बुलन्द पार्ने बताए ।
पृथ्वी राजमार्गमा दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति दिने
तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब आठ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन् । हालसम्म करिब आठ प्रतिशत कार्य सम्पन्न भएको र सडक फराकिलो बनाउने क्रममा सडक आसपासका विद्युत् पोल, खानेपानी पाइप, टेलिफोन, इन्टरनेटलगायतलाई सम्बन्धित निकायसँग समन्वय गरी हटाउने प्रक्रियामा रहेको उनले बताए । जिल्लाको आँबुखैरेनी पुलजीपबाट म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर सडकमा गैरसहरी क्षेत्र ३९दशमलव९३, सहरी क्षेत्र एक दशमलव५२ र १८ वटा पुल निर्माण हुनेछन् । उक्त सडक निर्माणका लागि चिनियाँ कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सम्झौता गरी ठेक्का पाएको होे । त्यसैगरी मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँका चार हजार दुई सय पाँच रुख कटान गरेकोे छ । करिब चार सय ६६ रुख काट्न बाँकी रहेको आयोजनाका वातावरणविज्ञ युवराज ढकालले जानकारी दिए । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना छ । ‘सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ‘काट्नैपर्ने रुखमात्रै कटान गरी रुख बचाउन आयोजनाले योजना बनाएको छ ।’ सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बन्ने गरेका छ । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनुपर्ने विज्ञ ढकालले बताए । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना छ ।
ईन्द्रावती गाउँपालिकाले दियो एकल असहाय पुरुषलाई भत्ता
सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक पाँच सय रुपैयाँका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधैँ रकम जम्मा हुनेगरी मेगा, एनसिसी र सिन्धु बैंकलाई पत्राचार गरेको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषका लागि पाँच सयका दरले भत्ता दिने घोषणा गरेका थिए । त्यही अनुरुप गाउँपालिकाले असक्त एक पुरुषका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।
आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँ : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरु सँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको जानकारी दिए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए । महामन्त्री शर्माले भने, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महशुस गरेँ । मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ ।’ महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए ।
मुक्त हलिया भन्छन् : ‘खानेपानीको महसुल बुझाउन गाह्रो’
कञ्चनपुर। पुर्नवास नगरपालिका–९ सीताबस्तीका मुक्त हलिया परिवारलाई बस्तीमा खानेपानीका लागि जडान गरिएको विद्युतीय बोरिङको बिल तिर्नकै सास्ती छ । मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्दा बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको सहयोगमा खानेपानीका लागि विद्युतीय बोरिङ जडान गरिएको हो । बस्तीमा बस्ने मुक्त हलिया परिवारको आर्थिक अवस्था कमजोर हुँदा खानेपानीको विद्युत् महसुल तिर्न सकिएको छैन । ‘विद्युत्को बिल एक लाखमाथि नाघेको छ’, लक्ष्मण विकले भने, ‘तिर्नका लागि आर्थिक अभाव छ, कुन दिन विद्युत्को लाइन काटिने हो पत्तो छैन ।’ खाना खर्च जुटाउनै समस्या भएकाले विद्युत्को बिल तिर्न सक्ने अवस्था नरहेको उनले बताए । अर्को समस्या बारम्बार विद्युत् जाने र डिमलाइट बल्ने गरेकाले विद्युत् सर्ट हुँदा तार फेरेकोफेर्यै गर्नुपर्ने हुन्छ । त्यसबाट खानेपानी दैनिक पाउनै मुस्किल भएको रामे कामीले बताए । ‘हप्तामा तीन दिन मात्रै बस्तीको विद्युतीय बोरिङबाट पानी निकाल्न सकिन्छ, मर्मत गर्न पैसाको अभाव हुन्छ’, उनले भने, ‘विद्युत्को महसुल बुझाउने पैसा कहाँबाट व्यहोर्न सकिन्छ, विद्युत् अनियमित हुँदा बाँकी समय बाह्य क्षेत्रबाट बोकेर पानीको जोहो मिलाउने गरेका छौँ ।’ बस्तीमा खानेपानीको एकमात्रै साधन भनेकै बोरिङ रहेको उनले बताए । पुनः स्थापन भएर बस्ती बसेको तीन वर्ष भएको छ । यस अवधिमा मुक्त हलिया परिवार बोरिङ मर्मतमै ठूलो रकम खर्च गरेको उनि बताउछन् । गाउँमा रोजगारी नपाइँदा अधिकांश परिवार भारततर्फ लागेका छन् । खाना खर्च नै नजुटने भएपछि पुनःस्थापन गराइएका ३९ परिवारमध्ये १५ परिवारमात्रै बस्तीमा रहेका छन् । बस्तीमा रहेका परिवारमा पनि बूढापाका, महिला र बालबालिकामात्रै छन् । युवा सबै कामको खोजीमा अन्यत्र गएका छन् । ‘बस्तीमा रहेका थोरै परिवारले विद्युत्को महसुल तिर्न सक्दैनौँ’, नन्द चदाँराले भने, ‘खानेपानीको विद्युत् महसुल मिनाहा गरिनुपर्ने हाम्रो माग छ, बोरिङको सट्टा खानेपानीको अर्को विकल्पको व्यवस्था गरिदिनका लागि नगरपालिका कार्यालय धाएका छौँ, अझै पनि समस्या समाधान भएको छैन ।’ विद्यालय पढाउनै सकस सीताबस्तीका मुक्त हलिया परिवारलाई बालबालिका पढाउन निकै सकस छ । उनीहरुले आर्थिक अभावले बालबालिकालाई बीचमै विद्यालय छुटाएर आफूसँगै मजदुरी गर्न लैजाने गरेका छन् । बस्ती नजिकै रहेको बागेश्वरी माध्यमिक विद्यालयमा मुक्त हलिया बस्तीका ५७ बालबालिका पढ्नका लागि भर्ना भएकामा हाल १० जनामात्रै विद्यालय जाने गरेका छन् । ‘विद्यायले भर्ना शुल्क लिँदैन’, पार्वती गायनले भनिन्, ‘प्रमाणपत्रवापत, परीक्षा शुल्कलगायत भने लिने गरेको छ ।’ विद्यालय पठाइएका बालबालिकाको पोशाक, स्टेशनरी, अभ्यास पुस्तिकालगायतको जोहो मिलाउनै गाह्रो भएको उनले बताए । कक्षा १० सम्म थोरै मात्रै बस्तीका बालबालिका पुगेका छन् । ‘बस्तीका चार जनाले मात्रै एसइई परीक्षा पास गरेका थिए’, लक्ष्मण विकले भने, ‘परिवारले खर्च धान्न सकेनन्, बीचमै विद्यालय छाडेर परिवारसँगै भारततर्फ मजदुरी गर्न जानुप¥यो, संविधानमा मौलिक हकअन्तर्गत शिक्षाको हक हुने कुरा उल्लेख छ, तर विपन्न मुक्त हलिया परिवारका बालबालिका उच्च शिक्षा पाउनबाट बञ्चित हुनुपरेको छ, स्थानीय तहले छात्रवृत्तिको व्यवस्था गरिदिनु पर्दथ्यो, बेवास्ता भएको छ ।’ मुक्त हलिया परिवारका अमित विकले सरकारले घरमात्रै दिएर नपुगेको बताए । उनले भने, ‘पुर्खौँदेखि परिवार पाल्नकै लागि भारततर्फ जाने कार्य तोड्नका लागि स्थानीयस्तरमै रोजगारको व्यवस्था मिलाइदिनुप¥यो ।’ बालबालिकामा कुपोषण सन्तुलित भोजनको अभावमा बस्तीका नवजात शिशुमा कुपोषणको समस्यासमेत रहेको छ । सुत्केरी हुने महिलालाई पर्याप्तरूपमा पोषिलो खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखापरेको छ । दैनिक पेटभर सुत्केरीले खानसमेत नपाउने गुनासो मुक्त हलियाको छ । ‘मजदुरी गरेका बेला पेटभर खान पाइने गरेको छ’, रामे कामीले भने ‘मजदुरी नपाइएका बेला भोकभोकै रहनुपर्ने बाध्यता छ, यस्तो अवस्थामा भर्खरै जन्मेका बालबालिका र आमाको स्वास्थ्य कसरी ठीक हुनसक्छ ।’ उनका अनुसार बस्तीमा एक वर्षको अवधिमा सात महिला सुत्केरी भएकामध्ये चार बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । स्थानीय स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाको उपचार भइरेको छ । स्वास्थ्यचौकीबाट कुपोषित बालबालिकालाई खुवाउनका लागि लिटो दिइने गरेको छ । वडाध्यक्ष नरबहादुर विक पुनःस्थापन गराइएको बस्तीमा मुक्त हलिया परिवारका ३९ परिवारमध्ये १० परिवार पनि बस्तीमा नबस्ने भएपछि कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको बताउछन् । जग्गा भाडामा लिएर सामूहिक व्यावसायिक खेती गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले सम्पर्कमा कोही नआउँदा कार्यक्रम अगाडि बढ्न नसकेको बताए । ‘सरकारले लाखौँ रकम खर्च गरेर पुनःस्थापन गरायो’, उनले भने, ‘बस्तीमा बस्नका लागि कोही नआउने भएपछि आयआर्जनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।’ अझै पनि बस्तीका मुक्त हलिया परिवार पूरै बसे छलफल गरेर कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ । मुक्त हलिया बस्तीमा देखिएको खानेपानीको समस्या बालबालिकाको विद्यालय बीचमै छाड्ने समस्या र बालबालिकामा देखिने कुपोषणको समस्या समाधानका लागि कार्य अगाडि बढाउन प्रतिबद्ध रहेको उनि बताउँछन् । ‘विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिने कार्यलाई प्रभावकारी बनाउँछौँ’, उनले भने, ‘युवाहरूलाई सीप, तालिम प्रदान गरी आयआर्जनका कार्यक्रममा सहभागी गराउनका तयार छौँ ।’ मुक्त हलिया परिवारका लागि नगरपालिकाका तर्फबाट छुट्टै कार्यक्रम भने नरहेको उनले स्पष्ट पारे । रासस
‘पुँजीमा नम्बर वान बनौं, लाभांश वितरणमा कञ्जुस्याई नगरौं’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ७ गते काठमाडौंमा सम्पन्न उक्त सभाले लाभांशसहित मर्जर प्रस्तावलाई पारित गरेको छ । यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । ४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १९ अर्ब नाघेको छ । यस्तै, सभाले मेगा बैंकसँग मर्ज हुने प्रस्तावलाई समेत पारित गरेको छ । साथै, आगामी पुस २७ गतेभित्र एकीकृत कारोबार गर्ने तयारी भइरहेको समेत सभामा जानकारी गराइएको छ । सभामा बैंकका सेयरधनीले विभिन्न सुझावहरु दिएका छन् । मर्जरमा जान लागेको बैंकलाई थप बलियो र बैंकिङ् क्षेत्रकै नम्बर वान कम्पनी बन्न सेयरधनीहरुको सुझाव छ । सेयरधनी ब्यासकुमार शर्माले पछिल्लो समय कठिन स्थिति भएपनि बैंकले राम्रो प्रगति गरेको बताउँछन् । उनले बैंकको खर्च र आम्दानीलाई व्यवस्थापन गरेर अघि बढ्नु पर्ने बताए । लगानीकर्ताको नजरमा उत्कृष्ट बैंकको रुपमा रहेको भएपनि लाभांशमा पनि उत्कृष्ट हुनुपर्ने उनको भनाई छ । ‘कठिन परिस्थितिमा पनि बैंकले ठूलो प्रगति गरेको छ, निक्षेप, लगानी र कर्जाको पोर्टफोलियो वृद्धि गर्दै कूल सम्पत्तिको आँकडा १७ अर्बले वृद्धि गर्दै २ खर्ब ४४ अर्ब पुर्याएको छ, बैंकले खर्च आम्दानीलाई राम्रो व्यवस्थापन गरेको छ, वित्तीय विवरणमा केही सुधार गर्नु बाहेक अरु सबै राम्रो छ, चुक्ता पूँजीको ८४ प्रतिशत वा १५ अर्ब जगेडा कोषमा राख्नु साउण्ड बैंकको रुपमा लिएको छु,’ उनले भने । बैंकहरुले तरलता अभाव खेप्नु परेको भएपनि मर्जर पश्चात् अझै बलियो बैंक हुनेमा उनले विश्वास ब्यक्त गरे । बैंकले विगतमा राम्रो प्रतिफल दिएको भएपनि विस्तारै घटेकोमा उनले दुःख व्यक्त गरे । सबै बैंकहरुको रेटिङ गर्याे भने टप फाइभ भित्र पर्नेमा उनी ढुक्क छन् । ‘विगत लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रले तरलता अभाव खेप्नु परेको छ, मूल्य वृद्धिका कारण पुँजी खर्च र सञ्चालन खर्चमा वृद्धि भएको छ, आगामी दिनमा झनै कठिन अवस्था आउन सक्ने भएकाले मर्जर पश्चात् क्यापिटल बेस मात्रै नभएर नेटवर्थमा अघि बढ्नु पर्छ, अझै उत्कृष्ट बन्नेछ,’ उनले भने, ‘विगतमा बोनस सेयर र नगद लाभांश राम्रो दिएको थियो, २० प्रतिशतभन्दा घटी कहिलै पनि दिएको थिएन, आज पनि रेटिङ गर्ने हो भने टप फाइभ भित्र बैंक पर्छ ।’ मर्जर पश्चात् बैंक ठूलो बन्ने भएकाले आगामी दिनमा आन्तरिक संचालन र व्यवस्थापनमा ध्यान दिनु पर्ने र कुनै पनि गल्ती नगर्न उनले सुझाव दिए । कर्मचारीहरुको सहि व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ । सेयरधनी शत्रुघन श्रेष्ठले बैंकले कमाएको नाफा अनुसार सेयरधनीहरुलाई लाभांश वितरण नगरेको गुनासो गरे । विगतमा ३३ प्रतिशतसम्म बोनस सेयर वितरण गरेको र यो वर्ष बोनस सेयरमा जोड नदिएको उनको भनाइ छ । ‘बैंकले नाफा गरेको अनुसार बोनस सेयर पुगेको छैन किनभने ४ हजार लगानी गर्दा ४ प्रतिशत बोनस सेयर केही पनि होइन, नगद लाभांश ठिकै छ तर बोनसमा कन्जुस्याँई गरेको छ, आगामी वर्ष बोनस सेयरमा जोड दिनु होला,’ उनले भने । बैंकले नाफा कमाउनु पर्ने र धरासयी हुनबाट जोगाउनु पर्ने उनको धारणा छ । बैंकिङ्ग क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नम्बर वान बैंकको रुपमा उभ्याउनु पर्ने उनले बताए । नेपाल सरकारलाई कर तिर्नेमा यो बैंकपछि परेकोले आगामी वर्ष धेरै कर तिर्ने बैंकमा रुपमा चिनिन उनले आग्रह गरे । ‘सामाजिक उत्तरदायित्वमा नाफाको १ प्रतिशत मात्रै खर्च गर्नुपर्ने भनिएको छ तर यस बैंकले १.५ प्रतिशत खर्च गरेको छ, मेलम्चीको बाढीले शखाप पारेको गाउँलाई ५ लाख रुपैयाँ मात्रै सहयोग गर्नु भयो, त्यो हात्तिको मुखमा जिरा भयो, नेपाली सेनालाई २५ लाख सहयोग गर्नु भएको छ, सेनाहरुलाई पेन्सन आउँछ,’ उनले भने, ‘आगामी वर्षमा हुनेलाई भन्दा नहुनेलाई सहयोग गर्नुपर्छ, मारवाडी सेवा समिति आफै सम्पन्न वर्गहरुको संस्था हो, उहाँहरुलाई किन २५ लाख सहयोग गरेको हो, यो घटाउनुपर्छ ।’ सेयरधनी डिल्लीराम नकर्मी कर्मचारीलाई अन्तराष्ट्रिय स्तरको तालिम दिनु पर्ने बताउँछन् । आफू २०४७/४८ सालमा कर्मचारी संघको अध्यक्ष भएकोले कर्मचारीको हितमा आवाज उठाउने गरेको उनले बताए । बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको पनि कोष स्थापना गर्नुपर्ने उनको माग छ । ‘बैंकका कर्मचारीलाई लोकल ट्रेनिङ मात्रै भयो, अन्तर्राष्ट्रिय स्तरको तालिम दिनुपर्छ, विदेशमा पनि तालिमको व्यवस्था हुनुपर्छ, मर्जरपश्चात् ठूलो बैंकका कर्मचारी र साना बैंकका कर्मचारीमा समान हैसियत हुनुपर्छ, अन्य सेक्टरका कर्मचारहरुको सेवा सुविधाका लागि हस्पिटल लगायतका कोषहरु स्थापना भएका छन्, बैंकिङ्ग क्षेत्रको पनि छुट्टै कोष स्थापना हुनुपर्छ,’ उनले भने । अर्का सेयरधनी उद्धबप्रसाद घिमिरेले नेपालको बैंकिङ्ग क्षेत्रलाई यहाँसम्म ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकको ठूलो योगदान रहेको बताए । पूँजीका हिसावले ग्लोबल आइएमई बैंकलाई टप्नु पर्ने उनको माग छ । उनले कुनै अर्काे बैंकलाई गाभ्नु पर्ने धारणा राखे । ‘ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब पुग्छ, नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ मात्रै छ, विकास बैंक वा वाणिज्य बैंकलाई गाभेर पूँजी बढाउनु पर्छ,’ उनले भने । त्यस्तै, सेयरधनी शिवप्रसाद पौडेल बैंकले पारित गरेको लाभांशलाई आजभोलि नै सेयरधनीको खातामा जम्मा गर्नु पर्ने बताउँछन् । ‘नगद लाभांशलाई आज नै सेयरधनीहरुको खातामा जम्मा र बोनस सेयरलाई चाँडै सूचीकृत गर्नुहोला, ८८ वटा शाखा भएको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरपश्चात् शाखा विस्तार गर्नु पर्दैन, कष्ट घट्छ, बजारमा ६/७ वटा आ-आफ्नै समूहका बैंक रहन्छन्, नेपाल इन्भेष्टमेन्ट बैंक पनि एउटा समूहको बैंक हुनेछ,’ उनले भने । हिमालयन बैंकसँग मर्जर गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै गल्ती नभएपनि राष्ट्र बैंकको कारवाही भोग्नु परेको सेयरधनी डमरू बल्लब घिमिरे बताउँछन् । हिमालयन बैंकसँग मर्जर सम्झौता गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै गल्ती भएको छैन, यस बैंकले सहज रुपमा पास भएको छ, जेजति गल्ती भएको छ त्यो सबै हिमालयन बैंकबाट भएको थियो तर राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि गर्याे,’ उनले भने, ‘हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको खर्च हिमालयन बैंकले व्यहोर्नुपर्छ, त्यो खर्च हिमालयन बैंकसँग दाबी गर्नुपर्छ ।’ मर्जरपश्चात् बैंकको मूख्य कार्यालय आफ्नै भवनमा हुनुपर्ने उनको धारणा छ । सेयरधनीहरुलाई दिने लाभांश घटाएर सामाजिक कार्यमा खर्च नबढाउन समेत उनले सुझाए । ‘दरबार मार्गको भाडा वृद्धि भएको छ, लागत बढी भयो, मेगा बैंकसँग मर्जर पश्चात् विशालनगरमा रहेको जग्गामा आफ्नै भवन निर्माण गर्नुपर्छ, दरबारमार्गको केन्द्रिय अफिसलाई सार्नुपर्छ, जसले गर्दा लागत धेरै घट्छ,’ उनले भने । सेयरधनी चन्द्र नारायण श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकमाभन्दा मेगा बैंकका शाखामा कर्मचारी कम रहेको बताए । ‘मेगा बैंकका २८८ वटा र नेपाल इन्भेष्टमेन्ट बैंकको ८८ वटा शाखा छन्, मेगा बैंकका ८ जना कर्मचारीले एउटा शाखा संचालन गर्छन् भने नेपाल इन्भेष्टमेन्टका १७ जना कर्मचारीले एउटा शाखा संचालन गर्छ,’ उनले भने । संस्थापक सन्दीप अग्रवालले विगतमा नेपाल इन्भेष्टमेन्ट बैंक उत्कृष्ट बैंकको रुपमा चर्चित र ५० प्रतिशतसम्म प्रतिफल वितरण गरेकोमा पछिल्लो समय घट्दै गएको बताए । दोस्रो बजारमा कारोबार गर्न सक्ने र नसक्ने गरी २ प्रकारका संस्थापक सेयरधनी बैंकमा रहेकाले संस्थापक सेयरधनीमा विभेद भएको उनले बताए । ‘बैंकको प्रतिफल हरेक वर्ष खुम्चिँदै गएको छ, अघिल्लो वर्ष १६ प्रतिशत लाभांश पाएकोमा यो वर्ष ११ प्रतिशतमा सन्तुष्ट हुनुपरेको छ, नेपाल राष्ट्र बैंकको नीति वा आफ्नै नीतिले बैंक धेरै पछाडि परिसकेको छ, जसले गर्दा अर्काे वर्ष पनि प्रतिफल खुम्चिने देखिन्छ,’ उनले भने, ‘एनआईबिएलको ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारणको छ, मेगा बैंकको ५१ः४९ प्रतिशत छ, एनआईबिएलले आफ्नो १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न सफल भएन, मर्जर पश्चात् गर्ने हो की अगावै गर्ने हो ?’ बैंकका अध्यक्ष पृथ्वी पाँडेले बैंकले अनावश्यक खर्च कटौती गरेको बताए । उनले अन्य बैंकको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालन खर्च कम रहेको बताए । मर्जर पश्चात् कर्मचारीलाई खाइपाइ आएको सेवा कटौती नगर्ने उनको भनाइ छ । ‘बैंकलाई नचाहिने खर्चमा कडाई गरेको छ, खर्च कटौती गर्दा मलाई नि फाइदा हुन्छ, सेयरधनीहरुलाई पनि फाइदा हुन्छ, २ रुपैयाँ बच्यो भने मेरो पनि बच्छ, बैंकमा सबैभन्दा कम सञ्चालन खर्च छ, अन्य बैंकसँग तुलना गर्ने हो भने १.४ प्रतिशत मात्रै खर्च छ,’ उनले भने, ‘मर्जर पश्चात् बैंकका कर्मचारीले खाइपाई आएको सेवा घट्दैन, नेपाल इन्भेष्टमेन्टको १.४ प्रतिशत र मेगा बैंकको १.७९ प्रतिशत छ, खर्च बढाएर २ प्रतिशतमा जाने हो भने सेयरधनीहरुले लाभांश नै पाउनुहुन्न, कर्मचारीको खर्च १.६ प्रतिशतभन्दा कम गर्ने प्रयास छ ।’ मर्जर पछि सबै नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी हुने भएकाले कुनै विभेद नहुने उनले बताए । मर्जर पश्चात् बैंकका सेयरधनीहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिने लक्ष्य रहेको उनले बताए । नेपाल राष्ट्र बैंकको नीतिले बैंकको लाभांश घट्दै जाने उनले बताए । मर्जरपछि कर्मचारी व्यवस्थापन गर्ने हो, भिआरएस स्किम दिएर कर्मचारीलाई बिदाइ गर्ने हो तर कर्मचारीलाई जबर्जस्ती निकाल्दैनौं, यो त्यो बैंकको हुदैन, ५ वर्षमा कर्मचारीको बढुवा हुन्छ, ५ वर्षमा कुनै कर्मचारी किन बढुवा भएन भनेर एक/एक गरी मूल्याङ्कन गर्छु,’ उनले भने । बैंकिङ्ग क्षेत्रमा नम्बर वान बन्ने रणनीति लिएको उनले बताए । ‘मर्जरपश्चात् टप थ्री मा बैंक हुनुपर्छ, कहिले वान, कहिले टू होला तर त्यसमा प्रतिस्पर्धा होइन, सरुक्षित भएर प्रतिस्पर्धा गर्ने हो,’ उनले भने ।
राष्ट्रपतिका लागि म आकांक्षी हाेइन : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए । ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ, यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ, राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो, २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो, त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा भने सबै पदका लागि आफू तयार रहेको बताए ।
फागुन १९ मा ‘छक्का पञ्जा ४’ प्रदर्शन हुने
काठमाडौं । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । ‘चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ’, उनले भने । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता शर्माले भने ।