विकासन्युज

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको सफल उडान

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिएका छन्’, उनले भने । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । विमानस्थलमा बुध्द एयरले पनि दिउँसो ३ः६ बजे विमानस्थलमा अवतरण गरेको छ ।

पन्ध्र वर्ष विदेश बसेर फर्कीएका रेमबहादुर क्षेत्रीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै

गलकोट । पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री–वितरण थालिसकेका छन् । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ । नौ वर्षअघि १० बोटबाट कागती खेती थालेका रेमबहादुर क्षेत्रीको फार्ममा अहिले चार सय कागतीका बोट छन् । अहिले चार सय बोटमध्ये एक सय ५० बोटले कागती उत्पादन दिइराखेको छ । उनले गत वर्षमात्रै कागती बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरेको र यस वर्ष आम्दानी बढेर तीन लाख ५० हजार रुपैयाँ पुग्ने बताउँदै कागतीको माग राम्रो भएको बताए । ‘कागतीको राम्रो सम्भावना देखेरै कागतीका बिरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेती भएकाले बिरुवा थप्दै विदेश जाँदै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे’, उनले भने, ‘अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाडौँ पुग्छ, यो वर्ष १६ क्विन्टल बिक्री गरिसके बगैँचामा अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा बिक्री गरिरहेको छु, यो वर्षमात्रै तीन लाख रुपैयाँ आम्दानी हुनेछ ।’ किसान क्षेत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउँदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतीप्रति जागरुक भएको बताए । सैतीस वर्षीय क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फार्म तथा विविध कृषि केन्द्र स्थापना गरी विसं २०७४ देखि फार्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेती गर्दै आएका छन् । क्षेत्रीले विदेश गएर कमाएको रकमले फार्म व्यवस्थापन गरेको श्रीमती लीला पौडेलले फार्ममा सहयोग गर्दै आएको बताइन् । उनको फार्ममा कागती खेतीसँगै १० घार मौरी र २०–२० बोटबाट हलुवावेद र अमिलोसमेत उत्पादन भइरहेको छ । अहिले कागतीको माग धान्नै धौ धौ भएको क्षेत्रीको भनाइ छ । कागतीको दानासँगै चुक र अचारसमेत बिक्री गर्न सकिने उनको भनाइ छ । क्षेत्रीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्ने योजनाका साथ कागती खेती विस्तारमा लागेको बताए । यस्तै निसीखोला गाउँपालिका–४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती बिक्री गरिसकेका छन् । छब्बीस रोपनी जग्गामा उनका नयाँ तथा पुराना बिरुवा गरी चार सय ५० बोट छन् । अहिले उनको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै बिक्री गर्न बाँकी छ । पौडेलले विसं २०५५ मा एक सय बोटबाट सुरु गरेको कागती खेतीलाई क्रमशः व्यावसायिक बनाउँदै आएका छन् । उनले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाडौं र पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको बताए । ‘सुन्तला तत्कालै बिक्री नगरे बिग्रन्छ, तर कागतीको दाना एक महिना केही हुँदैन, बिक्री नभए चुक बनाएर वर्षौँ टिकाउन सकिन्छ भनेर कागती खेती थालेको थिए, अहिले त बिक्री राम्रो छ, चुक बनाउनै पर्दैन’, पौडेलले भनिन्, ‘अहिलेको बजार हेर्दा कागती खेतीलाई अझै विस्तार गर्न आवश्यक छ, निसीखोलामा कागतीको राम्रो खेती भएको पाएका छौँ, यहाँका धेरै कागती खेती गर्ने किसानहरू मिलेर एकमुष्ट बजारीकरण गर्दै आएका छौँ’, पौडेलले कागतीलाई प्रतिकेजी एक सय ५० देखि एक सयसम्म बिक्री गर्ने बताइन् । केही फलफूल व्यापारी गाडी लिएर कागती लिन आउँछन्, कहिले आफैँ लगेर बिक्री गर्ने गरिने पौडेलको भनाइ छ । उनले सृष्टि कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गर्दै आएकी छिन् । यस्तै निसीखोला गाउँपालिका–५ का धर्मराज पोख्रेलले समेत व्यावसायिकरूपमा कागती खेती उत्पादन गर्दै आएका छन् । पोख्रेलको कागती बगानमा अहिले चार सय बोट हुर्किरहेका छन् । कागतीका लागि उपयुक्त भूगोल भएकाले निसीखोलाका किसान त्यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । उनले त्यस क्षेत्रमा कागती नर्सरी निर्माणका लागि ज्ञान केन्द्रले अनुदान दिने बताए ।

लाभांश घोषणासँगै टेलिकमको सेयरमा झुम्मिए लगानीकर्ता, कारोबार र मूल्य दुबै बढ्यो

काठमाडौं । बिहीबारको सेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार नेपाल टेलिकमको १४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको हो । बिहीबार टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको कारोबार रकमका साथै सेयर मूल्य पनि बढेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजे बोलाएको छ । आज नेप्से सामान्य ०.०१ अंकले घटेको छ । आज ३१ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब बढीको कारोबार भएको छ । यस्तै, सृजनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाका गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

वैशाखदेखि सञ्चालनमा आउने बन्दीपुर केबुलकारको काम अन्तिम चरणमा

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरको काम सकिएको छ । अहिले इन्जिन जडानको काम भइरहेको उनले बताए । ‘इन्जिन जडानको काम सकेर लठ्ठाको काम सुरु गर्छौँ, त्यसपछि बाक्सा जडान गरिनेछ’, शर्माले भने, ‘फागुनसम्म परीक्षण गरेर वैशाखदेखि व्यावसायिक हिसाबले सञ्चालनको लक्ष्य राखेका छौँ ।’ विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब काम नरोकिने शर्मा बताउँछन् । ‘दुई वर्ष त कोभिड र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो’, उनले भने, ‘त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो, तर अहिले तीव्ररूपमा काम अगाडि बढेको छ ।’ आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आगामी जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी र स्काइवाक तथा असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माणकार्य पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुने छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपैयाँ पुगेको जनाइएको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तलाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा हुनेछन् । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाइने निर्णय गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए । समितिले यसकाे लागि सार्वजनिक सूचना आह्वान गरेको छ । विसं २०७२ मा जारी भएको ड्रोन उडान कार्यविधिमा धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर तथा व्यक्तिगत गोपनीयतामा असर गर्ने गरी उडान गर्न नपाइने उल्लेख छ । अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ । कार्यविधिअनुसार सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न पाइँदैन । ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ । पाथीभरा क्षेत्रमा विभिन्न संस्था तथा व्यक्तिले आफू खुसी पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन थालेसँगै सम्बन्धित निकायको बिना अनुमति ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज गरिको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । रासस

सिभिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सिभिल बैंकले साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको हो । सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ ।  बैंकले गत वर्षको नाफबाट सेयरधनीलाई ५।२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ५ प्रतिशत बोनस सेयर र ०‍‍‍.२६ प्रतिशत नगद लाभांश रहेको छ । साधारणसभाको लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको बराह ताल

बागलुङ । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका २ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ । केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न थालेको छ । धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण र प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले ८० लाख रुपैयाँ र तमानखोला गाउँपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् । ‘बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार र पूर्वाधारको अभावमा सुनसान जस्तै थियो’, उनले भनिन्, ‘अहिले गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।’ स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताए । गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ । ‘यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजा हुन्थ्यो’, उनले भने । तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज हुने र पर्यटक बढ्ने उनको भनाइ छ । तालसम्म पुग्ने सडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उनले बताए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पुर्याउने काम हुने बताए । गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिए । ‘अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ’, उनले भने, ‘पालिकाको गुरुयोजना नै बनाएर ताललाई पर्यटकीय केन्द्र बनाउने अभियान छ ।’ तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रबद्र्धनात्मक काम गर्दै आएको छ । यस क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताए । ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होमस्टे’ तथा ससाना होटलहरु बनाउने योजानासमेत रहेको उनको भनाइ छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहे पनि खाजा र खानाका लागि समस्या रहेको बुढा मगरले बताए । ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण वैशाखे पूर्णिमाको समयमा बागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् । यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न सकिन्छ ।