‘पुँजीमा नम्बर वान बनौं, लाभांश वितरणमा कञ्जुस्याई नगरौं’

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ७ गते काठमाडौंमा सम्पन्न उक्त सभाले लाभांशसहित मर्जर प्रस्तावलाई पारित गरेको छ । यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ७ गते काठमाडौंमा सम्पन्न उक्त सभाले लाभांशसहित मर्जर प्रस्तावलाई पारित गरेको छ ।

यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । ४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १९ अर्ब नाघेको छ ।

यस्तै, सभाले मेगा बैंकसँग मर्ज हुने प्रस्तावलाई समेत पारित गरेको छ । साथै, आगामी पुस २७ गतेभित्र एकीकृत कारोबार गर्ने तयारी भइरहेको समेत सभामा जानकारी गराइएको छ ।

सभामा बैंकका सेयरधनीले विभिन्न सुझावहरु दिएका छन् । मर्जरमा जान लागेको बैंकलाई थप बलियो र बैंकिङ् क्षेत्रकै नम्बर वान कम्पनी बन्न सेयरधनीहरुको सुझाव छ ।

सेयरधनी ब्यासकुमार शर्माले पछिल्लो समय कठिन स्थिति भएपनि बैंकले राम्रो प्रगति गरेको बताउँछन् । उनले बैंकको खर्च र आम्दानीलाई व्यवस्थापन गरेर अघि बढ्नु पर्ने बताए । लगानीकर्ताको नजरमा उत्कृष्ट बैंकको रुपमा रहेको भएपनि लाभांशमा पनि उत्कृष्ट हुनुपर्ने उनको भनाई छ ।

‘कठिन परिस्थितिमा पनि बैंकले ठूलो प्रगति गरेको छ, निक्षेप, लगानी र कर्जाको पोर्टफोलियो वृद्धि गर्दै कूल सम्पत्तिको आँकडा १७ अर्बले वृद्धि गर्दै २ खर्ब ४४ अर्ब पुर्याएको छ, बैंकले खर्च आम्दानीलाई राम्रो व्यवस्थापन गरेको छ, वित्तीय विवरणमा केही सुधार गर्नु बाहेक अरु सबै राम्रो छ, चुक्ता पूँजीको ८४ प्रतिशत वा १५ अर्ब जगेडा कोषमा राख्नु साउण्ड बैंकको रुपमा लिएको छु,’ उनले भने ।

बैंकहरुले तरलता अभाव खेप्नु परेको भएपनि मर्जर पश्चात् अझै बलियो बैंक हुनेमा उनले विश्वास ब्यक्त गरे । बैंकले विगतमा राम्रो प्रतिफल दिएको भएपनि विस्तारै घटेकोमा उनले दुःख व्यक्त गरे । सबै बैंकहरुको रेटिङ गर्याे भने टप फाइभ भित्र पर्नेमा उनी ढुक्क छन् ।

‘विगत लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रले तरलता अभाव खेप्नु परेको छ, मूल्य वृद्धिका कारण पुँजी खर्च र सञ्चालन खर्चमा वृद्धि भएको छ, आगामी दिनमा झनै कठिन अवस्था आउन सक्ने भएकाले मर्जर पश्चात् क्यापिटल बेस मात्रै नभएर नेटवर्थमा अघि बढ्नु पर्छ, अझै उत्कृष्ट बन्नेछ,’ उनले भने, ‘विगतमा बोनस सेयर र नगद लाभांश राम्रो दिएको थियो, २० प्रतिशतभन्दा घटी कहिलै पनि दिएको थिएन, आज पनि रेटिङ गर्ने हो भने टप फाइभ भित्र बैंक पर्छ ।’

मर्जर पश्चात् बैंक ठूलो बन्ने भएकाले आगामी दिनमा आन्तरिक संचालन र व्यवस्थापनमा ध्यान दिनु पर्ने र कुनै पनि गल्ती नगर्न उनले सुझाव दिए । कर्मचारीहरुको सहि व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ ।

सेयरधनी शत्रुघन श्रेष्ठले बैंकले कमाएको नाफा अनुसार सेयरधनीहरुलाई लाभांश वितरण नगरेको गुनासो गरे । विगतमा ३३ प्रतिशतसम्म बोनस सेयर वितरण गरेको र यो वर्ष बोनस सेयरमा जोड नदिएको उनको भनाइ छ ।

‘बैंकले नाफा गरेको अनुसार बोनस सेयर पुगेको छैन किनभने ४ हजार लगानी गर्दा ४ प्रतिशत बोनस सेयर केही पनि होइन, नगद लाभांश ठिकै छ तर बोनसमा कन्जुस्याँई गरेको छ, आगामी वर्ष बोनस सेयरमा जोड दिनु होला,’ उनले भने ।

बैंकले नाफा कमाउनु पर्ने र धरासयी हुनबाट जोगाउनु पर्ने उनको धारणा छ । बैंकिङ्ग क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नम्बर वान बैंकको रुपमा उभ्याउनु पर्ने उनले बताए । नेपाल सरकारलाई कर तिर्नेमा यो बैंकपछि परेकोले आगामी वर्ष धेरै कर तिर्ने बैंकमा रुपमा चिनिन उनले आग्रह गरे ।

‘सामाजिक उत्तरदायित्वमा नाफाको १ प्रतिशत मात्रै खर्च गर्नुपर्ने भनिएको छ तर यस बैंकले १.५ प्रतिशत खर्च गरेको छ, मेलम्चीको बाढीले शखाप पारेको गाउँलाई ५ लाख रुपैयाँ मात्रै सहयोग गर्नु भयो, त्यो हात्तिको मुखमा जिरा भयो, नेपाली सेनालाई २५ लाख सहयोग गर्नु भएको छ, सेनाहरुलाई पेन्सन आउँछ,’ उनले भने, ‘आगामी वर्षमा हुनेलाई भन्दा नहुनेलाई सहयोग गर्नुपर्छ, मारवाडी सेवा समिति आफै सम्पन्न वर्गहरुको संस्था हो, उहाँहरुलाई किन २५ लाख सहयोग गरेको हो, यो घटाउनुपर्छ ।’

सेयरधनी डिल्लीराम नकर्मी कर्मचारीलाई अन्तराष्ट्रिय स्तरको तालिम दिनु पर्ने बताउँछन् । आफू २०४७/४८ सालमा कर्मचारी संघको अध्यक्ष भएकोले कर्मचारीको हितमा आवाज उठाउने गरेको उनले बताए । बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको पनि कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

‘बैंकका कर्मचारीलाई लोकल ट्रेनिङ मात्रै भयो, अन्तर्राष्ट्रिय स्तरको तालिम दिनुपर्छ, विदेशमा पनि तालिमको व्यवस्था हुनुपर्छ, मर्जरपश्चात् ठूलो बैंकका कर्मचारी र साना बैंकका कर्मचारीमा समान हैसियत हुनुपर्छ, अन्य सेक्टरका कर्मचारहरुको सेवा सुविधाका लागि हस्पिटल लगायतका कोषहरु स्थापना भएका छन्, बैंकिङ्ग क्षेत्रको पनि छुट्टै कोष स्थापना हुनुपर्छ,’ उनले भने ।

अर्का सेयरधनी उद्धबप्रसाद घिमिरेले नेपालको बैंकिङ्ग क्षेत्रलाई यहाँसम्म ल्याउन नेपाल इन्भेष्टमेन्ट बैंकको ठूलो योगदान रहेको बताए । पूँजीका हिसावले ग्लोबल आइएमई बैंकलाई टप्नु पर्ने उनको माग छ । उनले कुनै अर्काे बैंकलाई गाभ्नु पर्ने धारणा राखे ।

‘ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब पुग्छ, नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ मात्रै छ, विकास बैंक वा वाणिज्य बैंकलाई गाभेर पूँजी बढाउनु पर्छ,’ उनले भने ।

त्यस्तै, सेयरधनी शिवप्रसाद पौडेल बैंकले पारित गरेको लाभांशलाई आजभोलि नै सेयरधनीको खातामा जम्मा गर्नु पर्ने बताउँछन् ।

‘नगद लाभांशलाई आज नै सेयरधनीहरुको खातामा जम्मा र बोनस सेयरलाई चाँडै सूचीकृत गर्नुहोला, ८८ वटा शाखा भएको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरपश्चात् शाखा विस्तार गर्नु पर्दैन, कष्ट घट्छ, बजारमा ६/७ वटा आ-आफ्नै समूहका बैंक रहन्छन्, नेपाल इन्भेष्टमेन्ट बैंक पनि एउटा समूहको बैंक हुनेछ,’ उनले भने ।

हिमालयन बैंकसँग मर्जर गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै गल्ती नभएपनि राष्ट्र बैंकको कारवाही भोग्नु परेको सेयरधनी डमरू बल्लब घिमिरे बताउँछन् ।

हिमालयन बैंकसँग मर्जर सम्झौता गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै गल्ती भएको छैन, यस बैंकले सहज रुपमा पास भएको छ, जेजति गल्ती भएको छ त्यो सबै हिमालयन बैंकबाट भएको थियो तर राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि गर्याे,’ उनले भने, ‘हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको खर्च हिमालयन बैंकले व्यहोर्नुपर्छ, त्यो खर्च हिमालयन बैंकसँग दाबी गर्नुपर्छ ।’

मर्जरपश्चात् बैंकको मूख्य कार्यालय आफ्नै भवनमा हुनुपर्ने उनको धारणा छ । सेयरधनीहरुलाई दिने लाभांश घटाएर सामाजिक कार्यमा खर्च नबढाउन समेत उनले सुझाए ।

‘दरबार मार्गको भाडा वृद्धि भएको छ, लागत बढी भयो, मेगा बैंकसँग मर्जर पश्चात् विशालनगरमा रहेको जग्गामा आफ्नै भवन निर्माण गर्नुपर्छ, दरबारमार्गको केन्द्रिय अफिसलाई सार्नुपर्छ, जसले गर्दा लागत धेरै घट्छ,’ उनले भने ।

सेयरधनी चन्द्र नारायण श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकमाभन्दा मेगा बैंकका शाखामा कर्मचारी कम रहेको बताए । ‘मेगा बैंकका २८८ वटा र नेपाल इन्भेष्टमेन्ट बैंकको ८८ वटा शाखा छन्, मेगा बैंकका ८ जना कर्मचारीले एउटा शाखा संचालन गर्छन् भने नेपाल इन्भेष्टमेन्टका १७ जना कर्मचारीले एउटा शाखा संचालन गर्छ,’ उनले भने ।

संस्थापक सन्दीप अग्रवालले विगतमा नेपाल इन्भेष्टमेन्ट बैंक उत्कृष्ट बैंकको रुपमा चर्चित र ५० प्रतिशतसम्म प्रतिफल वितरण गरेकोमा पछिल्लो समय घट्दै गएको बताए । दोस्रो बजारमा कारोबार गर्न सक्ने र नसक्ने गरी २ प्रकारका संस्थापक सेयरधनी बैंकमा रहेकाले संस्थापक सेयरधनीमा विभेद भएको उनले बताए ।

‘बैंकको प्रतिफल हरेक वर्ष खुम्चिँदै गएको छ, अघिल्लो वर्ष १६ प्रतिशत लाभांश पाएकोमा यो वर्ष ११ प्रतिशतमा सन्तुष्ट हुनुपरेको छ, नेपाल राष्ट्र बैंकको नीति वा आफ्नै नीतिले बैंक धेरै पछाडि परिसकेको छ, जसले गर्दा अर्काे वर्ष पनि प्रतिफल खुम्चिने देखिन्छ,’ उनले भने, ‘एनआईबिएलको ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारणको छ, मेगा बैंकको ५१ः४९ प्रतिशत छ, एनआईबिएलले आफ्नो १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न सफल भएन, मर्जर पश्चात् गर्ने हो की अगावै गर्ने हो ?’

बैंकका अध्यक्ष पृथ्वी पाँडेले बैंकले अनावश्यक खर्च कटौती गरेको बताए । उनले अन्य बैंकको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालन खर्च कम रहेको बताए । मर्जर पश्चात् कर्मचारीलाई खाइपाइ आएको सेवा कटौती नगर्ने उनको भनाइ छ ।

‘बैंकलाई नचाहिने खर्चमा कडाई गरेको छ, खर्च कटौती गर्दा मलाई नि फाइदा हुन्छ, सेयरधनीहरुलाई पनि फाइदा हुन्छ, २ रुपैयाँ बच्यो भने मेरो पनि बच्छ, बैंकमा सबैभन्दा कम सञ्चालन खर्च छ, अन्य बैंकसँग तुलना गर्ने हो भने १.४ प्रतिशत मात्रै खर्च छ,’ उनले भने, ‘मर्जर पश्चात् बैंकका कर्मचारीले खाइपाई आएको सेवा घट्दैन, नेपाल इन्भेष्टमेन्टको १.४ प्रतिशत र मेगा बैंकको १.७९ प्रतिशत छ, खर्च बढाएर २ प्रतिशतमा जाने हो भने सेयरधनीहरुले लाभांश नै पाउनुहुन्न, कर्मचारीको खर्च १.६ प्रतिशतभन्दा कम गर्ने प्रयास छ ।’

मर्जर पछि सबै नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी हुने भएकाले कुनै विभेद नहुने उनले बताए । मर्जर पश्चात् बैंकका सेयरधनीहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिने लक्ष्य रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकको नीतिले बैंकको लाभांश घट्दै जाने उनले बताए । मर्जरपछि कर्मचारी व्यवस्थापन गर्ने हो, भिआरएस स्किम दिएर कर्मचारीलाई बिदाइ गर्ने हो तर कर्मचारीलाई जबर्जस्ती निकाल्दैनौं, यो त्यो बैंकको हुदैन, ५ वर्षमा कर्मचारीको बढुवा हुन्छ, ५ वर्षमा कुनै कर्मचारी किन बढुवा भएन भनेर एक/एक गरी मूल्याङ्कन गर्छु,’ उनले भने ।

बैंकिङ्ग क्षेत्रमा नम्बर वान बन्ने रणनीति लिएको उनले बताए । ‘मर्जरपश्चात् टप थ्री मा बैंक हुनुपर्छ, कहिले वान, कहिले टू होला तर त्यसमा प्रतिस्पर्धा होइन, सरुक्षित भएर प्रतिस्पर्धा गर्ने हो,’ उनले भने ।

Share News