विकासन्युज

भाइबुहारीद्वारा घरबाट निकालिका व्यक्तिको महेन्द्र पुलिस क्लव नजिकै निधन

काठमाडौं । शुक्रबार विहान महेन्द्र पुलिस क्लावको पछाडि अद्धैत मार्गमा एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन् । स्थानीयका अनुसार उनी विगत केही समय सोही स्थानमा सडक पेटीमा सुत्दै आएका थिए । उनको घर भक्तपुर जिल्लाको सल्लाघारीमा भएको बताइएको छ । स्थानीयका अनुसार उनको नाम महेन्द्र बैंजु हो । तर आधिकारिक रुपमा उनको नाम पुष्टि हुन बाँकी रहेको प्रहरी जवान मनोज आलेले बताए । स्थानीयका अनुसार उनले आफूलाई भाइबुहारीले घरबाट निकालेकोले सडकपेटीमा बस्न बाध्य भएको बताउँदै आएका थिए । उनले भक्तपुरमा घरसहित ७ रोपनी जग्गा भएको लालपुर्जको फोटोकपी पनि देखाएका थिए । उक्त जग्गा बेच्ने उनको चाहान थियो । ‘७ रोपनी जग्गा बेचाउन सके कमिशन दिन्छु भन्थे । सडकमा सुत्दै आएका मान्छेको जग्गा बेचेर के कमिशन लिनु भनेर मैले प्रयास नै गरिन’ उनको मृत्युसँगै जमघट भएका स्थानीय मध्ये एकले भीडलाई सुनाए । पछिल्लो समय उनी रक्सी पिएर सडकमा ढलिरहेका हुन्थ्ये । रक्सी र चिसोले उनको ज्यान गएको हुन सक्ने स्थानीयको भनाई छ । मृतकको पूणर् विवरण संकलन गर्ने काम भइरहेको प्रहरी जवान मनोज आलेले बताए । आफन्तहरु सम्पर्कमा नआएको अवस्थामा वेवारिस सवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बुझाइने उनले बताए ।

कैलालीमा पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

टीकापुर । कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए । ‘हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ,’ उनले भने, ‘पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।’ सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरे ।

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसङ्ख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ । यो अनुसार जम्मा ३८ दशमलव ३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ । गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बिमा लागू भएको हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट रु ५३ लाख ४५ हजार सङ्कलन भएको थियो । आव २०७७/७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट नवीकरणसहित तीन करोड ५८ लाख ९२ हजार  रपैयाँ सङ्कलन भएको थियो । आव २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको सङ्ख्या घटेको छ । कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन् । यसमा अघिल्लो पटकको नवीकरणसहित चार करोड ७५ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको स्वास्थ्य बिमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले जानकारी दिए । गुल्मी अस्पतालमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको सङ्ख्या निकै न्यून छ । आव २०७८/७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बिमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । यस वर्ष स्वास्थ्य बिमा गराउने सङ्ख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ । यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बिमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन् । स्वास्थ्य बिमा गराएमा रु तीन हजार पाँच सयमा घरका पाँच जनाले एक लाख रुपैयाँ बराबरको उपचार सेवा लिन सक्छन् । स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल चार करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको सेवा लिएको डा पच्याले बताए । पछिल्ला वर्षमा तुलनात्मकरुपमा बिमितको सङ्ख्या बढ्नुपर्ने हो । अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बिमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ । सबैलाई स्वास्थ्य बिमामा समेट्न नसकिएको बिमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए । जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ ।

३० युनिटसम्म खपत गर्नेको स्थानीयको विद्युत् महसुल वीरगञ्ज महानगरले तिरिदिने

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ। यसका लागि महानगरले  महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको  वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शतप्रतिशत छुट दिने निर्णय गरेको थियो । महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट ६ रुपैयाँ ५० पैसाको दरले  ६५ रुपैयाँ र न्यूनतम शूल्क ५० रुपैयाँ गरी प्रतिपरिवार ११५ का दरले मासिक शुल्क विद्युत् प्राधिकरणलाई बुझाउने छ। महानगरपालिकाले यसअगावै महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार नौ सय २४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको थियो। वीरगञ्ज महानगरपालिकाले अनुसार उक्त सम्झौता यही पुस १ गतेदेखि लागु हुने जनाएको छ । सम्झौतापत्रमा महसुल भुक्तानीका लागि नेपाल विद्युत् प्राधिकरणको खातामा महानगरले अग्रिम भुक्तानी गर्ने र प्राधिकरणले हरेक महिना रिबेटसहित फछ्र्योट गर्ने उल्लेख छ। चालु आर्थिक वर्षको बजेटमा विद्युत् प्राधिकरणलाई बुझाउने रकम व्यवस्था गरिएकाले महानगरपालिकाले नियमितरुपमा ३० युनिटसम्मको ग्राहकको रकम भुक्तानी गरिदिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए। वीरगञ्ज महानगरपालिकालाई न्यूनतम विद्युत् शुल्कमा वार्षिक रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार वीरगञ्ज र सिमरा वितरण केन्द्रमा गरी घरेलु तथा कृषि प्रयोगमा हुने विद्युत् महसुल मासिक रु आठ लाखदेखि रु १० लाख महानगरले व्यहोर्नुपर्र्ने आकलन गरिएको हो। सुविधा प्राप्त गर्न लक्षित ग्राहकले सम्झौता लागू हुनुपूर्वको बक्यौता विद्युत् महसुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ । यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका सात हजार ८२२ लाभग्राही र ४३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुने अनुमान गरिएको छ। सो कार्यका लागि महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पौडेल तथा प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे। रासस

नबिल बैंकका ५ शाखा स्थानान्तरण हुँदै

काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ५ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले पुस ११ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ । बैंकले काँडाघारी–२, मैतिदेवी–२, घोराही–२, धर्मपथ र कुमारीपाटी शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले काठमाडौं कागेश्वरी मनहेरा नगरपालिका ९ मा रहेको शाखा भक्तपुर ठिमी नगरपालिका ७ ठिमीमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई काँडाघारीमा सारिएको छ । यस्तै, बैंकले काठमाडौं महानगरपालिका ३० मा रहेको शाखा महानगरपालिका ३२ नरेफाँटमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई मैतिदेवी शाखामा राखिनेछ । यस्तै, बैंकले घोराही उपमहानगरपालिका १५ घोराहीमा रहेको शाखा वडा नम्बर १० नारायणपुरमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई घोराहीमा राखिनेछ । यस्तै, बैंकले काठमाडौं महानगरपालिका २३ धर्मपथमा रहेको शाखा महानगरपालिका १८ भेडासिङमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई महानगरपालिका २४ न्यूरोड खिचापोखरीमा राखिनेछ । यस्तै, बैंकले ललितपुर महानगरपालिका ५ कमारीपाटीमा रहेको शाखा महानगरपालिकाको १० चापागाँउमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता कुमारीपाटीमा राखिनेछ ।

सोलुखुम्बुका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि वितरण

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ। गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ। औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताइन् । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् । औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ । रासस

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । साथै नेप्सेले नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । प्राइम लाइफको सेयर मूल्य ५०३.५४ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३८७.९६ रुपैयाँ र गरिमा विकास बैंकको ३३०.९७ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कारोबार हुनेछ । बिहीबार प्राइम लाइफको सेयर प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँ र गरिमा विकास बैंकको ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आरएसडिसी लघुवित्तको साधारण सभा आह्वान, ११ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको पुस २९ गते ९ बजे, एशियन होटल बुटवलमा वार्षिक साधारण बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने र संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले लघुवित्तको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।