एक महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो
हेटौँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दैआएको थियो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ । हेटौँडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौँडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो । धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौँडालगायत काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उनले बताए ।
प्रतितोला १२ सयले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
सर्लाही । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताए । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताए। ‘बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ’, उनले भने । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ । अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिए । रासस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु, अन्तर्राष्ट्रिय शहरसँग जोडियो
कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ । भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् । पोखरा अन्तर्राष्ट्रिय सहरसँग सिधै हवाई सम्पर्क स्थापित हुने भएकाले समेत उत्साह थपिएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नवनिर्मित विमानस्थलमा परीक्षण उडान सफल भएको नयावर्षदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको बताए । कोरोना महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएको उनले बताए । श्रेष्ठले भने, ‘हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाएका छौँ ।’ उनले पोखरामा अन्तर्राष्ट्रिय सुविधाका होटल रहेको र दैनिक २० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुसीको कुरा भएको बताए । उनले लामो समयको प्रतीक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चालनका लागि लागि पर्नुपर्ने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक बनेका रिठेपानी डाँडा कटान र ल्याण्डफिलसाइटको समस्या समाधानसँगै उडान थप सुनिश्चित बनेको छ । ल्याण्डफिल साइटमा पोखरा महानगरले फोहरमैला लैजान बन्द गरेको छ । त्यसैगरी डाँडा कटानको काम पनि धमाधम भइरहेकाले विमानस्थल तोकिएको मितिमै सुनिश्चित भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार हाल वडामै फोहर व्यवस्थापनको अल्पकालीन व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण गरिएको चारदशकपछि २०७३ सालमा नयाँ वर्षका दिन शिलान्यास भएर काम सुरु भएको विमानस्थल निर्माण २०७४ सालदेखि सुरु भएको हो । विसं २०३२ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर पहिलोपटक जमिन अधिग्रहण गरिएको थियो । पोखरा–१४ चाउथेमा विमानस्थलका लागि छुट्टाएको तीन हजार एक सय रोपनी जमिन लामो समय त्यत्तिक्कै रह्यो । विमानस्थलका लागि थप काम सुरु नहुँदा धेरैले आस मारेका थिए । लामो सङ्घर्षपछि पोखरामा विमानस्थल बनेको हो ।
सिन्धु विकास बैंकले लाभांश नदिने, ३ वर्षदेखि सेयरधनीको हात रित्तो
काठमाडौं । सिन्धु विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा नाफाबाट सेयरधनीहरुलाई ११.४८५१ प्रतिशत बोनस सेयर र ०.६०४९ प्रतिशत नगद गरी कूल १२.०९२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता ३ वर्षदेखि बैंकले लाभांश वितरण गरेको छैन । बैंकको बिहीबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल
काठमाडाैं । अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन्। ‘मुख्यगरी भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भन्छन्।’ ठमेलमा साना तथा ठूला गरी झन्डै तीन सय होटल रहेका छन्। यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन्। रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन्। अध्यक्ष शर्माले अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमता अनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन्। परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ। यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन गरिएको छ। ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको अध्यक्ष शर्माको भनाइ छ। ठमेलस्थित रमदा होटलका महाप्रबन्धक महेश फुँयाल भारतीय पर्यटकले आफ्नो होटल क्रिसमस र नयाँ वर्षका लागि पूरै बुक भएको बताए। विश्वसम्पदा सूचीमा रहेका काठमाडौँ उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ। विगतमा क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढी नेपाल आउने गरेका थिए। यसपटक तेस्रो मुलुकसहित भारतीय र बङ्गलादेशका पाहुना बढी आउने गरेका छन्। मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दछ। राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, चितवन र सगरमाथा आधार शिविर क्षेत्रलगायत पर्दछन् । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई व्यवस्थितरूपमा सञ्चालन गर्न वडा कार्यालयबाट सहयोग हुने बताउँछन् ।
सिवाईसी लघुवित्तको ३१.५८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।