विकासन्युज

एनआईबिएलको ग्रोथ फण्डले २०२% प्रतिफल दिने, बजारको उतारचढावमा पनि प्ले गर्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटलले हालसम्मकै ठूलो आकारको म्युचुअल फण्डको बिक्री खुला गरेको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल ग्रोथ फण्ड’  पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बन्दमुखी प्रकृति अन्तर्गतको यो योजनाको आकार १ अर्ब ६० करोड रुपैयाँको छ । जसको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । इच्छुक लगानीकर्ताले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन पाउने व्यवस्था छ । क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि-आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । दीर्घकालमा ग्रोथ गर्ने उद्देश्य क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापाका अनुसार एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुने गरेको उनले बताए । दीर्घकालमा राम्रो ग्रोथ गर्ने, आम्दानी गर्नेसँगै बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ । अल्पकालमा कम प्रफर्मेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने फण्डको उद्देश्य रहेको उनले बताए । ‘ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ, एभरेजिङ गर्नुपर्यो भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ,’ उनले भने । फण्डबाट उठेको रकम कहाँ लगानी गर्छ ? योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरण लगायत बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ । ‘इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ, हरेक क्षेत्रमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ, बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो, नाम नै ग्रोथ फण्ड भएकाले बिजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ,’ डीसीईओ थापाले भने । लगानीकर्तालाई २०२ प्रतिशत प्रतिफल, कुन वर्षमा कति ? क्यापिटलले फण्डका इकाईधनीहरुलाई प्रत्येक वर्ष प्रतिफल वितरण गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रमा लगानी गरेपश्चात हुने आम्दानीलाई क्यापिटलले सबै खर्च कटाएर इकाईधनीहरुलाई प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल २०२ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष ३०.०१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १६.२१ प्रतिशत, तेस्रो वर्ष २४.७८ प्रतिशत, चौंथों वर्ष २२.५५ प्रतिशत र पाँचौ वर्ष २६.४० प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ । यस्तै, कम्पनीले छैठौं वर्ष २७.६६ प्रतिशत, सातौं वर्ष २४.७६ प्रतिशत, आठौं वर्ष २३.७७ प्रतिशत, नवौं वर्ष २४.२८ प्रतिशत र दशौं वर्ष १८ प्रतिशत प्रतिफल दिने कम्पनीको प्रक्षेपण रहेको छ । डीसीईओ थापाले पनि इकाईधनीहरुलाई हरेक वर्ष प्रतिफल दिने क्यापिटलको लक्ष्य रहेको बताएका छन् । । ‘फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ, मुद्दती निक्षेपको हाराहारीमा १२/१५ प्रतिशत रिटर्न दिने प्रक्षेपण छ, कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन्,’ उनले भने, ‘सकेसम्म ग्रोथमै न्याभ बढाएर एकैचोटी दिने हो, न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ, शतप्रतिशत रिटर्न अन्तिममा दिने हो, १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ ।’ यसअघि निष्काशन गरेका फण्डको प्रतिफल एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत बजारमा एनआईबिएल समृद्धि फण्ड-१ (बन्दमुखी), एनआईबिएल प्रगति फण्ड (बन्दमुखी), एनआईबिएल समृद्धि फण्ड-२ (बन्दमुखी), र एनआईबिएल सहभागिता फण्ड (खुलामुखी) योजनाहरु सञ्चालनमा आइसकेका छन् । जसमध्ये एनआईबिएल समृद्धि फण्ड-१ २०७८ पौष २२ गते परिपक्क भैसकेको छ । त्यस्तै, एनआईबिएल प्रगति फण्ड बन्दमुखी योजनाहरुको अवधि ७ वर्ष र एनआईबिएल समृद्धि फण्ड-२ बन्दमुखी योजनाको अवधि १० वर्ष रहेको छ । क्यापिटलले एनआईबिएल समृद्धि फण्ड-१ का इकाईधनीलाई ९८.५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, एनआईबिएल प्रगति फण्डका ईकाईधनीहरुलाई २ वर्षको अवधिमा ५४.२ प्रतिशत लाभांश वितरण गरेको छ । क्यापिटलले एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरुलाई भने हालसम्म प्रतिफल वितरण गरिसकेको छैन । तर गर्ने तयारीमा भने छ । फण्ड सञ्चालन गर्न कति लाग्छ खर्च ? कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । कम्पनीले फण्ड निष्काशन पूर्व हुने खर्च विवरण र निष्काशनपश्चात् हुने खर्चको विवरण पनि इकाईधनीहरुका लागि सार्वजनिक गरेको छ । कम्पनीको योजना दर्ता शुल्क ०.०७५ प्रतिशत वा १० लाख रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्ध शुल्क योजनाको ४० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यस्तै, धितोपत्र दर्ता आवेदन शुल्क २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क २५ हजार रुपैयाँ, योजना दर्ता शुल्क १२ लाख रुपैयाँ, प्रक्षेपित वित्तिय विवरण प्रमाणिकरण शुल्क ५० हजार ८५० रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्धक शुल्क ४० लाख रुपैयाँ, बैधानिक विज्ञापन, सूचना, विवरणपत्र तथा अन्य प्रकाशन खर्च ३ लाख रुपैयाँ, मिडिया खर्च ४० लाख रुपैयाँ, सिडिएससीको आस्बा सफ्टवेयर २० हजार रुपैयाँ, प्रोफेशनल कम्पुटर सिस्टमको बाँडफाँड गर्ने सफ्टवेयर ३१ हजार रुपैयाँ, इकाई बाँडफाँड खर्च ८० हजार रुपैयाँ, प्रिन्टिङ्ग खर्च ३ लाख ६६ हजार रुपैयाँ र बाँडफाँड भएका इकाइहरुको अभौतिकिकरण र सफ्टवेयर शुल्क ७ लाख ४० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । क्यापिटलको सञ्चालक र व्यवस्थापक टीम क्यापटलको सञ्चालक समितिमा संस्थापक समूहको सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ६ जना संस्थापक र ३ जना स्वतन्त्र संचालक गरी ६ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट सचिन टिब्रेवाल छन् । उनी नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष बनेका हुन् । यस्तै, क्यापिटलको सञ्चालकहरुमा दिपककुमार श्रेष्ठ, सृजना पाण्डे, रबिन्द्र भट्टराई र आनन्दकुमार भट्टराई रहेका छन् । हाल संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र स्वतन्त्र संचालक १ जना नियुक्त हुन बाँकी रहेको छ । कम्पनीको मूख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा रहेको छ । बैंक मर्जर पश्चात् एनआईबिएल एस क्यापिटल पनि स्वतः मर्जरमा जानेछ । क्यापिटलसँग मर्ज हुने कम्पनीबाट पनि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने भएकोले मर्जर भए पश्चात् संचालक समितिले पूर्णता पाउनेछ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवान्त बहादुर पाँडे कार्यरत छन् । ४१ वर्षिय पाँडेसँग एमएसम्मको शैक्षिक योग्यता छ । उनले ६ वर्षसम्म नेपाल इन्भेष्टमेन्ट बैंकमा विभागिय प्रमुख भएर काम गरिसकेका छन् । यस्तै, सोफिया इन्भेष्टमेण्टमा १ वर्ष र डिलोईट् टूर्स टोमात्सू, इमर्जिङ्गमा १ वर्ष काम गरेको अनुभव उनीसँग छ । क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ६ वर्ष भन्दा बढीको कार्यानुभव समेत रहेको छ । क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा चार्टर्ड एकाउण्टेन्ट हुन् । मर्चेन्ट बैंकहरुको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उपनिर्देशक तथा विभागिय प्रमुख तहमा करिब ४ वर्षको कार्य अनुभव उनीहसँग रहेको छ । उनले स्नातक तहमा लेखा तथा वित्त विषयको अध्यापन समेत गरेका छन् । यसअघि सिद्धार्थ क्यापिटलमा प्रमुख संचालन अधिकृत र कम्पनी सचिव पदमा करिव ३ वर्ष बढी काम गरेका उनी एनआईबिएल एस क्यापिटलमा महाप्रबन्धक र नायव कार्यकारी अधिकृतको पदमा ७ वर्षदेखि कार्यरत छन् । नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना चाटर्ड एकाउण्टेन्ट हुन् । उनले एस.आर पाण्डे एण्ड कम्पनीमा अडिट म्यानेजरको पदमा रही करिब ६ वर्षको काम गरेका थिए । एनआईबिएल एस क्यापिटलमा बिजनेस सर्पोट म्युचुअल फण्ड हेडको पदमा रही करिब २ वर्षको कार्य अनुभव सँगालेका छन् । उनले यसअघि नबिल इन्भेष्टमेण्ट बैंकिङमा प्रमुख सञ्चालन अधिकृत, वित्तीय प्रमुख मर्चेन्ट बैंकिङ्ग प्रमुखको रुपमा २ वर्ष काम गरेका थिए । फण्ड व्यवस्थापकको परिचय एनआईबिएल एस क्यापिटल (तत्कालिन एनआईबिएल क्यापिटल मार्केट्स) वि.सं. २०६७ फागुन २५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । धितोपत्र व्यवसायीः मर्चेन्ट बैंकरको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०६९ असार ४ मा अनुमतिपत्र प्राप्त गरेको थियो भने वि.सं. २०६९ श्रावण १६ देखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन र प्रत्याभूति सेवा कार्य गर्दै आएको छ । हाल कम्पनीले आफ्नो सेवालाई विविधीकरण गर्दै सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दे आइरहेको छ । साथै, कम्पनीले वि.सं. २०७० भदौ ७ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्नको लागि समेत अनुमति प्राप्त गरी हालसम्ममा एनआईबिएल समृद्धि फण्ड-१ (२०७८ साल पौष २२ गते परिपक्क भैसकेको) र एनआईबिएल समृद्धि फण्ड-२ तथा एनआईबिएल प्रगति फण्ड नामक दुईवटा बन्दमुखी योजना र एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजना सञ्चालन गरिरहेको छ । साविक एनआईबिएल क्यापिटल मार्केट्स र साविक एस क्यापिटल एक आपसमा मर्जर भई वि.सं. २०७४ माघ २८ गतेदेखि एनआईबिएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार सञ्चालन हुँदै आएको छ । क्यापिटलमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ सय प्रतिशत लगानी रहेको छ । क्यापिटलको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । क्यापिटलको आगामी योजना कम्पनीले व्यवसाय तथा कार्यक्षेत्र विस्तार, आयमिक सोचका साथ अन्तराष्ट्रिय स्तरको सेवा प्रवाह योजनाका साथ यस प्रकारको व्यवसायमा व्यवसायिक तथा प्रतिस्पर्धि संस्थाको रूपमा अघि बढ्ने रणनीति लिएको छ । यस्तै, व्यवसायर सेवा बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति र प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यस्थापकको व्यवसायको भविष्य रहेको छ । ३ वर्षसम्मको अवधीलाई अल्पकालीन अवधिको रुपमा इङ्गित गर्दै आर्थिक वर्ष २०८१/८२ भित्र हाल संचालनमा रहेका एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड २ योजनाहरुका अलावा अन्य ४ वटा थप सामूहिक लगानी कोष योजनाहरु संचालन गर्ने योजना क्यापिटलको छ । योजनाहरुको चुस्त दुरुस्त व्यवस्थापनका लागी आवश्यक जनशक्ति तथा संयन्त्रलाई प्रभावकारी रुपमा स्पष्ट कार्यदिशा रहित परिचालित गर्ने कम्पनीले जनाएको छ । पीई/भीसी तथा अन्य नविनतम सेवाहरुलाई समेत पूँजी संकलन तथा नवप्रर्वद्धित उद्योगहरुको लागी लगानी जुटाउने संयन्त्रको रुपमा तयार गर्ने कम्पनीको योजना रहेको छ । लगानी व्यवस्थापन सेवालाई थप प्रभावकारी बनाई ग्राहक संख्या र कूल लगानी रकममा हालको भन्दा गुणत्मक वृद्धि गरिने लक्ष्य राखिएको छ भने ग्राहकको लगानीमा उचित प्रतिफल प्राप्ति गर्ने तर्फ विशेष रणनिति अंगिकार गरिने छ । विभिन्न क्षेत्रका २० भन्दा बढी कम्पनीको सार्वजनिक निष्काशन गर्दै छरिएको पूँजीलाई एकिकृत गर्दै पूँजी निर्माणमा सहायक भूमिका निभाउने लक्ष्य लिएको छ । प्रत्याभूति सेवालाई थप परिष्कृत गर्ने र सेवालाई थप ग्राहक मैत्रि बनाईने कम्पनीले बताएको छ । कम्पनीले आफ्नो मध्यकालिन रणनिति अनुरुप आगामी ५ वर्ष सम्मको लक्ष्यहरु निर्दिष्ट गरेको छ । प्रत्येक वर्ष दुई नयाँ प्रकारको योजना दर्ता तथा संचालनको प्रक्रियामा लैजाने र ग्राहक संख्या ३ गुणाले बृद्धि गर्ने, सबै प्रदेश राजधानीहरुमा शाखा कार्यालयहरु स्थापना गर्ने, देश बाहिर समेत सेवालाई विस्तार गर्ने योजना कम्पनीको छ ।

विद्यालयको दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन् ।  कावासोती-१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करिब दुई कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक विमला श्रेष्ठले बताइन्। विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिएको तरकारी नै दिवा खाजामा प्रयोग हुने उनले बताए। गतवर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले चार हजार पाँच सयको बिक्री गरेको उनले बताए। उक्त रकम कोषमा जम्मा गरिएको छ । करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पुर्‍याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्व बुझाइएको प्रअ श्रेष्ठको भनाइ छ । करेसाबारी कार्यक्रमबाट कक्षा ५ मा पढ्ने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उनले जानकारी दिए ।त्यस्तै कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करिब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती सुरु गरेको थियो । गतवर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करिब १२ हजारको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताइन् । करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियतापूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उनको भनाइ छ ।  नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रुपमा २५ हजार अनुदान दिने गरेका  शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए। नगरपालिकाले पहिलो वर्ष दुई विद्यालय र दोस्रो वर्ष आठ विद्यालयमा यो कार्यक्रम सुरु गरेको छ । साथै यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताए। प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरु गरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो । कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताए ।  जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ । विद्यालयमा खुवाइने दिवा खाजामा आफैले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन् । नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन् ।

मुस्ताङबासीले बेचे एक वर्षमा ३३ करोडको आलु

म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपालि नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ ।  उनका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड रुपैयाँ मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो’, उनले भने, ‘कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।’ प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।  ‘आलु एक पाथीको एक सय ५० देखि दुई सय १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ’, उनले भने, ‘प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।’ उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन ।  मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् ।  मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौँ, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ । 

दार्चुलाबाट राष्ट्र बैंकको ‘डिजिटल वित्तीय साक्षरता कार्यक्रम’को शुभारम्भ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए । ‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ ।’ उनले भने । डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखे । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उहाँले सबैलाई अनुरोध गरे । सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए । गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे जानकारी दिए । कार्यक्रममा वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो । विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ।।।विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ । यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका छन् । यस क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न उनीहरूलाई निर्देशन दिए । यसै गरी, उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले दार्चुला जिल्लाको उद्यम/व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखे । कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवद्र्धनका भावी सम्भावनाका विषयमा जानकारी लिएका थिए ।

अघि बढाइँदै ४५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजना

काठमाडौं ।  कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ । कम्पनीका अनुसार अरुण नदीमा जगदेखि एक सय ४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करिब शून्य दशमलव तीन सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा एक सय तीन लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट करिब पाँच सय मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि आठ मिटर व्यास भएको करिब पाँच हजार नौ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । कम्पनीका अनुसार पानीको डिजाइन बहाव करिब एक सय ४३ घनमिटर प्रतिसेकेण्ड र करिब तीन सय ७९ दशमलब ५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करिब दुई हजार छ सय ५५ दशमलब १२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन पश्चात् करिब सात सय ५१ दशमलव शून्य पाँच मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ । अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ । अरुण चार जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । एक हजार एक सय मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ । यस आधारमा ऊर्जा नदीका रुपमा परिचित अरुण नदीमा नै किमाथाङका अरुणको काम समेत शुरु भएको हो । रासस

त्रिपुरेश्वरको राहदानी विभागमा सेवाग्राहीहरुको भीड

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ । शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ । छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य रहेका छन् । राहदानी विभागले पुस ५ गतेदेखि अपरान्ह साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ शुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ शुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भनेपनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।

सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश ९.४७३७ प्रतिशत लाभांश पारित गर्नेछ । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ०.४७३७ नगद लाभांश र ९ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । यस्तै, सभाले प्रिमियर इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । वार्षिक साधारण सभाको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसार्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

आयात प्रतिबन्धको असर : ६३ अर्बले घट्यो राजश्व, वैदेशिक व्यापार घाटा ६ खर्ब नजिक

काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आवमा ६३ अर्ब १९ करोड रुपैयाँले कमी आएको छ । चालु आवको पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना (गत साउनदेखि मंसिर मसान्तसम्म) को तथ्यांकअनुसार आयातसँगै निर्यातमा कमी आएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा आयातमा २०.७१ र निर्यात ३४.६१ प्रतिशतले कमी आएको हो । गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड राबरको आयात भएकोमा चालु आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ। यस्तैगरी, उक्त अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ र निर्यातको हिस्सा ९.१९ प्रतिशत बराबर रहेको छ । ६ खर्बको वैदेशिक व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाको अवधिमा नेपालको करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । उक्त अवधिमा नेपालले सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।