विकासन्युज

आयात प्रतिबन्धको असर : ६३ अर्बले घट्यो राजश्व, वैदेशिक व्यापार घाटा ६ खर्ब नजिक

काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आवमा ६३ अर्ब १९ करोड रुपैयाँले कमी आएको छ । चालु आवको पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना (गत साउनदेखि मंसिर मसान्तसम्म) को तथ्यांकअनुसार आयातसँगै निर्यातमा कमी आएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा आयातमा २०.७१ र निर्यात ३४.६१ प्रतिशतले कमी आएको हो । गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड राबरको आयात भएकोमा चालु आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ। यस्तैगरी, उक्त अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ र निर्यातको हिस्सा ९.१९ प्रतिशत बराबर रहेको छ । ६ खर्बको वैदेशिक व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाको अवधिमा नेपालको करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । उक्त अवधिमा नेपालले सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

महालक्ष्मी लाईफले म्याग्दीमा दियो महिला सशक्तिकरण कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ७ गते अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो । कार्यक्रममा स्थानिय स्वयमसेविका,आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो। अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आय आर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे । दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन्। सर्वोतम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरूवालले समाजमा महिलाहरूलाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे। महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम प्रदान गरेकी हुन् ।क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन् ।

दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको ४० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी सो कुराको जानकारी दिएका हुन् । उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् । दक्षिणी सुडानका खासगरी हिंसा र बाढी पीडित नागरिकका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको प्रमुख मार्टिनले जानकारी दिएका छन् ।उनका अनुसार यहाँ पछिल्लो समयमा दुई लाख ६२ हजार जनाभन्दा बढी नागरिक हिंसा र बाढीबाट पीडित भएका छन् । उनीहरु गाँस र बासको पनि व्यवस्था नभएकाले देशभित्रै विस्थापित भएर शरणार्थीका रुपमा बसेका छन् । उनीहरुको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उनले जानकारी दिएका हुन् ।आप्रबासन सम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष लगायतका संघसंस्थाहरुले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए । ती संस्थाहरुले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् ।

सुनकोसीमा २० करोडमा पक्की पुल निर्माण भएपछि यातायात सुचारु

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् । गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा बिहीबारदेखि उदयपुरको गाईघाटदेखि सिधैै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधै गाईघाट सम्मका यातायातका सधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको भए पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार पुल निर्माणको अन्तिम केही कार्य बाँकी रहेको भए पनि बिहीबारदेखि यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर नम्बर १ धरानका प्रमुख प्रदीप भण्डारीले बताए । दश वर्षअघिनै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो । माघसम्ममा पुल निर्माण सम्पन्न भइसक्ने छ । पार्वता गौरा जेभि कन्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो । विसं २०७५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतामा कठिनाइ भोग्नु परिरहेको थियो । पुल निर्माणका लागि १९ करोड ६० लाख रुपैयाँ खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताए । एक सय ४२ मिटर लम्बाइ र छ दशमलव पाँच मिटर चौडाइको पुल निर्माण गरिएको छ । सुनकोसीमा पक्की पुल नहुँदा २०६९ सालदेखि गाईघाट दिक्तेल सडकखण्डको सुनकोसीमा छ महिना बेलिबृज जडान गरेर छ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए । जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि छ महिनासम्म वर्षा याममा बेलिबृज खोलिने गरिएको थियो । गाईघाट दिक्तेल सडकखण्डमा छ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा छ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेको थियो । यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलिबृज पनि हटाइको छ भने अब हिउँद वर्षा दुवै याममा उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सिधै यातायातका साधन चल्ने छन् । रासस

दुई दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

बुटवल पावर कम्पनीले हालसम्मकै कम लाभांश घोषणा गर्याे, कति दियो ?

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ मा २८/२८ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १८ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

एक महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

हेटौँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दैआएको थियो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ । हेटौँडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौँडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो । धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौँडालगायत काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उनले बताए ।

प्रतितोला १२ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।