विद्यालयको दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग
नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन् । कावासोती-१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करिब दुई कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक विमला श्रेष्ठले बताइन्। विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिएको तरकारी नै दिवा खाजामा प्रयोग हुने उनले बताए। गतवर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले चार हजार पाँच सयको बिक्री गरेको उनले बताए। उक्त रकम कोषमा जम्मा गरिएको छ । करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पुर्याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्व बुझाइएको प्रअ श्रेष्ठको भनाइ छ । करेसाबारी कार्यक्रमबाट कक्षा ५ मा पढ्ने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उनले जानकारी दिए ।त्यस्तै कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करिब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती सुरु गरेको थियो । गतवर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करिब १२ हजारको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताइन् । करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियतापूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उनको भनाइ छ । नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रुपमा २५ हजार अनुदान दिने गरेका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए। नगरपालिकाले पहिलो वर्ष दुई विद्यालय र दोस्रो वर्ष आठ विद्यालयमा यो कार्यक्रम सुरु गरेको छ । साथै यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताए। प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरु गरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो । कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताए । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ । विद्यालयमा खुवाइने दिवा खाजामा आफैले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन् । नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन् ।
मुस्ताङबासीले बेचे एक वर्षमा ३३ करोडको आलु
म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपालि नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उनका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड रुपैयाँ मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो’, उनले भने, ‘कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।’ प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ । ‘आलु एक पाथीको एक सय ५० देखि दुई सय १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ’, उनले भने, ‘प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।’ उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन । मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौँ, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।
दार्चुलाबाट राष्ट्र बैंकको ‘डिजिटल वित्तीय साक्षरता कार्यक्रम’को शुभारम्भ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए । ‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ ।’ उनले भने । डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखे । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उहाँले सबैलाई अनुरोध गरे । सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए । गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे जानकारी दिए । कार्यक्रममा वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो । विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ।।।विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ । यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका छन् । यस क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न उनीहरूलाई निर्देशन दिए । यसै गरी, उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले दार्चुला जिल्लाको उद्यम/व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखे । कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवद्र्धनका भावी सम्भावनाका विषयमा जानकारी लिएका थिए ।
अघि बढाइँदै ४५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजना
काठमाडौं । कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ । कम्पनीका अनुसार अरुण नदीमा जगदेखि एक सय ४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करिब शून्य दशमलव तीन सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा एक सय तीन लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट करिब पाँच सय मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि आठ मिटर व्यास भएको करिब पाँच हजार नौ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । कम्पनीका अनुसार पानीको डिजाइन बहाव करिब एक सय ४३ घनमिटर प्रतिसेकेण्ड र करिब तीन सय ७९ दशमलब ५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करिब दुई हजार छ सय ५५ दशमलब १२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन पश्चात् करिब सात सय ५१ दशमलव शून्य पाँच मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ । अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ । अरुण चार जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । एक हजार एक सय मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ । यस आधारमा ऊर्जा नदीका रुपमा परिचित अरुण नदीमा नै किमाथाङका अरुणको काम समेत शुरु भएको हो । रासस
त्रिपुरेश्वरको राहदानी विभागमा सेवाग्राहीहरुको भीड
काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ । शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ । छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य रहेका छन् । राहदानी विभागले पुस ५ गतेदेखि अपरान्ह साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ शुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ शुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भनेपनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।
सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै मर्जरको प्रस्ताव पारित गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश ९.४७३७ प्रतिशत लाभांश पारित गर्नेछ । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ०.४७३७ नगद लाभांश र ९ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । यस्तै, सभाले प्रिमियर इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । वार्षिक साधारण सभाको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसार्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
आयात प्रतिबन्धको असर : ६३ अर्बले घट्यो राजश्व, वैदेशिक व्यापार घाटा ६ खर्ब नजिक
काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आवमा ६३ अर्ब १९ करोड रुपैयाँले कमी आएको छ । चालु आवको पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना (गत साउनदेखि मंसिर मसान्तसम्म) को तथ्यांकअनुसार आयातसँगै निर्यातमा कमी आएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा आयातमा २०.७१ र निर्यात ३४.६१ प्रतिशतले कमी आएको हो । गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड राबरको आयात भएकोमा चालु आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ। यस्तैगरी, उक्त अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ र निर्यातको हिस्सा ९.१९ प्रतिशत बराबर रहेको छ । ६ खर्बको वैदेशिक व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाको अवधिमा नेपालको करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । उक्त अवधिमा नेपालले सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
महालक्ष्मी लाईफले म्याग्दीमा दियो महिला सशक्तिकरण कार्यक्रम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ७ गते अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो । कार्यक्रममा स्थानिय स्वयमसेविका,आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो। अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आय आर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे । दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन्। सर्वोतम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरूवालले समाजमा महिलाहरूलाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे। महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम प्रदान गरेकी हुन् ।क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन् ।