रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिममा अभिकर्ताहरु सम्मानित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू
सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको पनि मन्त्री बडूले बताएका छन् । उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको कुरालाई पनि जोड दिए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको पनि बडूले जानकारी दिए । उनका अनुसार यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने छ । ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने पनि बडूले बताए । ‘हातमा सीप हुनेहरुलाई उद्यमशिलताका पाँचदेखि २५ लाख रुपैयाँसम्म विउ पुँजी दिइनेछ, युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ,’ उनले भने । उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने पनि बताए । जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ । रासस
त्रिभुवन विमानस्थलबाट १९ केजी बढी सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजीभन्दा बढी सुन बरामद गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट शुक्रबार १९ केजी भन्दा बढी सुन बरामद भएको प्रहरीले जनाएको छ । त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुन बरामद भएको जानकारी दिए । उक्त सुन सुडानी नागरिकले नेपालमा ल्याएको खुलेको छ । २१ वर्षीय सुडानी नागरिक दुबईको उडानबाट नेपाल आएका हुन् । १९ केजीभन्दा बढी सुनसहित उनलाई पक्राउ गरिएको हो ।
बागबजारको पार्किङ अब सिटी मार्केटमा
काठमाडौं । बागबजार एरियालाई मध्य नजर गर्दै काठमाडौं महानगरपालिकाले सिटी मार्केटमा पार्किङको व्यवस्था गरेको छ । महानगरपालिकाले वडा नं. २८ बागबजार एरियामा रहेको अव्यवस्थित सवारीको पार्किङलाई लक्षित गर्दै सिटी मार्केटको भुईँ तल्लामा पार्किङको व्यवस्था मिलाएको हो । महानगरपालिकाका अनुसार अबदेखि पुरानो बसपार्क स्थित सिटी मार्केटमाको भुईँ तलामा निःशुल्क पार्किङ गर्न सक्ने छन् । पार्किङको विषयलाई लिएर स्थानीयले बेला-बेला आन्दोलन तथा विरोध समेत गर्दै आएका थिए ।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ
काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।
नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्बन्धि तालिम प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ। नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा पनि विस्तृत जानकारी गराइएको थियो । कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण गरिएको थियो। विभिन्न विधामा सवोत्कृष्ठ घोषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो । समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धितीय, तृतीय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
ग्लोबल आइएमई बैंककाे ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे । त्यसैगरी, बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २८३ पुगेको छ । बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बिशाल कुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ । त्यसैगरी, बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राज कुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङ्गको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्दाैटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय जय बहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले जानकारी दिएकाे छ । ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ९०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
एनआइसी एशिया बैंकको सेवा दुई दिन अवरुद्ध हुने
काठमाडौं । एनआइसी एशिया बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकको अनुसार आज पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिवार अपरान्ह सम्म बैंकिङ सेवा बन्द हुने छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । बैंकले उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।