मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु
एजेन्सी । चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चार्ल्स कालेले बताएका छन् । हालसम्म ८५ जना घाइते भएका छन् भने केही सडक, विद्यालय र अस्पतालमा पनि क्षति पुगेको बताइएको छ । देशका २९ जिल्लामध्ये २४ जिल्लामा अविरल वर्षा, बाढी, हावाहुरी, असिना र चट्याङका कारण करिब ४२ हजार जनता प्रभावित भएको आयुक्तले बताए । मलावीको वर्षा मौसम सामान्यतया अक्टोबरमा शुरु भई अप्रिल सम्म रहन्छ। बुधबार मौसम परिवर्तन र मेट्रोलोजिकल सेवा विभागले दक्षिणी मलावीमा आउँदा दिनहरूमा बाढी आउन सक्ने ठूलो भारी वर्षाको चेतावनी जारी गरेको छ।
बाहिरी चक्रपथ निर्माण अन्योलमा, सरकारले प्राथमिकता नदिँदा घोषणामा मात्र सीमित
काठमाडौं । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन । चक्रपथ निर्माणको लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणले काम अगाडि बढाउन नसकेकाे हाे । प्राधिकरणका आयोजना प्रमुख जगदिश लामिछानेले लामो समयदेखि अन्योलमा रहेको उक्त आयोजनाको काम हालसम्म पनि अगाडि बढाउने सुरसार नरहेको बताउँछन् । उनका अनुसार चक्रपथ निर्माणको लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणलाई काम अगाडि बढाउन सकस परेको हो । वर्षेनी बाहिरी चक्रपथ निर्माणको कामलाई तीव्रता दिने भनिएता पनि हालसम्म अर्थात डेढ दशकसम्म पनि अगाडि बढ्न नसकेकोमा उनको गुनासो छ । नेपाल सरकारले आर्थिक वर्ष २०६१/६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन कामहरू अगाडि बढाएको थियो । तर, घोषणा भएको डेढ दशक बित्दा बाहिरी चक्रपथ निर्माण आयोजनाको नाम मात्रै भयो, काम भने ठप्प छ । ‘बाहिरी चक्रपथ निर्माण सुरु हुने ठाउँमा हजारौं संख्यामा घर बनि सकेका छन्, अब नीतिगत निर्णय नभएसम्म बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउन मुस्किल छ, नीतिगत निर्णय सरकारले गर्नुपर्याे, वैकल्पिक निर्णय हामीले गरेर भएन, अब यसको निर्णय क्याबिनेट तथा सरकारले गर्नुपर्छ,’ उनले भने । प्राधिकरण चालु आर्थिक वर्ष २०७९/८० बाटै निर्माणको काम सुरु गर्ने तयारीमा थियो । तर, बजेटको सुनिश्चित र पूर्ण रूपमा तयारी नहुँदा काम अगाडि बढाउन समस्या भएको पनि आयोजना प्रमुख लामिछाने बताउँछन् । काठमाडौं जिल्लाका मुख्य स्थानहरू चोभार गाम्चा, सतुङ्गल, काप, पुराना भञ्ज्याङ, सितापाईला, नागार्जुन, नेपालटार, चाली, कपन, जगडोल, सन्डोले, थली डाँछी, ललितपूर जिल्लाका लुभु ठत्र धापाखेल, थेचो, बुगमती, चोभार र भक्तपुर जिल्लाका मुख्य स्थानहरू गामफेदी पकाउनेपाटी वासवारी, याङडोल, मसानडोल, भाटेढिकरे नयाँ ठिमी दधिकोटमा उक्त चक्रपथमा निर्माण हुने भनिएको छ । लामिछानेका अनुसार उक्त चक्रपथको लम्बाई काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८ र भक्तपुर जिल्लामा २१.०८ गरी कूल ७२ किलोमिटर रहेको छ । सडक ६/६ लेनको निर्माण गर्ने गरी साइकल ट्रयाक ग्रीन बेल्ट र फुटपाथसहित उक्त सडकको चौडाई ५० मिटर रहेको छ । बाहिरी चक्रपथ निर्माण योजनामा सडकको दुवैतर्फ २५०/२५० मिटर जग्गा एकीकरण गरी बस्तीको विकास गर्ने समेटिएको छ । चक्रपथ बन्ने ठाउँमा नै घर बनेका कारण अहिले चक्रपथको काम अगाडी बढ्ने की नबढ्ने दुबिधामा छ । १७.५२ किलोमिटरको डीपीआर गर्नै बाँकी ७२ किलोमिटर लम्बाईमध्ये करिब ५४.४८ किलोमिटर सडकको डीपीआर तयार भैसकेको र बाँकी १७.५२ किलोमिटर सडकको डीपीआर तयार हुन बाँकी नै छ । सडक बन्ने या नबन्ने भन्ने टुङ्गो नभएपछि उक्त किलोमिटर सडक डीपीआर गर्न बाँकी रहेका पनि लामिछाने बताए । चक्रपथ निर्माण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ मा निर्णयबाट चोभार-सतुंगल सडक खण्डको ६.६ कि.मीको भौतिक विकास योजना स्वीकृत भई नेपाल राजपत्रमा २०७४ जेठ १५ मा सूचना प्रकाशन गरिसकेको छ । ‘१७ वर्ष अगाडि नै बाहिरी चक्रपथको भिजन राख्दै गर्दा राज्यले प्राथमिकता दिएर काम गरेको भए अहिले बनि सक्थ्यो, बजेट पनि छुट्याउन सकेन, चीन लगायत अन्य देशबाट बजेट आउने भनियो तर आएन,’ उनले भने । लागत बढ्न सक्ने प्राधिकरणका अनुसार बाहिरी चक्रपथ निर्माणको काम सुरु भएमा लागत बढ्न सक्ने अनुमान गरिएको छ । हाल चक्रपथको जम्मा अनुमानित लागत ४२ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जसमध्ये चोभार सतुंगल (६.६ कि.मी) खण्डको लागि ३ अर्ब ८७ करोड ५४ लाख ५ हजार ७ सय २४ रुपैयाँ आवश्यक पर्ने प्राधिकरणको भनाई छ । ‘बाहिरी चक्रपथको काम सुरु भए लागत बढ्न सक्छ, मुआब्जा सहितको रेट बढेर आउँछ, कति बढ्न सक्छ भन्ने अनुमान गरिएको छैन,’ उनले थपे- ‘कताबाट जाने भन्ने टुङ्गो नभई हामीले पाइला चाल्नु भएन ।’ चालु आर्थिक वर्षमात्रै पुँजीगततर्फ ३५ लाख र चालुतर्फ ९९ लाख ८७ हजार गरी करिब एक करोड ३५ लाख रुपैयाँ बजेट बाहिरी चक्रपथ आयोजना निर्माणको लागि विनियोजन भएको प्राधिकरणले जानकारी दिएको छ । तर चक्रपथ निर्माणको घोषणा भएदेखि हालसम्म ५० लाख रुपैयाँ मात्र बजेट आएको प्राधिकरणका लामिछाने बताउँछन् । ‘एउटा भिजन राखेर बजेट र कार्यक्रम छुट्टाउँदै जाने हो भने मात्र त्यो कार्यक्रमको प्रगति हुन्छ, नत्र भने नारामा घोषणा मात्र मात्र राखेर एउटा प्रोजेक्ट बन्न सक्दैन,’ उनले भने । चक्रपथ निर्माणभन्दा मुआब्जामा खर्च बढी बाहिरी चक्रपथ निर्माण हुने भनिएको ठाउँमा अहिले हजारौं संख्यामा घर तथा संरचनाहरू निर्माण भइसकेका छन् । अब चक्रपथ निर्माणको सुरु भयो भने अर्बौं रुपैयाँ मुआब्जा सरकारले तिर्नुपर्ने हुन्छ । कति मुआब्जा तिर्नुपर्छ भन्ने तथ्याङ्क प्राधिकरणसँग पनि छैन । त्यसको लागि पुनः सरकारले अध्ययन गर्नुपर्ने पनि लामिछानेले बताए । अहिले चक्रपथ निर्माणमा भन्दा पनि मुआब्जामा बढी खर्च लाग्ने देखिएको छ । जग्गा प्राप्त गरी जग्गा एकीकरणको माध्यमबाट योजना अगाडि बढाउन हालसम्म जग्गा प्राप्ति गर्ने प्रक्रिया स्वीकृतिको चरणमै रहेको छ । सन् २००४ मा लगानी बोर्डबाट एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) माग गरी छनोटमा चीन सञ्चार निर्माण कम्पनीलाई राखिएकोमा अन्य थप प्रक्रिया अगाडि बढेको छैन । ‘पहिला जग्गा रोक्का भएन, त्यही ठाउँमा भटाभट घर बने, अहिले चक्रपथ निर्माण गर्नुभन्दा बढी मुआब्जा वितरण खर्च हुने भयो,’ लामिछानेले बताए । उक्त चक्रपथ आयोजनाको काम अन्योलमा पर्दा निर्माण शुरु हुन मुस्किल देखिन्छ । जग्गा एकीकरणबाट प्राप्त हुने बिक्री प्लटबाट २५०/२५० दायाँ/बायाँ प्रस्ताव गरिएको वस्ती विकासको ६ मिटर चौडा सडक दल र खुल्ला क्षेत्रको विकास गर्न सम्भव भएता पनि मूल ५० मिटर जग्गा विकास कार्यक्रममा प्रस्ताव गरिएका ११ मिटर तथा ९ मिटरका सडक नेपाल सरकारको लगानीमा निर्माण हुन पर्ने प्रस्ताव गरिएको छ । यो विषयमा हालसम्म श्रोत सुनिश्चितता भई नसकेको प्राधिकरणको भनाइ छ । सरकारको बजेटले नपुगे विदेशी ऋण अथवा सहयोग आवश्यक पर्ने लामिछानेले बताए । ‘बाहिरी चक्रपथ १७ वर्ष अगाडि जुन भिजन राखिएको थियो, त्यो अपरिहार्य कुरा हो, किनभने उपत्यकाको जग्गा सबै सक्यो, अब कृषियोग्य जमिन छैन, यो अवस्थामा राज्यले कडा निर्णय नगर्ने हो भने योजनावद्ध विकास हुँदैन, योजनावद्ध विकासको लागि बाहिरी चक्रपथ अपरिहार्य हो, १७ वर्ष बितिसकेपछि अब चाहिने रहेछ भन्ने कुरा हरेकले महशुस गरेका छन् तर राज्यको प्राथमिकता छैन,’ उनले भने ।
बेइजिङमा कोभिड सङ्क्रमण बढ्दै, दैनिक ५०० बिरामी अस्पतालमा
बेइजिङ । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ । चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।’
३५ दिनभित्र निर्वाचन खर्च विवरण पेश गर्न उम्मेदवार र दललाई आयोगको ताकेता
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजीत दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानूनबमोजिम कारवाही र जरिवाना हुने बताए । आयोगले तोकिएको निर्वाचन खर्चको अधिकतम् हदलाई निश्चित ढाँचामा विवरण पेश गर्न गत मङ्सिर १२ गते निर्देशन दिएको थियो । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ लाख देखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्वाधरण गरेको छ । यस्तै समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख र प्रदेशसभातर्फ रु एक लाख पचास हजार निर्धारण गरिएको छ । निर्वाचनमा पहिलो हुने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतपरिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम कतिपय उम्मेदवार र दलले बुझाउन थालेका छन् । प्रदेश र जिल्ला तहमा बुझाइएको विवरण सङ्कलन भइसकेको भइरहेको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले खर्चको विवरण नबुझाएमा तोकिएको निर्वाचन खर्चको हद वा आयोगले तोक्ने जरिवानामध्ये जुन बढी हुन्छ त्यो रकम बराबरको जरिवाना तथा समानुपातिकतर्फ बन्दसूची पेश गर्ने राजनीतिक दलले खर्च विवरण नबुझाएमा उक्त दलको प्रतिसमानुपातिक उम्मेदवारका लागि प्रतिउम्मेदवारको प्रतिउम्मेदवार दुई लाखका दरले हुने रकमसम्म जरिवाना हुन सक्ने बताए । समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मिति २०७९ मङ्सिर २८ गतेको ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यको लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यको लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ । विवरण पेश गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैङ्क खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्न आयोगले भनेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तोकिएको समयमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई जनही रु सात लाखसम्म जरिवाना तोकेको थियो । उक्त निर्वाचनमा जरिवाना तोकिएर समयमा नबुझाउनेलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार हुन अयोग्य तुल्याइएको थियो । समयमा कानूनी व्यवस्थाबारे जानकारी नभएका कारण स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाउन नसकेसमेतको पाइएकाले यस पटक आयोगले सो व्यवस्थबारे पटकपटक स्मरण गराउँदै आएको छ । विवरण पेश गर्दा तोकिएको निर्वाचन खर्चको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायत विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको (हद) सीमाभित्र रही खर्च गरे/नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिएको छ । आचारसंहिताा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा सङ्लग्न हुँदा सरकारी साधनको प्रयोग भए/नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था गरिएको छ । आयोगले गत असोज १६ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचन खर्चको हद तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले जरिवाना तोक्नेछ । प्रत्यक्षतर्फ खर्चको सीमा निर्धारण गर्दा आयोगले निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई साठी प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई बीस प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भारलाई आधार मानेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । निर्वाचन खर्चको हिसाबकिताब आयोगले तोकेको ढाँचा, लेखाप्रणालीअनुसार राख्नुपर्ने र राजनीतिक दलका तर्फबाट हुने निर्वाचनसम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्नुपर्नेछ । राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण दस दिनभित्र आयोगमा पठाउनुपर्ने व्यवस्था रहेको छ । रासस
पुस १० देखि १२ गतेसम्म टाटाको मेगा सर्भिस क्याम्प हुँदै, आकर्षक छुट पाइने
काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे सेवा केन्द्र काठमाडाैंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगंजमा रहेका छन् । क्याम्पमा टाटाका गाडीहरु जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले साे अवसरमा म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट दिनुकाे साथै टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि नि:शुल्क प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।
अतिआवश्यक सेवा अवरुद्ध नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो । विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको सूचनामा उल्लेख गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ, हवाई सेजा लगायतका अतिआवश्यक सेवाहरु अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको भन्दै विद्युत प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध गर्ने गरेको प्रति असन्तुष्टी व्यक्त गरेको छ । ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौँ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षलाई अनुरोध गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलको भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिदै आएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ भित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन नगरे आफै हटाउने चेतावनी दिएको थियो । प्राधिकरणले त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको थियो। प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो ।
भिभो वाई ३५ स्मार्टफोनको यस्ता छन् विशेषता
काठमाडौं । भिभोको विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केहि समय अघि नेपालमा भिभो वाई ३५ सार्वजनिक गरेको थियो जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् र वाई ३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाइएको जनाएको छ । वाई ३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शिर्ष कारणहरू यस प्रकार छन्ः शक्तिशाली प्रदर्शन भिभो वाई ३५ नवीनतम अक्टा–कोर स्न्यापड्रेगन ६८० द्वारा संचालित छ जुन २.४ गिगाहर्ज घडिको गतिमा चल्छ । यसले ठूला एप्लिकेसनहरू निर्बोध रुपमा कार्य गर्न मद्दत गर्दछ । यो ८जीबी+८जीबी विस्तारित र्यामको साथमा आउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ । यसमा १२८जीबी रोम रहेको छ जसलाई १ टिबीसम्म विस्तार गर्न सकिन्छ । शक्तिशाली ब्याट्री भिभो वाई३५ मा ५०००एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ । यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ । रिभर्स चार्जिङ सुविधाले तपाईं बाहिर हुँदा अन्य उपकरणहरु पनि चार्ज गर्न सक्नुहुन्छ । फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ । त्यसोभए अब ब्याट्रीको चिन्तालाई सूचीबाट हटाउने होइन त? उत्कृष्ट क्यामेरा विशेषताहरू वाई ३५ मा शानदार ५०एमपी ट्रिपल रियर क्यामेरा छ जसले स्पष्ट र सुन्दर तस्वीरहरू लिन मद्दत गर्दछ । यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन् जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ । वाई३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी–स्टाईल पोर्टेट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ । दुबै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ । आकर्षक डिजाइन वाई ३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ । यसमा फ्ल्याट फ्रेम र २.५डी कर्भेचर छ । यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्र्याच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ र सुरुचिपूर्ण अनुभव प्रदान गर्दछ । साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ । यसमा फेस वेक सुविधा पनि छ । यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ । यसको मुल्य नेपालमा ३०,९९९ रुपैयाँ मात्र रहेको छ ।
चुरोटको खोलमा कविता लेख्थेँ : केपी ओली
गण्डकी । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उनले भने, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।’ अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गरे । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए । विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, ओलीले भने, ‘जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।’ भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताए । ‘सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो’, उनले भने, ‘जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।’ उनले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गरे । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताए । उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताए । पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताए । उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि ? भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखे । ‘काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन’, उनले भने । फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताए । ‘निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो’, उनले भने । ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताए । उनले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाए । राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उनले रमाइलो शैलीमा अभिव्यक्त गरे । रासस