काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्ती खाली गराउन सुरक्षा निकायले प्रक्रिया अगाडि बढाएको छ । बिहीबार साँझ बस्ती क्षेत्रमा माइकिङ गर्दै प्रहरीले त्यहाँ रहेका स्थानीयलाई तत्काल ठाउँ खाली गर्न सूचित गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग विशेष छलफल गर्दै आगामी शनिबार र आइतबारभित्रै सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयनका लागि प्रहरीले बस्तीमा पुगेर भोलि (शुक्रबार) बेलुकासम्म सुरक्षित रूपमा ठाउँ खाली गरिसक्न चेतावनी दिएको छ ।
वालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै यो बस्ती हटाएर बागमती कोरिडोरलाई व्यवस्थित बनाउने प्रयास गर्दै आएका थिए ।
विगतमा पटक/पटक भएका त्यस्ता प्रयासहरू स्थानीयको चर्को विरोध र विभिन्न कानुनी एवं प्राविधिक जटिलताका कारण सफल हुन सकेका थिएनन् ।
यद्यपि, अहिले प्रधानमन्त्रीकै तहबाट सुरक्षा निकायलाई परिचालन गरी समय सीमा नै तोकेर निर्देशन आएपछि थापाथली क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
भोलि बेलुकासम्म बस्ती खाली नभए प्रशासनले बल प्रयोग गर्न सक्ने सङ्केत समेत दिएको छ ।