नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए । अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ तथा प्राविधिक जनशक्तिमार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा हाल १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिष्ट, ७ जना अप्टोमेट्रिष्ट, ३ जना फेलो समेत गरी जम्मा १५० जना कर्मचारी छन् । अस्पतालमा दैनिक करिव ७०० देखि ९०० बिरामीले सेवा लिने गरेका छन् भने मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन हुने गरेको छ । नेपाल आँखा अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन् । त्यसैगरी, २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन-पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ ।
ट्रेड युनियन खारेज गर्ने बाटो खुला, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार
काठमाडौं । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ २० गते सुरु भएको सुनुवाइ शुक्रबार (आज) सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो । अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ । यसअघि, गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ गर्दै राय बाझी आदेश गरेको थियो । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश मल्ल, न्यायाधीशहरु रेग्मी र फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेका थिए भने न्यायाधीशहरु विनोद शर्मा र शारङ्गा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाएका छन् । अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको थियो । नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइ ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो ।
एथर नेपालले एकै दिन २०८ स्कुटर हस्तान्तरण गर्दै बनायो कीर्तिमान
काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले आयोजना गरेको ‘मेगा डेलिभरी’ कार्यक्रममार्फत एथर स्कुटर ग्राहकलाई हस्तान्तरण गरिएको हो । यस उपलब्धिले नेपाली बजारमा एथर ब्रान्डप्रतिको बढ्दो विश्वास, अत्याधुनिक प्रविधिप्रति आकर्षण तथा दिगो यातायातप्रतिको झुकाव स्पष्ट भएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले नयाँ स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ भइरहेको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए । कार्यक्रमका अवसरमा वैद्य इनर्जीका प्रतिनिधिहरूले ग्राहकप्रति आभार व्यक्त गर्दै स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणाली विकासमा कम्पनी प्रतिबद्ध रहेको बताएका थिए । एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई प्रिमियम विद्युतीय स्कुटर सेग्मेन्टमा अझ सशक्त बनाएको कम्पनीको दाबी छ । साथै, यसले नेपाली बजारमा उच्च गुणस्तरयुक्त तथा नवप्रवर्तनमा आधारित विद्युतीय सवारीसाधनप्रतिको माग बढ्दो रहेको संकेत गरेको छ ।
काभ्रे दुर्घटना अपडेटः थप एकको मृत्यु
काठमाडौं । काभ्रेको बीपी राजमार्ग सडकखण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार दिउँसो २ बजे बनेपाबाट रोशी सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको थियो। २४ जना सवार मध्ये दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
एनआईसी एशिया बैंकद्वारा पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरमा बिरामी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम २०८३ साल ज्येष्ठ २८ गते सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । बैंकले प्रदान गरेको सहयोगले स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आएको सेवा अझ प्रभावकारी बन्ने र स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् । समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ । मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ । यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।
स्वीकृति नलिई पौने ८ अर्ब सेयर कारोबार
काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सहित ११ कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृति नलिई धितोपत्र बजारमा लगानी गरेको पाइएको छ । प्राधिकरणबाट जारी लगानी निर्देशनअनुसार बीमकले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा दश प्रतिशत सम्म लगानी गर्न सक्ने व्यवस्था छ । प्रधिकरणबाट लगानी निर्देशन संशोधन भई जीवन निर्जीवन र पुनर्बीमा व्यवसाय गर्ने बीमकको हकमा निर्देशनमा तोकिएको सीमाभन्दा बढी लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर, ११ बीमक तथा सहायक कम्पनीले धितोपत्र बजारमा लगानी गर्न बीमा प्राधिकरणबाट अनुमति नलिएको र निश्चित समूह गठन गरी योजनाबद्ध रुपमा सेयर कारोबार गरेको देखिएको छ । प्राधिकरणबाट स्वीकृत नलिई धितोबजारमा लगानी गर्ने बीमकहरुमा हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स हिमालयन सेक्युरिटिज्, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, गार्डिएन माइक्रो लाइफ, लिवर्टी माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् । साहयक बीमक कम्पनीहरुमा हिमालयन इन्भेष्टमेन्ट बैंकर, हिमालयन क्यापसर्व र हिमालयन इन्भेष्टमेन्ट बैंकरले प्राधिकरणबाट अनुमति नलिई शेयरमा लगानी गरेका छन् । लगानी निर्देशन, २०८२ अनुसार पुनर्बिमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाउने तथा कुनै एक कम्पनीको शेयरमा लगानी गर्दा सो कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने स्पष्ट सीमा निर्धारण गरेको छ । तर कानुनी व्यवस्थाको पालना नगरी हिमालयन रिइन्स्योरेन्सले पहिले नै लगानी सीमा नाघिसकेको अवस्थामा समेत भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत शेयर खरिदका लागि रकम उपलब्ध गराएको देखिएको छ । हिमालयन रि इन्स्योरेन्सहित १० व्यक्ति तथा संस्थाहरुको ७ अर्ब ७६ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार रहेको पाइएकाे छ । जसअनुसार हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ९६ लाख १७ हजार रुपैयाँको कारोबार गरेको पाइएको छ । हिमालयन सेक्युरिटज् बैंकरले १० करोड ७५ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । हिमालयन क्यापसर्वले १ अर्ब ३३ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको १९ करोड ५० लाख रुपैयाँ, गार्डिएन माइक्रोले १० करोड ५४ लाख रुपैयाँ, क्रेस्ट माइक्रो इन्स्योरेन्सले २२ करोड १२ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको पाइएको छ । हिमालयन रिइन्स्यारेन्सले आफ्ना कोषको रकम बीमकको हित एव आम लगानीकर्ताहरुको हित प्रतिकुल प्रतिवादीहरु दीपक भट्ट र शुलभ अग्रवालको लाभका लागि कोषको रकम दुरुपयोग गरेको पाइएको छ । काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोग पत्रअनुसार हिमालयन इन्स्योरेन्सबाट ब्रोकरको खातामा रकम ट्रान्सफर गर्नुको प्रमुख उद्देश्य नै प्रतिवादी शुलभ अग्रवालको योजना एवं उनले चाहे अनुकुल सो रकम अग्रवालले चाहेका दीपक भट्ट समेतका मानिसका नाउँमा शेयर खरिद गर्नु रहेको देखिएको छ । प्रतिवादी शेखर गोल्छाले आफू अध्यक्ष रहेको हिमालयन रिइन्स्योरेन्सको कोषको रकम दुरुयपोग गर्ने वातावरण बनाई दीपक भट्ट र शुलभ अग्रवाललाई हिमालयन रिइन्स्योरेन्सकै रकम दिएको ब्रोकर नं. ५५ मा नै आफ्नो व्यक्तिगत रकम ५२ करोड ५० लाख रुपैयाँ उक्त ब्रोकरमा आफ्नो डिम्याट नै नभएको कुरा थाहा हुँदाहुदै सेयर कारोबार गर्न भनी सो रकम जम्मा गरेको खुलेको छ । रकम जम्मा गरी नेपाल रिइन्स्योरेन्सको शेयर कर्नरिङ गरी सो कम्पनीमाथि आफ्नो समूहको प्रमुख हिस्सा शेयर हात पारी सो कम्पनी आफ्नो नियन्त्रणमा लिने योजनामा प्रत्यक्ष रुपले सहभागी भएको देखिएको छ । प्रतिवादीहरु शुलभ अग्रवाल र दीपक भट्टले नेतृत्व गरेका समूह निर्माण गरी उक्त समुहले आफ्नो प्रत्यक्ष आर्थिक हित नियन्त्रण गर्ने हिमालयन रि इन्स्योरेन्स नेपाल माईक्रो इन्स्योरेन्स, गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स लगायतका सवै संस्थाहरुको शेयर खरिद विक्री तथा सेटलमेन्टका निर्णयहरु प्रतिवादीहरु आफू संलग्न रहेको कम्पनीहरु सौर्य सिमेन्ट इष्डष्ट्रिज र जगदम्बा स्टिलको गैरीधारा स्थित कार्यालयबाटै सञ्चालन गरेको खुलेको छ । जगदम्बा स्टिलको गैरीधारा स्थित कार्यालयबाटै सञ्चालन गरेको तथ्यसमेत खुलेका छ । यस आधारमा सबै कम्पनीका सम्बन्धित पदाधिकारी समेतको संलग्नतामा विभिन्न बीमकहरुको शेयर खरिद बिक्रीको निर्णय स्वतन्त्र रुपमा ती संस्थाको आफ्नो लगानीको क्षमता धितोपत्र बजारबाट प्राप्त गर्ने लाभ तथा यसको विविधीकरण समेतका आधारमा नभई शुलभ अग्रवाल र दीपक भट्ट समेतको योजना र चाहना बमोजिम खरिद गर्ने, सवै संस्थाको डिम्याट र टिएमएस ब्रोकर नं. ५५ खाता खोली प्रतिवादीहरुकै चाहना र सुविधाको लागि निरन्तर रकम उपलब्ध गराउने गरेको पाइएको छ ।
किया नेपालले ल्यायो नयाँ के३ सेल्टोस, ९५ लाखसम्म पर्ने
काठमाडौं । किया नेपालले ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत नयाँ एसयूभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । कियाको नयाँ ‘के३ प्लेटफर्म’मा आधारित यो एसयूभीमा बलियो बडी संरचना, फराकिलो क्याबिन र परिष्कृत ड्राइभिङ अनुभव उपलब्ध हुने बताइएको छ । भारतस्थित कियाको अत्याधुनिक प्लान्टमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । सुरक्षातर्फ ‘लेभल–२ एडिएएस’, २१ वटा स्ट्यान्डर्ड सेफ्टी फिचर, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू समावेश गरिएको छ । यसले ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङसमेत हासिल गरेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा दिने बताइन् । उनले यसले एसयूभी सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन् । कम्पनीले नयाँ सेल्टोसलाई अघिल्लो पुस्ताको मोडलसँगै बिक्री गर्ने योजना बनाएको छ । जसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यस गाडीको मूल्य एसटीके ओ (एचटीके पेट्रोल) का लागि ६८ लाख ९० हजार रुपैयाँ, एसटीके ओ आइभीटीका लागि ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स ए आइभीटीका लागि ८५ लाख ९० हजार रुपैयाँ र एक्स–लाइन ए डीसीटीका लागि ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एसयूभी देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।