ताप्लेजुङमा तीन घर जलेर नष्ट, लाखौँको क्षति
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए । भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन् । उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यता रहेको बताए । उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्र काबु भन्दा बाहिर गएको भन्ने होइन । तर अर्थतन्त्रमा समस्याहरु छन् । सावधानिपूर्वक हिँड्यौं भने र ठिक ढङ्गले कदम चाल्दै गयौं भने अर्थतन्त्र ठिक ढङ्गमा आउनसक्ने देखिएको छ । अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ । अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौं । यही दिशामा पत्रकारहरुको पनि रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’ मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनको लागि आर्थिक पत्रकारहरुले रचनात्मक भुमिका खेल्नुपर्ने बताए ।
लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४३ हजार
काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तगत सहारा एकेडेमी पोखराद्वारा दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आथिक सहयोग स्वरुप २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देल ले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गन{ पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गरे । बैंकले गरेको सहयोगका लागि आभार प्रकट गदै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खच गरिने बताए । कायक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाश चन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवतमान अध्यक्ष केशव वहादुर थापा र पूव अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कायान्वयनमा ल्याएको छ ।
पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर
काठमाडौं। लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताए । उनले भने, ‘यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात् भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडाैमा डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष आज डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ । उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
नयाँ स्टक र थप ब्रोकर लाईसेन्स दिन बनेको नियमावली रोक्न सर्वाेच्चमा परेको रिट खारेज
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त रिट खारेज गरेको हो । गत कार्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलाशले उक्त रिट खारेज गरेको हो ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने
काठमाडौं । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सले पाउनेछन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीबाट पुस १७ गते सन् २०२३ जनवरी १ तारिख देखि व्यावसायिक उडान सञ्चालन गर्ने क्यानले घोषणा गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । विमानस्थल उद्घाटन बिहान ११ बजे हुने र औपचारिक समारोहपछि विमानस्थलमा अन्य कार्यक्रम पनि सञ्चालन हुने क्यानले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही पुस ७ गते निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयर र यती एयरलायन्सले आफ्नो परीक्षण उडान गरिसकेका छन् । त्यस्तै गुण एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनका लागि तयार भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । पोखरा विमानस्थलमा एरो थाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म एक साता सफलतापूर्वक यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडानको प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल व्यावसायिक उडानयोग्य भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको सात महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थलमा व्यावसायिक उडान सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण तयारी पूरा गरिएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि अन्तिम चरणमा पुगेको विमानस्थलले जनाएको छ । पहिलो चरणअन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा मङसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । विमानस्थल सञ्चालनमा सहजीकरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएकाले यसलाई सुव्यवस्थितरूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिन्छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्याङ्कअनुसार काठमाडौं आएका विदेशी पर्यटक मध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय शहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।
राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अनुगमन गरेका हुन् । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । सोही बमोजिम उनी त्यहाँ पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग रहेकाले उनले अनुगमन गरेका हुन् । गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका काममा सेवाग्राही भोग्नु परेको सास्तीलाई समाधान गर्न कार्ययोजना नै बनाउने भएको हो । सोही बमोजिम बढी भिड हुने र जनताले पाउने सेवामा सहज हुनेछ ।
विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री
बागलुङ । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख रुपैयाँ बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट ४१ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै तीन लाख रुपैयाँ आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए । अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताए । ‘हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पालेका छन्, धेरै युवाको व्यावसायिक फार्म छ’, पौडेलले भने, ‘विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।’ सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताए । सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट एक लाख २७ हजार छ सय ११ रुपैयाँ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । ‘बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पु¥याउनै कठिन छ’, शर्माले भने, ‘समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।’ शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले ६५ देखि ७५ रुपैयाँ प्रतिलिटर पाउँछन् भने सहकारीले ८० देखि ८५ रुपैयाँ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।