विकासन्युज

विश्व प्रख्यात महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्ने उनी एक मात्र फुटबल खेलाडी हुन् । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए ।

विदेशीसँग बैंकर रविनाको अफयर, सार्वजनिक गरिन् प्रेमीको तस्वीर

काठमाडौं । मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी उनले गत साता मात्रै मेगा बैंकबाट राजीनमा दिएकी थिइन् । अहिले एकल जीवन जिइरहेकी उनले आफ्नो प्रेमीसहितको तस्वीर सार्वजनिक गरेकी हुन् । केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रविनाका श्रीमानले डिभोर्स दिएका थिए । त्यसपछि उनी एक्लै छिन् । उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताएकी छन् । उनले भेटपछि कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छन् । ‘साथीहरू, तपाईंसामू सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी छु कि मैले ३२ वर्षको बैंकिङ करियरबाट बाहिर निस्केपछि मेरो जीवन मात्र परिवर्तन भएको छैन, ब्रह्माण्डले मलाई सबैभन्दा धेरै भाग्यमानी बनाएको महसुस गरेकी छु, जसको लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ, मैले उहाँलाई भेटेदेखि मेरो पूर्ण भएको महसुस गरेँ, तपाईंको आर्शिवादका लागि मैले सार्वजनिक गरेकी हुँ,’ उनले लेखेकी छन् ।’ उनले इन्स्टाग्राममा स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नामक आइडीलाई मेन्सन गरेकी छन् । उनी विदेशी नागरिक भएको बुझिएको छ । उनी वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिन्छन् । रविनाका दुई छोरा आयुशमान र असिरमान छन् । लामो समयदेखि रविना एकल जीवन बिताउँदै आएकी थिइन् । दुवै छोरा नेपाली सिनेमा क्षेत्रमा सक्रिय छन् । रविनाका छोरा आयुशमानले नायिका प्रिंयका कार्कीसँग विवाह गरेका छन् । मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् । रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन् ।

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भने, ‘भन्सार प्रक्रियामा सन्दर्भ मूल्य कायम हुँदा यसले राजस्व प्रभावित भएको छ । अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।’ अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे । नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यावसायिक क्षेत्रमा थप असहज परिस्थितिमा सिर्जना गरेकाले सो मार्गदर्शन स्थगित गर्नुपर्ने चेम्बरको माग छ । चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताए ।

१८ कम्पनीसहित ४ व्यक्ति ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’बाट सम्मानित

काठमाडौं । १८ कम्पनीसहित ४ जना व्यक्ति एचआरम‍एम नेपालबाट सम्मानित भएका छन् । बिहीबार सोल्टी होटलमा भएको कार्यक्रममा एचआरम‍एम नेपालले १८ कम्पनी र ४ जना व्यक्तीलाई विभिन्न विद्यामा कर्पोरेट एक्सिलेन्स र डिस्टङ्गयुइस्ड सर्भिसेस अवार्डबाट सम्मान गरेको हो । नेपालको निजि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि अवार्ड प्रदान गरिएकाे आयाेजकले जनाएकाे छ । सम्मानित हुने कम्पनीहरुमा उत्पादनबाट पोखरा नुडल्स, बैंकबाट सिद्धार्थ बैंक, इन्स्योरेन्सबाट नेशनल लाइफ, इन्टरनेट सेवा प्रदायकबाट वर्ल्डलिंक कम्युनिकेसन, आइटीबाट क्लाउड फ्याक्ट्री नेपाल, होटलबाट सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी र फिनटेकबाट नेपाल क्लियरिङ हाउस रहेको छ । यस्तै, औषधीबाट नेपाल फर्मास्युटिकल, बहुराष्ट्रिय कम्पनीबाट युनिलिभर नेपाल, हाइड्रोपावरबाट सानिमा माइ, कृषि व्यवसायबाट पैचो पसल, इकमर्शबाट दराज, एयरलाइन्सबाट बुद्ध एयर, निर्यातबाट रिलायन्स स्पिनिङ मिल्स, निर्माणबाट सिइ कन्सट्रक्सन, सामाजिक उद्यमबाट कारखाना र स्टार्टअपबाट मिचा रहेको छ । व्यक्तितर्फ भायनेट कम्युनिकेशनकी सीइओ सेवा पाठक र सिप्रदी ट्रेडिडका सिद्धार्थ एसजेबी रानाले लिडरसिप अवार्ड पाएका छन् भने पंचकन्या प्रेमबहादुर श्रेष्ठले लाइफटाइम एचिभ्मेन्ट अवार्ड र संस्था निर्माणकर्ताको अवार्ड हिमालयन एसजेबि अवार्ड पाएका छन् । 

सूचीकृत २५१ कम्पनीमा लाभांश घोषणा गर्ने ८० मात्रै, दुई तिहाईले अझै गरेनन्

काठमाडौं । पूँजी बजारमा पुस मसान्तसम्मको समय लगानीकर्ताहरुका लागि विशेष हुन्छ । कम्पनीहरुले पुस मसान्तसम्म आफ्नो वार्षिक साधारण सभा बोलाउनु पर्ने हुन्छ । वार्षिक साधारण सभामा गत वर्ष कम्पनीले कमाएको नाफा पनि वितरण गरिने भएकाले यो समय लगानीकर्ताका लागि विशेष हुन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा म्युचुअल फण्ड बाहेक २५१ कम्पनी सूचीकृत छन् । जसमध्ये ३७ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमा हालसम्म ८० वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । ३१.८७ प्रतिशत कम्पनीले मात्रै हालसम्म लाभांश वितरण गर्ने निर्णय गरेका छन् । हालसम्म एक तिहाइ कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिन सकेका छैनन् । नेप्सेमा १३ वटा समूह छन् । १३ वटा समूहहरुमा म्युचुअल फण्डको भने यहाँ समावेश गरिएको छैन । हालसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, हाइड्रोपावर, इन्भेष्टमेन्ट, होटल, अन्य समूह, निर्जीवन बीमा समूह र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स समूहका कम्पनीहरुले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । जीवन बीमा समूह र ब्यापार समूहका कम्पनीहरुले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ । वाणिज्य बैंक  २१ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । हालसम्म नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस्तै, गत वर्षको नाफाबाट बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक, सिभिल बैंक र नेपाल एसबिआई बैंकले पनि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् भने कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिनेमा नबिल बैंक रहेको छ । यस बैंकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत, तेस्रोमा एभरेष्ट बैंकले २०.६८ प्रतिशत, चौंथोमा हिमालयन बैंकले १९.११ प्रतिशत र पाँचौंमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । विकास बैंक  नेप्सेमा १६ वटा विकास बैंक सूचीकृत भएपनि ६ वटाले मात्रै सेयरधनीलाई लाभांश दिने भएका हुन् । जसमा सबैभन्दा धेरै गरिमा विकास बैंकले १४.५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत, लुम्बिनी विकास बैंकले १२ प्रतिशत र महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अझै ६ वटा विकास बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ । फाइनान्स कम्पनी  नेप्सेमा २० वटा फाइनान्स कम्पनी सूचीकृत छन् । तर, हाल १५ वटा कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ भने ५ कम्पनीको कारोबार रोक्का रहेको छ । कारोबार भइरहेका १५ वटा फाइनान्स कम्पनीहरुमध्ये ५ वटा कम्पनीले मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा सबैभन्दा धेरै आईसीएफसी फाइनान्सले १० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले ७.६ प्रतिशत, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले ६.८४ प्रतिशत, सेन्ट्रल फाइनान्सले ५ प्रतिशत र पोखरा फाइनान्सले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मञ्जुश्री फाइनान्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । लघुवित्त वित्तीय संस्था  हालसम्म १३ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेप्से सूचीकृत ६० वटा लघुवित्त छन् । जसमा २ वटा लघुवित्तको कारोबार भने रोक्का रहेको छ । सेयर कारोबार भयरहेका कम्पनीहरुमध्ये १३ कम्पनीले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । हालसम्म जाल्पा सामुदायिक लघुवित्त, आएसडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, गुराँस लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हाइड्रोपावर कम्पनी  नेप्सेमा ६२ वटा जलविद्युत कम्पनी सूचीकृत रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १५ वटा हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश रिडी पावर कम्पनीले ४२.१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, दोस्रोमा कालिका पावरले १५.७८ प्रतिशत, तेस्रोमा चिलिमे हाइड्रोपावरले १५ प्रतिशत, चौंथोमा बुटवल पावर कम्पनी र पाँचौंमा माउन्टेन इनर्जीले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमा सबैभन्दा कम राधी विद्युत र मन्दाकिनी हाइड्रोले ५÷५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अपर हेवीखोला हाइड्रोपावर, सामलिङ पावर कम्पनी, यूनीयन हाइड्रोपावर, सयपत्रि हाइड्रोपावर, हिमालयन पावर कम्पनी, मैलुङ खोला जलविद्युत, हिमालय उर्जा विकास, स्वेतगंगा हाइड्रोपावर, सीनर्जी हाइड्रो, इस्टर्न हाइड्रोपावर, माउन्टेन हाइड्रो कम्पनीले भने गत वर्षको लाभांश वितरण नगर्ने भएका हुन् । यी कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएका छन् । निर्जीवन बीमा कम्पनी  नेप्सेमा १७ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये ४ वटा कम्पनीको कारोबार रोक्का रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १० वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । गत वर्षको नाफाबाट सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । दोस्रोमा नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत, तेस्रोमा प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, चौंथोमा सगरमाथा इन्स्योरेन्सले १३.१५ प्रतिशत र पाँचौंमा एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अजोड इन्स्योरेन्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । इन्भेष्टमेन्ट कम्पनी  नेप्सेमा ६ वटा इन्भेष्टमेन्ट कम्पनी सूचीकृत छन् । जसमध्ये ३ वटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५.२६३ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ५.२५ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस समूहमा सूचीकृत इमर्जीङ नेपालले पनि गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । होटल कम्पनी  ५ वटा कम्पनी नेप्सेमा सूचीकृत भएपनि हालसम्म एउटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश दिने भएको छ । सोल्टी होटलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । चन्द्रागिरी हिल्सले पनि लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । अन्य समूहका कम्पनी  नेप्सेमा अन्य समूहमा २ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स  नेप्सेको यस समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमा ६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ । अन्य कम्पनीको कारोबार रोक्का छ । कारोबार भइरहेका कम्पनी सबै कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । शिवम् सिमेन्टले १०.५३ प्रतिशत, हिमालयन डिस्टीलरीले ७० प्रतिशत, यूनिलिभर नेपालले १२१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत, बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत र नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

प्राइम बै‌कले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई दियो मोबाइल भ्यान

काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् । बैंकले उक्त सहयोगले फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन अपेक्षा गरेको बताएको छ । नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षण गर्दै आएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम परिवर्तन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको नाम परिवर्तन गरिएको छ । समितिको गत मङ्सिर २९ गतेको बैठकको निर्णयानुसार नाम परिवर्तन गरिएको अध्यक्ष काशीराज दाहालले जानकारी दिए । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्नु समितिको मुख्य कर्तव्य हो । समिति गठनका बेला मन्त्रालयले समस्याग्रस्त नाम नराखे पनि पछि नामको अघि नै राखिएको शब्दका कारण नकारात्मक सन्देश गएकाले नाम परिवर्तन गरिएको जनाइएको छ । नाम परिवर्तन भएपछि समितिले कार्यालयको वेबसाइट, बोर्ड र लेटरहेडमा समेत सहकारी व्यवस्थापन समितिको कार्यालय भनी नाम राखेको पनि उनले बताए ।

तराईमा एक्कासि बढ्यो चिसो, जनजीवन कष्टकर बन्दै

कपिलवस्तु । कपिलवस्तुसहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि कपिलवस्तुका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको तौलिहवाका गुलाम अलीले बताए । जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले लगातार जाडो बढ्दै गएकाले अब छिट्टै जिल्लाको सबै स्थानीय तहको चोक–चोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए । जिल्लामा रहेका साझेदारी वन तथा समुदायिक वनसँग समन्वय गरी गाउँ–गाउँ चोक चौराहामा दाउरा वितरण गर्नका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिए । अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन । चिसोका कारण स्थानीय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको पाइन्छ । चिसोबाट बच्नका लागि कपिलवस्तुको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय तौलिहवाले जनाएको छ ।