नबिल बैंकका ग्राहकले मिडास एजुकेसनमा विशेष छुट पाउने
काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।
प्रभु र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।
सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो । अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ । कार्यक्रममा डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ्ग कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।
१९ कम्पनीका बीमितले त्यागे एक अर्ब बढीको बीमा पोलिसी, कुनको कति ?
काठमाडौं । जीवन बीमा गर्ने बीमितहरुले एक अर्ब बढी रकमको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरमा ७ हजार ६५० जना बीमितले एक अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएका छन् । कम्पनीमा जीवन बीमा गरेका २ हजार ४७२ बीमितले ३३ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका हुन् । त्यस्तै, १० करोडभन्दा बढी रकमको पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफसहित अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स (नेपाल)का बीमितले १८ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । कम्पनीका ५७२ जना बीमितले सो रकमको पोलिसी बीचमै रोकेका हुन् । मंसिर महिनामै नेशनल लाइफका ७१० जना बीमितले ११ करोड ८३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, ८ कम्पनीका बीमितहरुले करोड बढीको पोलिसी सरेन्डर गरेका छन् । प्राइमको ८ करोड २३ लाख, राष्ट्रिय बीमा संस्थानको ७ करोड ९७ लाख, गुराँस लाइफको ४ करोढ ९५ लाख, युनियन लाइफको ३ करोड ७७ लाख, एशियन लाइफको ३ करोड २८ लाख, मेटलाइफको २ करोड ५० लाख, सूर्या लाइफको २ करोड १ लाख र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसीहरु सरेन्डर भएका छन् । यता ८ कम्पनीको करोडभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल, सिटिजन, सानिमा, प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये रकमका आधारमा सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएको छ । समीक्षा अवधिमा महालक्ष्मीको ३४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । संख्याको आधारमा हेर्ने हो भने सानिमा लाइफको सबैभन्दा कम छ । कम्पनीका २६ जना बीमितले ३६ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै रोकेका छन् ।
गुराँस लघुवित्तले माग्यो कर्मचारी
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
चिसोले जम्न थाले मनाङका नदीनाला
मनाङ। यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् । समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ । यसैगरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । “घरका धारा र सेफ्टी ट्याङ्की पानी जम्दा यहाँको जनजीवन कष्टकर बनेको छ”, प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले भनिन्, “चिसो सिरेटोले बाहिर निसक्न मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।” उनका अनुसार खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्ने गरेका छन् । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको बताइएको छ । चिसोकै कारण माथिल्लो मनाङका नागरिक निर्वाचन सकाएर जाडो छल्न बँेसी झरिसकेका छन् । मनाङका सामुदायिक तथा गुम्बा विद्यालय पनि घुम्तीका लागि बेँसी झरेका छन् । अत्यधिक चिसोले गर्दा पशुचौपाय र गोठालालाई समेत सास्ती खेप्नुपरेको छ । तल्लो मनाङ अर्थात् चामेमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मनाङका शैक्षिक संस्थाले जाडो बिदा दिएको र विद्यार्थी अभिभावकसँगै चिसो छल्न बाहिर गएका छन् । विकास निर्माणका काम पूरै चिसोले प्रभावित बनेका छन् । कर्मचारी पनि सदरमुकाममा सीमित रहेका छन् । रासस
अर्बपति सन्यासी, पोल्ट्रीका फादर
काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अर्बपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिनँ, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै समय लाग्दैन,’ पोल्ट्री फादरको रुपमा चिनिने व्यवसायी गुणचन्द्र विष्टले भने, ‘जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच भएको मान्छे म होइन, म त अहिले पनि सन्यासी हुँ ।’ सन्यास भनेको संसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो । सन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ । ‘ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहनेलाई सन्यासी भनिन्छ’ भनेर वृहत नेपाली शब्दकोषमा व्याख्या गरिएको छ । गुणचन्द्र विष्टले अहिले पनि आफूलाई सन्यासी भन्छन् । झ्याप्प दारी, लामो कपाल, झट्ट हेर्दा सन्यासी जस्तो देखिन्छन् पनि उनी । विद्धताको पनि कमी छैन उनमा । गुणचन्द्र विष्ट उनका बाबुआमाले दिएको नाम हो । सन्यासी भएपछि उनले आफ्नो नयाँ नाम राखे ‘स्वामी कृष्णानन्द भारती’ । जुन अहिले उनले आफ्नो परिचय दिँदा भन्ने गर्छन् । तर, उनी अरबपति हुन् । दर्जन उद्योगको मालिक पनि हुन् । भौतिक सुख सुविधा भोगेको हिसावले कोहीभन्दा कमजोर छैनन् उनी । मासु पनि खान्छन्, रक्सी पनि सेवन गर्छन् । अब उनलाई सन्यासी भनेर समाजले कसरी पत्याउने ? हामीले प्रश्न उठायौं । उनले भने, 'समाज बेवकुफ छ । नेताले राजनीतिबाट सन्यास लिए भन्छन् । खेलाडीले खेलबाट सन्यास लिए भन्छन् । झट्ट हेर्दा छोड्नेको नाम सन्यासी ।' वास्तवमा त्यो सत्य होइन । जगतगुरु आदी शंकराचार्यले शुरु गरेको दशनाम सन्यास, गोरखनाथ बाबाको सन्यास, भिक्षुहरुको सन्यास फरक फरक भएझैं आफूले गरेको सन्यास पनि फरक भएको उनको दावी छ । सन्यासीहरुको मान्यता ठाउँ अनुसार, संस्कार अनुसार फरक फरक हुन्छ । संग्रह गर्नुहुन्न भन्नेमा सबै सन्यासीको समान मत छ । ‘अहिलेको परिवेशमा भीख मागेर स्वामी बनिदैँन, कुनै बेला भीख श्रद्धापूर्वक दिइन्थ्यो, तर अहिले त्यस्तो छैन, स्वामी बन्न मालिक बन्नुपर्छ, अरुसँग मागेर मालिक बनिदैँन, आफूलाई चाहिने आफैले कमाउनुपर्छ भन्ने नवसन्यासीको मान्यता हो, म नवसन्यासी हुँ’ उनले प्रष्ट्याए । उनले सन्यासीको अर्थ ‘सङ्ग्रह नगर्ने’ प्रवृतिको अर्थ लगाए । र, आफूले धन कमाउन व्यवसाय नगरेको दावी गरे । ६० अर्बको हकदार कर्मचारी तपाईं अहिले कति सम्पत्तिको मालिक हुनुहुन्छ ? हामीले सोध्यौं । ‘त्यो त हिसाव गर्नुपर्छ’ उनले भने । बैङ्कमा कर्जा कति छ ? उनले खुलेर जवाफ दिए– ‘करिब १२०० करोड रुपैयाँ ।’ कर्जा थाहा हुने, सम्पत्ति थाहा नहुने पनि हुन्छ र ? प्रश्न झरिहाल्यो । ‘कर्जा त तिर्नुपर्ने भएकोले हिसाब राम्ररी राखिएको हुन्छ । पुस मसान्तमा कति व्याज तिर्नुपर्ने हो भनेर अहिले नै हिसाव किताव भैराखेको छ । तर सम्पत्तिको हिसाव यसरी गरिँदैन ।’ तैपनि मोटामोटी अङ्क भन्न जोड ग¥यौं । उनी बोले– ‘होला करिब ६/७ हजार करोड अर्थात कर्जाको ५÷६ गुणा ।’ अब मोटामोटी फिगर आयो । उनको सम्पत्ति ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा छ । पुँजीबादी समाजमा पुँजीको हस्तान्तरणको कुरा गर्दा पहिलो हकदार परिवारको सदस्य मानिन्छ । गुणचन्द्र विष्ट अविवाहित छन् । श्रीमती, छोराछोरी नभएको मान्छेको त्यति धेरै सम्पत्ति कसले खाला ? धेरैको मनमा हुने चासो हो । तपाईंको सम्पत्तिमा कसले हकदावी गर्नेछ ? अथवा तपाईंको शेखपछि यो सम्पत्ति कसको नाममा जाने छ ? हामीले प्रश्न तेस्र्याइहाल्यौं । उनले यस प्रश्नलाई मूर्खले सोध्ने प्रश्न भने । त्यति मात्र होइन, ‘ तपाईंको सम्पत्ति कसले खान्छ ? उनले प्रतिप्रश्न गरे । र, थपे– ‘मरेपछिको योजना कसैले बनाउँछ भने त्यो जस्तो मूर्खता अरु केही हुँदैन ।’ हामीले उहाँको लिखित योजना मागेनौं । मनको कुरा भन्न भन्यौं । त्यसपछि उनले प्रष्ट जवाफ दिए । ‘१२०० कर्मचारी छन्, मेरो शेखपछि यो उनीहरुको सम्पत्ति हुनेछ, एकजना त मेरै अगाडि छन् ।’ उनले प्रतिनिधि पात्रलाई देखाए । त्यसपछि उनी अझ अगाडि बढेर बोल्न थाले । व्यवसायीको सम्पत्ति खान सजिलो नभएको उनले तर्क गरे । ‘मसँग नगद छैन, पत्रकारले धनी, समाजले धनी भनेर चिनेका मान्छेसँग झन् पैसा हुँदैन, ऊसँग व्यवसाय हुन्छ, ठूलो व्यवसायीसँग ठूलै ऋण हुन्छ, व्यवसाय चलाउन सकेन भने ऋणले सबै सम्पत्ति खान्छ, व्यवसाय गर्न नजान्नेको लागि जति धेरै सम्पत्ति त्यति ठूलो भारी हुन्छ ।’ आइपर्दा समाल्ने सफल व्यवसायीहरुले भन्ने एउटा साझा भनाई छ– ‘पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ, त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ, त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ, अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पठाइने सद्धान्तिक विषय पनि यिनै हुन् ।’ तर गुणचन्द्रको भोगाई त्यस्तो छैन । उनी योजनावद्ध विकासमा धेरै विश्वास गर्दैनन् । ‘कुनै पनि व्यवसाय गर्नुपूर्व व्यवसाय सम्भाव्यता अध्ययन गर्ने, रिर्पोट बनाउने चलन छ, मैले पनि बिजनेश सम्बन्धी किताबहरुमा पढी टोपलेको त्यही हो, तर मेरो जीवनमा त्यो लागू भएन’ उनले भने । ‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो । गर्दिन भन्दा भन्दै गरेको कामको उदाहरणको रुपमा उनले नेपाल ग्यास कम्पनी किन्ने घट्नालाई चित्रण गरे । ‘मैले लिन्न भन्दाभन्दै समाल्नु परेको कम्पनी हो, अहिले देशको सबैभन्दा ठूलो ग्यास बोटलिङ उद्योग भएको छ’ उनले भने । नेपाल ग्यास उद्योग, नेपाल ग्यास उद्योग नारायणी, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग र सत्यनारायण ग्यास उद्योगका मुख्य लगानीकर्ता उनी नै हुन् । ‘मैले पोल्ट्रीमा पनि सबैभन्दा ठूलो व्यवसाय गर्छु भनेर काम गरेको होइन, ग्यासमा पनि होइन, काम थालिसकेपछि राम्रोसँग गर्नुपर्छ भन्ने हो, त्यसको लागि कम्पनीमा आधुनिक प्रविधिको प्रयोग पनि गर्नैपर्छ, उत्पादन क्षमता वृद्धि पनि गर्नैपर्छ, काम गर्दै गर्दा बजारले हाम्रो उत्पादन मन पराएको छ’ उनले भने । खाँचो नपरेको प्रमाणपत्र गुणचन्द्र विष्टको व्यावसायिक सफलताको आधार विश्वविद्यालयको शिक्षा पनि होइन रहेछ । उनले आफूसँग औपचारिक शिक्षाको कुनै पनि प्रमाणपत्र नभएको बताए । ‘मसँग स्कूलले दिने शैक्षिक प्रमाणपत्र पनि छैन, कलेजको शैक्षिक प्रमाणपत्र पनि छैन, मेरो जीवनमा तीनको खाँचो पनि परेन ।’ स्कूल कलेज पढ्दाको किताब तथा शैक्षिक सामग्रीहरु काठमाडौंको कालिमाटीस्थित डेरामा सहपाठीलाई छोडेको तर त्यसपछि कहिल्यै सोधी खोजी नगरेको उनी बताउँछन् । ‘जागिर खाने सोच पनि थिएन, राजनीति नियुक्ती खानुपर्छ भन्ने पनि थिएन, मलाई सर्टिफिकेट चाहिन्छ भन्ने पनि थिएन,’ कारण खुलाउँदै उनले भने । ‘मैले एसएलसी चितवन हाईस्कूलबाट पास गरेको हुँ, आइकम मिनभवन क्याम्पसमा पढेको हुँ, आइकम पास भएँ भन्ने सुनेको पनि हुँ, तर म सर्टिफिकेट लिन पनि गईँन, बिकम पढ्न भर्ना पनि भईँन ।’ मसँग फर्मल एजुकेशन पनि छैन, इनफर्मल एजुकेशन (तालिम, प्रशिक्षण) पनि छैन । ननफर्मल एजुकेशन (छलफल, स्वअध्ययन) नै मेरो ज्ञानको श्रोत हुन् । उनले भने, ‘समूहमा छलफल गर्ने हो, त्यसैको आधारमा काम गर्ने हो ।’ अब्बल व्यवस्थापक गुणचन्द्र विष्ट व्यवस्थापनमा अब्बल छन् । अभिनास ग्रुपको कार्यकारी अध्यक्ष उनी नै हुन् । पोल्र्टी फर्ममा कार्यकारी प्रमुखको जिम्मेवारी उनैले समाल्दै आएका छन् । २० हजार प्यारेन्टबाट उनले पोल्ट्री व्यवसाय शुरु गरेका थिए । अहिले उनको एक कम्पनी अभिनास ह्याचरी प्रालि लेयर ह्याचरी, बोइलर ह्याचरी, अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो कम्पनी भएको छ । विष्ट जतिबेला पोल्ट्रीमा लागे त्यतिबेला नेपालमा यसले व्यावसायिक रुप लिएको थिएन । पोल्ट्री व्यवसायको तीन वर्षमा उनलाई ठूलो सफलता मिल्यो । चितवनमा उनको काम हुन आउनेको क्रम ह्वात्तै बढ्यो । चितवनमा मात्र होइन, देशभर नै उनको अनुसरण हुन थाल्यो । ‘मैले २०४७ सालमा ह्याचरी व्यवसाय शुरु गरेको हुँ, त्यतिबेलासम्म नेपालमा यस्तो व्यवसाय कसैले शुरु गरेका थिएनन्’ उनले भने– ‘यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।’ हाल कम्पनीले सातामा ३ लाख बोइलर कुखुरा उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार उसको क्षमता सातामा ६ लाख बोइलर कुखुरा उत्पादन गर्ने हो । कम्पनीले एक हप्तामा ८० हजार लेय¥स उत्पादन गर्छ, जुन कुल बजारको ८५ प्रतिशत हिस्सा हो । अभिनास फर्म नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म हो, जहाँ दुई लाख चल्ला र ५० हजार ठूला कुखुरा पालिएका हुन्छन् । अभिनास भेट फर्मले देशभरका कुखुरा व्यवसायीहरुलाई पोल्ट्री केयर सेवा दिँदै आएको छ । पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ । त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ । त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ । `अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पढाइने सैद्धान्तिक विषय पनि यिनै हुन् । ‘अभिनास भेट फर्म पोल्ट्री व्यवसायीलाई सबै प्रकारको सेवा एकै ठाउँमा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो, जहाँ कुखुरालाई कुन रोग लागेको हो, जाँच गर्ने, रोग पत्ता लगाउने, औषधि उपचारको सिफारिस गर्ने, औषधि तथा खोप सेवा उपलब्ध गराउने, उपचारको क्रममा प्रयोग हुने सामाग्री उपलब्ध गराउने, कुखुराको दाना उत्पादन तथा वितरण गर्ने सबै काम गर्छ’ विष्टले भने । अहिले नेपालको ह्याचरी व्यवसायको कुल डेढ खर्ब लगानी भएको अनुमान छ । यो क्षेत्रमा ५ लाख मानिसको सक्रिय लगानी छन् । कुखुराको मासु र अण्डामा २२ वर्षदेखि देश आत्मनिर्भर भएको छ । हरेक वर्ष कुखुराको मासु र अण्डाको खपत २० प्रतिशतले बढ्दै गएको थियो । अण्डाको बजार पनि वार्षिक १० प्रतिशतले बढ्दै गएको थियो । कोभिड महामारी फैलिनुअघि प्रतिदिन १० लाख मेट्रिकटन मासु खपत हुन्थ्यो भने अहिले ६ हजार मेट्रिकटन मासु खपत हुन्छ । अण्डाको खपत पनि घटेको छ । ‘अहिले सबै क्षेत्रमा डामाडोल भएको छ, उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’– उनले भने । कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकारले लिएको नीतिप्रति उनको तीव्र असन्तुष्टि छ । ‘किसानको खोर बन्द भएका छन्, २०७६ सालमा ३४८ ह्याचरी फर्म थिए, अहिले आधा बन्द भएका छन्, कति किसानको फर्ममा बैङ्कले ताला लगाएको छ, अवस्था यस्तो रहिरह्यो भने केही वर्षमा कुखुरा, अण्डा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ’ उनले भने । अभिनास ग्रुपले अर्गानिक मल, एग्रोभेट, मेटल, ग्यास उद्योगमा पनि लगानी विस्तार गरको छ । अभिनास ह्याचरी, अभिनास फर्म, अभिनास भेट फर्मा, चितवन गुराँस इन्भेष्टमेन्ट, अभिनास इनर्जी, स्काईलार्क एग्रो लगायत कृषिमा आधारित उद्योगहरुमा विष्ट आफैले नेतृत्व लिएका छन् । नेपाल ग्यासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका गोकुल भण्डारीले समालेका छन् । आइरनमा शैलेश श्रेष्ठले कार्यकारी प्रमुखको भूमिका खेलेका छन् । ‘व्यवस्थापनमा एमाले नेता केपी ओली जस्तो हुकुमी शैलीमा काम गर्दिन, सिनियर साथीहरुसँग छलफल गरेर नै काम हुन्छ ।’ नेत्र वान्तवा उनको लागि लागि विशेष साथी हुन् । जसले उनलाई व्यवसाय शुरु गर्ने बेलादेखि अप्ठ्यारो अवस्थामा सहयोग गरे । व्यवसाय शुरु गर्ने बेलामा दाई रुपचन्द्र विष्टले पुँजी दिएर सहयोग गरेको थिए । जीवनको रोजाइ उनको जीवनमा धेरै आरोह अवरोह छन् । ६ दाजुभाई, ३ दिदी बहिनीसहितको संयुक्त परिवारमा उनी जन्मे, हुर्के । १५ देखि २० वर्षको उमेरमा उनले बुबाले चलाएको खाद्यान्य पसल पनि चलाए । १२ वर्ष सन्यासी भएर आश्रममा पनि बसे । पछि आफ्नै बलबुताले चलाएको ठूलो उद्योगहरु पनि चलाए । कुन अवस्थाको, कुन परिवेशको जीवन उत्कृष्ट रह्यो ? ‘जे मा मजा लियो त्यही, म ४३ वर्षअघि जोगी भएको हुँ, अहिले पनि जोगी नै छु, त्यो बेलामा आश्रममा बसेको थिए, अहिले बिजनेश हाउसमा बसेको छु’ उनले भने– ‘मैले चाहेर यो व्यवसायमा हात हालेको हुँ, मलाई कसैले भारी बोकाइदिएको होइन, कम्युनमा बस्दाको झन्झट एक प्रकारका थिए भने अहिले अर्कोथरी झन्झट छ, यसमा कसैलाई दोष दिनु पनि परेन ।’ ‘कुनै बेला म चङ्गा थिएँ, कम्यूनमा आरामले बसेको थिएँ, अहिले सरकारी कर्मचारीको चाकडी गर्दै हिड्न परेको छ । १२ सय कर्मचारीको १२ सयथरी कुरा सुन्नुपर्छ, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा’ उनले भने, ‘पूर्ण स्वतन्त्रता कहीँ पनि हुँदैन । कम्युनमा पनि नियमहरु हुन्छन्, त्यसको पालना गर्नुपर्छ, व्यवसायमा पनि नियम हुन्छन्, त्यसको पालना गर्नुपर्छ ।’ (देशविकास पत्रिकाको वर्षअङ्क बाट)
पोखरामा कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम
गण्डकी । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र आइटिसीद्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम टिआइपी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने विषयबारे क्षमता अभिवृद्धि गर्नेछन् । तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले व्यवसायीले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखितरूपमा जानकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तरअनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनुपर्नेमा जोड दिँदै उनले निर्यात प्रवद्र्धनका लागि साना तथा मझौला व्यवसायका लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गरे । मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको जनाउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा दातृ निकाय, व्यवसायी र सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए । टिइपिसीका कार्यकारी निर्देशक शरद्विक्रम राणाले सरकारी निकाय, दातृ निकाय र व्यवसायीबीच अन्तक्र्रियामार्फत कफी क्षेत्रका समस्याका समाधानका लागि उपाय खोजिनुपर्नेमा जोड दिए । नेपाली कफी १ हजार ७०० सयप्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात ३ सय ९१ प्रतिकिलो हुने गरेको जानकारी उनले दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा वार्षिक तीन सय ५५ टन कफी उत्पादन हुने गरेको छ । युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतीको सामना गरी निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तरअनुसारको उत्पादन अभिवृद्धि गर्न कार्यशाला सहयोगी बन्ने बताए । इयु टिआइपीरआइटिसीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताको उत्पादन क्षमता बढाइ अन्तर्राष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न कार्यशालाले सहयोग पुर्याउने बताए । यस्ता कार्यशालाले नेपाली कफीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारको मूल्य शृङ्खलामा थप पहुँच पुर्याउने उनले विश्वास व्यक्त गरे । कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल दुई हजार छ सय हेक्टरमा मात्र खेती भइरहेको जानकारी दिए । नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्नेमा उनको जोड छ । तालिमका क्रममा कफी क्षेत्रका बारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रक्रिया र आवश्यक कागजात, कफी निर्यात प्रवद्र्धनका लागि व्यापार सहजीकरण तथा बजार प्रर्वद्धन कफी बजार विश्लेषणका आधुनिक विधि, नेपालका लागि तयार गरिएको ट्रेडम्याप तथा नेपालबाट कफी निर्यातका सम्भावना र सम्भावित गन्तव्यबारे जानकारी गराइएको थियो । कार्यशालामा गोरखा, स्याङ्जा, लमजुङ, गुल्मी, पाल्पा, कास्कीलगायतका जिल्लाका १३ महिलासहित ३० कफी उत्पादक तथा निर्यातकर्ता सहभागी रहेको आयोजकले जनाएको छ ।