विकासन्युज

खाद्य व्यवस्थाले खरिद गर्यो ६३ हजार क्विन्टल धान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये हालसम्म बिर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार लहान, जनकपुर र भैरहवामा भने अझै खरिद कार्य सुरु भइसकेको छैन । ‘खाद्य व्यवस्था कम्पनीका सात कार्यालयबाट आइतबारसम्ममा ६३ हजार तीन सय क्वीन्टल धान खरिद भइसकेको छ । तीनवटा कार्यालयले भने खरिद सुरु गरिसकेका छैन । ती कार्यालयबाट पनि चाँडै सुरु गर्ने तयारीमा छौँ’, सुवेदीले भने । यसवर्ष ३० हजार २० मेट्रिकटन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि ९९ करोड बजेट छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिकटन धान खरिदको योजना बनाएको छ । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकी दिएको छ । गतवर्षको तुलनामा मोटा धानमा प्रतिक्वीन्टल दुई सय १५ र मध्यम धानमा दुई सय २६ बढाएर समर्थन मूल्य तोकिएको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान सङ्कलनको जिम्मा खाद्य व्यवस्था कम्पनीको हो । कम्पनीले तोकिएको समर्थन मूल्यमा धान नकिनेको भन्दै किसान र तिनका प्रतिनिधि संस्थाहरु आन्दोलित छन् । गुणस्तरीय धान खरिदका लागि ढिलो गरी मात्रै खरिद प्रक्रिया सुरु गरेको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । धान काट्ने वित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको उसको दावी छ । धान किन्दा १८ प्रतिशत भन्दा कम चिस्यान भएको किन्नुपर्छ । यो सरकारले नै तोकेको मापदण्ड हो । धान काट्ने बित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको कम्पनीको तर्क छ । सरकारले धानको उत्पादन लागत र ढुवानी बाहेक २० प्रतिशत थप रकममा समर्थन मूल्य तोक्छ । बजार मूल्यभन्दा महँगोमा धान किनेवापत सरकारले खाद्य व्यवस्था कम्पनीलाई शोधभर्ना उपलब्ध गराउनुपर्छ । तर खाद्य व्यवस्था कम्पनीले पछिल्लो चार वर्षको शोध भर्ना पाएको छैन । यस अघिकै ३४ करोड ५४ लाख शोध भर्ना लिन बाँकी रहेको र यसवर्षको धान खरिदका लागि थप २७ करोड आवश्यक रहेको खाद्य व्यवस्था कम्पनीले जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । रासस

वार्षिकोत्सवमा ग्लोबल आइएमईको देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न, २४२ लिटर रगत संकलन

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडाैं, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे । देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनमा विशेष छुट पाउने 

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

प्रभु र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।

सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो । अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ । कार्यक्रममा डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ्ग कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो ।  वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

१९ कम्पनीका बीमितले त्यागे एक अर्ब बढीको बीमा पोलिसी, कुनको कति ?

काठमाडौं । जीवन बीमा गर्ने बीमितहरुले एक अर्ब बढी रकमको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरमा ७ हजार ६५० जना बीमितले एक अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएका छन् । कम्पनीमा जीवन बीमा गरेका २ हजार ४७२ बीमितले ३३ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका हुन् । त्यस्तै, १० करोडभन्दा बढी रकमको पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफसहित अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स (नेपाल)का बीमितले १८ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । कम्पनीका ५७२ जना बीमितले सो रकमको पोलिसी बीचमै रोकेका हुन् । मंसिर महिनामै नेशनल लाइफका ७१० जना बीमितले ११ करोड ८३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, ८ कम्पनीका बीमितहरुले करोड बढीको पोलिसी सरेन्डर गरेका छन् । प्राइमको ८ करोड २३ लाख, राष्ट्रिय बीमा संस्थानको ७ करोड ९७ लाख, गुराँस लाइफको ४ करोढ ९५ लाख, युनियन लाइफको ३ करोड ७७ लाख, एशियन लाइफको ३ करोड २८ लाख, मेटलाइफको २ करोड ५० लाख, सूर्या लाइफको २ करोड १ लाख र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसीहरु सरेन्डर भएका छन् । यता ८ कम्पनीको करोडभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल, सिटिजन, सानिमा, प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये रकमका आधारमा सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएको छ । समीक्षा अवधिमा महालक्ष्मीको ३४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । संख्याको आधारमा हेर्ने हो भने सानिमा लाइफको सबैभन्दा कम छ । कम्पनीका २६ जना बीमितले ३६ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै रोकेका छन् ।

गुराँस लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

चिसोले जम्न थाले मनाङका नदीनाला

मनाङ। यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् । समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ । यसैगरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । “घरका धारा र सेफ्टी ट्याङ्की पानी जम्दा यहाँको जनजीवन कष्टकर बनेको छ”, प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले भनिन्, “चिसो सिरेटोले बाहिर निसक्न मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।” उनका अनुसार खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्ने गरेका छन् । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको बताइएको छ । चिसोकै कारण माथिल्लो मनाङका नागरिक निर्वाचन सकाएर जाडो छल्न बँेसी झरिसकेका छन् । मनाङका सामुदायिक तथा गुम्बा विद्यालय पनि घुम्तीका लागि बेँसी झरेका छन् । अत्यधिक चिसोले गर्दा पशुचौपाय र गोठालालाई समेत सास्ती खेप्नुपरेको छ । तल्लो मनाङ अर्थात् चामेमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मनाङका शैक्षिक संस्थाले जाडो बिदा दिएको र विद्यार्थी अभिभावकसँगै चिसो छल्न बाहिर गएका छन् । विकास निर्माणका काम पूरै चिसोले प्रभावित बनेका छन् । कर्मचारी पनि सदरमुकाममा सीमित रहेका छन् । रासस