पोखरामा कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

<p>गण्डकी । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र आइटिसीद्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम टिआइपी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया [&hellip;]</p>

गण्डकी । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र आइटिसीद्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम टिआइपी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने विषयबारे क्षमता अभिवृद्धि गर्नेछन् ।

तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले व्यवसायीले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखितरूपमा जानकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तरअनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनुपर्नेमा जोड दिँदै उनले निर्यात प्रवद्र्धनका लागि साना तथा मझौला व्यवसायका लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गरे ।

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको जनाउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा दातृ निकाय, व्यवसायी र सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए । टिइपिसीका कार्यकारी निर्देशक शरद्विक्रम राणाले सरकारी निकाय, दातृ निकाय र व्यवसायीबीच अन्तक्र्रियामार्फत कफी क्षेत्रका समस्याका समाधानका लागि उपाय खोजिनुपर्नेमा जोड दिए ।

नेपाली कफी १ हजार ७०० सयप्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात ३ सय ९१ प्रतिकिलो हुने गरेको जानकारी उनले दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा वार्षिक तीन सय ५५ टन कफी उत्पादन हुने गरेको छ ।
युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतीको सामना गरी निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तरअनुसारको उत्पादन अभिवृद्धि गर्न कार्यशाला सहयोगी बन्ने बताए ।

इयु टिआइपीरआइटिसीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताको उत्पादन क्षमता बढाइ अन्तर्राष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न कार्यशालाले सहयोग पुर्याउने बताए । यस्ता कार्यशालाले नेपाली कफीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारको मूल्य शृङ्खलामा थप पहुँच पुर्याउने उनले विश्वास व्यक्त गरे ।

कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल दुई हजार छ सय हेक्टरमा मात्र खेती भइरहेको जानकारी दिए । नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्नेमा उनको जोड छ ।

तालिमका क्रममा कफी क्षेत्रका बारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रक्रिया र आवश्यक कागजात, कफी निर्यात प्रवद्र्धनका लागि व्यापार सहजीकरण तथा बजार प्रर्वद्धन कफी बजार विश्लेषणका आधुनिक विधि, नेपालका लागि तयार गरिएको ट्रेडम्याप तथा नेपालबाट कफी निर्यातका सम्भावना र सम्भावित गन्तव्यबारे जानकारी गराइएको थियो ।

कार्यशालामा गोरखा, स्याङ्जा, लमजुङ, गुल्मी, पाल्पा, कास्कीलगायतका जिल्लाका १३ महिलासहित ३० कफी उत्पादक तथा निर्यातकर्ता सहभागी रहेको आयोजकले जनाएको छ ।

Share News