एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा
गलकोट । नियमित पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ । विसं २०७२ को भूकम्पले कमजोर बनाएको भवन भत्काएर सात वर्षपछि नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले उच्च अदालतको सेवा जिल्ला अदालतकै भवनबाट दिन थालिएको हो । जिल्ला अदालतले आफ्नै भवन निर्माण गरेको जम्मा दुई वर्ष भयो । भाडाको भवनबाट जिल्ला अदालतको सेवा दिँदै आइएकामा सुविधासम्पन्न तीनतले पक्की भवन बनेपछि बागलुङ नगरपालिका–२ रुद्रेपिपलबाट आफ्नो सेवा दिइरहेको थियो । एक महिनादेखि जिल्ला अदालतको भवनबाटै उच्च अदालतको सेवा पनि दिन थालिएको उच्च अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए । ‘मङ्सिरको २८ गते कायममुकायम प्रधानन्यायाशीश हरिकृष्ण कार्कीले उच्च अदालतको भवन पुनःनिर्माणका लागि शिलान्यास गरेका थिए, हामीले त्यसअघि नै उच्च अदालतको सेवा जिल्ला अदालतको दोस्रो तलाबाट दिन थालिरहेका थियौँ, न्याय सम्पादनमा एक दिन पनि असर नपर्ने गरी उच्च अदालतको सेवा अहिले एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ भने आवासलाई भाडाको घरमा पुर्याएका छौँ’ उनले भने, ‘जिल्ला अदालतको तीन तले भवनमाथि हामीले एक तला ट्रस्ट हालेका छौँ, पक्की भवनको दोस्रो तलासमेत हामीले प्रयोग गर्दैआएका छौँ, नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएका छन्, जिल्ला अदालतको भवन नयाँ र फराकिलो भएकाले सेवा दिनलाई कुनै समस्या छैन ।’ रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुनःनिर्माण सक्ने गरी अहिले धमाधम काम भइरहेको छ । अहिले उच्च अदालतको भवन निर्माणका लागि पुरानो जीर्ण भवन भत्काएर नयाँ भवनका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको छ । अदालतको मुख्य भवन तथा आवास निर्माणका लागि ५७ करोड ४२ लाखमा काठमाडाँैस्थित श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो । उक्त इजलासको भवन पुनःनिर्माण गर्न बजेट अभावका कारण सात वर्षपछि मात्रै थालिएको त्यहाँका मुख्य न्यायाधीश कृष्ण गिरीले जानकारी दिए । भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेकामा अहिले बल्ल पुनःनिर्माण थालिएको हो । बागलुङ नगरपालिका –२ स्थित सात रोपनी जग्गामा रु ५७ करोडको लागतमा सुविधासम्पन्न उच्च अदालतको भवन र सामूहिक आवास, अथितिगृहलगायत संरचान एकैसाथ निर्माण थालिएको छ । प्राविधिकरूपमा बस्नै नमिल्ने अदालतको भवनलाई सामान्य मर्मतसम्भारपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको भुइँतला र पहिलो तलाबाट जिल्ला अदालतको सेवा र दोस्रो तला र छतमा बनाइएको ट्रस्टको छाप्रोबाट उच्च अदालतको सेवा दिइएको छ । नयाँ निर्माण हुने उच्च अदालतको भवन प्रविधिमैत्री, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी हुनाका साथै बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनमा विद्युतीय लिफ्टको समेत व्यवस्था छ । भवनसँगै दुई–दुई तलाका अन्य भवन र अथितिगृहसमेत निर्माण गरिनेछन् । दुईवटा इजलास रहेको उच्च अदालतमा नयाँ भवन निर्माणसँगै छवटा इजलास कक्ष हुनेछन् । तीस महिनाभित्र भवन निर्माण सक्ने गरी पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरिएको थियो । रासस
हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया
काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उद्यमी सौरभ ज्योतिले नेपालमा औद्योगिक अवस्थाको बारेमा आफ्ना विचारहरु सेयर गरेका थिए । उनले सहभागीहरुसँग भने, ‘कोरोना भाइरसको महामारीले विश्वभरका व्यवसायका लागि अभूतपूर्व चुनौति खडा गरेको छ तर नेपालको आइटी उद्योगका लागि यसले वृद्धि र विकासका अवसरहरु पनि प्रदान गरेको छ ।’ ‘महामारीको समयमा आइटी उद्योगको ठूलो विकास भएको छ’, ज्योतिले भने, ‘घरबाटै काम गर्नु र अनलाइन सञ्चार सामान्य बनेका कारण व्यवसायीहरुले यो परिवर्तनमा आफूलाई अनुकूलन गर्नुपरेको छ ।’ ज्योतिले नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बन्न सक्ने सम्भावनालाई पनि प्रकाश पार्दै मुलुकमा दिगोपनको उच्च सम्भावना रहेको बताए । उनले भने, ‘यो संक्रमणमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्छ ।’
किन लगाउने एन्फ्लुएन्जा विरुद्वको भ्याक्सिन ?
काठमाडौं । मानिसको स्वास्थ्यका विभिन्न समस्यामध्ये ‘फ्लु’ एक समस्या हो । खासगरी इन्फ्लुएन्जा भाइरस संक्रमणले मानिसमा देखिने श्वासप्रश्वास सम्बन्धि रोगलाई नै ‘फ्लु’ भनिन्छ । सरल शब्दमा यसलाई ‘एन्फ्लुएन्जा’ भनिन्छ । श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको मुल्य कारक तत्व यसलाई लिइन्छ । धेरै नै संक्रामक यस भाइरस ‘फ्लु’ संक्रमितले खोक्दा, बोल्दा वा हाछ्युँ गर्दा नाक तथा मुखबाट निस्कने स–साना कणको माध्यमबाट हावामा फैलन्छ । यो भाइरस आसपास रहेका अर्काे कुनैपनि मानिसमा सजिलै सर्ने तथ्य अध्ययनहरुले देखाएको छ । केहि व्यक्तिलाई भने फ्लु भाइरस भएका कुनैपनि वस्तु अथवा सतह छोएको, हात सफा तथा स्वच्छ नगरिकनै सिधै मुख, नाक तथा आँखामा लगेको / छोएको खण्डमा पनि फ्लुको संक्रमण हुने सम्भावना हुन्छ । शरीरमा छिरेको फ्लुले खासगरी व्यक्तिको नाक, घाँटी हुँदै फोक्सोमा समेत असर पु¥याउँछ । सामान्य रुघाखोकिदेखि जटिल श्वासप्रश्वास समस्याको अवस्थासम्म निम्त्याउँने फ्लुलाई बेवास्ता गरेमा यसले व्यक्तिलाई मृत्युको मुखसम्म डोर्याउन सक्छ । फ्लु कसरी पहिचान गर्ने? अधिकांश रोग पहिचान लक्षणहरुबाटै हुने गर्दछ । एन्फ्लुएन्जा संक्रमित बिरामीमा भने संक्रमितमा घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने, उच्चज्वरो, टाउकोको दुखाई, मांसपेशी तथा हाडजोर्नीको दुखाई महशुस हुनेजस्ता लक्षणहरु देखा पर्दछ । अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएपनि तुलनात्मक रुपमा यो सामान्य रुघाखोकी भन्दा बढि घातक हुन्छ । त्यसैले यस्ता लक्षण देखेका व्यक्तिले यसलाई बेवास्ता नगरी एकपटक अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्दछ । यस रोगले प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई बढि आक्रमण गर्छ । खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्व–वृद्वा तथा दिर्घरोगीहरुलाई फ्लुले संक्रमण गर्न सक्ने जोखिम बर्गमा पर्दछन्। कतिपय अवस्थामा गर्भवतिको दौरान अन्यको तुलनामा महिलाको स्वास्थ्य संवेदनशिल हुने भएकाले पनि यस समूहलाई फ्लु संक्रमण जोखिम समूहको रुपमा लिइन्छ । फ्लुबाट बच्ने भरपर्दाे उपाय भनेकै ‘एन्फ्लुएन्जा भ्याक्सिन’हो । फ्लु विरुद्व लगाइने एन्फ्लुएन्जा भ्याक्सिनले व्यक्तिमा एन्फ्लुएन्जाको जोखिमलाई कमगर्छ । साथै खोप लिएका व्यक्तिमा यसको संक्रमण देखिएपनि गम्भीर अवस्थाको सम्भावनालाई न्युन पार्दछ । त्यसैले स्वस्थ स्वास्थ्य एवम् नतिजा दुवै तवरबाट सफल देखिएको यसलाई फ्लुबाट बच्ने सुरक्षित एवम् भरपर्दाे उपाय मानिन्छ । एन्फ्लुएन्जा भ्याक्सिनलाई एक स्वेच्छिक खोप मानिन्छ । यद्यपि बाल चिकित्सकहरुले भने बालबालिकाको पुर्व स्वस्थ स्वास्थ्यको दृष्टिकोण हिसाबले ६ महिना कटेका प्रत्येक ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनु पर्छ भन्ने मान्यता राख्छन । चिकित्सकसँगको परामर्श पछिमात्रै त्यसरी खोप लगाउनु उपयुक्त हुन्छ । यस्तै, सीडीसीले ६५ वर्ष उमेरभन्दा माथिका समूहको हकमा भने प्रत्येक ६ महिनाको अन्तरमा यो खोप दिन सिफारिस गरेको छ । यसैगरि गर्भको दौरान महिलाको प्रतिरक्षा, मुटु तथा फोक्सोको कार्यप्रणालीमा परिवर्तन भइरहने भएकाले यस्ता समूहमा फ्लुको जोखिम उच्च हुने भएकाले गर्भवति महिलाले पनि यो खोप लगाउन अनिवार्य दखिन्छ । समग्रमा अन्य सामान्य व्यक्तिहरुले भने प्रत्येक १/१ वर्षको अन्तरालमा एन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । तर, खोपको मात्रा लिन जादाँ व्यक्तिले आफुमा भएको एलर्जी लगायतका अन्य स्वास्थ्य समस्या भएको खण्डमा भने सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्मीलाइ खुलस्त रुपमा जानकारी गराउनुपर्छ । खोप लगाउन कहाँ जाने? चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले आफ्नो पायक एवम् सहजता अनुसार सरकारी एवम् सरकारी मान्यता प्राप्त निजि जुनसुकै स्वास्थ्य केन्द्रबाट पनि सो भ्याक्सिन प्राप्त गर्न सक्छन् । अधिकांश स्वास्थ्य केन्द्रहरुमा यो सेवा सहजै उपलब्ध छ । यो सेवा जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदनमा पनि उपलब्ध छ। निस्कर्ष एन्फ्लुएन्जा भ्याक्सिन’लाई अत्यन्त संक्रामक मानिने ‘एन्फ्लुएन्जा’ भाइरसका कारण देखापर्ने फ्लुको जोखिमलाई कम गर्ने उत्तम उपायको रुपमा लिइन्छ । यसले व्यक्तिमा हुने फ्लुको जोखिमलाई ४० देखि ६० प्रतिशतसम्म कम गराउँछ । प्राप्त नितिजा अनुरुप उत्कृष्ट देखिएको यसको मात्रा चिकित्सकको सल्लाह अनुसार ६ महिना माथिका जुनसुकै उमेर समूहका व्यक्तिले लिन सक्छन् ।
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिए । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।
घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड
पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि उठाउने भन्नेबारेमा साना उद्योगीसँग मङ्गलबार गरेको अन्तरक्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् । गण्डकी प्रदेश सरकारका मुख्यसचिव रविराज पन्तले साना व्यवसायीले आफ्नो उत्पादनलाई दिगो राख्न सके प्रदेश तथा केन्द्र सरकारबाट सहयोग प्राप्त हुने बताए । गाउँका बाँझा जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय कृषि क्षेत्रमा समेत विदेशी लगानी भित्रिएकाले ती बाँझा जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न जरुरी भएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले आन्तरिक उत्पादनलाई राज्यले संरक्षण गर्ने नीति ल्याएको बताए । सबै किसानका उत्पादनलाई सङ्कलन गरी एकै ठाउँमा राखेर बजारीकरण गर्न सरकारले काम सुरु गर्न लागेको उनको भनाइ छ । प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश सरकारले आम्दानीका स्रोतहरु वृद्धि गर्नका लागि यस क्षेत्रमा उत्पादन गर्न सकिने स्थान र स्थानीय पर्यटकीय तथा अन्य सम्भावनाका क्षेत्र पहिचान गर्न जरुरी भएको बताए नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारले सोच्न जरुरी भएको छ भने । कृषिमा अझै पनि आधुनिकीकरण हुन नसक्नु विडम्बना भएको बताउँदै उनले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै सरकार अगाडि वढ्नुपर्नेमा जोड दिए । रासस
चिसोबाट बच्न चोक–चोकमा मुढा वितरण
कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई असर परेको छ। चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसंग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलव्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् । कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरका छन् । ‘जनताको जीउधनको शुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ” शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भन्नुभयो, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।’ बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउमा मागअनुसार आगो ताप्न मुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउसो सितलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्द समेत गरेका छन् । रासस
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौँ जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो। मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र पाँच हजार जरिवाना भएपछि फरार काठमाडौँ मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता मैनालीले बताए ।
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका –९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए । ‘हिउँदयाममा नियमितरूपमै सञ्चालन गर्ने गरी शुरुवात गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवर्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमितरूपमै र्याफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ’, पुनले भने । कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत थप आकर्षण बढेको छ । र्याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्रा पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक हुने भएकाले जलयात्राले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताए । कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि र्याफ्टिङ गर्दै आउनुभएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्याफ्टिङ सञ्चालनको सम्भावना बढिरहेको बताए । गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको पुनले बताए । गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि एक हजार दुई सय शुल्क तोकिएको छ । यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ । अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगा, नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा आगामी पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ । रासस