फुटबलका विश्वसम्राट पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो
एजेन्सी । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे । साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजौरौँ सहभागी भएका थिए । सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए । पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए । पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।
आफ्नो नाममा दर्ता भएको सिमकार्ड बिग्रिएमा/हराएमा आँफै उपस्थित भएर लिनुपर्ने
काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाममा दर्ता भएको सिमकार्ड हराएमा वा बिग्रिएमा आँफै उपस्थित भएर लिन आग्रह गरेको छ । टेलिकमले मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको जनाएको छ । प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहने टेलिकमले जनाएको छ । साथै प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्नसक्ने भएकाले आफ्नो हराएको वा बिग्रिएको मोबाइल नम्बर आफू नै उपस्थित भएर प्राप्त गर्न टेलिकमले अनुरोध गरेको छ । साथै टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन समेत अनुरोध गरेको छ ।
चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा
कपिलवस्तु । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा र विजयनगर गाउँपालिकाले बिद्यालय बन्द गरेका छन् । शिवराज नगरपालिकाले १४ दिनका लागि सबै विद्यालयमा बिदा दिएको छ । शिवराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पूर्ण विश्वकर्माले नगरभित्रका सबै सामुदायिक विद्यालय आगामी माघ आठ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए । यस्तै कपिलवस्तु नगरपालिकामा आठ दिन, महाराजगञ्ज नगरपालिकामा १२ दिन, मायादेवी गाउँपालिकामा आठ दिन, यशोधरा गाउँपालिकामा आठ दिन, विजयनगर गाउँपालिकामा सात दिन तथा शुद्धोधन गाउँपालिकाका विद्यालयमा नौ दिन बिदा दिइएको छ । रासस
भिभोले नवीन उत्पादन तथा पहलहरु सार्वजनिक गर्ने
काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ । भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो ‘सेल्स कार्निभल’ सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ । भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।
नेपाल विज्ञापन संघ आनको २३ औं साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित र्याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमको पहिलो सत्रको सहजीकरण संघका अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले गरेका थिए । दोश्रो सत्रको सहजीकरण भने संघका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभशंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिएि । कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।कार्यक्रममा संघका अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउएका थिए । संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरेका थिए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि सचिव अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए । विज्ञापनको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरुलाई सम्मान समेत गरिएको संघले जनाएको छ । विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसि एसिया बैंक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको संघले जनाएको छ । सम्मानित संघसंस्थाका प्रतिनिधिहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र संघका अध्यक्ष धितालले संयुक्त रुपमा अर्वाड प्रदान गरेका थिए ।
माओवादीले गठबन्धन छोड्नुमा कांग्रेसको दोष छैन – महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसकै कारण नेकपा (माओवादी केन्द्र)ले गठबन्धन नछोडेको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोशिश गरेपनि सफल नभएको उनले बताएका हुन्। प्रवक्ता महतले कांग्रेसले गठबन्धन जोगाउने कोशिश गरेपनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर गएको बताए। ‘निर्वाचन दौरानमा गरिएका प्रतिबद्धताविपरीत प्रचण्डले गठबन्धन छोडेर जानुभयो, हामीलाई अहिले दोष देखाइएको छ, यसमा हाम्रो गल्ति छैन’, उनले भने। उनले निर्वाचनमा अपेक्षा गरेअनुसार परिणाम नआएतापनि सन्तोषजनक परिणाम आएको बताए। कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनको भनाइ थियो । प्रवक्ता महतले नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलको संयुक्त गठबन्धन सरकारको आयु छोटिनसक्ने सम्भावना धेरै रहेको समेत बताएका छन् ।
बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने
काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोजका लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए । यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो । छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।
६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती
गुल्मी । गुल्मीमा एक दम्पतीले ६५ लाख रुपैयाँ लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेका छन् । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन् । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका छन् । पन्थ दम्पतीले ४० माउ बाख्रा पालेका छन् । उनीहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गरेका छन् । विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताए । विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । घाँस र सुन्तला खेतीबाट वार्षिक छ लाख रुपैयाँ आम्दानी हुँदै आएको नारायणप्रसाद बताउँछन् । पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गरेका छन् । ‘घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ’, उनले भने । यसअघि कतारमा मासिक एक लाख २० हजार रुपैयाँसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ । त्यो सबै त्यागेर उनले गाउँघरमै व्यवसाय सुरु गरेका हुन् । श्रीमान्ले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट छिन् । श्रीमान्को १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उनको भनाइ छ । आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाका लागि कुटानीपिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिएका छन् । उनीहरुसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन् । फार्मलाई छत्रकोट गाउँपालिकाले दुई लाख रुपैयाँ, कृषि ज्ञान केन्द्रले एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले एक लाख अनुदान सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताए । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको बताए ।