विकासन्युज

आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

काठमाडौं । आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने बताए । ‘विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ,’ उनले भने, ‘आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।’ यस्तै, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । ‘नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ,राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ, हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं,’ उनले भने ।  

नेपाल टी-२० लिगबारे सीआईबीद्वारा अनुसन्धान शुरु

काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले म्याच फिक्सिङको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि सो कार्यालयले ब्यूरोलाई अनुसन्धानको लागि पत्र पठाएको थियो । सोही आधारमा ब्यूरोले अनुसन्धान प्रकृयालाई अगाडि बढाएको सिआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) उत्तमराज सुवेदीले सञ्चारमाध्यमलाई बताएका छन् । ब्यूरोले छुट्टै टोली गठन गरेर अनुसन्धान प्रकृयालाई शुरु गरेको छ । काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । सोही विषयसँगै प्रतियोगिताका कमेन्टेटटर सचिन तिमल्सिनाले पनि भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले भने जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ ।

प्लाटिनम कलेजको ‘हल्ट प्राइज अन क्याम्पस’ कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजको हल्ट प्राइज अन क्याम्पस २०२२/०२३ कार्यक्रम सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले उक्त कार्यक्रममा बिजनेस आइडिया सेयर गरेका थिए । प्लाटिनम कलेजका अनुसार सो कार्यक्रममा चार वटा टिम उत्कृष्ट प्रस्तुति दिँदै फाइनलमा प्रवेश गरेका थिए। त्यसमध्ये एयर टिम प्रथम भएको कलेजले जनाएकाे छ । कलेजमा उत्कृष्ट भएको टिम अब अन्य कलेजका हल्ट प्राइज प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्री र नेपाल मर्चेण्ट बैंकर्स संघबीच भेटवार्ता

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारी र अर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उक्त भेटमा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरिएको संघले जनाएको छ । संघलेपौडेलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका हुन् । भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ । सो अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

फुटबलका विश्वसम्राट पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

एजेन्सी । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे । साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजौरौँ सहभागी भएका थिए । सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए । पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए । पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।

आफ्नो नाममा दर्ता भएको सिमकार्ड बिग्रिएमा/हराएमा आँफै उपस्थित भएर लिनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाममा दर्ता भएको सिमकार्ड हराएमा वा बिग्रिएमा आँफै उपस्थित भएर लिन आग्रह गरेको छ । टेलिकमले मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको जनाएको छ । प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहने टेलिकमले जनाएको छ । साथै प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्नसक्ने भएकाले आफ्नो हराएको वा बिग्रिएको मोबाइल नम्बर आफू नै उपस्थित भएर प्राप्त गर्न टेलिकमले अनुरोध गरेको छ । साथै टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन समेत अनुरोध गरेको छ ।

चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा

कपिलवस्तु । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा र विजयनगर गाउँपालिकाले बिद्यालय बन्द गरेका छन् । शिवराज नगरपालिकाले १४ दिनका लागि सबै विद्यालयमा बिदा दिएको छ । शिवराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पूर्ण विश्वकर्माले नगरभित्रका सबै सामुदायिक विद्यालय आगामी माघ आठ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए । यस्तै कपिलवस्तु नगरपालिकामा आठ दिन, महाराजगञ्ज नगरपालिकामा १२ दिन, मायादेवी गाउँपालिकामा आठ दिन, यशोधरा गाउँपालिकामा आठ दिन, विजयनगर गाउँपालिकामा सात दिन तथा शुद्धोधन गाउँपालिकाका विद्यालयमा नौ दिन बिदा दिइएको छ । रासस  

भिभोले नवीन उत्पादन तथा पहलहरु सार्वजनिक गर्ने

काठमाडौं । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ । भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो ‘सेल्स कार्निभल’ सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ । भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।