काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण अन्तर्गत विभिन्न प्राविधिक कार्य गर्न लागेकाले काठमाडौंका विभिन्न क्षेत्रमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबलसम्बन्धी कार्य सम्पन्न भइसकेपछि बसबार एरेन्जमेन्ट, ११ केभी चार्जिङ, केबल राइजिङ तथा ड्रेसिङ, ओभरहेड ट्यापिङ र एलटी चार्जिङ जस्ता कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गर्न लागिएको हो ।
रत्नपार्क वितरण केन्द्रअन्तर्गत सिंहदरबार र अनामनगर क्षेत्रमा वैशाख १२ र १३ गते बिहान ९:३० बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत् अवरुद्ध हुने जनाइएको छ ।
यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पानीपोखरी, टिचिङ अस्पताल, बालुवाटार र लाजिम्पाट क्षेत्रमा वैशाख १३ र १६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
प्राधिकरणका अनुसार साङ्ग्रिला, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, पवित्र वर्कसप, श्रेष्ठ एक्वारियम तथा एभरेष्ट बैंक आसपासका क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित हुनेछ । निर्धारित कार्य समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति छिट्टै सुचारु गरिने प्राधिकरणले जनाएको छ ।