विकासन्युज

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

महोत्तरी । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको उनले जानकारी दिए । उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताए । त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए । बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ ।

आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

नक्कली नोट सहित १ जना पक्राउ

काठमाडौं । नक्कली नोटसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट १ हजार रुपैयाँ दरका १३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, १२ बाट १६ अंक पुग्यो

काठमाडौं । प्रभु बैंकमा गाभिएपछि सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर पनि परिवर्तन भएको छ । साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ । सेञ्चुरी बैंकलाई प्राप्ति गरी प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएपछि कारोबार गरिरहेका ग्राहकको खाता नम्बर १२ अंक रहेकोमा परिवर्तन भई १६ अंकको कायम भएको बैंकले जनाएको छ । अर्थात् सेञ्चुरी बैंकमा खाता हुँदा १२ अंक थियो । अब प्रभु बैंकमा १६ अंक नम्बर भएको खाता हुनेछ । उक्त परिवर्तित खाता नम्बर मोबाइल तथा इन्टरनेट बैंकिङ्ग लगईन गरी वा प्रभु बैंकको शाखा कार्यालयमा सम्पर्क गरी एकीन गर्न बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ ।

भूमिगत पानीको सतह घट्दै

काठमाडौं । बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न सरोकारवालाले सुझाव दिएका हुन् । खानेपानी तथा सिँचाइका लागि डिपबोरिङ खन्ने, सहरी ढल व्यवस्थापनका लागि ड्रेन निर्माण गर्नेलगायतका कारण जमिनमुनि पानीको पानी रिचार्ज हुन नपाएको सरोकारवालाको भनाइ छ । कार्यक्रममा जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी)का प्रमुख डा.बाबुराम लामिछानेले निकुञ्ज तथा संरक्षित क्षेत्रमा समेत ताल तथा पोखरी सुक्दै गएको बताए । ‘प्लाष्टिकजन्य फोहरलगायत विभिन्न कारण पानीको सतह घट्दै गएको छ, यसबारे हामी समयमा नै सचेत बन्नु आवश्यक छ,’ उनले भने । संरक्षणकर्मी विकास पाठकले बढ्दो सहरीकरणसँगै नदी किनारमा फोहर फाल्ने, खाल्डो खनेर फोहर पुर्नेलगायत कारण जमिनमुनिको पानी प्रदूषित हुँदै गएको बताए । तटबन्धका कारण साना खोला सुक्ने समस्या देखिएकाले खोलाहरू संरक्षण गर्दै तटबन्ध गर्नुपर्नेमा पाठकले जोड दिए । बढ्दो सहरीकरणसँगै बढेको अव्यवस्थित प्लटिङका कारणसमेत जमिनमुनि पानीको सतह घट्दै गएको उनको भनाइ थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर विकास भुर्तेलले डिपबोरिङका कारण जमिनमुनिको पानीको सतह घट्दै गएकाले भविष्यमा खानेपानीकै समस्या हुनसक्नेतर्फ सचेत गराए । ‘बर्सेनि जमिनमुनिको पानीको सतह विभिन्न ठाउँमा मापन भइरहेको छ, प्राविधिकहरूले गरेको मापनको निष्कर्षले जमिनमुनि पानीको सतह निरन्तर घट्दै गइरहेको देखाएको छ,’ उनले भने । सहमति संस्थाको आयोजनामा भएको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ कार्यक्रममा परियोजना संयोजक दिनेश बास्ताकोटीले नदी संरक्षणमा काम गरिरहेका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर कार्ययोजना बनाउने र संरक्षणमा सघाउ पुर्याउने बताए । नवलपुर, चितवन तथा मकवानपुरका विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरी निर्माण भएको मस्यौदाबारे छलफल गर्दै संरक्षणका कार्यक्रम अघि बढाइने उनको भनाइ छ । नारायणी तथा राप्ती जलाधार संरक्षणका लागि संयुक्त कार्ययोजना तयार पार्न तीनवटै जिल्लामा व्यापक छलफल गरिएको उनको भनाइ छ । सोमबार आयोजित कार्यक्रममा ग्रिन पिक्सेलका परामर्शकर्ता वासुदेव न्यौपानेले तीन जिल्लाका ११ लाख जनसङ्ख्या पानीको स्रोतमा निर्भर रहेको बताए । ‘पानीको सतह घट्दै जाँदा पानीको स्रोतमा आश्रित रहेका जनसङ्ख्या तथा जलचरको अस्तित्व नै खतरामा पर्नसक्छ, समय छँदै यसबारे सचेत हुनुपर्ने समय आएको छ,’ उनले भने । जमिनमुनिको पानी रिचार्ज गर्नका लागि स्थानीय सरकारले घरको नक्सापास गर्ने बेलामा घरको छतबाट झर्ने पानीलाई जमिनमुनि जानका लागि व्यवस्था गर्नुपर्ने गरी नियम बनाउनुपर्ने उनको भनाइ छ ।

योजना सञ्चालन गरेर फरफारक नगर्ने ४६५ सामुदायिक विद्यालयको नाममा बेरुजु

काठमाडौं । विभिन्न समयमा विभिन्न शीर्षकका योजना सञ्चालन गरेका खोटाङका ४६५ वटा सामुदायिक विद्यालयका नाममा बेरुजु देखिएको छ । विद्यालय भवन निर्माण, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनलगायत विभिन्न शीर्षकका योजना सञ्चालन गरेका विद्यालयहरू बेरुजुमा फसेका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम केपिलासगढी गाउँपालिकाका सामुदायिक विद्यालय बेरुजुमा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १०४ र केपिलासगढी गाउँपालिकाका १७ विद्यालयका नाममा बेरुजु देखिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका ९३, ऐँसेलुखर्कका ५३, दिप्रुङ चुइचुम्माका ४७, बराहपोखरीका ४५, रावाबेँसीका ४१, खोटेहाङका २४, जन्तेढुङ्गाका २३ र साकेला गाउँपालिकाका १८ विद्यालयका नाममा बेरुजु देखिएको शिक्षा विकास तथा एकाइ खोटाङका प्रमुख सेमन्त गौतमले जानकारी दिए । ‘शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयले बेरुजु बोकेका विद्यालयहरूलाई हप्तादिनभित्र फछ्र्योट गर्न पत्राचार गरिसकेको छ,’ उनले भने, ‘योजना सम्पन्न नभएका भएमा तत्काल सम्पन्न गर्न र सम्पन्न भइसकेको भएमा प्रमाणित कागजातसहित पुस २१ गतेको मितिले सात दिनभित्र निवेदन पेस गरी बेरुजु फछ्र्योट गर्न निर्देशन दिइएको हो ।’ योजना सञ्चालनका क्रममा फरफारक नगरेका विद्यालयका नाममा महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याएको तथा उक्त योजनाको रकम सम्परीक्षण गर्न/गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पटकपटक ताकेता भएको भन्दै कार्यालयले फछ्र्योटका लागि समयसीमा दिएको जनाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०६९/०७० देखि ०७४/०७५ सम्मको अवधिमा तत्कालीन जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय एकाइमार्फत बजेट लिएर काम गर्ने क्रममा कमजोरी गरेका विद्यालयका नाममा बेरुजु औँल्याएको हो । भौतिक पूर्वाधार निर्माणसम्बन्धी बेरुजु फछ्र्योट गर्ने क्रममा सम्बन्धित योजनाको सम्झौता फाराम, सम्बन्धित योजनाको नक्सा तथा अनुमानित लागत स्टिमेट, बिल भरपाई, खर्च अनुमोदन तथा फरफारकसम्बन्धी विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्णय, फरफारकसम्बन्धी विद्यालयको पत्र, सम्पन्न योजनाको रङ्गीन फोटो, सम्पन्न योजना हाल प्रयोग भइरहेको विद्यालयको पत्र, सम्बन्धित वडाको सिफारिस पत्र पेस गर्न भनिएको छ । यस्तै, विज्ञान, अङ्ग्रेजी प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनसम्बन्धी योजना फछ्र्योटका लागि खरिद आदेश र दाखिला रिपोर्ट, कोटेसन, सामान खरिद गरेको बिल भरपाई (भ्याटबिल) र १.५ प्रतिशत टिडिएस जम्मा गरेको भौचार, सामान उपलब्ध गराउने पसल वा सप्लायर्सको भ्याट दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र, विव्यसको निर्णय सहितको पत्र (प्रस्ताव एवं खरिद आदेशबमोजिम सामान खरिद र विद्यालयमा दाखिला गरी फरफारकका लागि सम्बन्धित निकायमा पेस गर्ने निर्णय), ल्याब व्यवस्थापन गरिसकेपछि प्रधानाध्यापकले प्रमाणित गरेको फोटो र सम्बन्धित स्थानीय तहले फरफारकका लागि गरेको सिफारिस पेस गर्न पत्रमा भनिएको छ । २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङ जिल्लामा ४९० वटा सामुदायिक विद्यालय सञ्चालित छन् । देशमा सङ्घीयता लागू भएसँगै स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लामा सञ्चालित सबै सामुदायिक विद्यालय भौतिक पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समय जिल्लाका अधिकांश सामुदायिक विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् । जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका विभिन्न योजना बनाएर कार्यान्वयनमा ल्याएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यायका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यस अध्यक्षहरूले १५ तथा प्रअहरूले १७ वटा बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ति, दरबन्दी समायोजन, विद्यालय थपघटलगायतका योजना बनाएको छ । विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याएको जनाइएको छ । उता केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क जाँच (गृहकार्य परीक्षण) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी गाउँपालिकाको शिक्षा शाखाले जाँच गर्ने कार्यक्रम लागू गरेको हो ।

आइएमई जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि र लाभांश प्राप्त गर्न सक्नेछन् । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीले माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

आज १२ प्रतिशत लाभांश पारित गर्दै लुम्बिनी विकास बैंक

काठमाडौं । लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारणसभा आज (पौष २६ गते, मंगलबार) बिहान ११ बजेदेखि काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुने भएको छ । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ नगद (कर प्रयोजन समेत) गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिनेछ । सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।