विकासन्युज

माओवादी केन्द्रका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री नियुक्त

काठमाडाैं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा ६८ (२) बमोजिम उनी कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २९ औं वार्षिक साधारण सभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हनु आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेकाे छ । कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पुस ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सन् २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव तीन प्रतिशत विन्दुले न्यून हो । विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर तीन प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण छ । ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ । सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । ‘सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो’, प्रतिवेदनमा भनिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर रहने छ । त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा दुई प्रतिशत र सन् २०२४ मा तीन दशमलव दुई प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा पाँच दशमलव दुई र सन् २०२४ मा छ दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

नेपाल इलेक्ट्रिक पावर लाइट्स इन्टरनेशनल एक्स्पो हुँदै

काठमाडाैं । भृकुटीमण्डपमा विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएकाे छ । यही माघ ६ गतेदेखि माघ ८ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अइन्टरनेशनल एक्स्पो’ हुने भएकाे हाे । उक्त प्रदर्शनी अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित नेपालको पहिलो प्रदर्शनी भएकाे आयाेजकले जनाएकाे छ । मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा प्रदर्शनी आयोजना हुन लागेको हो । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने आयाेजकले बताएकाे छ । नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने गर्दछ ।

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो, मनग्ये आम्दानी

झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उनीहरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पुर्याउन थालेको छ । युवा कृषक नेपालले छ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उनले बताए । तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ । ‘करिब पाँच हजार केजी फल्छ होला,’ उनले भने, ‘एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ । पैँतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु ।’ वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए । यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन् । ‘२० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा’, उनले भने । सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएका छन् । यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए । तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए । उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन् । दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन् । वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ । यसपालि उत्पादकत्व बढ्ने उनको अनुमान छ । कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य वृद्धि भएपछि नेपाली किसानले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । विगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ । पहिला पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने विदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेकाहरु धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ । कृषि ज्ञान केन्द्रका शिवाकोटीले तोरी खेतीमा लगानी र जनशक्ति कम लाग्ने उल्लेख गर्दै आम्दानी बढी हुने थाहा पाएपछि किसान आफ्नो जग्गा नभए भाडामा लिएर तोरी खेतीमा लागेको बताए । तोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, मकै, सुपारीजस्तै तोरीका लागि उर्वरभूमि रहेको उनले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा तीन सय ११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८/७९ मा बढेर तीन सय २० हेक्टरमा व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा पाँच सय पुग्ने आङ्कलन गरिएको छ । अर्जुनधारामा पनि लहलह अर्जुनधारा नगरपालिकाले नगर सहकारीमार्फत तोरी खेती प्रवद्र्धन गरिरहेको जनाएको छ । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रत्युश रानाले तोरी खेतीका लागि यस वर्ष दुई सय ७० केजी उन्नत जातको बीउ वितरण गरेको बताउनुभयो । सहकारीले किसानबाट उत्पादित तोरी खरिद गरेर आगामी वर्ष नगरलाई तोरीको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । नगरमा यस वर्ष १० हजार केजी तोरीको उन्नत जातको बीउ सङ्कलन गर्ने सहकारीले जनाएको छ । झापाका शिवसताक्षी, कमल लगायतका स्थानीय तहले समेत तोरी खेती प्रवद्र्धनमा लगानी गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । अन्य खेतीको तुलनामा तोरी खेतीबाट किसान बढी लाभान्वित भइरहेका छन् । चार बिघामा तोरी खेती गर्दा करिब एक लाख जति खर्च हुने र आम्दानी पाँच लाख रुपैयाँँभन्दा बढी नै हुने कृषक नेपालले जानकारी दिए ।

‘सोलेदार युक्रेनकै नियन्त्रणमा छ’

एजेन्सी । युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् । सोदेदार कब्जाले डोनबासमा आफ्नो प्रभाव बढाउन मार्ग प्रशस्त हुने रुसी दाबीलाई किएभले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहनेछ,’ युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ । रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ ।

भोजपुरका मालपोत तथा नापी कार्यालयमा डिजिटल प्रविधिले सेवा प्रवाह सहज

भोजपुर।भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ । सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो । यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ । यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको बेलामा सहजरुपमा विवरण पाउन सकिने स्थानीयवासीको भनाइ थियो । प्रविधिको प्रयोगले  नागरिकले पनि सहजरुपमा सेवा पाउन थालेका छन् । जग्गा सम्वन्धी विवरणको जानकारी लिन विगतका पुराना फाइल खोज्दा समय लाग्ने भएपनि अहिलेको प्रविधिले सहजरुपमा पाउने सकिने अवस्था बनेको सेवा लिन मालपोत कार्यालय आउनु भएका स्थानीयबासी बमबहादुर राईले बताए । ‘सरकारले लागु गरेको डिजिटल प्रविधिबाट काम गर्न सहज छ’ उनले भने, ‘विगतमा जग्गासम्बन्धी कारोबार गर्न निकै झन्झट थियो । यो प्रविधिको प्रयोगले जग्गामा हुने विभिन्नखाले विकृति रोक्न टेवा पुग्ने रहेछ ।’ डिजिटल प्रविधिले जग्गाको विवरण, नक्सा प्रिन्ट, नक्साङ्कनलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सकिने नापी कार्यालयले जनाएको छ । यो प्रविधिको प्रयोगले क्षेत्रफलमा एकरुपता हुने र प्रतिकुल समयमा पनि  छिटटै नक्सा तयार गरी प्रिन्ट गर्न सकिने जिल्ला नापी कार्यालयका प्रमुख देवकुमार बस्नेतले बताए । ‘भूमि सम्वन्धी कामलाई डिजिटल बनाइएसँगै काम गर्न सहज भएको छ’ उनले भने यसले गर्दा कर्मचारीको कार्यबोझ कम गराउनाका साथै सेवाग्राही नागरिकलाई सहजरुपमा सेवा दिन सकिने र पुरानो विवरण खोज्न पनि सहज भएको छ ।’ यो प्रविधिबाट कुनै पनि ब्याक्तिको नाममा नेपालभर रहेको जग्गालाई सहजरुपमा पत्ता लगाउन सकिने जनाइएको छ । जग्गाधनीको विवरण अनलाइनमा राखिने भएकाले जहाँबाट पनि उनीहरुको वितरण हेर्न सकिने मालपोत कार्यालयले जनाएको छ । रजिष्ट्रेशन दस्तुर, पूँजिगत लाभकर र सेवा शुल्कजस्ता राजस्व रकमको गणना स्वचालित प्रणालीबाट हुनेहुँदा कार्यालय भित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न यसले थप टेवा पुगेको कार्यालयका प्रमुख रविन मगरले बताउनुभयो । यो प्रविधिको प्रयोगले काम पारदर्शी हुनाका साथै राजस्व सङ्कलमासमेत सहज हुने उनको भनाइ थियो । ‘प्रविधिको विस्तारले सेवा प्रवाहमा धेरै सहज छ’ प्रमुख मगरले भने,‘ काममा चुस्तता आएको छ । यसले राजस्व सङ्कलनमासमेत सहज भएको  छ भने यहाँ हुने बेथिति नियन्त्रणमासमेत महत्वपूर्ण भूमिका खेलेको छ ।’ विद्युत् प्रवाह नियमित नहुँदा भने काममा केही बाधा पुग्ने गरेको छ । त्यस्तै इन्टरनेट तथा सर्भरमा आउने समस्याले सेवा लिन कठिनाइ हुने गरेको सेवाग्राहीले बताउने गरेका छन् । सेवा प्रवाहलाई थप चुस्त बनाउन कार्यालयमा जोडिएको इन्टरनेटलाई प्रभावकारी बनाउन आवश्यक रहेको सेवाग्राही अग्निप्रसाद घिमिरेले बताए । ‘डिजिटल प्रविधिले काम गर्न धेरै सजिलो छ’ उनले भने,‘ तर विद्यु्त् तथा इन्टरनेटमा आउने समस्याले भने सेवा प्रवाहमा बाधा हुने गरेको पाएको छु । प्रविधिमा समस्या हुँदा सेवाग्राहीले दुःख पाउनु पर्ने अवस्था छ । यस्ता खालका समस्या समाधानमा भने ध्यान दिन आवश्यक छ । यो राम्रो पक्ष हो ।’ राज्यले अघि सारेको यो प्रविधिका कारण मानिसहरु जग्गा कारोबारमा हुने ठगीबाट जोगिने सेवाग्राही घिमिरेले बताए ।

भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

भारत । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ । प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कुल तीन लाख १२ हजार छ सय ६६ आवासीय भवन बिक्री भएका थिए भने तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो । आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलव्ध गराइने ऋणको दर पाँच पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो । रासस