भारतमा घरजग्गा कारोबारमा बढ्यो, एक वर्षमा ३ लाख आवासीय भवन बिक्री
नयाँदिल्ली । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ । प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कुल तीन लाख १२ हजार छ सय ६६ आवासीय भवन बिक्री भएका थिए भने तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो । आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलव्ध गराइने ऋणको दर पाँच पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो ।
अमेरिकामा हवाई उडान ठप्प
न्युयोर्क । संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन् । ढिलाई भएका अधिकांश उडानहरू रूरूमा पूर्वी क्षेत्रका केन्द्रित भएपनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ । एफएएले भनेको छ, ‘हामी अन्तिम प्रमाणिकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं । राष्ट्रिय वायुसेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ । केही लाइनले काम गर्न थालेका छन्, तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको छ ।’ यातायात मन्त्री पीट बटिजिगले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।’ युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायी रूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।
दोस्रो चरणको मर्जरपछि बैंक ६ वटामा झर्छन् : बैंकर पाँडेको विचार
अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि अहिले बैंकहरु धमाधम मर्ज भइरहेका छन् । तत्कालिन गभर्नर चिरञ्जीवी नेपाललाई मर्जरको नीतिबारे मैले पनि केही सल्लाह दिएको थिएँ । सोही नीति अनुसार अहिले बैंकहरु मर्ज भएर १९ वटा कामय भएका छन् । जुन पहिलो चरणको मात्रै मर्जर हो । दोस्रो चरणको मर्जर प्रक्रिया सुरु हुन बाँकी नै छ । अब दोस्रो चरणको मर्जर आवश्यक छ । नेपाल राष्ट्र बैंकले दोस्रो चरणको मर्जर प्रक्रिया सुरु गरेर वाणिज्य बैंकहरुको संख्या ६÷७ वटामा झार्न आवश्यक छ । आज पृथ्वी जयन्तीको दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जर पश्चात् नयाँ सञ्चालक समिति पनि गठन भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नाम हुनुअघि इन्डोस्वेज बैंक थियो । सन् १९८६ मा फ्रेन्च ज्वाइन्ट भेञ्चरमा १५ प्रतिशत लगानीमा इन्डोस्वेज बैंक स्थापना भएको थियो । इन्डोस्वेज बैंकका अध्यक्ष सन् १९८३ मा चीन हुँदै नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँले एक दिन पनि नेपालमा बिताउनु भएन । तर, त्यो थोरै समयमा एउटा बैंक नेपालमा खोल्ने निर्णय गर्नु भयो । सन् १९८६ फेव्रुअरी २६ मा इन्डोस्वेज बैंकले नेपालमा वित्तीय कारोबार सुरु गर्याे । सन् २००२ सम्म इन्डोस्वेज बैंक त्यति धेरै ठूलो पनि थिएन र आक्रामक व्यापार पनि गरेको थिएन । सन् २००२ मा इन्डोस्वेज बैंकको केन्द्रिय कार्यालयमा छलफल भयो । एशियन देशहरु बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्यम्बोडिया लगायत नेपाल देशबाट आफ्नो बैंक फिर्ता गर्ने निर्णय गर्याे । कारण थियो वित्तीय विवरणमा जति नाफा कमायो त्यति नै प्रोभिजन राख्नुपर्ने पर्ने व्यवस्था गर्याे । त्यसपछि मलाई खरिद गर्न प्रस्ताव आयो । मैले पनि प्राइभेट इक्वीटी ग्रुप लिएर ५० प्रतिशत सेयर खरिद गरेँ । त्यो बेलामा नेपालइ न्डोस्वेज बैंकलाई छोटकरीमा एनआईबिएल भनिन्थ्यो । त्यो नाम हामीलाई दिनुस् भन्दा दिइएन । । तर, एनआईबिएललाई निरन्तरता दिन नेपाल इन्भेष्टमेन्ट बैंक नाम राखेका थियौं । नेपाल इन्भेष्टमेन्ट बैंक भएपछि ३ वटा संस्थालाई प्राप्ति गर्यौं । यो बिचमा एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्यौं । मेगा बैंकको स्थापना सन् २०१० सालमा स्थापना भएको हो । मेगा बैंकले १२ वर्षमा ठूलो ग्रोथ गरेको छ । एनआईबिएल बैंकले स–साना संस्था मात्रै गाभ्यो भने मेगा बैंकले समान हैसियतका संस्थालाई पनि प्राप्ति गर्याे । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई पनि मेगाले प्राप्ति गर्यो । हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले प्राप्ति मात्रै गरेको छ । यो एनआईबिएल बैंक र मेगा बैंकबीच पहिलो मर्ज हो । प्राप्ति गर्दा संस्था सञ्चालन गर्न सजिलो हुन्छ तर मर्ज गर्दा सजिलो हुँदैन । जुन चुनौति सञ्चालक समितिमा पर्छ । अब ठूल्ठूला बैंक मर्ज हुँदा धेरै सिनर्जी आउँछ । नेपालमा नेपालीबाटै लगानी गरेर सुरु गरेको पहिलो बैंक हिमालयन हो । त्यो बेला राष्ट्र बैंकले तपाइले बैंक सञ्चालन गर्नुभयो भने हामी डुब्छौं भन्थे । हामीले बैंक सञ्चालन गरेपछि बैंक, बीमा कम्पनी, होटलहरुको वृद्धि भयो । राष्ट्र बैंकले जथाभावी लाइसेन्स वितरण गर्याे । अस्वस्थ प्रतिस्पर्धा बढ्यो । नेपालको ३६ बिलियन डलरको जिडीपी छ । प्रतिबैंक जिडीपी १.१७३ मिलियन डलर मात्रै छ । भारतको जिडीपी २० हजार ५३४ बिलियन डलर छ । ३३ वटा बैंकको प्रतिबैंक जीडीपी १००.७ बिलियन डलर छ । बङ्गलादेशमा ५२ बैंक छन् । नेपालको जस्तै संख्या धेरै छन् । तर, बंगलादेशमा नेपालको भन्दा प्रतिबैंक ७ गुणा बढी जीडीपी छ । बङ्गलादेशमा प्रतिबैंक जिडीपी ८ बिलियन डलर छ । थाइल्याण्डमा प्रति बैंक जिडीपी १४ बिलियन डलर, पाकिस्तानमा २१ वटा बैंकमध्ये प्रति बैंक जीडीपी १६ बिलियन डलर, श्रीलङ्कामा २४ वटा बैंकहरुमध्ये प्रतिबैंक जीडीपी ३.४१ बिलियन डलर छ । मलेसिशयामा केन्द्रिय बैंकले फोर्सफुल्ली मर्ज गरेको थियो । केन्द्रिय बैंकले ६/७ बैंक भए पुग्छ भनेपछि ८ वटा बैंकमा झारेको थियो । यी सबै देशसँग नेपालका बैंकहरुको तुलना गर्ने हो भने धेरै तल छ । अब केन्द्रिय बैंकलाई मर्जरका लागि बैंकहरु आफैले सहयोग गर्नुपर्छ । सुदृढ अर्थतन्त्र, ग्राहकको सेवामा गुणस्तरीयता, लगानीकर्ताको प्रतिफल वृद्धि गर्न सबैले सहयोग गर्नुपर्छ । मर्ज भएर ठूलो पूँजी भयो भने चुनौतिलाई कम गर्न सकिन्छ । लगानी गर्ने क्षमतामा वृद्धि हुन्छ । बैंक ठूलो भयो निक्षेपकर्ताको रकम झनै सुरक्षित हुन्छ । लगानीका लागि नयाँ ढोका खुल्ला हुन्छन् । स्वस्थ प्रतिस्पर्धा हुन्छ । नयाँ–नयाँ श्रृजनात्मक काम गर्न सकिन्छ । नयाँ टेक्नोलोजीमा जान सकिन्छ । राष्ट्रिय स्तरको आयोजनामा लगानी गर्न सकिन्छ । ठूला आयोजना बनाउनु पर्याे भने लगानीको सुनिश्चितता हुन्छ । अहिले कुनै आयोजना बनाउनु पर्याे भने लगानी नै जुटाउन गाह्रो छ । मेरो आफ्नै कम्पनीले एउटा अयोजना बनाइरहेका छौं । तर, मलाई पैसा जुटाउन ७ वर्ष लाग्यो । अब कुनै आयोजना निर्माण गर्नुपर्याे लगानीको स्रोत सुनिश्चित भएको छ । फिनटेक कम्पनी पनि बढ्दै छन् । बैंकहरुको सञ्चालन खर्च कटौति हुन्छ । बैंकहरुले एउटा मोबाइलबाट सबै सेवा दिन सक्नुपर्छ । ठूलो बैंक भएपछि टेक्नोलोजीमा खर्च कम हुन्छ । फेरी टेक्नालोजी तिव्र रुपमा परिवर्तन भइरहेको छ । अहिले केही सिस्टम ल्यायौं भने ६ महिनामा अर्काे आइदिन्छ । टेक्नोलोजीमा पनि नयाँ नयाँ फेज आइरहेको छ । अब शाखा कार्यालय खोलेर मात्रै एक्सपान्स हुँदैन । अब सबै शाखा कार्यालय भनेको मोबाइल बैंक हो । पछिल्लो समय बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । बैंकहरुको नाफा घट्दै गएको छ । कुनै समय बैंक धेरै राम्रो नाफा कमाउँथे । बैंकहको प्रतिफल ऐभरेजमा २०/२५ प्रतिशत थियो । अब त्यो घट्दा घट्दै १० प्रतिशत भन्दा तल झरेको छ । बैंकहरुको नाफा र सेयर मूल्य पनि घटेको छ । व्यापारीहरुले जहिले पनि बैंकहरुले नाफा कमायो भन्छन् । बैंकहरुले विजनेशम्यानहरु पारदर्शी छैनन् भन्छन् । लगानी गरेपछि नाफा कमाउने हो । बजारमा चुक्ता पूँजीमा नाफा कमाएको भन्ने सन्देश गएको छ । चुक्ता पूँजीमा नाफा कमाएको होइन । बैंकहरुको कोर क्यापिटल कति प्रतिफल आयो भनेर हेर्नु पर्छ । बैंकहरुको नाफा लगानीको आधारमा हुन्छ । कुनै बैंकले ३/४ अर्ब कमाउँछन् । ५८ अर्ब सम्पत्ति हुँदा बैंकले ४/५ अर्ब नाफा पनि कमाउन नपाइने हो ? फेरि बैंकहरुमा जोखिम पनि धेरै हुन्छ । बजारमा बैंकहरुले नाफा कमायो भनेर विरोध हुन आवश्यक छैन । विदेशमा ८/१० प्रतिशत नाफा कमायो भने गजब राम्रो गरेको भन्छन् । किनभने मूल्य वृद्धिदर २/३ प्रतिशत मात्रै हुन्छ । नेपालमा १० प्रतिशत बढी मूल्य वृद्धि छ । केही बैंकहरुले धेरै लाभांश दिए । ती बैंकको विगत हेर्ने हो भने खासै राम्रो छैन । ती बैंकहरुले एसेट वा सम्पत्ति र सेयर बिक्री गरेर पैसा कमाइरहेका छन् । २/३ वटा बैंकको वित्तीय रिपोर्ट राम्रो भएपनि समग्रमा१०/११ प्रतिशत नाफा आउँछ । यो दीर्घकालका लागि धेरै ठूलो मुद्धा हो । मर्जर पश्चात् मर्चेन्ट बैंकको सेवा पनि उच्च हुनेछ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मर्ज भएर नम्वर वान बन्नेछ । जुन क्यापिटल मार्केट लागि महत्वपूर्ण हो । मर्जर पश्चात् नम्वर वान मर्जर पश्चात् नम्वर वान बन्ने लक्ष्य हो । हामीले नम्बर वान बन्ने लक्ष्य लिएपनि जहिले पनि टप थ्रीमा हुनेछौं । दुई बैंक मर्जर भएर बलियो बनाउने मात्रै होइन ग्राहकको सेवा, नियामक निकायका नीति निर्देशन भित्र रहेर काम गर्ने रसेयरधनीलाई उच्च प्रतिफल दिएर नम्वर वान बन्ने हो । नेपाली बैंकहरु पारदर्शी भएर गुणस्तरीय सेवा दिन सक्ने बनाउने हो । कर्मचारीलाई व्यवस्थापन गर्न सकिएन भनेसेवा गुणस्तर दिन सकिँदैन । कर्मचारीलाई सक्षम,लगनशील, इथिकल स्ट्याण्डर्ड, प्रोफेसनशल र कर्पाेरेट गभर्ननेन्स बनाउनु पर्छ । मर्जर पश्चात् सेयरधनीहरुलाई प्रतिफल उच्च दिने हो । २०/२५ प्रतिशत भन्दा बढी लाभांश दिनुपर्छ भन्ने छैन । तर, १५ प्रतिशत भन्दा कम हुनु हुँदैन । नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर पश्चात् १५ प्रतिशत भन्दा बढी प्रतिफल दिनेछ । मेगा बैंकले साना तथा लघु कर्जा (एसएमईएस) कर्जामा जोड दिएको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले कर्पाेरेट सेक्टरलाई जोड दिएको थियो । अब दुइवटै क्षेत्रमा सिनर्जी ल्याउने गरी कर्जा प्रवाह गरिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल पूँजी ५८ अर्ब पुग्नेछ । जुन बैंकिङ्ग क्षेत्रमा पहिलो नम्बरमा हुनेछ । मर्जर पश्चात् चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ रजगेडा कोष २४ अर्ब रुपैयाँ पुग्नेछ । सेयर होल्डरको फण्ड ३९९ अर्ब रुपैयाँ, कूल कर्जा ३२९ अर्ब रुपैयाँ, निक्षेप ३०७ अर्ब रुपैयाँ, कूल सम्पत्ति ४७१ अर्ब रुपैयाँ जुन बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थानमा हुनेछ । तर, खुद नाफा आर्जनमा भने तेस्रो स्थानमा पुग्नेछ । शाखा कार्यालय २९६ पुग्नेछ । उपत्यकामा ८८ शाखा र उपत्यका बाहिर २०८ शाखा कार्यालय हुनेछन् । एटिएम मेशिन २७९ पुग्नेछन् । कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्सटेन्सन काउन्टर ५९ वटा पुग्नेछन् । जुन बैंकिङ्ग क्षेत्रमा तेस्रो नम्बरमा हुनेछ । बैंकमा नेपालको जनसंख्याको १० प्रतिशत ग्राहक रहेका छन् । ( बैंकर पाँडे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष हुन् । )
क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि हुँदै
काठमाडाैं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । यही माघ २४ गते देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुन लागेकाे हाे । वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधि को क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताइएकाे छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयाेजकले जनाएकाे छ । आयाेजककाे अनुसार क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् । साथै, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् । यसैगरी आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका लागि बाेलपत्र समेत आव्हान गरेको छ ।महासंघले शिर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला समेत गरेको जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी
अत्तरिया । उनान्तीस प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले दाबी पेश गर्नुभएको छ । रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित दाबी पेश गरेका हुन् । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ । माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ भने, नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
टेलिकमकले सुविधा थपेर ल्यायो विन्टर अफर, १९९ रुपैयाँमा एक महिना चल्ने डाटा र कल
काठमाडौं । नेपाल टेलिकमले पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ देखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा ३४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यस्तै, १९९ रुपैयाँमा २८ दिनका लागि कुल ४२०० एमबी डाटा (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गतका १९९ देखि ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् ।
लुम्बिनीले जित्यो नेपाल टी २० लिगको उपाधि, पायो ५५ लाख
काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो । यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।
साना किसान विकास लघुवित्त पनि एनपीएसमा आबद्ध
काठमाडौं । साना किसान विकास लघुवित्त पनि एनपीएसमा आबद्ध भएकाे छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता गरेको हाे । उक्त सम्झौता साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत साना किसान विकास लघुवित्तले एनसीएचएल आइपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी गर्ने कम्पनीले जनाएकाे छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५८ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।