तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास
काठमाडौं । तारागाँउ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटल सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । होटलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । होटलको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको १५ करोड ८८ लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १० प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ७.३६ प्रतिशत नगद लभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १२ प्रतिशत नगद र ०.६३१ प्रतिशत बोनस सेयर गरी कूल १२.६३१ लाभांश वितरण गरेको थियो ।
अबको ३ वर्षमा महानगरको आम्दानी १३.६६ अर्ब, ८ वर्षपछि सम्पत्ति कर पुनरावलोकन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी ३ वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१, २०८१/८२ तथा २०८२/८३ को लागि आय प्रक्षेपण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को आय ११ अर्ब ८० करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ को १३ अर्ब १२ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ को १३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ प्रक्षेपण गरिएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने, शसर्त तथा निःशर्त अनुदान, राजस्व बाँडफाँट, रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायत शीर्षकको सिलिङ प्राप्त नभएकाले प्रक्षेपण गरिएको अङ्क थपघट हुनसक्ने कामपा राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए । विगत ३ वर्ष कोरोनाका कारण अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसके पनि आगामी वर्षमा लक्ष्यअनुरुप आय हुने विश्वास महानगरले लिएको छ । चालु आर्थिक वर्षका लागि महानगरले १० अर्ब ३९ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । पुस १५ सम्ममा ४ अर्ब ३४ करोड रुपैयाँ असुल गरिसकेको अधिकारीले बताए । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व जम्मा भएको थियो । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष १ करोड रुपैयाँले बढी राजस्व असुल गर्न सफल भएको अधिकारीले बताए । गत आर्थिक वर्षमा कोरोनाको त्रास कायमै रहेकाले ९ अर्ब ८ करोड रुपैयाँ मात्र राजस्व असुलीको लक्ष्य लिइएको थियो । विगत वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुलउपर भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा.अधिकारीको भनाइ छ । ‘यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या छैन,’ उनले भने । पछिल्लो समय महानगरले राजस्व सङ्कलनका लागि थप कडाइ गरेको छ । मुख्यगरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जनक कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । यसैगरी गत आर्थिक वर्ष २०८०/८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने महानगरको तयारी छ । यो सडकको पहुँच र प्रकृतिका आधारमा निर्धारण हुने भएकाले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरिने बताइएको छ । महानगरले विगत ७ वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । महानगरको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म ?
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले पुस २५ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा माघ ९ गतेसम्म आवेदन दिने समय थप गरिएको हो । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगतका लागि र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
६ बैंकसहित ११ कम्पनीको साभारण सभा आज, ४० प्रतिशतसम्म लाभांश पारित गर्दै
काठमाडौं । बिहीबार विभिन्न ११ वटा कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ११ वटा कम्पनीको आज पुस २८ गते वार्षिक साधारण सभा हुने भएको हो । जसमध्ये आधा दर्जन वाणिज्य बैंक रहेका छन् । बिहीबार लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल दूरसञ्चार कम्पनी, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, राधी विद्युत, इमर्जिङ नेपाल, र सोल्टी होटलको वार्षिक साधारण सभा आज हुने भएको हो । अधिकांश कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन । लक्ष्मी बैंकको २२ औं वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ पुस १५ गते बुक क्लोज गरेको थियो । त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा उपस्थित हुन पाउने छन् । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारण सभा बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गरेको थियो । त्यसैले पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । हिमालयन बैंकको ३० औं वार्षिक साधारण सभा होटल सोल्टी सोल्टीमोड काठमाडौमा बिहान ११ बजे शुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १८ गते गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सिभिल बैंकको १२ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को १५ औं वार्षिक साधारण सभा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे शुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीले साधारण सभा र लाभांश प्राप्त गर्न सक्नेछन् । राधी विद्युतको कम्पनीको कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । सोल्टी होटलको ४८ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत कूल लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ७ औं वार्षिक साधारण सभा लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहान १० बजे र इमर्जिङ नेपालको ७ औं वार्षिक साधारण सभा थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यी दई कम्पनीले लाभांश वित।ण नगर्ने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंकको १६ औं वार्षिक साधारण सभा दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक नेप्सेमा सूचीकृत छैन ।
बैंकर्स संघको अध्यक्षमा सीईओ केसी र उपाध्यक्षमा कोइराला चयन
काठमाण्डौ । वाणिज्य बैंकहरुका सीईओको संगठन नेपाल बैंक संघ (एनबिए)को अध्यक्ष सुनिल केसी चयन भएका छन् । बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी सर्वसम्मत रुपमा चयन भएका हुन् । बैंकर्स संघको बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि सीईओ केसी संघको उपाध्यक्ष थिए । यसअघि संघको अध्यक्ष कृषि विकास बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्याय थिए । उनको सीईओको कार्यकाल पुस १० गते सकिएपछि अध्यक्ष पद पनि सकिएको थियो । सीईओको कार्यकाल सकिएपछि संघको अध्यक्ष पद पनि स्वतः रिक्त रहने व्यवस्था रहेको छ । यस्तै, बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वम्मत चयन भएका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपकुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् ।
माघमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
काठमाडौं । वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघमा ब्याजदर घटाउने निर्णय गरेको हो । माघ महिनाका लागि बैंकहरुले १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले विकासन्युजलाई बताए । तरलता सहज भइरहेको र उच्च ब्याजदरका कारण कर्जा प्रवाह कम भएको हुँदा ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् । अब बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर लागू गर्नेछन् । माघमा भने बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।
इण्डिया अटो एक्स्पोमा तीन दर्जन कम्पनीका नयाँ मोडलका गाडी प्रदर्शन (फोटोफिचर)
नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेका हुन् । उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी ११ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ एक्स्पो ग्रेटर नोएडामा सञ्चालन भएको छ । जनवरी ११ र १२ गते पत्रकारहरुका लागि मात्रै खुल्ला गरिएको छ भने १३ गते व्यवसायिक प्रदर्शनी गरिने बताइएको छ । एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ । एक्स्पोमा करिब तीन दर्जन कमपनीहरुको गाडीहरु प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको सवारी साधन प्रदशर्नी राखिएका छन् । एक्सपोमा टाटा मोटर्स, सुजुकी, मारुती, हुन्डाई मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, बीवाईडी इन्डिया, अशोक लेल्यान्ड र टोयोटा नयाँ मोडलका गाडी सार्वजनिक गरेका छन् । यस्तै, ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, क्वान्टम इनर्जी, एलएमएल इमोशन्स र ब्लाइभ ३ ईभी एक्स्पोमा प्रदर्शनीमा राखिएका छन् ।
भारतमा घरजग्गा कारोबारमा बढ्यो, एक वर्षमा ३ लाख आवासीय भवन बिक्री
नयाँदिल्ली । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ । प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कुल तीन लाख १२ हजार छ सय ६६ आवासीय भवन बिक्री भएका थिए भने तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो । आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलव्ध गराइने ऋणको दर पाँच पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो ।