सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन
फाइल फोटो काठमाडौं । बलात्कारको आरोप लागेका सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनलाई २० लाख रुपैयाँमा छाड्न आदेश दिइएको हो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि लामिछानेलाई थुनामा पठाउन आदेश दिइएको थियो। लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स(सामसङ्ग डिजिटल प्लाजा)सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सामसङ्ग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध, भक्तपुर, पुल्चोक र खुसिबुशाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले सामसङ्ग प्लाजाबाट कन्जयुर इलेक्ट्रोनिक्स हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंकले पारित गर्यो सिभिलसँग मर्ज हुने प्रस्ताव र लाभांश
काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । बैंककाे ३० औं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेकाे हाे । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयरले र ११.११ प्रतिशत नगद लाभांश (कर सहित) हुने जम्मा गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ । साधारण सभाबाट हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । यसकाे अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।
लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराईले लिए शपथ
काठमाडाैं । लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणी भट्टराई नियुक्त भएका छन् । बैंककाे १५ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरु मध्ये भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हाे । नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । भट्टराइले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरीका छन् । उनीसँग विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य अनुभव पनि रहेकाे छ। साथै, उनीसँग साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनीको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ । उनको नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको बैंकले जनाएकाे छ ।
नर्भिकमा पुस ३० गते कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत पुस ३० गते कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा दिने भएकाे छ । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।
आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए । मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी समृृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौँ ।’ आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक पाँच खर्ब ८५ अर्ब वित्तीय अभाव भएको उनको भनाइ छ । ‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो कोभिड–१९ महामारीपूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ’, अर्थमन्त्री पौडेलले भने, ‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको सम्मिश्रण गर्नुपर्दछ ।’ नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उनले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । समिटमा नेपाल, भारत, श्रीलङ्का, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ । रासस
स्ववियू निर्वाचनको पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको क्याम्पसहरुलाई निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पूर्व तयारी गर्न देशभरका कलेजहरुलाई सूचनामार्फत निर्देशन गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको बैठकले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।
वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए
काठमाडाैं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्इ बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेकाे धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । उनले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए । दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल पुँजी ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी २६ अर्ब २३ करोड, कुल निक्षेप तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहेका छन् । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बनेका छन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउँछन् । उनले भने, ‘हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ ।’ त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी २२ अर्ब, कुल निक्षेप दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ । प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहेका छन् । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड छ । रासस