विकासन्युज

जनक शिक्षाको गुणस्तरहीन ४ ट्रक कागज प्रहरी नियन्त्रणमा, ३ दिनदेखि सडकमै ९ ट्रक

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि ४ ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि बिहीबार शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको ४ ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए । त्यसलगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे । उनीहरुले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरे । केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताए । ‘केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता गर्याे र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उनले बताए । उनले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको ५  करोड रुपैयाँ धरौटी जफतसमेत हुनसक्ने बताए । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताए । केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप ५ मेट्रिकटन गरी कूल १ हजार ५ मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो । ‘समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको ८ करोड रुपैयाँ धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए ५ करोड रुपैयाँ धरौटी जफत गर्छौं तर, केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन,’ केन्द्रका प्रवक्ता आचार्यले भने । सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको ९ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा २ दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । ४ ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य ९ ट्रक भने ३ दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

अख्तियारका पूर्वआयुक्त नै भ्रष्टाचारको मुद्दामा दोषी, ३ वर्ष कैद र ३९ लाख जरिवाना

काठमाडौं । विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ३ वर्ष ३ महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले आज पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो । अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा ७० लाख रुपैयाँभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो । उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते आज दोषी ठहर गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार सम्पन्न ११ औं साधारण सभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । आ।व। २०७८र७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७५ ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले एनसिएचएल इसिसि, एससिएचएलसआइपिएस र आरपिएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ।व। २०७८र७९ मा कुल १५७।५ खर्ब बराबरको ७।०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

परिसंघले भन्यो : ब्याजदर घटाउने निर्णय सकारात्मक, आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम हुनुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय सकारात्मक भएको बताएको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको निर्णय सकारात्म भएको धारणा राखेको हो । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको बताउँदै यो निर्णयल निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र अर्थतन्त्रलाई गति प्रदान गर्न सहयोग पुग्ने बताएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने परिसंघको विश्वास छ । ‘निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ, यसले आधार दर र कर्जाको ब्याजदर पनि घटाउने हाम्रो बुझाई छ, कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा बृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने परिसंघको विश्वास छ । नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुँदै, स्टल बुकिङ खुला

काठमाडौं । काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले चैत २ गतेदेखि ६ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको हो । कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्टिय व्यापार मेला गएको दुई वर्ष आयोजना हुन सकेको थिएन । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो । अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत गरिएको महासंघले जानकारी दिएको छ । महासंघके अनुसार यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटिआइएस प्रडक्टस का साथै मेड इन नेपाल बस्तुहरुको प्रर्दशनी गरिने र यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुने महासंघले जनाएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादनहरु, एनटिआइएस एण्ड मेड इन नेपाल प्रडक्टस रहने बताइएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने महासंघले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको रणनीति : बोनस सेयर बढाउने, खराब कर्जा कम गरेर नाफामा अब्बल बन्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.बलराम पाठकले खराब कर्जा घटाउँदै लैजाने बताएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष डा. पाठकले बैंकको खराब कर्जादर घटाउँदै लैजनो रणनीति रहेको बताएका हुन् । ‘राष्ट्रिय वाणिज्य बैंकले खराब कर्जा घटाउँदै लैजाने हो, बैंकको सुदृढिकरण खराब कर्जा घटाउने मुख्य काम हो, खराब कर्जा घटाउँदा मात्रै बैंकको पफर्मेन्स राम्रो हुन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंक गत असार मसान्तसम्ममा बैंकको खराब कर्जादर ३.०७ प्रतिशत छ । अध्यक्ष डा. पाठकले आगामी दिनमा सेयरधनीहरुलाई बोनस सेयरमा जोड दिने बताए । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको र तरलता अभाव खेप्नु पर्ने भएकाले पैसा परिचालनका लागि नगद लाभांशमा जोड दिएको उनको भनाइ छ । ‘आगामी दिनमा सकेसम्म बोनस सेयर धेरै दिने चाहना छ तर नेपाल सरकारलाई पैसाको धेरै खाँचो परेको हुँदा नगद धेरै दिइएको हो, सरकारले पनि नगद लाभांश दिनुस् भन्ने गरेको छ, बोनस सेयर दिनु हुँदैन भन्ने गरेको छ तर समय स्थिती अनुसार बोनस सेयर धेरै दिने कोसिस गरिनेछ,’ उनले भने । पछिल्लो समय बैंकले निरन्तर वार्षिक साधराण सभा गर्न सफल भएको उनले बताए । सरकारी बैंकमा चुस्त दूरुस्त काम हुने गरेको उनको भनाइ छ । पछिल्लो समय शाखा कार्यालय विस्तारका लागि ठूलो संख्यामा आवेदन आएको उनले जानकारी दिए । उनका अनुसार सरकारी बैंक भएकाले कर्मचारीलाई भर्ना गर्न गाह्रो छ । आफूखुसी काम गर्न नपाइने भएकाले चाहेपनि काम गर्न नसकेको उनले बताए । ‘शाखा कार्यालय धेरै भएर मात्रै हुँदैन, थोरैमा पनि राम्रो विजनेश गर्न सकिन्छ तर राष्ट्रिय वाणिज्य बैंकलाई बाध्यता छ, प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा पनि गर्नुपर्छ, सरकारी निकायको आदेश/निर्देशन पनि मान्नुपर्छ, सबै नेपाली जनताको सुखदुखको सहयोगी पनि बन्नुपर्छ, सबै जिल्लामा पहुँच पनि पुर्याउनु पर्ने बाध्यता छ, अहिलेपनि १ सय बढी शाखा सञ्चालनका लागि आवेदन आएका छन्, सकेसम्म कर्मचारीको क्षमता हेरेर सेवा दिने कोसिस गर्छाैं,’ उनले भने । सेयरधनी डम्मरु बल्लब घिमिरेले तत्कालीन एनआईडिसी बैंकलाई प्राप्ति गरेपछि कर्मचारीमा ठूलो भेदभाव हुने गरेको बताए । एनआईडिसीबाट आएका कर्मचारीको सेवा सुविधा कम भएको गुनासो राखे । बैंकको सञ्चालक समितिमा ९९ प्रतिशत सदस्य सरकारको सिफारिमा आउने भएकाले सर्वसाधारण सेयरधनी धेरै पीडित हुने गरेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकको भन्दा धेरै लाभांश दिनुपर्ने उनको माग छ । ‘राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालकहरु बारम्बार परिवर्तन भइरहेका छन्, सर्वसाधारणको सेयर हस्तान्तरणको प्रक्रिया सहज हुनुपर्याे, बैंकमा रहेको सेयरलाई न सर्वसाधारण सेयर भन्न सकिएको छ न सरकारको सेयर भनिएको छ, मेरो सेयर बक्री गर्न पाइँदैन, परिवारलाई हस्तान्तरण गर्न पनि पाउँदैन,’ उनले भने । सेयरधनी दामोदर प्रसाद रेग्मी बैंकले कमाएको नाफामा सरकारी सेयरधनी र सर्वसाधारण सेयरधनीको समान हैसियत हुनु पर्ने बताउँछन् । बैंकले नाफा धेरै कमाएको भएपनि सर्वसाधारण सेयरधनीहरुलाई थोरै दिने गरेको उनले बताए । ‘बैंकले कमाएको पैसा सेयरधनीहरुलाई समान हैसियतमा बाड्नुपर्छ, साना सेयरधनीहरुलाई दिने प्रतिफल र ठूला सेयरधनीहरुलाई दिने प्रतिफलमा समान हैसियत हुनुपर्छ, साना सेयरधनीहरुलाई ठूलो अन्याय भएको छ, सेयरधनी सानो होस् वा ठूलो तर हैसियत बराबर हुन्छ,’ उनले भने । सेयरधनी राम गोपाल महर्जन निजी क्षेत्रका बैंकहरु मर्जरमा गइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकलाई चुनौति थपिएको बताउँछन् । बैंकको पूँजी थप र कर्मचारीलाई समय सुधाउँदो तालिम दिएर बैंकलाई उचाइमा पुर्याउनुपर्ने उनले बताए । साथै बैंकका सेयरधनीहरुले उच्च प्रतिफलको आश गरेको उनको भनाइ छ । ‘हामी साना सेयरधनी भएपनि धेरै प्रतिफल पाउने आश हुन्छ, कर्मचारीलाई समय सहुउँदा तालिमको व्यवस्था गर्याे भने बैंकले फड्को मार्छ, बैंकको खराब कर्जा र तरल सम्पत्तिलाई सन्तुलन कायम गर्नुपर्छ, शाखा कार्यालय ७७ जिल्लामा पुगेको भएपनि मोनीटरिङमा कमजोर रहेको छ, शाखा कार्यालय विस्तार गर्दा नाफालाई जोड दिनुपर्याे, बैंकले बोनस सेयरलाई ध्यान दिनुपर्छ, आगामी दिनमा हाल कायम रहेको लाभांश दर घट्नु हुँदैन,’ उनले भने ।

इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न, संचालकमा सिल्वाल निर्वाचित

काठमाडौं । इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरकाे छ । यस्तै, सभाले आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी होटल एलिस द वोण्डर इनको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन

फाइल फोटो काठमाडौं । बलात्कारको आरोप लागेका सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छोड्न निर्देशन दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनलाई २० लाख रुपैयाँमा छाड्न आदेश दिइएको हो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि लामिछानेलाई थुनामा पठाउन आदेश दिइएको थियो। लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।