विकासन्युज

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो । मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसङ्घले उल्लेख गरेको छ । ‘परिसङ्घले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्ने जोड दिँदै आएको छ, उक्त निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसङ्घले विश्वास लिएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने परिसङ्घले जनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसङ्घले आग्रहसमेत गरेको छ ।

टिकटकमार्फत् जुवा : एक महिनामा २८ लाखको कारोबार

काठमाडाैं। काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन्। यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ। टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना-साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो। रमाइलोका लागि त्यस्ता भिडियो राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यकाभित्र केही व्यक्तिले ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आयो। उक्त सूचनाका आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो। प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्काे, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्। प्रहरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्काे बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ। पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी-२ नामक टिकटक बनाइ दुई ई-सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ। यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई-सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई-सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ। चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

राष्ट्रिय वाणिज्य बैंक ४ वटा शाखा सञ्चालन गर्न घर खोज्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ४ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले मानेभञ्ज्याङ, शिवगञ्ज, पचरुखी र गौरादह शाखा कार्यालयका लागि घर भाडामा लिने भएको हो । बैंकले ओखलढुंगा माने भञ्ज्याङ ५ स्थित बजार क्षेत्रभित्र, झापा शिवसताक्षी नगरपालिका ६ शिवगञ्ज बजार क्षेत्र, सुनसरी इटहरी उपमहानगरपालिका ५ पचरुखी चोक बजार क्षेत्र र झापा गौरादह नगरपालिका १, २ र ३ मा पर्ने गौरादह बजार क्षेत्रमा भएका घर भाडामा लिने भएको हो । बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो । इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

१० बैंकिङ्गसहित १९ कम्पनीको साधारण सभा आज, १ सय प्रतिशतसम्म लाभांश पारित गर्दै

काठमाडौं । शुक्रबार विभिन्न १९ वटा कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत र सूचीकृत हुन बाँकी रहेका कम्पनी सहति १९ कम्पनीको आज पुस २९ गते वार्षिक साधारण सभा हुने भएको हो । नबिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, मछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, नेपाल हाइड्रो डेभलपर, हिमालयन पावर पार्टनर, कालिका पावर, श्वेत गंगा हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, अर्घाआँची सिमेन्ट र नेपाल स्टक एक्सचेञ्जको वार्षिक साधारण सभा आज हुने भएको हो । नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा बिहान ९ बजे होटल आनन्द तिलगङ्गा काठमाडौंमा सुरु हुनेछ । बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सुरु हुनेछ । बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । महालक्ष्मी विकास बैंकले २१ औं वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । महालक्ष्मी विकास बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । आइसिएफसी फाइनान्स कम्पनीको १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आइसिएफसी र श्री इन्भेष्टमेन्ट कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । सेन्ट्रल फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा हेड अफिस कुपोण्डोलमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेन्ट्रल फाइनान्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट नयाँ बानेश्वर काठमाडौंमा सुरु हुनेछ । फाइनान्सले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । नेपाल हाइड्रो डेभलपरको १६ औं वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.०२६३ प्रतिशत नगद गरी कूल ५.०२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । हिमालयन पावर पार्टनरको दशौं वार्षिक साधारण सभा अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौंमा विहान ९ बजे सुरु हुनेछ । कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् । कालिका पावर कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कालिका पावर कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो । श्वेत गंगा हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा बिहान ११ बजे कुण्डलिनी दरवार ब्याङ्क्वेट नयाँ चण्डोल काठमाडौंमा सुरु हुनेछ । कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे २९ औं वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस सेयर र ०।७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २१ औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । शिवम् सिमेन्ट्स कम्पनीको सातौं वार्षिक साधारण सभा होटल सामना, हेटौंडामा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । अर्घाआँची सिमेन्ट्सको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे अर्घाखाँची सिमेन्ट थापाथली काठमाडौंमा सुरु हुनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ४१ औं वार्षिक साधारण सभा बिहान ११ बजे नेप्सेको कार्यालय काठमाडौंमा सुरु हुनेछ । नेप्सेले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा भएको दोस्रो दिन नै एनटिसीले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीको बिहीबार पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले आज पुस २९ गते शुक्रबारदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको प्रतिकित्ता ४० रुपैयाँ नगद (कर समेत) लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

मिटरब्याजी पीडितको समस्या उठान गर्ने रवि लामिछाने गृहमन्त्री बनेपछि न्याय देलान् ?

काठमाडौं । मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछिसर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् । सञ्चारकर्मी हुँदा बहालवाला गृहमन्त्री रवि लामिछानेले जोडदार रूपमा आवाज उठाएका थिए । विगतमा मुद्दा उठान गर्ने व्यक्तिहरू माग सम्बोधन गर्ने ठाउँमा पुगेकाले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पीडित रुकमिनी देवी चौधरीले बताईन् । अदालतबाट न्याय पाउनेमा आफूहरू सशंकित रहेको पीडित चौधरीले बताइन् । पीडक बलियो रहेकाले उनीहरूले न्यायालयलाई प्रभावित पारेको चौधरीको आरोप छ । पीडितहरूको आजको भेलाले न्यायका लागि एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ । न्यायका लागि अगाडि बढ्न मिटरब्याजी तथा ठगी विरुद्ध जिल्लास्तरीय सङ्घर्ष समितिलाई पुनर्गठन गरेको छ । सरस्वती मिश्र वाग्लेको नेतृत्वमा पुनः सङ्घर्ष समिति बनाइएको हो । सर्लाहीमा तीन मिटरब्याजी श्याम परदेशी, रामबाबु यादव र सञ्जय साह रौनियारले धेरै व्यक्तिलाई ठगी गरी उठीवास लगाएपछि न्यायका लागि उनीहरू सङ्घर्षमा उत्रेका हुन् । श्याम परदेशी भन्ने श्यामकृष्ण साह जिल्ला अदालत सर्लाहीको आदेशामा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् । रामबाबु यादव फरार छन् । सञ्जय साह रौनियार भने धरौटीमा छुटेका छन् ।

जनक शिक्षाको गुणस्तरहीन ४ ट्रक कागज प्रहरी नियन्त्रणमा, ३ दिनदेखि सडकमै ९ ट्रक

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि ४ ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि बिहीबार शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको ४ ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए । त्यसलगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे । उनीहरुले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरे । केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताए । ‘केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता गर्याे र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उनले बताए । उनले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको ५  करोड रुपैयाँ धरौटी जफतसमेत हुनसक्ने बताए । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताए । केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप ५ मेट्रिकटन गरी कूल १ हजार ५ मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो । ‘समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको ८ करोड रुपैयाँ धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए ५ करोड रुपैयाँ धरौटी जफत गर्छौं तर, केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन,’ केन्द्रका प्रवक्ता आचार्यले भने । सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको ९ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा २ दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । ४ ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य ९ ट्रक भने ३ दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

अख्तियारका पूर्वआयुक्त नै भ्रष्टाचारको मुद्दामा दोषी, ३ वर्ष कैद र ३९ लाख जरिवाना

काठमाडौं । विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ३ वर्ष ३ महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले आज पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो । अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा ७० लाख रुपैयाँभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो । उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते आज दोषी ठहर गरेको छ ।