विकासन्युज

सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आज नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन मिलेर लाग्न भनेका छन् । उनले कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए। सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए। उनले भने, ‘कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ ।’ उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको र पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ । उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन्।

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

नवीन शर्मा : १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

काठमाडौं । काठमाडौंको पद्मोदय मोडदेखि सिंहदरवार अगाडिसम्मको फूटपाथमा बिहानैदेखि ठूलो भीड लाग्छ । त्यो भीडमा नेपालका बेष्ट ब्रेन भएका युवायुवतीहरु हुन्छन् । डाक्टर, नर्स, इन्जिनियर बन्ने वा लोकसेवा पास गरेर सरकारी जागिर खाने लक्ष्य बोकेका मानिसहरुको भीड हुन्छ त्यहाँ । जो पढ्नको लागि बिहान सबेरै उठेर त्यहाँ पुगेका हुन्छन् । तर, त्यहाँ कुनै विश्वविद्यालय छैन । नेम नामको ट्यूशन इन्स्टिच्यूट छ । जहाँ वर्षमा १० हजारभन्दा बढी युवाहरु एमबीबीएस, नर्सिङ, लोकसेवा तयारी लगायतको विषयमा अध्ययन गर्न पुग्छन् । नेमका प्रबन्धक निर्देशक नवीन कुमार शर्मा भन्छन्, ‘बैशाखदेखि साउनसम्म नेपालभरीमा सबैभन्दा धेरै मान्छे आउने संस्था नेम नै हो, फिल्म हलमा पनि यति मान्छे जम्मा हुँदैनन् ।’ नेमले गत आर्थिक वर्षमा करिब ४८ करोड रुपैयाँ ब्रिजकोर्स पढाएर शुल्क संकलन गरेछ । इन्स्टिच्यूटको क्षेत्रमा नेम एक्लैले ७० प्रतिशत स्थान ओगटेको शर्माको भनाइ छ । नेम कसरी बन्यो ? यसले छोडेका पदचिन्ह के हुन् ? सफलताको कथा रिर्पोटिङ गर्न हामी नेममा पुग्यौं । रिसेप्सनमा नवीन कुमारलाई भेट्न चाहेको कुरा ग¥यौं । ‘ऊ उहाँ हुनुहुन्छ’ रिसेप्सनकी कर्मचारीले गेट बाहिर उभिएर अभिभावकसँग कुरा गर्दै गरेको मोटो, अग्लो र फूर्तिलो मान्छेलाई चिनाइन् । हामीले भेटेर आफ्नो परिचय दियौं, अन्तरवार्ता लिन चाहेको कुरा गर्यौं । ‘म बैङ्कमा जान लागेको, ल भनिहाल्नुहोस्, के छ प्रश्न’ मोटरसाइकल पार्किङ क्षेत्रतर्फ लम्कँदै भने । हामीले कार्यकक्षमा बसेर अन्तर्वार्ता गर्दा सहज हुने प्रस्ताव गर्यौं । ‘मेरा कार्यकक्ष छैन, भित्र चिसो छ, एसी पनि छैन, यहाँ घाम ताप्दै कुरा गर्दा राम्रो हुन्छ’ उनले भने । क्यान्टिनवालासँग कुर्सी मगाए । प्लास्टिकको कुर्सीमा बसेर हत्केलाले अनुहारमा घाम छेक्दै उनी पत्रकारसँग कुरा गर्न थाले । पार्किङ क्षेत्रबाट मोटरसाइकल स्टार्ट गर्नेको घ्यारघ्यार, विद्यार्थीहरुले गर्ने हल्लाकै बीचमा हामीले नवीनको सफलताको कथा कैद गर्न थाल्यौं । नवीन कुमार शर्मा सन् १९८९ एमबीबीएसमा त्रिभुवन विश्वविद्यालयको टपर रहेछन् । त्यसपछि उनलाई एमडीस्तरको अध्ययन गर्नको लागि अमेरिका जाने इच्छा भयो । त्यो समयमा एमडी अध्ययन गर्नको लागि ७/८ लाख रुपैयाँ आवश्यक पर्दथ्यो । उक्त रकम जुटाउनको लागि उनले विभिन्न योजना बनाए । त्यही क्रममा एमबीबीएसको ब्रिजकोर्स अध्यापन गराउनको लागि इन्स्टिच्युट खोले, जुन अहिले नेपालको सबैभन्दा ठूलो ब्रिजकोस सेन्टर बनेको छ । बुवाको पालामा नै शर्माको परिवार पाँचथरबाट बिराटनगर झरेको थियो । तर, शर्माको जन्म भने बुटवलमा भएको हो । शर्माले स्कूल शिक्षादेखि आइएससीसम्मको अध्ययन विराटनगरमा हासिल गरे । एमबीबीएस अध्ययन उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पूरा गरे । एमबीबीएस पढ्दा पनि ट्युसन पढाएर आफ्नो खर्च धान्दै आएका शर्मा घरबाट पैसा मागिरहनु हुँदैन भन्ने मान्यतामा थिए । अध्ययनकै क्रममा अभ्यास गर्न कलेजले ३ महिना पोखरा पठायो । उनले त्यहाँ पनि विद्यार्थीलाई ट्यूशन पढाउन थाले । ट्यूशन सेन्टर चलाउँदा राम्रो आम्दानी हुने सम्भावना उनले त्यही देखे । र, एमडी पढ्नको लागि आवश्यक रकम जुटाउने उद्देश्य राखेर ब्रिजकोर्स पढाउन शुरु गरे । सन् १९९६ मा शर्माले आफ्नी दिदीसँग १२ हजार ऋण लिएर इन्स्टिच्युटको शुरुवात गरेका थिए । २ वटा कोठामा फर्निचर राखेर सो इन्स्टिच्यूटको प्रारम्भ भएको थियो । ‘शुरुको २ वर्ष निकै दुःख भयो, राम्रोसँग फर्निचरको व्यवस्था गर्न सकेनौं, शिक्षकहरुलाई तलब दिने अवस्था पनि बनेन ।’ शुरुको २ महिना इन्स्टिच्युटमा पढ्ने ५ जना विद्यार्थी मात्रै थिए । थोरै विद्यार्थी भएकाले शिक्षक राख्ने अवस्था थिएन । शर्माले आँफैले पढाए । उनका अनुसार ६/७ महिनासम्म अन्य स्टाफ राखिएन । दिन बित्दै गए । विद्यार्थी बढ्दै गए । ‘पहिलो वर्ष हामीले २ सय ५० जना विद्यार्थी पढायौं, दोस्रो वर्ष ५/७ सय भयो भने तेस्रो वर्षमा १५ सय जति विद्यार्थी पढ्न आएका थिए’ शर्माले भने । केही वर्षसम्म कोठाहरु भाडामा लिने र त्यही कक्षा सञ्चालन गर्ने गर्दथे । विद्यार्थी संख्या बढ्दै गएपछि नेपाल ल क्याम्पसमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरेको शर्मा बताउँछन् । नवीन शर्मालाई लामो समय व्यवसाय गर्छु भन्ने पनि लागेको थिएन । तर बिस्तारै यसले व्यावसायिक आकार लियो । नेमलाई संस्थागत बनाउँदै लगे । ब्रिजकोर्स पढ्नेमध्ये सबैभन्दा धेरै विद्यार्थी नेममा जान थाले । ५ वर्ष पार गर्दा नेम नेपालकै टप लेभलको ब्रिजकोर्स पढाई हुने इन्स्टिच्युटको रुपमा स्थापित हुन पुग्यो । ०५२ सालमा सञ्चालनमा आएको नेमले ०६२ सालमा काठमाडौं पुतलीसडकमा ३७ आना जग्गा किन्यो । त्यसपछि नेमको व्यावसायिक गतिले रफ्तार लियो । त्यही जग्गा धितो राखेर भवन बनाउन शर्माले नबिल बैङ्कबाट ऋण लिए । ‘जग्गाको मूल्यभन्दा अलि बढी नै कर्जा पाए, त्यसपछि मलाई भवन बनाउनेदेखि व्यवसाय सञ्चालन गर्न सजिलो भयो’ उनले खुलस्त बताए । नेम इन्स्टिच्युटभित्र ३/४ वटा कार्यक्रम सञ्चालन भएका छन् । जसको नेतृत्व शर्माको पारिवारिक टिमले नै गर्दै आएको छ । ‘नेमले मेडिकल इन्ट्रान्स र नर्सिङ इन्ट्रान्सको कक्षा सञ्चालन गर्छ, सेडेपले लोकसेवा र बैंकिङ क्षेत्रको विषयमा कक्षा सञ्चालन गर्छ र नर्सिङ प्लसले नर्सिङको लोकसेवा कक्षा सञ्चालन गर्छ,’ शर्माले भने । आम्दानीको विस्तारसँगै शर्माले लगानीको क्षेत्र पनि विस्तार गर्दै लगेका छन् । जसमध्ये उनले बानेश्वरमा रहेको ह्वाइट हाउस इन्टरनेशनल कलेजको ७० प्रतिशत सेयर लिएका छन् । त्यस्तै गत सालदेखि अर्वाना स्कुल अफ साइन्स नामको प्लस टु कलेज स्थापना गरेका छन् । नेम अगाडिको जग्गा किनेर उनले बहुउद्देश्य भवन बनाउने तयारी थालेका छन् । साथै, शर्माले वीरगञ्जमा चिनियाँ लगानीकर्तासँग मिलेर स्लटर हाउस पनि सञ्चालन गरेका छन् । इन्स्टिच्युट व्यवसायको प्रकृति भनेको मौसमी हुने शर्माको भनाइ छ । मौसमी र दैनिक आंशिक समय मात्रै कक्षा सञ्चालन हुने भए पनि भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नुपर्ने भएकाले सोही पूर्वाधारमा प्लस टु सञ्चालन गर्ने गरी अगाडि बढेको उनी बताउँछन् । ‘बैशाखदेखि ४ महिना बिहानदेखि साँझसम्म सञ्चालन हुन्छ, त्यसपछि भने बिहान चल्छ, दिउँसो खाली हुन्छ’, उनले भने । त्यसैले खाली भएको समयलाई लक्षित गरेर प्लस टु सञ्चालनमा जोड दिएका छन् । आफूलाई व्यवसायको विषयमा छिटो निर्णयकर्ताको रुपमा शर्मा परिचय गराउँछन् । ‘म प्रचण्ड जस्तै हो, राती दिमागमा आयो भने बिहान काम गरिसक्छु’, उनले भने । पछिल्लो समयसम्म आउँदा व्यवसायको कारोबार र नाफा राम्रो भएको र त्यसकै आधारमा नयाँ लगानीको क्षेत्रमा लगानी गरिएको उनले बताए । शर्मा इन्स्टिच्युटमा प्रायः बिहान साढे ५ बजे नै आउने गर्छन् । सरसफाइ गर्ने कर्मचारी आउन केही ढिला हुने हुँदा उनी आँफैले सामान्य सरसफाइको काम गर्छन् । ‘कामदार साढे ६ बजे आउँछन्, उनीहरुलाई पर्खेर त भएन, साढे ५ बजे नै आएर एउटा हातमा कुचो र एउटा हातमा पोछा लिएर तुफान गतिमा सफा गर्ने काम गर्छु,’ उनी भन्छन् । ‘निरन्तर मिहिनेत गर्दा सफल हुन सकिन्छ, व्यवसायले तुरुन्त नाफा दिँदैन’, उनले भने, ‘एउटा जागिर खाने मान्छेले भन्दा व्यवसाय गर्ने मान्छेले बढी दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्ने मान्छे आफ्नो व्यावसायिक स्थलमा अरुभन्दा अगाडि आउनुपर्ने र अरुभन्दा पछाडि घर फर्कनु पर्ने बताउँछन् । उनका अनुसार अमेरिका लगायत अन्य विकसित देशमा पनि सो अभ्यास हुन्छ । नेपालमा कुनै व्यवसायको क्षेत्रमा लामो समयसम्म प्रतिस्पर्धी नभएको र व्यवसाय गर्न सजिलो पनि भएको शर्माको अनुभव छ । नेम जस्तै गर्छु भनेर धेरै संस्था आए । नेपाली र विदेशी धेरैले लगानी पनि गरे । ठूला लगानीकर्ताहरुले पनि राम्रो गर्न सकेनन् । पछिल्लो २० वर्षमा नेमसँग प्रतिस्पर्धा गर्ने गरी कोही पनि बजारमा नआएको उनी बताउँछन् । ‘धेरै पैसा लगानी गरेर मात्रै इन्स्टिच्युट सञ्चालन गर्न सकिन्न, यो क्षेत्रको विषयमा ज्ञान र काम गर्ने इच्छा हुनुपर्छ’ उनले भने– ‘पहिलो, विद्यार्थीलाई चाहिने राम्रो शिक्षक हो, दोस्रो, राम्रो शिक्षकले पनि नचाहिँदो विषय पढाउने चलन छ, त्यसलाई करेक्सन गर्न आँफैले जान्नुपर्छ, त्यसैले विषयकै ज्ञान हुनुपर्छ ।’ पाकिस्तानमा करोड डुब्यो सन् १९९९ मा शर्माले पाकिस्तानमा मेडिकल कलेज सञ्चालन गर्न लगानी गरे तर त्यो डुव्यो । ‘पाकिस्तानको एउटा कलेजमा लगानी गरेँ, पछि रिकग्नाइज भएन, मैले गल्ती गरेँ, १ करोड पैसा डुव्यो, त्यो त्यतिबेलाको ५/७ वर्षको आम्दानी थियो,’ उनले भने । नेपालमा निजी क्षेत्रका मेडिकल कलेज नभएको अवस्थामा नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न जाने कलेज बनाउने उनको सोच रहेछ । ‘त्यतिबेला नेपालमा विद्यार्थीले डाक्टर पढ्नको लागि मेडिकल कलेजमा भर्ना पाउँदैन थिए, पाकिस्तानमा प्राइभेट मेडिकल कलेजमा लगानी गर्यो भने राम्रो हुन्छ भन्ने सल्लाह आयो विश्वास गरेर ५०/५० लाख गरेर दुई पटक पैसा लगानी गरेँ, तर सबै स्वाहा भयो,’ उनले भने– ‘पछि कानुनी प्रक्रियामा पनि गएँ, त्यसमा पनि थप खर्च भयो तर पाकिस्तानको अदालतमा मुद्दा नै हारियो’ उनले ठूलो असफलतासहितको कथा सुनाए । नेपालको कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएकोले उनले नेपालको अदालतमा न्याय खोज्न पनि सकेनन् । त्यस्तै, शर्माले फिल्म क्षेत्रमा पनि लगानी गरेर डुबाए । सन् २००० अगाडि उनले आफ्नो साथीमार्फत ‘के भो लौ न नि’ फिल्ममा लगानी गरेका थिए । सो फिल्मले ३५ लाख घाटा खाएको र १७ लाख रुपैयाँ आफ्नो डुबेको उनले सुनाए । ‘धेरै क्षेत्रमा हात हालेर हुँदैन, धेरै कम्पनी खोल्ने व्यवसायीले पनि १/२ वटा कम्पनीबाट राम्रो कमाएका हुन्छन्, बाँकी कम्पनी नोक्सानमा हुन्छन्’ उनले केही कर्पोरेट हाउसहरुको उदाहरण पनि प्रस्तुत गरे । अमेरिकामा ट्याक्सी ड्राइभर व्यवसायले धेरै ठूलो आकार लिइसकेपछि पनि शर्माभित्र एमडी गर्ने इच्छा मरेको छैन । आफ्ना सहपाठीहरुले सोही विधाका विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेको कुराले उनलाई चुक–चुक बनाइरहेको छ । पैसा वा व्यवसायको आकारले मात्रै सन्तुष्टी नदिने धारणा सुनाउँछन् शर्मा । ‘ओभरल कारोबारको परिणाम हेर्नुहुन्छ भने त धेरै छ, तर यसमा मेन्टल सेटिस्फ्याक्सन हुँदैन्, २५ वर्षदेखि नै कहिले विद्यार्थी क्लासमा आएन भन्ने हुन्छ, कहिले शिक्षक,’ उनले भने, ‘मेरो यो पेसा नै होइन भन्ने लाग्छ ।’ शर्माको पारिवारिक बसोवास अमेरिकामा पनि छ । उनी अमेरिका जाँदा आवश्यक खर्चको लागि डलर साटेर लैजाने विषय आफ्नो मनले नमान्ने बताउँछन् । पछिल्लो समय ३ महिनाको लागि शर्मा अमेरिका गएका थिए । सो क्रममा उनले आफ्नो जाने आउने र आवश्यक खर्चको लागि वासिङटन डीसीमा ट्याक्सी चलाएको बताउँछन् । ‘मैले ३ महिनासम्म बिहान साँझ ट्याक्सी चलाएँ, दैनिक ३ सय डलरसम्म आम्दानी गर्थें,’ उनले भने, ‘दिनको २/३ सय डलर कमाउँथे, त्यहाँ दिनको २/३ सय डलर कमाउँदा जुन आराम छ यहाँ वर्षको ५/७ करोड कमाउँदा पनि त्यो आराम छैन ।’ अमेरिकामा कामको सम्मान गर्ने वातावरण भएको र नेपालमा नभएको उनको अनुभव छ । ठूलो व्यवसाय गर्दैमा गुणस्तरीय जीवन नहुने उनको भनाइ छ । मान्छेलाई पोजिसनको आधारमा सम्मान गर्नेभन्दा पनि उसको योगदानको आधारमा सम्मान गर्नुपर्ने धारणा शर्माको छ । उनी भन्छन्, ‘देश विकास भनेको सबै मान्छेको भ्यालु हो ।’ सबै मान्छेलाई भ्यालु दियो भने मात्रै काम गर्ने वातावरण हुने उनी बताउँछन् । ‘अमेरिकामा जुनसुकै स्तरको काम गर्ने मान्छेलाई बराबर सम्मान गरिन्छ ।’ नेपालमा विकास भनेको सरकारले गर्छ भन्ने भ्रम परेको तर त्यसो नभएको उनको भनाइ छ । नेपालको विकासमा धेरै योगदान उद्यम गर्ने र राज्यलाई धेरै कर बुझाउनेहरुको भएको उनी बताउँछन् । करदाताहरुले कर बुझाएकै कारणले राज्यले जनतालाई विभिन्न विषयमा सुविधा दिन सकेको बताउँदै शर्माले कर बुझाउनेले त्योभन्दा अगाडि उत्पादन र रोजगारीको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउँछन् । जुन मान्छेले जुन क्षेत्रमा काम गरिरहेको छ, सोही क्षेत्रलाई सफल बनाउने कोशिस गर्दा नै देशको विकास हुने उनको तर्क छ ।  (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो तीन बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुने छ । मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नु पर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिहरुको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ । आन्दोलनमा समान, नेपाल नामक गैरसरकारी संस्थाले साथ दिएको छ । आन्दोलनमा महिलालाई अगाडि सारिएको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण आईई तथा पूरक आईआईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्रष्ट पारेको छ । र, सोही अनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकोले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले बताएको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० के।भी। प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ के।भी। सवस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक एडिबीको ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो । पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै बिरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन । लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेको कारणले ठेक्का सम्झौताको म्याद १५ पुस २०८० ९३१ डिसेम्बर २०२३० सम्म कायम गरिएको छ । स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने बताएको छ ।

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ । नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । यसबाट मोदीका आठवटै वडाका नागरिक लाभान्वित हुने छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा हुने दुर्घटनाका घाइतेलाई पनि तत्काल उद्धार गर्न मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन् । यसअघि जलजला गाउँपालिकाले पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

मकवानपुर स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएको छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीलाई एमालेका २२, नेकपा ९माओवादी केन्द्र०का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् । हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए ।

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो । मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसङ्घले उल्लेख गरेको छ । ‘परिसङ्घले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्ने जोड दिँदै आएको छ, उक्त निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसङ्घले विश्वास लिएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने परिसङ्घले जनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसङ्घले आग्रहसमेत गरेको छ ।