विकासन्युज

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

काठमाडौं । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिए । ‘प्रेमकथालाई दर्शकले रूचाए । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ’, उनले भने । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहेका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । ‘मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ’, उनले भने । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गरेका छन् । चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।

लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने, टावरको सिभिल काम सम्पन्न

काठमाडाैं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताएका छन् । ‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने । उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए । त्यस्तै टप स्टेशनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ, उनले भने । साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरु भएको थियो ।

‘५ वर्षभित्र एनआइसी एशिया १० खर्बको बैंक बन्छ, लाभांशमा टप वान हुन्छ’

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा राखेका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् । उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताएका छन् । ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ । तर, अघिल्लो वर्ष र गत वर्षको नाफाबाट सेयरधनीले लाभांश नपाएपनि उनीहरुको सम्पत्तिमा भने क्षयीकरण नभएको धारणा राखे । यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए । ‘बैंकिङ क्षेत्रकै धेरै लाभांश दिने क्षमता एनआइसी एशिया बैंकसँग छ, सेयरधनिले तत्काल लाभांश नपाएपनि लगानीकर्ताको सम्पत्तिमा कुनै क्षयिकरण हुँदैन, यो दुई वर्ष लाभांश पाउन नसके पनि विगत ५ वर्षमा बैंकका सेयरधनीले धेरै लाभ लिएका छन्,’ उनले कार्यक्रममा भने ।

दुई दिन सार्वजनिक विदा

काठमाडौं । दुई दिन लगातार सार्वजनिक विदा हुने भएको छ । पुस ३० र माघ १ गते लगातार सार्वजनिक विदा हुने भएको हो । पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दई दिन लगातार सार्वजनिक विदा हुने भएको हो । माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

काठमाडौं । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् ।

सरकारमा जाने राप्रपाको निर्णय, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ । यीबाहेक राप्रपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने भएको छ । अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन ।

सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आज नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन मिलेर लाग्न भनेका छन् । उनले कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए। सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए। उनले भने, ‘कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ ।’ उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको र पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ । उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन्।

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।