सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्नुको साथै ऋण पनि लिन सकिने
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले माेबाइल एपबाटै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । बैंकले भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको हाे । एपबाट ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसर फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार र अधिकतम रकम ५० लाख रुपैयाँसम्म सेट गरिएकाे छ । त्यसैगरी, एपबाट ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म ऋणको लागि अनुरोध पनि गर्न सक्नेछन् । यसका साथै बैंकले बैंकको कर्पोरेट कार्यालयमा रहेको केआओएसके सेल्फ-सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
काठमाडौं । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्। बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ। कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ। गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ। ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताइन्। सधन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ। ‘कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन। भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ। त्यस्ता आमाहरुको दूध अमृत कोषमा राख्ने गर्दछौँ’, डा उपाध्यायले भनिन्, ‘जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन्। त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ।’ शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन्। अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन्। बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ। भनिन्छ आमो दूध नै बच्चाको पहिलो खोप हो। छ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन। तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन्। अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताए। ‘नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर एक हजार जनामा २१ जना रहेको छ’, उनले भने, ‘बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराउँदै आएको छ। अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ।’ कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउन गरिएको थियो। उनले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताउँछन्। उनले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताए। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ। सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ। समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेको बच्चा, आमाको दूध राम्रोसँग दूध तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध खुवाउने गरिन्छ। दैनिक दुई हजार ५०० सम्म सङ्कलन मिल्क बैंकमा पहिले दैनिक तीन सय ५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार ५०० मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ। दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार ५०० मिलिलिटरसम्म दूध बैंकमा जम्मा हुने गरेको प्रमुख कल्यसन्ट्यान्ट डा अधिकारीले बताउँछन्। उनका अनुसार एक आमाले एक दिनमा दुई पटकसम्म बैकमा दूध जम्मा गर्ने गर्दछिन्। अस्पतालमा भर्ना भएकी अम्बिका बस्नेतले अहिलेसम्म सबैभन्दा बढी एकै चोटी दिनमा दुईपटक गरी एक सय ७० एमएल र एक सय ८० एमएल दिएको अस्पतालसँग तथ्याङ्क रहेको छ। एक बच्चालाई एक दिनमा न्यूनतम् ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ। दुई/दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ। बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ। औसतमा दैनिक सात/आठ जना बच्चाका आमाले दूध मिल्क बैंकमा राख्ने गर्दछन्। उनका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका समयमा नै नजन्मिएका, अशक्त बच्चा, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताउछन्। ‘हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ’, उनले भने, ‘अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन। सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ।’ दूधलाई गरिन्छ निर्मलीकरण सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइने गरिन्छ। निर्मलीकरण गरिसकेपछि दूधलाई छ महिनासम्म खुवाउन मिल्ने डा उपाध्याय बताउँछिन्। निर्मलीकरण गरिएको दूध माइनस २० डिग्री सेल्सियसमा राखिएकाले छ महिनासम्म बिग्रँदैन। निर्मलीकरण भनेको दूधमा रहेको पौष्टिक तत्वलाई नबिग्रने गरी अरु किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो। बैंकमा जम्मा भएको दूधलाई ६२ डिग्री सेल्सियसमा तताइन्छ र उक्त तातेको दूधलाई चार डिग्रिसेल्सिएसमा झारेर निर्मलीकरण गरिन्छ। निर्मलीकरण गरेपछि दूधमा रहेको किटाणु मरेर जान्छ र दूध खानयोग्य हुन्छ। निर्मलीकरण गरेपछि दूधमा किटाणु छ कि छैन भनेर परीक्षण गरिन्छ र किटाणु नभए बच्चालाई दूध खान दिइन्छ। अझै अपुग दूध बैंकमा पर्याप्तमात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ। दैनिक चार हजार मिलिलिटर आवश्यक रहेको बैंकमा अहिले दुई हजार ५०० मिलिलिटर मात्र दूध सङ्कलन हुने गरेको छ। यसरी सङ्कलन गरिन्छ बच्चालाई आमाले दूध खुवाएपछि बचेको दूध बैंकमा दान गर्न स्वास्थ्यकर्मीले परामर्श गर्नुहुन्छ। अस्पतालको प्रमुख कन्सल्यन्ट्यान्ट डा अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक श्ययामा गई शिशुका आमालाई बैंकमा दूध दान गर्न परामर्श गर्ने गरेको बताए। ‘तपाईंको बच्चाले दूध खाइसक्यो अब बाँकी भएको दूध त्यो अरु दूध नआउने आमाको बच्चालाई खुवाउनु पर्दछ भन्ने सिकाउँछौँ। बच्चाको आमा दूध दान दिन तयार भएपछि मात्र भने दूध सङ्कलन गरिन्छ’, उनले भने। रासस
शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै
काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार/पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उनले भने, ‘तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्को आइपुग्छ भन्नेछ ।’ अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ । अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताए । उनले भने, ‘अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिएमा बढी कार्ड किन्न सकिन्छ ।’ हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्को एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ । दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्नसक्ने उनले बताए । अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ । विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ । वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उनले बताए । उनले भने, ‘बढी हुँदा खेर जाँदैन, तर नेपालको खरिद प्रक्रिया लामो हुनेहुँदा किन्दा धेरै गर्नसके हुन्थ्यो भन्ने छ ।’ विगत वर्षहरुमा उपकरणको क्षमता कमीले मात्रै होइन कार्डको अभावका कारण समेत अनुमतिपत्र छपाइ सुस्त रहेको थियो । केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलोरुपमा अनुमतिपत्र पाइरहेका छैनन् ।
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित
काठमाडौं । नबिल बैंकको लाभांश पारित भएको छ । बैंककाे ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रस्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिले गत आ।व। २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब नाघेको छ । साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आ.व. २०७८/७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूमार्फत सेवा दिइरहेको छ ।
आयात निर्यात दुवै घट्यो, ६७ अर्ब निर्यात हुँदा आयात साढे ६ खर्ब
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा १०५.६ प्रतिशत निर्यात वृद्धि भएको थियो । सबैभन्दा धेरै निर्यात भारत र चीनतर्फ भएको छ । भारतमा ४३.७ प्रतिशत र चिनमा ३५.९ प्रतिशत निर्यात घटेको छ । अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९÷८० को ५ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशत कमी आई ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोड रुपैयाँ बराबरको भएको थियो ।
मूल्यवृद्धि साढे सात प्रतिशत नजिक
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ । यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुरा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ । मङ्सिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ । त्यस्तै घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव १५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २२ प्रतिशत रहेको थियो ।
विदेशी मुद्रा सञ्चिती ६.३ प्रतिशत बढेर १२९२ अर्ब ५६ करोड पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा संचिती बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारसम्म ९ अर्ब ५४ करोड रहेकोमा मंसिरसम्म ३.० प्रतिशत वृद्धि भई ९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मुद्राको ७.८ प्रतिशत वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थासँग असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म ३.८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।