हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गरेका छन् । नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी पुस्तामा नजाने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले पुस्तान्तरणका लागि सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताएका हुन् । नेपाल हस्तकला महासङ्घको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने उल्लेख गरे । प्रधानमन्त्रीले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई थप विस्तार गर्दै आर्थिक विकासका लागि सहजीकरण गरिने बताए । ‘हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’, प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने व्यापार घाटा कम गर्दै नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।’ प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु ।’ ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा म प्रतिबद्ध छु । यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’, प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ ।’ उनले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पारे । इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने बताए । हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए । उनले भने, ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ । यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगका विषय राख्ने माग सकारात्मक छ, म पहल गर्छु ।’ साधारणसभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवद्र्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तु निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।
नुवाकोटका सबै क्रसर अवैध, २२ उद्योगमा लाग्यो ताला
त्रिशूली । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ मा ताला लगाएको छ । ‘अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला (सिल गरिएको) लगाइएको छ’, प्रजिअ रिसालले भने, ‘उद्योग सञ्चालनका लागी तोकिएका मापदण्डको प्रशस्त उल्लङ्घन भएको पाइएपछि सिधै सिल गरिएको हो । कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।’ अनुगमनका क्रममा यसअघि निर्बाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ । अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिए । ‘दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरु समेत सञ्चालनमा देखियो’, उनले भने, ‘र्ता गरिएको छैन, निर्माण सामग्री अवैध रुपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ ।’ नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो । रासस
पाँच महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स
काठमाडौं । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशि रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ । नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।
भायानेट कम्युनिकेसनद्वारा डिआरएस गेमिङ सम्मानित
काठमाडाैं । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनले सम्मान गरेकाे छ । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरे । भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताइन् । उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए। भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर र प्रायोजक हो ।
महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्
रामपुर । सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् । सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छिन् पाल्पाको रामपुरकी २७ वर्षीया मैना श्रेष्ठ । उनले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गर्दै आएकी छन् । पुरुष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणीय महिला चालकका रुपमा कहलिएकी छन् उनी । उनले रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउँछिन् । ‘महिला भएपनि अवसर पायो भने पुरुष सरह नै काम गर्न सकिन्छ’, उनी थप्छिन्, ‘गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नु पर्दैन ।’ नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उनी यात्रु ओसार्ने गर्छिन् । दुई महिनाअघि १२ लाखमा यात्रुवाहक भ्यान किनेर व्यावसायिक रुपमा यात्रु ओसारपसारमा अहिले उनको दैनिक बित्ने गरेको छ । रामपुरको बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उनी यात्रुलाई लैजाने ल्याउने गछिन् । उनी बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रुपमा निस्कन्छिन् । एकै पटकमा सवारी चालकको अनुमतिपत्र प्राप्त गरेपछि व्यावसायिक रुपमा गाडी चलाउन उनको हिम्मत बढ्यो । ‘लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाए, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रुपमा यसमा लागेको छु’, उनले भनिन् । मासिक रुपमा उनले सरदरमा १५ हजार बराबरको कमाई गर्छिन् । छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उनी नियमित ड्युटीमा निस्कन्छिन् । बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उनी भेटिन्छिन् । उनी भन्छिन्, ‘सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुपर्यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन ।’ महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको उनको गुनासो छ । गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाइन् । रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिइन् । महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उनको इच्छा छ । एउटा निश्चित रुट भइदिएमा सवारी साधन चलाउन सहज हुने उनी बताउँछिन् । घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताइन् । सुरुको समय भएकाले केही पुरुष चालकले राम्रो व्यावहार गर्ने गरेपनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उनले बताइन् । समाजमा महिलाले नगरेको पुरुषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उनको भनाइ छ । श्रीमान् वैदेशिक रोजगारमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नु परेको उनले सुनाइन् । सिलाइकटाइको काममा समेत राम्रो अनुभव बटुलेकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताउँछिन् । दैनिक व्यवसायमा खटिनुपर्ने भएपनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उनको भनाइ छ । महिला भएर पनि समाजका लागि पुरुषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रुपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताइन् । उनले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैँ पछाडि पर्नु नपर्ने उनको भनाइ छ । रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन् । नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन् । रासस
टोखाबाट वार्षिक ४ करोडको चाकु बिक्री
काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताउनुहुन्छ । टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ । परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ टोखाका सञ्चालित उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्छन् । उनका अनुसार टोखाको एक उद्योगले वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्छ । टोखाका १४ उद्योगले वार्षिक ३० लाखका दरले झण्डै रु चार करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको छ । टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने घोषणा गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठक टोखाको पहिचान चाकुले दिएकाले यसको ब्राण्डिङका लागि नगरपालिकाले विशेष योजना अगाडि सारेको बताउँछन् । ‘टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ’, उनी भन्छन् । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो १ सय ३० देखि एक सय ३५ रुपैयाँसम्म बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरा समेत खाने प्रचलन रहेको छ ।
१२ वर्षमा ३० किलोमिटर सडक कालोपत्र
फाइल फोटो दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अल्झिँदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको छैन । राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रूख कटानी समयमै हुन नसक्दा सन्तोषजनकरूपमा काम हुन नसकेको हो । विसं २०६६ देखि सुरु भएको करिडोर १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमा कालोपत्र मात्रै भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण गरिनेमा तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनले लोकमार्गको कञ्चनपुर, डडेल्धुरा र बैतडीमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए । ‘आयोजनाको शून्य विन्दु (ब्रह्मदेव क्षेत्र) बाट काम सञ्चालन हुनसकेको छैन’, प्रमुख जोशीले भने, ‘शून्यविन्दुको ११ किलोमिटर सडक वन क्षेत्रमा पर्छ त्यो क्षेत्रमा रूख कटानी आदेश नआउँदा ढिलाइ भएको हो ।’ ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न दिवा–शनिदेव जेभीसँग गत वर्ष असारमा पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि रूख कटानको आदेश नहुँदा काम अघि बढ्न सकेन । लोकमार्गअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ । उक्त आयोजनाको ०८०/८१ भित्र ट्र्याक खोलिसक्नुपर्ने लक्ष्य रहे पनि हालसम्म कामको सुरुआत भएको छैन । डडेल्धुरामा भने ११ किलोमिटरदेखि ६७ किलोमिटर सडकमा पर्ने रूख छपानको काम भइरहेको आयोजना प्रमुख जोशीले बताए । उनका अनुसार लोकमार्गअन्तर्गत बाँकी दार्चुला र बैतडीमा पनि वन क्षेत्रमा ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म डडेल्धुरामा २२ किलोमिटर, बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर ट्र्याक खुलिसकेको उक्त आयोजनाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजना मानिए पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माणको कामले गति लिन सकेको छैन । आयोजनाका लागि गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजन भएको र चालू आवमा ४० करोड मात्रै बजेट रहेकाले बजेट पर्याप्त नहुँदा पनि काममा समस्या भइरहेको आयोजना प्रमुख जोशीले बताए । ‘अब काम गर्दा हामीलाई बजेट अभाव हुने देखिएको छ थप भुक्तानीका लागि बजेट माग गरेका छौँ’, उनले भने, ‘प्रक्रियागत र बजेट पर्याप्त नहुनु पनि आयोजना ढिलाइको कारण हो ।’ त्यसैगरी नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसार पानीदेखि तिङ्कर भञ्ज्याङसम्म ७९ किलोमिटर सडकमध्ये हालसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ । महाकाली लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने विश्वास गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले चीनको सिमाना तिङ्करसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली करिडोरलाई विकास गर्नुपर्नेमा जोड दिए । ‘महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुन्छ’, उनले भने, ‘सरकारले करिडोरलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष मल्लले अहिलेकै गतिमा निर्माण भए योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने भएकाले छिटो सम्पन्न गर्न सरकार तदारुकताका साथ लाग्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले महाकाली लोकमार्ग बने तेस्रो मुलकुसँगको व्यापारको ढोका खुल्ने अपेक्षा गरे । ‘व्यापारिक मात्रै नभएर नेपालमा धार्मिक पर्यटनको सम्भावना तथा विकासका लागि समेत यो लोकमार्ग बन्नु जरुरी छ’, उनले भने, ‘सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याउनुपर्छ ।’ रासस
थारू बस्तीमा सुरु भयो माघीको रौनक
राँझा । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । ‘माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन्’, जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तकुमार थारूले भने, ‘माघी थारू समुदायको विशेष पर्व हो, माघीकै अवसर पारेर गाउँघरमा थारू संस्कृतिको जगेर्ना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् ।’ माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ । थारूहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद चौधरी भन्छन्, ‘यतिबेला थारू बस्तीका चोकचोकमा युवाहरुको जमघट बढेको छ, बाहिरबाट कमाएर आएकाहरु आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन्, थारू बस्तीका घरघरमा माघी धुमधामले मनाइँदैछ ।’ उनका अनुसार माघे सङ्क्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतिलो उदाहरण रहेको बाँके राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताए । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने उनको भनाइ छ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित भुवरभवानी मन्दिर र बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारामा परम्परागत माघी मेला लाग्ने गर्दछ । माघी नजिकिँदै गर्दा मेलाको पनि तयारी भइरहेको बर्दिया ठाकुरद्वाराका थारू अगुवा मोहन थारूले बताए । रासस