विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ । बैंकले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो । नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैंकले जनाएको छ ।
२० लाख धरौटीमा थुनामुक्त भए सन्दीप लामिछाने
काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो । गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ७.६० प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट बोनश सेयर २.४० प्रतिशत र नगद लाभांश ५.२० प्रतिशत प्रदान गर्नेछ । बोनस सेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्ने छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८/७९ को वार्षिक प्रतिवेदनहरु पारित गरेको छ । साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।
प्रिमियर इन्स्योरेन्सको मर्जर प्रस्तावसँगै १५ प्रतिशत लाभांश पनि पारित
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ । यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।
अर्थतन्त्रका सूचक सकारात्मक
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशि रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ । नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । विदेशी मुद्रा सञ्चिती बढ्यो चालू आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारसम्म ९ अर्ब ५४ करोड रहेकोमा मंसिरसम्म ३.० प्रतिशत वृद्धि भई ९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मुद्राको ७.८ प्रतिशत वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थासँग असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म ३.८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आयात घट्यो विदेशी मुद्राममा संकुचन आउने अर्को महत्वपूर्ण सूचक आयात हो । चालू आर्थिक वर्षको ५ महिनामा आायत घटेको छ । आर्थिक वर्ष २०७९÷८० को ५ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशत कमी आई ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा १०५.६ प्रतिशत निर्यात वृद्धि भएको थियो । सबैभन्दा धेरै निर्यात भारत र चीनतर्फ भएको छ । भारतमा ४३.७ प्रतिशत र चिनमा ३५.९ प्रतिशत निर्यात घटेको छ । अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो । शोधनान्तर स्थिति बचतमा चालू आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । चालू आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
साझा यातायातले थप ३७ विद्युतीय बस सञ्चालन गर्ने
काठमाडौं । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौं आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ । छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए । उनले भने, ‘परीक्षण सकाएर दर्ता गर्न अब केही समय लाग्नसक्छ ।’ बस सञ्चालनका लागि बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए । साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरुमा सरकारले तोकेबमोजिम भाडादर रहेको छ । अहिले आएका सबै सहरी बस सिटी बस रहेको र यी काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए । उनले भने, ‘पहिले परीक्षणका लागि ल्याइएकामा अहिले थप ल्याइएको हो ।’ यी बसहरुमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ, बस एकपटक पूरै चार्ज गर्दा दुई सय किलोमिटर चल्नेछन् । अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो लो–फ्लोर रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका साझाका तीन विद्युतीय बस सञ्चालनका हिसाबले ठीक नै रहेको पाण्डेयले बताए । उनले भने, ‘यसबारे अन्तिम रिपोर्ट निकालेको नभए पनि अरू समस्या देखिएको छैन ।’ ती बसहरु हाल दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे हुँदै जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल हुँदै त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् । विद्युतीय बस पेट्रोलियम बसका तुलनामा होचो हुने भएकाले खाल्डाखुल्डी भएको सडकमा गाह्रो हुने हुँदा कालोपत्र सडकमा गुडाइने उनले बताए । सञ्चालनमा रहेका बसजस्तै नयाँ आउने बस खाल्डा नभएको सडकमा गुडाइने उनले बताए । विगतदेखि नै स्थानीय तहसँगको समन्वयमा बस खरिद र सञ्चालन गर्दै आएको भए पनि तत्कालका लागि आएका बस सञ्चालन गर्नेलाई नै प्राथमिकता दिएको पाण्डेयले बताए । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा आगामी दिनमा अघि बढाइने उनले बताए । सङ्घीय सरकारसँगको समन्वयमा थप बस खरिद गर्नुपर्नेमा बाँकीका लागि प्रक्रिया अघि बढाइने उनले बताए । काठमाडौ आइपुगेका बसका बारेमा विश्लेषण गरेर अर्को चरणमा ४०/५० वटा आउनसक्ने उनले जानकारी दिए । उनले भने, ‘दोस्रो चरणमा बस किन्न यो वर्ष प्रक्रिया अघि बढ्नसक्छ ।’ हाल सञ्चालनमा रहेका बसका लागि साझाको एउटा र नेपाल विद्युत् प्राधिकरणको एउटा गरी दुई चार्जिङ स्टेसन रहेका छन् । अबका थप दुई/तीनवटा जडान हुने गरी प्राधिकरणसँग छलफल भइरहेको पाण्डेयले बताए । उनले भने, ‘प्राधिकरणको चार्जिङ स्टेसन साझा यातायातलाई लक्षित गरेर चाँडो बनाइनेछ ।’ सरकारले साढे तीन वर्षपहिले तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद गरिएको थियो । बस चीनको सिएचटिसी किनिवङ नानजिन अटो मोबाइल कम्पनी लिमिटेडले तयार गरेको हो । पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूभन्दा कम रहेको छ । बसमा थकाइ भाइब्रेसन पनि कम रहन्छ । हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार पाँच सय ५३ प्रदान गर्नेछ । साझा यातायातले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ मिलेको र कम मूल्य कबोल गरेको सिएचटिसी किनिवङ नानजिन अटो मोबाइल कम्पनी लिमिटेडको प्रस्ताव स्वीकृत गरिएको हो । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयातीत खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ । सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझा यातायातलाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ फरक भएको भन्दै रकम फिर्ता गरेको १६ महिनापछि पुनः संस्थालाई नै जिम्मेवारी दिएको थियो । साझासँग हाल डिजेलबाट चल्ने ७१ बस रहेकामा चार उपत्यकाबाहिर र बाँकी उपत्यकामा सञ्चालनमा रहेका छन् । उपत्यकामा निजी कम्पनीहरुले समेत विद्युतीय बस सञ्चालन गरिरहेका छन् ।
रमेश कर्पका सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट बीजनेस लिडर्स’ अवार्डबाट सम्मानित
काठमाडौं । रमेश कर्पोरेशनका प्रबन्ध निर्देशक सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । सीईओ इनसाइट एशियाले अग्रवाललाई उक्त अवार्डबाट सम्मान गरेकाे हाे । यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ । उनी मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष रहेका छन् । उनले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
सांग्रिला डेपलभमेन्ट बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।सांग्रिला डेपलभमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित रिकभरी अफिसर पद अन्तर्गत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै, प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत माघ १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।