पाँच महिनामा झण्डै १ खर्बको धितोपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कूल १६ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
सेन्ट्रल फाईनान्सको ५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सेन्ट्रल फाईनान्स लाभांश पारित भएको छ । फाइनान्सको २६ औं वार्षिक साधारण सभाले सेयरधनीलाई प्रस्तावित लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो । यस्तै, सभाले संजोज मान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्या भूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त यस वित्तीय संस्थाले विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीको १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।
आगामी वर्ष उत्साहप्रद लाभांश, डिजिटल बैंकिङ्गमा ‘ट्रेण्ड सेटर’
एनआईसी एशिया बैंक अत्याधुनिक प्रविधिको साथ उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गरी बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान निर्माण गर्ने उच्चतम लक्ष्य हासिल गर्न सदैव क्रियाशिल छ । एनआईसी एशिया बैंक गत आर्थिक वर्ष २०७८/७९ मा कूल कर्जा रकम २६८.२३ अर्ब रुपैयाँ, कुल निक्षेप रकम २९४.९८ अर्ब रुपैयाँ, लगानी ५७.५५ अर्ब रुपैयाँ र कुल सम्पत्तिको आकार ३५८.५७ अर्ब रुपैयाँ पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंक कुल संचालन आम्दानी १३.८१ अर्ब रुपैयाँ, संचालन मुनाफा ५.९७ अर्ब रुपैयाँ र खुद मुनाफा ४.२१ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको थियो । गत वर्ष बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचीमा कायम रहन सफल भएको । आर्थिक वर्ष २०७८÷२०७९ असार मसान्तमा बैंकले कुल कर्जा २६८.२३ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थान र समग्र वाणिज्य बैंकहरुको औसत कर्जा १५६.५६ अर्ब रुपैयाँको तुलनामा कुल कर्जा ७१ प्रतिशतले बढी छ । कुल निक्षेप २९४.९८ अर्ब रुपैयाँ पुर्याई बैंक दोस्रो स्थान र समग्रमा औसत कुल निक्षेप १७० अर्ब रुपैयाँको तुलनामा ७४ प्रतिशतले बढी रहेको छ । स्वदेशी मुद्रा तर्फको ब्याज नपर्ने निक्षेप ३८.७३ अर्ब रुपैयाँ पुरयाई बैंक तेस्रो स्थानमा रहेको छ । समग्रमा १७.६ अर्ब रुपैयाँको तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप १२० प्रतिशतले बढी रहेको छ । स्वदेशी मुद्रा तर्फको बचत निक्षेप ७८.६५ अर्ब रुपैयाँ पुर्याई बैंक चौंथो स्थानमा रहेको छ । समग्रमा ४६.८१ अर्ब रुपैयाँको तुलनामा बैंकको बचत निक्षेप ६८ प्रतिशत बढी रहेको छ । स्वदेशी मुद्रा तर्फको सीएएसए निक्षेप ११७.३९ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थानमा रहेको छ । समग्रमा ६४.४१ अर्ब रुपैयाँको तुलनामा ८२ प्रतिशत बढी रहेको छ । स्वदेशी मुद्रा तर्फको मुद्दती निक्षेप १६२.३६ अर्ब रुपैयाँ पुर्याई बैंक दोस्रो स्थानमा रहेको छ । समग्रमा ८९.६३ अर्ब रुपैयाँको तुलनामा ८१ प्रतिशतले बढी रहेको छ । कुल ब्याज आम्दानी ३२.७७ अर्ब रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको छ । समग्रमा १६.४० अर्ब रुपैयाँको तुलनामा १०० प्रतिशत बढी रहेको छ । खुद ब्याज आम्दानी ११.२९ अर्ब रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको छ । समग्रमा ५.८७ अर्ब रुपैयाँको तुलनामा बैंकको ९२ प्रतिशत बढी रहेको छ । संचालन आम्दानी १३.८१ अर्ब पुर्याई बैंक पहिलो स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत संचालन आम्दानी ७.४४ अर्ब रुपैयाँको तुलनामा बैंकको सञ्चालन आम्दानी ८६ प्रतिशतले बढी रहेको छ । संचालन मुनाफा ५.९७ अर्ब रुपैयाँ पुर्याई बैंक पाँचौं स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत संचालन मुनाफा ४.०३ अर्ब रुपैयाँको तुलनामा बैंकको सञ्चालन मुनाफा ४८ प्रतिशतले बढी रहेको छ । खुद मुनाफा ४.२१ अर्ब रुपैयाँ पुर्याई बैंक चौंथो स्थानमा रहेको र समग्र वाणिज्य बैंकहरुको औसत खुद मुनाफा २.८२ अर्ब रुपैयाँको तुलनामा बैंकको खुद मुनाफा ४९ प्रतिशतले बढी रहेको छ । प्रतिसेयर आम्दानी ३६.४५ रुपैयाँ पुर्याई बैंक पहिलो स्थानमा रहेको र औसत प्रतिबैंक २१.२७ रुपैयाँभन्दा बैंकको प्रति सेयर आम्दानी ७१ प्रतिशतले बढी रहेको छ । रिटन अफ इक्विटी १८.४३ प्रतिशत सहित बैंक पहिलो स्थानमा रहेको र औसत प्रति बैंक १२.८६ प्रतिशत भन्दा बैंकको रिटर्न अफ इक्विटी ४३ प्रतिशतले बढी रहेको छ । अठोट २२-२७ को तर्जुमा बैंकले सन् २०१६ देखि सन् २०२० सम्मको लागि रणनीति २०२० तर्जुमा गरेको थियो । उक्त रणनीतिले लिएका अधिकांश व्यवसायिक लक्ष्यहरु २ वर्ष अघि अर्थात् सन् २०१८ मा नै हासिल गर्न सफल भएको थियो । तत्पश्चात् बैंकले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७८/७९ सम्मको लागि दोस्रो दीर्घकालिन रणनीति भिजन २०१८-२२ तर्जुमा गरेको छ । त्यसलाई पछ्याउँदै देशकै सबैभन्दा ठूलो व्यवसायिक आकार भएको बैंक बन्न सफल भएको छ । समीक्षा अवधिमा आर्थिक वर्ष २०७९/८० देखि आर्थिक २०८३/८४ सम्मको अवधिको लागि विभिन्न व्यवसायिक विधाहरुमा अर्को सुनौलो र ऐतिहासिक उचाई हासिल गर्ने दृढ लक्ष्यका साथ आगामी ५ वर्षको व्यवसायिक योजना अठोट ‘२२-२७’ तर्जुमा गरिएको छ । ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने मुल नाराका साथ अठोट ‘२२-२७’ तर्जुमा गरिएको र अठोट ‘२२-२७’ले लिएको लक्ष्य पछ्याउँदै जाँदा आगामी ५ आर्थिक वर्ष भित्रै अझ ग्राहकमैत्री, सफल र उत्कृष्ट बैंक बन्न सफल हुनेछ । रणनीतिक उपलब्धि बैंकको दीर्घकालिन व्यवसायिक सफलता प्राप्त गर्नको लागि आवश्यक आधारशीलाहरुको अभिवृद्धि गर्ने उद्धेश्यले बैंकले आर्थिक वर्ष २०७८/७९ लाई ‘इयर अफ इमेज, एक्सपेरियन्स, क्यापासिटी एण्ड डिजिटल ट्रान्सफर्मेसन’को रुपमा मनाउने निर्णय गरेको थियो । व्यवसायिक कारोबारलाई प्रभावकारी तवरले व्यवस्थापन गर्दै अझ विस्तार गर्नको लागि बैंक रुपान्तरणका चार स्तम्भहरु इमेज, एक्सपेरियन्स, क्यापासिटी र डिजिटल तय गरिएको छ । समीक्षा अवधिमा बैंकलाई पर्फमेन्स प्याराडाइजको रुपमा रुपान्तरण गर्नको लागि कर्मचारीहरुको रोबस्ट क्यापासिटी बिल्डीङमा केन्द्रित भई कामा गरेको थियो । दक्ष कर्मचारीहरुको समूहले नै ग्राहकवर्गको बैंकिङ्ग सन्तुष्टि अभिवृद्धि गर्दछ भन्नेमा विस्वास लिएको छ । साथै, डिजिटल प्रविधीमा आधारित विश्वस्तरीय बैंकिङ्ग सेवा सुविधाहरु उपयोग गर्ने ग्राहकवर्गको चाहना रहेको तथ्यलाई हृदयङ्गम गरी डिजिटल फर्स्ट बैंक बन्ने दिशा तर्फ ठोस रुपमा आफ्नो श्रोत र साधनलाई अभुतपुर्व दृष्टान्तका साथ परिचालित गरिएको छ । फलस्वरुप आर्थिक वर्ष २०७८/७९ मा ७.५ लाख ग्राहकहरु अनबोर्ड गरी कुल ग्राहक संख्या ३४.५४ लाख पुर्याउन सफल भएको छ । जुन देशका अन्य वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बर्तमान बैंकिङ्ग प्रतिस्पर्धामा बैंकलाई ट्रेण्ड सेटरको रुपमा स्थापित गर्नको लागि डिजिटल विजनेश र अप्रेसनलाई सबलिकरण र प्रबद्र्धन गर्न तथा बैंकले प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि गर्ने उपायहरु पहिचान गर्नको लागि बैंकले गत आर्थिक वर्षमा लाइफ स्टायल यूनिभर्स, डिजिटल ट्रान्सफर्मेसन यूनिभर्स, इन्फरमेसन टेक्नोलोजी यूनिभर्स तथा इन्फर्मेसन सेक्युरिटी यूनिभर्स गरी चारवटा यूनिभर्सको स्थापना गरेको छ । प्रविधिको प्रयोग अबको बैंकिङ्ग भनेको टेक्नोलोजीमा आधारित भई गरिने बैंकिङ्ग हो । अत्याधुनिक प्रविधिको उप्रडक्सन व्यापक रुपमा बढ्ने, कस्ट अफ अप्रेसन घटेर जाने र बैंकले लङ टर्ममा आफ्नो कर्जा ग्राहकहरुलाई कम व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन सक्ने क्षमता विकास हुँदै बैंकको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतामा समेत अभिवृद्धि हुन्छ । साथै, बैंकिङ्ग सेवाको सहजता, सरलता र गतिलाई आधुनिक प्रविधीको उपयोगले नै उच्चतम स्तरमा पुर्याउन सकिन्छ भन्नेमा बैंक स्पष्ट छ । सोहि अनुरुप डिजिटल फर्स्ट बैंक बन्ने उच्च अभिलाषा हासिल गर्नको लागि समीक्षा अवधिमा बैंकको संरचनालाई समेत व्यापक रुपमा नै परिमार्जन गरिएको थियो । बर्तमान बैंकिङ्ग सेवामा डिस्प्रटिभ इनोभसन गर्नको लागि अत्याधुनिक प्रविधिमा लगानी गर्न कुनै कसर बाँकी राखेको छैन । समीक्षा अवधिमा बैंकले प्रदान गर्ने वित्तीय सेवाहरुमा लेटेस्ट टेक्नोलोजी इक्विपमेन्ट्स, आर्टिफिसियल इन्टिलीजेन्स, मेशिन लर्निङ र बिग डाटा एनालाइटिक्सको बढी भन्दा बढी प्रयोग गरी बैंकिङ्ग सेवालाई अझ गुणस्तरीय बनाउन अथक प्रयास र अध्ययनहरु भइरहेको छ । साथै, समीक्षा अवधिमा बैंकले डिजिटल फर्स्ट बैंक बन्ने उद्धेश्य हासिल गर्नको लागि अन्य संस्थाहरुसँग स्ट्राटिजी डिजिटल पार्टनरसिप, कोल्याब्रसन, एलायन्स, इन्ट्रिगेसन जस्ता कार्यहरु समेत युद्धस्तरमा अगाडि बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ओम्नी च्यानल मोबाइल, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, क्यास डिपोजिट मेसिन, क्यास रिसाइक्लर, रोबोटिक प्रोसेस अटोमेसन, डिजिटल सीएसडी, साथी एप्लिकेशन, क्वीक पे, अनलाइन अकाउन्ट ओपनिङ, आईपीओ एप्लिकेशन थ्रो मोबैंक लगायतका ग्राहक अनुभव अभिवृद्धि गर्ने प्रोजेक्टहरु कार्यान्वयन गर्न बैंक सफल भएको छ । यस कार्यबाट बैंकले ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तर थप बढाउन तथा बैंकको आन्तरिक संचालनलाई चुस्त दुरुस्त बनाउन सहयोग पुग्नेछ । त्यसैगरी, शाखाहरुमा क्यास डिपोजिट मेशिन, क्यास रिसाइक्लर मेशिन, केआइओएसके मेसिन जस्ता उपकरणहरुको व्यवस्था गर्न शुरु गरिएको छ । जसबाट ग्राहकहरुले सेल्फ हेल्प बैंकिङ्ग प्ल्याटफर्मको उपयोग गर्न सक्नेछन् । आर्थिक वर्ष २०७५/७६ मा बैंकको कुल ५२ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेकोमा आर्थिक वर्ष २०७८/७९ सम्म आईपुग्दा बैंकको कुल ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ । जुन समग्र बैंकिङ्ग क्षेत्रको सबैभन्दा बढी रहेको छ । समीक्षा अवधिमा ५ लाख ४६ हजार १२७ नयाँ मोबाइल बैंकिङ्ग ग्राहकहरु हासिल गरी कुल मोबाइल बैंकिङ्ग ग्राहक संख्या १९ लाख ७२ हजार ६३५ पुर्याउन सफल भएको छ । मोबाइल बैंकिङ्गमा समग्र क्षेत्रमा बजार हिस्सा १२.२६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको मोबाइल बैंकिङ्ग ग्राहकहरुको संख्यामा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ३ लाख ८६ हजार २७९ नयाँ डेबिड कार्ड ग्राहकहरु हासिल गरी कुल डेबिड कार्ड ग्राहक संख्या १५ लाख १६ हजार ०२१ पुर्याउन सफल भएको छ । डेबिड कार्डमा समग्रमा बजार हिस्सा १४.७६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको डेबिड कार्डको संख्यामा गत वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल प्वाइन्ट अफ सेल ग्राहक संख्या ४ हजार ९५ पुर्याउन सफल भएको छ । प्वाइन्ट अफ सेल समग्रमा बजार हिस्सा १० प्रतिशत रहेको छ । समीक्षा अवधिमा ७३ हजार १८० नयाँ क्यूआर ग्राहकहरु हासिल गरी कुल क्यूआर ग्राहक संख्या १ लाख २५ हजार २० पुर्याउन सफल भएको छ । क्यूआरमा समग्रमा बजार हिस्सा अनुमानित १६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको क्यूआरको संख्यामा गत वर्षको तुलनामा १४१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा १७ हजार ६४९ नयाँ इकमर्स ग्राहकहरु थप गरी कुल ९७ हजार ३८५ पुर्याउन सफल भएको छ । समग्रमा बजार हिस्सा अनुमानित ९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको इकमर्सको संख्यामा गत वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ । नयाँ प्रडक्ट र सेवाहरु ग्राहकको आवश्यकताले नै बैंकको सेवा र प्रडक्ट बन्ने हुन् भन्नेमा बैंकले विश्वास लिएको छ । सोही अनुरुप बैंकले गत आर्थिक वर्षमा २४ वटा विशेष प्रकारका बैंकिङ्ग सेवा तथा सुविधाहरु सहितको सर्वश्रेष्ठ डिपोजिट प्रडक्टहरु लञ्च गरेको छ । प्रडक्ट सिरिजमा हरेक पेशा, व्यवसाय, उमेर र क्षेत्रका नागरिकहरुलाई बीमा सुविधाका साथै निःशुल्क अन्य विविध प्रकारका बैंकिङ्ग सुविधाहरु समेत उपलब्ध गराइएको छ । उक्त प्रडक्ट लञ्च गरेको १३ महिना अवधिमा हरुमा ७१.६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ । जुन कुल निक्षेपको करिब २४ प्रतिशत अंश रहेको छ । समीक्षा अवधिमा समेत बैंकले बजारको आवश्यकतालाई बुझी आफ्नो निक्षेप तथा कर्जा प्रडक्टहरुलाई परिमार्जन गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व सामाजिक प्रगति, सामाजिक समृद्धि नै व्यवसायिक प्रगति र व्यवसायिक समृद्धिका आधारशिला हुन् । देशका विपन्न, गरीब, वृद्ध, अनाथ र पिछडीएका समुदायहरुको लागि शिक्षा, स्वास्थ्य र जिविकोपार्जन गर्ने आधारहरु निर्माण र संरक्षण, वातावरण संरक्षण, सरसफाई, धार्मिक क्षेत्रको संवद्र्धन गर्ने कार्यहरु विगतका वर्षहरुदेखि नै संचालन गर्दै आइरहेको छ । यसको अलावा, नेपाल सरकारले देशका सम्पूर्ण जनसमुदायमा वित्तीय पहुँच पुर्याउने उच्च महत्वको लक्ष्य लिएको सन्दर्भमा बैंकले विकट, ग्रामीण र अर्ध शहरी क्षेत्रहरुमा शाखा सञ्जाल विस्तार गरेर नेपाल सरकारले वित्तीय पहुँच बढाउन लिएको लक्ष्य हासिल गर्न ठोस टेवा पुर्याएको छ । वाणिज्य बैंकहरुमध्ये सबै भन्दा बढी शाखा सञ्जाल र ग्राहक संख्या यस बैंकको रहेको छ । कुल ३५९ शाखा, १०१ एक्सटेन्सन काउण्टर र ४७३ एटिएम सहित देशका ७७ जिल्लाहरुमध्ये ७३ जिल्लामा बैंकको फूटप्रिन्ट रहेको र देशका ३४ दुर्गम स्थानीय तहहरुमा अन्य बैंकहरुको पहुँच नरहेको स्थानहरुमा समेत बैंकले शाखा स्थापना गरी बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । त्यसैगरी २०७९ असार मसान्तमा बैंकले आफ्नो कुल कर्जाको ८.५ प्रतिशत ग्रामीण (गाँउपालिका) क्षेत्रमा विस्तार गरेको छ । जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ । बैंकको अधिकांश निक्षेप र कर्जा ग्राहकहरु न्युन तथा मध्यम आय भएका वर्ग रहेका छन् । साथै, समीक्षा अवधिमा प्रत्यक्ष कर र अप्रत्यक्ष कर सहित कुल ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरी जिम्मेवार करदाताको कर्तव्य बहन गरेको छ । यो रकम वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ । मानव संशाधन व्यवस्थापन बैंकले आफ्ना सबै तहका कर्मचारीहरुको वृत्ति विकास र तालिमको लागि यथेष्ट लगानी गर्ने प्रवन्ध मिलाएको छ । समीक्षा अवधिमा बैंकले कर्मचारीहरुलाई कुल १ हजार १३६ वटा आन्तरिक तालिम, २४० वटा बाह्य तालिम र एउटा अन्तर्राष्ट्रिय तालिममा सहभागी गराएको थियो । जसमा कुल सहभागी संख्या ५३ हजार ५३६ रहेको थियो । लाभांश वितरण समग्रतामा बैंकको आम्दानी, खुद मुनाफा, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी र रिटर्न अफ इक्विटी लगायतका सूचकहरु उत्कृष्ट हुँदा हुँदै पनि बैंकको नियन्त्रण बाहिरको कारणले गर्दा लाभांश वितरण गर्न सकिएन । देशकै सबैभन्दा बढी प्रतिसेयर आम्दानी र रिटन अफ इक्विटी भएको बैंक हुनाले वितरण नगरी रिजर्भमा राखिएको रकमबाट बैंकले आगामी दिनमा अझ धेरै आम्दानी गर्नेछ । आगामी वर्षहरुमा सेयरधनीहरुको अपेक्षा अनुरुप नै लाभांश वितरण गर्ने बैंकले कुनै कमी कसर राख्ने छैन । (अग्रवाल एनआईसी एशिया बैंकका अध्यक्ष हुन् । अध्यक्ष अग्रवालले बैंकको २५ औं वार्षिक साधारणसभामा प्रस्तुत गर्नु भएको मन्तव्य)
महालक्ष्मी विकास बैंककाे १०.४७ प्रतिशतको लाभांश पारित
काठमाडाैं । महालक्ष्मी विकास बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंककाे प्रस्तावित १०.४७ प्रतिशत लाभांश पारित गरेकाे हाे । बैंकले २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेकाे छ । यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।
जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । घर छोडेर सडकमा पुगेका ललितपुरको भैँसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोका जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताएका छन् । कक्षा ४ सम्म परिवारसँग बसी पढ्दै आएका उनी साथीहरुको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउँँछन् । सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरुको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउँछन् । सोही बखत उनको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए । करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका लागि पहल गरे पनि राजेन्द्रले पढाइलाई निरन्तरता दिन सकेनन् । सोह्र वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका उनी विवाहपश्चात् पुनः सोही पेसामा सम्लग्न भए । पर्यटकको जमघट हुने वसन्तपुर क्षेत्रमा सोही काममा सम्लग्न हुदैँ आएका राजेन्द्रले बाह्य पर्यटकका लागि पथप्रर्दशकको काम पनि गरे । पन्ध्र वर्षसम्म त्यही काम गर्दै आएका उनी विगत आठ वर्षदेखि न्यूरोडस्थित भूगोलपार्कमा बसेर त्यसैलाई निरन्तरता दिँदै आएका छन् । दुई सन्तानका बुबा राजेन्द्रका जेठा छोराले आइटी र कान्छा छोराले व्यवस्थापनबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन् । उनकी श्रीमती राधिका ललितपुर उपमहनारपालिका– १८ को जनप्रतिनिधि छिन् । राजेन्द्र भन्छन्, ‘मेहनतका साथ काम गरेको छु । मेरो पेसाप्रति परिवारको साथ छ । आफ्ना लगि आफै केही गर्छु भन्ने अठोट सबैले गर्नुपर्छ ।’ हप्तामा एक दुई दिन फुर्सद लिएर पनि मासिक ३५ हजार रुपैयाँँ कमाइ गरेको उनी बताउँँछन् । श्रीमती र छोराले कमाइ गर्न थालेपछि आफूलाई आराम गर्न भने पनि आफ्नो पेसामा नसा बसेको राजेन्द्रका भनाइ छ । राजेन्द्रसँगै जुत्ता सिलाउँदै आएका मीनबहादुर रम्तेल पनि ललितपुरको गोदावरी निवासी छन् । भूगोलपार्कको पिपलबोटमै उनले सोही पेसामा ४० वर्ष बिताए । उनान्साठी वर्षीय मीनबहादुर दैनिक बिहान खाना खाएर ८ बजेतिर कामका लागि घरबाट निस्कन्छन् । आफ्नो यो पेसाबाट के खाउ–के लाउ भनी कहिलै चिन्तित हुनु नपरेको र व्यवसाय राम्रोसँग चलेको उनी बताउँछन् । दुई छोरा र एक छोरीका बुवा मीनबहादुर आफ्ना छोराछोरीको पढाइखर्च, बिहेखर्चसम्म यही पेसाबाट आएको आम्दानीले चलाएको जानकारी दिन्छन्। उनी भन्छन्,’काम सानो र ठूलो हुँदैन । जुत्ता सिलाउने पेसा भनेर लाज मान्न आवश्यक छैन । अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानुनै बेस । भारतले नेपालमा देखेको अवसर नेपालीले भने देख्दैनन् । धेरै अवसर छन् तर नेपाली भने सानोतिनो काम भनेपछि गर्न हिचकिचाउँछन् ।’ स्वर्गजस्तो जन्मभूमि र परिवार छोडेर अन्य मुलुकमा आफ्नो पसिना बगाउन बाध्य नेपालीको अवस्था र गरिब जनतालाई भनेर छुट्याइएका राहत पहुँँच हुनेका लागि मात्र रहेकोप्रति गुनासो पोख्दै मीनबहादुर राज्यले बनाएको नीति व्यवहारमा नल्याएकामा गुनासो गर्छन् । लामो समयदेखि भूगोलपार्कको छेउमा काम गर्दै आइएकाले धेरैजसो चिनेजानेका मानिस नै आउने गरेको, दिनमा १०/१२ जनाको कामले आफ्नो दिन बित्ने गरेको र त्यतिमै आफू सन्तुष्ट रहेको उनी बताउँछन् । विना सिप र लगानीमा मासिक प्राय ३० हजार रुपैयाँभन्दा बढी आम्दानी हुनुलाई राम्रै आम्दानी मान्नुपर्नेमा मीनबहादुर जोड दिन्छन् । राजेन्द्र र मीनबहादुरजस्तै आफ्नो जीविकोपार्जनका लागि जुत्ता सिलाउँदै आएका धादिङ निवासी ४२ वर्षीय लीलाबहादुर कार्की पनि विगत २० वर्षदेखि यही पेसामा सम्लग्न छन् । दस वर्षदेखि सुन्धारामा बसेर जुत्ता सिलाउँदै आएका उनी गाउँघरमा खेती गरेर जीविकोपार्जन गर्न र बालबच्चाको पढाइलाई खर्च जुटाउन नसक्दा राजधानी छिरेको बताउँछन् । सुरुमा पसलमा सामान ओसारपसार गर्दै आएकामा पछि आफूले चिनेजानेको मान्छेले यही पेसाबाट मनग्य आम्दानी गरेको देखेर आफूले पनि यही पेसा रोजेको लीलाबहादुर बताउँछन् । दिनमा १२/१५ जनाको कामबाट दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्दै आएका उनी भन्छन्,’ठूलो लगानी जुटाउन नपर्ने, पढाइको प्रमाणपत्र नचाहिने, कसैको डरधम्कीमा चल्न नपर्ने, आम्दानी पनि राम्रै हुने गरेकाले यो पेसामा आफू र परिवार सन्तुष्ट छन्। यही पेसाबाट आएको आम्दानीले आफूलगायत परिवार, छोराछोरीको पढाइखर्च सहज ढङ्गले चल्दै आएको छ ।’ आफूहरुले गरेको काम सानो भए पनि पेसा सबैको लागि अत्यावश्यक रहेको तर खुल्ला ठाउँमा व्यवसाय चलाउनाले घामपानी तथा धुवाँधुलो सहनुपर्ने बाध्यता रहेको उनीहरुको गुनसो छ । यी त केवल काठमाडौं उपत्यकाका केही उदारहण मात्र हुन् । मुलुकभर जुत्ता सिलाउने पेसामा संलग्न भई मनग्य आम्दानी गर्ने मानिस धेरै छन् । पेसा सानो र ठूलो होइन, मानिसको हेर्ने नजर फरक हो । सबै पेसालाई सम्मान गर्न सकेमा मात्र समाजलाई परिवर्तन गर्न सकिनेमा सम्बद्ध व्यक्ति जोड दिन्छन् ।
नेप्सेले सेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा सेयर दिने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरधनीहरुलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ । नेप्सेले नेप्सेका सेयरधनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताएको छ । शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताए । उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने बताए । उनले नेप्सेको सेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौति रहेको बताए । उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुर्याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए । बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घट्नेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रुपमा कायम गरी बजारलाई सुदृढ बनाएर विस्तार गर्न चुनौति देखिएको बताए । ‘सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकुल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौति छ, बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक छ,’ उनले भने । त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाइने
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताएका छन् । सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने उल्लेख गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज मन्त्री श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अतिआवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा समस्या भएसँगै निर्माणकार्य ठप्प जानकारी गराए । गृहमन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको जनाउँदै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए । अध्यक्ष सिंहले एक वर्षको समय दिएर क्रसर उद्योगलाई वैद्य गराउन सकिने सुझाव दिए । निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेसनबापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी ‘माइलस्टोन’को व्यवस्था गर्न उनले आग्रह गरे ।
मेगा क्यापिटलले ल्यायो लगानीसँगै बीमा भएको नयाँ पोर्टफोलियो सेवा
काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा जोखिम खर्च प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको हाे । यस नयाँ सेवा ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लगानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको अनुसार यस नयाँ पोर्टफोलियो सेवामा लगानीको आकर बमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । यसमा न्यूनतम ३ लाख नगदबाट वा आफुसँग भएको रकम बराबारको सेयर दिएर समेत प्रारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ ।